राजन सिलवाल कविता, मुक्तक कथा, लघुकथा र निबन्ध विधामा कलम चलाउँछन् । उनको मुक्तक सङ्ग्रह दुई हजार सोह्र पाइला (२०७५), लघुकथा सङ्ग्रह बाको कोट(२०७९) प्रकाशित छन् । उनको हरेक लघुकथा र मुक्तकहरूलाई नियाल्दा समसामयिक घटना र अवस्थालाई यथार्थपरक रूपमा प्रस्तुत गर्ने सक्ने स्रष्टाका रूपमा परिचित छन् । उनका लघुकथाहरूमा कथा वस्तु छनोट र लेखन शैली निकै आकर्षित र यथार्थपरक छन् । उनी हरेक हप्ता आफ्ना मुक्तकहरू लिएर फेसबुक लाइभ आउने गर्छन् । साहित्य सिर्जनालाई श्रोता र साहित्य अनुरागीहरू सँग पुर्याउने माध्यमको रूपमा सामाजिक सञ्जाललाई प्रयोग गरी रहेका स्रष्टाका रूपमा पनि राजन सिलवाललाई लिन सकिन्छ । अध्ययन तथा खोज गर्ने रुचाउने राजन सिलवाल सँग पुस्तकको सेरोफेरोमा रहेर गरेको कुराकानी :
यतिखेर कुन पुस्तक पढ्दै हुनुहुन्छ?
साहित्यिक पुस्तक बारेमा सोध्नु भएको हो भने घरमा ल्याएर राखेका केही दर्जन किताब छन् । ओम रिजालको हटारु उपन्यास पढिरहेको छु ।
नेपाली, अङ्ग्रेजी र हिन्दी भाषामा प्रकाशित एक एक पुस्तकको नाम लिनुपर्दा ?
नेपालीमा मदनमणिको माधवी, अङ्ग्रेजीमा स्टेफेन कोभेको द स्पीड अफट्रस्ट र हिन्दीमा ओशोको मैँ मृत्यु सिखाता हुँ ।
लेखपढको उपयुक्त समय ?
राती । रातमा लेख्न र दिनमा पढ्न मन लाग्छ ।
साहित्यका विविध विधा मध्ये तपाईंलाई शक्तिशाली विधा कुन लाग्छ?
आख्यानमा भन्नुहुन्छ भने उपन्यास र लघुकथा लाग्छ । पद्यका सन्दर्भमा मुक्तक लाग्छ त्यस पछि कविता ।
सानोमा कस्ता पुस्तक पढ्न पाउनु भयो ?
मैले सानोमा पढ्न पाएको साहित्यिक किताब मधुमालतीको कथा र इन्द्र जाल हो । स्वस्थानीको किताब पनि थियो घरमा।
कस्ता किताब पढ्न बढी मन पर्थ्यो ?
बाल्यकालमा लोक कथा र दन्त्य कथाका किताब पढ्न मन लाग्थ्यो । कलेज जीवनमा सामान्य प्रेमोपन्यास । विश्वविद्यालय जीवन देखि भने दर्शन, धर्म, संस्कृति र विश्व साहित्यका पुस्तकहरूले आकर्षण गरे ।
तपाईँले आफ्नो कुन उमेर समूहमा बढी पुस्तकहरू पढ्नु भयो ?
मैले पच्चिसदेखि चालिस वर्षको उमेर अन्तरालमा धेरै पुस्तकहरू पढेँ । धेरै भनेर कतिलाई धेरै भन्ने ? एक हजार त पढिनँ होला ।
धेरै पटक दोहोराएर पढेका पुस्तक कुन कुन हुन् ?
माधवी उपन्यास मैले ६ पटक पढेँ । बी.पी. कोइरालाको नरेन्द्र दाइ र सुम्निमापनि तीन चार पल्ट पढेँ हुँला । महाभारत पनि तेहेराएँ होला । गोर्कीको आमा र निकोलाई आस्त्रोवस्कीको अग्नि–दीक्षा पनि तीन पल्ट पढेको कृति हो ।
दोहोराएर पढ्नुको कारण खासमा के थियो ?
कृतिको विषयवस्तु, विशिष्टता, सार्वकालिक चरित्र र पाठकलाई तान्न सक्ने गुरुत्वाकर्षण भनौँ न । यी कृतिहरू जति पल्ट पढे पनि मन भरिँदैन मेरो ।
ती पुस्तकहरूमा असाध्यै मन परेका पक्षहरू के हुन् ?
भूगोल र चेतनाको विराटता । लेखन सामर्थ्य । मानवीय संवेदना, सङ्घर्ष, द्वन्द्व, समाज विकास र प्रेमको सार्वभौमसत्ताको अनुपम प्रकटीकरण मलाई मन परेका पक्षहरू हुन् ।
पुस्तक पढिरहँदा त्यसका पात्र, लेखक र परिवेशले कतिको पछ्याउँछ?
मानव होस् वा मानवे तर पात्र, त्यसकै वरिपरि कुनै कृति निर्माण हुन्छ । यसर्थ, पात्रले पछ्याउने नै भयो । लेखकको पृष्ठभूमि, आस्था र जीवन दर्शले उसको भावना औ विचारलाई स्वभावतः प्रभावित तुल्याउने नै भयो । म कतिपय लेखकका कृति लेखकको नामका कारणले नै पढ्न उद्यत हुन्छु भने कतिपय कृतिका लेखकको नाम जानी सके पछि पढे पनि ठिकै छ नपढे पनि ठिकै छ भन्ठान्छु । परिवेश विहीन कृति हुनै सक्दैन भन्ठान्छु म । परिवेश भित्र हामी छौँ, लेखक हुन्छ र हाम्रो संसार छ । त्यसैले परिवेश निरपेक्ष हुने सवाल नै उठ्दैन ।
तपाईँको विचारमा पढ्नु के का लागि हो ?
ज्ञानका लागि । सूचनाका लागि ।चेतनाको विस्तार र गहनताका लागि । जीवन वृत्तिका लागि पनि त पढ्नु जरुरी छ । रुचि अनुसारका कृतिको पठनले आनन्द दिन्छ । सृष्टि, समाज र जीवनलाई बोध गर्नका लागि पनि पढ्नु जरुरी छ ।
कस्ता पुस्तकले जीवनमा बढी सघाए?
एक नम्बरमा त मेरा लागि धार्मिक पुस्तकहरू नै हुन् । त्यसपछि दर्शन शास्त्रका । त्यसपछि साहित्यिक पुस्तकहरू । रोजगारीका लागि विश्वविद्यालयको पाठ्यक्रम सम्बन्धी पुस्तक पढियो र त्यसैले दिएको वृत्तिले जिन्दगी चलिरहेको छ ।
पाठकहरूलाई १० ओटा पुस्तक पढ्न सिफारिस गर्नुपर्दा ?
म क्रमशः यी पुस्तकहरू सिफारिस गर्न चाहन्छु ।
१. महाभारत
२. भागवत गीता
३. माधवी (मदनमणि दीक्षित)
४. आमा (म्याक्सिम गोर्की)
५. अग्नि–दीक्षा (निकोलाई आबस्त्रोस्की)
६. नरेन्द्र दाइ (बी.पी. कोइराला)
७. मुनामदन (लक्ष्मीप्रसाद देवकोटा)
८. घामका पाइलाहरू (धनुषचन्द्र गौतम)
९.द्रौपदी (डा. प्रतिभा राय)
१०. चाणक्य (सत्य केतु विद्यालङ्कार)
तपाईँ सँग कति जति पुस्तकको सङ्कलन होला?
घरमा मैले किनेका पुस्तकहरूको पाठक मै मात्र हुँ ।अचेल पहिला पहिला जस्तो किताब किन्न जान्नँ म । पत्रपत्रिकामा असाध्यै धेरै चर्चा पाएका किताब भने किनूँ किनूँ लाग्छ । म सँग त्यस्तै १००० पुस्तक होलान् ।
पढ्न चाहेर पनि पढ्न नपाएका कुनै पुस्तक?
त्यस्तो अनुभव छैन । हदै महँगो हो भने मात्र नत्र एक दुई किताब जति नै मूल्यको भए पनि किनेर पढ्न सकिहालिन्छ नि ।
मन परेका ५ जना स्वदेशी र विदेशी लेखकहरूको नाम लिनुपर्दा ?
नेपाली लेखकहरूमा विश्वेश्वरप्रसाद कोइराला, मदनमणि दीक्षित, ध्रुवचन्द्र गौतम, धनुषचन्द्र गौतम, भूपी शेरचन ।
विदेशीहरूमा लियो तोल्सतोय, म्याक्सिम गोर्की, तसलिमा नसरिन, प्रेम चन्द र ओशो ।
अध्ययन र लेखाइ बाहेकका रुचिहरू के छन् ?
एकान्त प्रिय छु । एक्लै मौन भएर बस्न मन लाग्छ । सागर र नदी किनार खूब मन पर्छ । ती स्थानहरूमा पनि मन असाध्यै रमाउँछ । शारीरिक श्रम गर्न मन लाग्छ ।अनि रूख चढ्न पनि मन पराउँछु म । सन्तहरूका प्रवचन सुन्न मन पराउँछु र टेलिभिजनमा ठुला ठुला खेलहरू हेर्न मन लाग्छ ।
नयाँ पुस्ताले नपढी नहुने पुस्तकका रूपमा कुन–कुन पुस्तकहरू सिफारिस गर्नुहुन्छ?
यो गाह्रो प्रश्न हो । विविध विधाका हजारौँ, लाखौँ पुस्तकहरूको माझ बाट कुन पुस्तक पढ्नू भन्नु ? म आफैँ पनि धेरै पुस्तक पढेको मानिस होइन । अध्यात्म, दर्शन, समाजशास्त्र, अर्थशास्त्र, साहित्य यी सबै नै पढ्नु जरुरी हुन्छ । यी विषयका चुनिएका कुनै पनि पुस्तकहरू पढ्न सकिन्छ । नेपाली भाषाका पाँच ओटा किताबहरूको नाम लिनु पर्यो भने म माधवी, घामका पाइलाहरू, नरेन्द्र दाइ, तिम्री स्वास्नी र म, घुम्ने मेच माथि अन्धो मान्छे पढ्नै पर्ने पुस्तक हुन् भन्ठान्छु । यी सबै पुराना पुस्ताले लेखेको किताब हुन् ।
तपाईँको पछिल्ला साहित्यिक योजनाहरू के के छन् ?
खासै छैन । म मुक्तक डुब्दै गरेको र लघुकथामा आकर्षित मानिस हुँ । यिनै दुई विधामा केन्द्रित छु । मुक्तकमा निकट भविष्यमा एक पुस्तकको परिकल्पना गरेको छु— मुक्तकको सामर्थ्य शास्त्र । लघु कथा एउटाअलि गहकिलो कृति निकाल्न पाए हुँदो हो भन्ने पनि छ । अरू खासै सपनाहरू छैनन् साहित्यमा ।
स्रष्टा र सिर्जनाको सम्बन्धलाई तपाईँ कसरी हेर्नुहुन्छ?
स्रष्टा भयो भने न सिर्जना हुने हो । स्रष्टा र सिर्जना बिच जहिले सुकै अन्योन्याश्रित सम्बन्ध रहन्छ ।
तपाईँको जीवनमा सानैदेखि कोही रोल मोडेल छ जसले जीवन यात्रामा निरन्तर सकारात्मक प्रेरणा दिएको होस् ?
खासमा पुस्तकहरूबाट नै धेरै प्रेरणा गरियो कि भन्ने लाग्छ । बा आमा दुवै साह्रै कर्मशील हुनुहुन्थ्यो । कर्म गरिरहनु पर्छ भन्ने लाग्छ । महाभारतका सारा पात्रहरू रोल मोडेल लाग्छ मलाई ।