“सर ! यही एउटी छोरी हो यसको विहेदान गरिदिन पाए मर्ने बेलामा पनि राम्ररी सास जान्थ्यो होला” आफ्नी छोरीलाई देखाउँदै एक दिन गौतमदाइले भनेका थिए । बाबुछोरीको बसाइ फरक थियो । किनभने उनकी छोरी शहरमा गलैंचा बुन्थिन् भने गौतमदाइ स्कूलमा पालेदाइ ।
गौतम दाइ स्कूलको एउटा साँगुरो कोठामा बस्थे । दिउँसो पनि मानिसहरू त्यस विद्यालय रहेको स्थानमा आउन डराउँथे । मानिसहरू भन्थे विद्यालय भवन रहेको ठाउँमा मसान खेल्छ तर गौतम दाइ ती किस्साको चुनौती थिए । उनी दिउँसोमात्र होइन रातीको बास पनि त्यहीँ बस्थे । उनको सेवा विद्यालयलाई चौवीस घण्टे थियो । विहानपख शिक्षक र विद्यार्थी विद्यालयमा पुग्दा उनले कक्षाकोठा सफा गरेर खोलीसकेका हुन्थे । उनी आफ्नो काममा शिक्षक भन्दा पनि इमान्दार थिए । उनले घण्टी ठीक समयमा हान्थे । कतिपय शिक्षकहरू कक्षामा ढीलो जान्थे तर चाँढै निस्कन्थे । कसैलाई नबिझाउने उनी कुरा लुकाउन जान्दैनथे र प्वाक्क भनिदिन्थे “कसले कतिको पढाउनुहुन्छ भन्ने कुरा त मलाई पनि थाहा हुन्छ ।” उनको कुरा सुनेर कामचोर साथीहरू शिर निहुराउँथे । गौतमदाइ अफिसमै खाजा बनाउँथे र खुवाउँथे । साराका साराको प्लेट पखाल्थे त्यति गरेबापत उनले कुनै शुल्क लिँदैनथे केवल त्यसको बदला उनी पनि खाजा खान्थे ।
विद्यालयमा हेड सरले तलब ल्याएको दिन उनका आँखा पनि त्यतै हुन्थे । विद्यालयमा निरीक्षक वा कोही जिल्लाबाट आए भने उनी सोध्थे “सर हामीलाईचाहिँ केही हुँदैन ?” उनको आशा जगाउने जबाफ कसैले दिँदैनथ्यो ।
“सरहरूले पो हड्ताल गर्न सक्नुहुन्छ र सरकारले कुरा सुन्छ हामी निर्धाका कुरा कसले सुन्ने है सर ?” बेलाबखत उनी भन्दथे । उनको अभिव्यक्तिमा व्ङ्ंग्य पनि थियो । वास्तबमा हामी शिक्षकहरूले आफ्नो सुविधाको कुरा निकै गर्दथ्यौं तर आफ्नै दिनचर्यासँग जोडिएको सहायक कर्मचारीको विषयमा कहिलै कुरा उठाएनौं । म पनि बेलाबखत उनको कुरा स्वीकार गर्दथें ।
एक विहान सामान्य कामले गर्दा म विहानै स्कूलमा गएको थिएँ । गौतमदाइ झोक्राइरहेका रहेछन् । उनी कुर्सीमा बसेर भित्तामा टाउको ढालिरहेका रहेछन् । कहिलै त्यस्तो मुडमा नदेखिइने गौतमदाइ किन त्यसरी बसे ? मनले ठूलो शङ्का ग¥यो । म विरालोको चालमा गौतमदाइ बसेको छेउमा पुगें । उनले आँखा चिम्म गरेका थिए । म उनलाई अचम्मित बनाउँदै बोलाउन खोज्दै थिएँ तर एकाएक मुटु ढक्क फुलेर आयो जब उनको आँखाबाट आँसु खसिरहेको देखें ।
किन रोए गौतम दाइ ? सोच्दै केही कदम पछि हटेर म खेलमैदानको पल्लो छेउमा पुगें । खै किन हो गौतमदाइको आँसुमा सिङ्गो विद्यालय नैं रोइरहेकोजस्तो लाग्यो । केहीबेरपछि उनले टाउको उठाए र दायाँ बायाँ हेरे । उनले मलाई भने देखेनन् । शायद, निष्फिक्री भएर होला आँखाको आँसु पुछे र लामो सुसकेरा हाले । म भर्खर विद्यालयमा प्रवेश गरेकोजस्तो गरेर कार्यालय कक्षतिर लागें । गौतमदाइका आँखा मतिर सोझिए । उनी स्वभाविक बन्न खोजेजस्तो गरी शिष्टाचार प्रकट गर्दै बोले “सर ! नमस्कार”
मैले नमस्कार फर्काएँ र उनले खाना खाएनखाएको कुरा सोधें । उनले मलिनो स्वरमा जबाफ दिए –खाइदिन पर्ला नि सर
गौतमदाइ भित्र पसे र केही बेरमै बाहिर आए । उनी मेरो छेउमा आइपुगे ।
“सर ! म कुनै काम लाग्ने मान्छेको रूपमा जन्मिएको रहेनछु । जन्मेको तीन वर्ष नपुग्दै आमाको काख गुमाएँ । सात वर्ष पुग्दानपुग्दै बाबालाई गुमाएँ । दैवले कसोकसो एउटी साथी जुरायो । जिन्दगीको गुजारा कसो नचल्ला सोच्दै थिएँ तर…गौतमदाइको गला अवरुद्घ भयो । उनको बोली आँखाबाट उम्लेको पानीको प्रवाहमा रोकिएको रहेछ । केही बोलिन म । म उनको मुखबाट थप मार्मिक कुरा सुन्न चाहिरहेको थिइनँ ।
शरीर अस्वस्थ भयो, बेलुकीपख ज्वरो आउन थाल्यो । खोकीले निद्रा खान थाल्यो । एक दिन पत्नीसहित अस्पताल गएको थिएँ । डाक्टरले टि.बि. भएको कुरा सुनायो । भोलिपल्ट विहानदेखि पत्नी बेपत्ता भई । दुई वर्षकी छोरी भूइँमा रुन्थी टि.वि.को रोगी खोकी र ज्वरोले ओछ्यानमा रुन्थ्यो । अन्ततः दिदीले छोरीलाई लगी । त्यसबेला देखिको जिन्दगी हो यो । उसले त छोडी , टि.बि. लागेको रोगीलाई जुम्राले छोडेजस्तो गरी तर एउटा सपना बोकेर बाँचेको थिएँ हिजोसम्म” गौतमदाइ आँसुको प्रवाहलाई छिचोल्दै आफ्नो विरह पोख्दै थिए ।
“के भयो र गौतमदाइ ?”
“त्यो एउटी छोरीलाई मेरै पसिनाको कमाइले टीका लगाएर कन्यादान दिन्छु भन्ने धोको थियो तर उसले यो अभागी बाबुलाई विश्वास गरिनछ सर , ऊ हिजै गइछ…..” गौतम दाइको आबाज बन्द भयो । उनी अर्कोतिर फर्किएर आँसु पुछ्न थाले । दश बज्न थालिसकेको थियो । विद्यार्थी र अरू शिक्षक साथीहरूको संख्या बढ्न थाल्यो । गौतमदाइ आँखाको आँसु पुछ्दै यता र उता गर्न थाले । उनले खान नखाएको जानकारी भएकाले मैले उनलाई नजिकैको चियापसलमा लिएर गएँ । तर उनले चियाबाहेक केही खाएनन् ।
दिन बित्दै गयो, गौतमदाइको अनुहारको बेचैनी विस्तारै हट्दै गएको जस्तो लाग्थ्यो । उनले आफ्नो पसिना बगाएर स्कूलको दायाँबायाँ पूmल रोपेका थिए । ढकमक्क फुलेका पूmलहरू हेर्दा लाग्थ्यो त्यसरी हाँस्ने पूmलहरू सबै गौतमदाइकै विम्बहरू हुन् ।
घडीका सुइसँग चल्थे गौतम दाइ । विद्यार्थी विरामी भए पनि गौतमदाइ, शिक्षक विरामी भएपनि गौतमदाइ । समुदायमा कसैलाई केही भएपनि गौतमदाइ । गौतमदाइ सिङ्गो विद्यालय थिए । गौतमदाइ आस्थाको सिङ्गो प्रतिमूर्ति थिए । गौतमदाइसँग सत्रसालको कथा थियो, बूढी गण्डकी थुनिँदाको बेथा थियो । छत्तीस सालमा गोरखापत्र संस्थान जल्दाको तस्वीर मस्तिष्कमा थियो । प्रजातन्त्र आएपछिको टनकपुरको घाउ थियो । उनलाई महेशपुरको चेतना पनि थियो । आफ्नो दुखद स्मृतिलाई उनले नियतिको रूपमा स्वीकारेका थिए । उनीमा वर्गीय चेतनाको उज्यालो निरन्तर बलिरहेको थियो ।
“सर मलाई प्रहरीले समातेर रबरको मुठाले खुट्टाको पैतालामा हिर्काएका थिए । त्यतिबेला मैले रगत छादेको थिएँ । आपूmलाई बाँच्न दिन्छन् भन्ने लागेकै थिएन । मलाई बेलाबेलामा यसले दुख दिने गर्छ । हिरासतबाट छुटेपछि डाक्टरलाई देखाएको थिएँ मेरो मुटुको भल्भमा दखल परेको जानकारी दिएका थिए । शायद यही बेथाले मलाई मार्छ होला सर” एक दिन उनले आफ्नो अतीतलाई छताछुल्ल बनाएर मेरो सामु राखेका थिए ।
“किन त्यस्तो राजनीति गर्ने मान्छे छोडेर यस्ता जागीरमा आउनुभएको त गौतम दाइ ?”
“खै त्यहाँ पनि राम्रो लागेन , कुरा आदर्शको गर्ने काम कुहिएको । नारा गरीबको लगाउने आपूm सामन्त बन्ने । प्रगतिशील नैतिकताको रटान दिने, भित्रभित्रै व्यभिचारी बन्ने । यता छोरीको लागि पनि मेरो आवश्यकता थियो अर्कातिर पार्टीभित्र देखिएको विकृति । यी सब हर्कतले मलाई त्यहाँबाट हिंडायो । ” गौतमदाइले स्पष्टीकरण दिएका थिए ।
गौतम दाइका सामुन्नेमा चक एण्ड टक गर्न पनि कञ्जुस्याई गर्ने साथीहरू समेत तह लागेका थिए । “राजनीति छोडेर म सरस्वतीको मन्दिरमा घण्टी बजाउन आएको छु । यहाँ कसैले पनि जाली कुरा गर्नु हुन्न । ठीक छ हामीजस्ता निमुखाहरूको पक्षमा कसैले आबाज उठाएनन् यसमा मेरो गुनासो छैन तर जन्मदैमा हुने र नहुने बनाउने यो महङगो शिक्षा र सरकारी शिक्षा भन्ने तह भने खारेज हुनुपर्छ सर । यसको लागि जुलुस गर्ने भए म पनि नारा लगाउन जान्छु ” उनी सबैसँग भन्थे । स्वार्थ जितेका निश्छल र निश्कपटी गौतमदाइ सबैका प्यारा थिए ।
एक दिन चौथो घण्टी बजाएर कोठाभित्र छिरेका गौतम दाइ टिफिनको घण्टी बजाउन बाहिर आएनन् । विद्यार्थीहरू उनको ढोकामा पुगे र बोलाए उनले जबाफ फर्र्काएनन् । हामी सशङ्कित भयौं । अर्को कोठाको चेपबाट गौतम दाइको कोठामा पस्ने जमर्को गरे विद्यार्थीहरूले । जब एकजना साहसी विद्यार्थी भित्र पसे र कोठाको चुकुल खोले । गौतम दाइ पलङमा आनन्दले सुतिरहेका देखिए । उनलाई धेरै आबाजहरूले बोलाए गौतमदाइ गौतमदाइ । गौतमदाइले हजूर भनेनन् । जब उनको चिसिएको शरीरलाई फर्काइयो मुखमा रगत देखियो र उनको नाडीका चाल बन्द थियो । गौतमदाइले संसार छोडिसकेका थिए ।
मसानघाटमा उनको शरीरलाई आगोले निलिरहेको थियो र धूवाँ उकेलिरहेको थियो । माथिमाथि उठिरहेको धूवाँको लप्का र लहरा चढेर गौतमदाइ माथिमाथि गएकाजस्ता देखिन्थे । भावुक मनले गौतमदाइको आकृति देखिरहेको थियो । शायद उनी भन्दैथिए, “देख्नु भो म त्यही बेथाबाट बितें ।” उनीजस्ताको यातनाले ल्याएको नयाँ परिवर्तनले उनको न त आकृति देख्न सक्थ्यो न त उनको समर्पणलाई मूल्य दिन्थ्यो । उनको शरीर पोल्दै आगो बेलाबखत कटकट गथ्र्यो । म त्यो आवाजसँगै गौतमदाइ बोलेजस्तो महसूस गर्थे । मानौं उनी भन्दै थिए ‘अलविदा सर, नारा लगाउनेले पनि चरित्र राम्रो देखाएनन् हकि सर ? मैले त्यसै राजनीति छोडेको हो र ?……..’ ।