कोशी प्रदेशका १४ जिल्लाको नेपाली साहित्यको चिनारी र पहुँचलाई समेटेर नेपाली साहित्यको अभिलेखन ग्रन्थ प्रकाशित भएको छ । कोशी प्रदेश सरकारको सहयोगमा प्रकाशित ग्रन्थको प्रदेश सांसद खिनु लङ्वा लिम्बूले विमोचन गरिन् ।
लेखक एवं गायक गणेश रसिक प्रधान सम्पादक रहेको ग्रन्थमा कोशीका १४ जिल्लाका प्रतिनिधि लेखकले आफ्नो जिल्लाको नेपाली भाषा—साहित्यको इतिहास तथा यथास्थितीबारेमा समीक्षा गरेका छन् ।
ग्रन्थमा गंगाप्रसाद अधिकारी(झापा), देवी क्षेत्री दूलाल(इलाम), सरस्वती दुमी राई र मधुराज केरुङ(पााचथर) तथा टंक श्रेष्ठ(ताप्लेजुङ), दधिराज सुवेदी(मोरङ), भोलानाथ पोखरेल(सुनसरी) र गोपालबहादुर भट्टराई(धनकुटा)का जिल्लागत साहित्यिक चिनारी समेटिएको प्रधान सम्पादक रसिकले बताए ।
यस्तै, रविमान लमजेल(तेहृथुम), बिप्लव ढकाल(भोजपुर), मातृका तिमिल्सिना(संखुवासभा), कौशल चेम्जोङ(उदयपुर), धनप्रसाद सुवेदी(खोटाङ), चेतनाथ धमला(ओखलढुङ्गा) र हरि कट्टेल(सोलुखुम्बु)ले आ—आफ्नो जिल्लाको साहित्यिक विवरण टिपोट गरेका छन् ।
गणेश रसिक फाउण्डेसनले प्रकाशन गरेको कृतिबारे सूर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राई, पत्रकार चन्द्र भण्डारी, ग्रन्थका कार्यकारी सम्पादक सुर्दशन श्रेष्ठले प्रकाशित ग्रन्थलाई कोशी प्रदेशको साहित्यिक दस्तावेजका रूपमा चिनाएका थिए ।