मेरो व्रतबन्ध सुदूर पश्चिमको बैतडीमा इश्वरीगङ्गा (ईश्वरीगाड) को किनारामा अवस्थित जगन्नाथको गुफासमक्ष भएको थियो (सम्भवत: यसैको प्रतापले होला, अहिले म जातपातको भेदभावलाई मान्दिनँ ! यस परिप्रेक्ष्यमा जातपातको कुप्रथाको उन्मूलनका लागि उहिले नै रणबहादुर शाहले हनुमानढोकाअगाडि जगन्नाथको मन्दिर निर्माण गराएर सबैलाई प्रसादको रुपमा भात बाँडिदिएको घटना पनि स्मरणीय छ) । त्यतिखेर मेरो उमेर १०–११ वर्षको थियो र म पिथौरागढ (भारत) को श्री सरस्वती देवसिंह हाइस्कुलको छेटौं कक्षामा पढ्दै थिएँ ।
मेरो व्रतबन्ध गर्दा बुबासँग मेरा दीक्षागुरु गौरी बाजे (गौरीदत्त भट्ट) ले प्रश्न गरेछन् : ‘कुन तरिकाले व्रतबन्ध गर्नुपर्ने हो ?’
बुबाले उत्तर दिनु भएछ : ‘हामी नेवार ठकुरी हौं । जुन तरिकाले ठकुरीको व्रतबन्ध हुन्छ, त्यही तरिकाले गर्नोस् !’
मैले भिक्षुकको भेषमा भिक्षा माग्दा आमा रुनु भएछ । ठकुरीको व्रतबन्धमा भरुवा बन्दुकको बढाइँ त हुने नै भयो ।
पछि मैले हामी ठकुरी हौं भने किन जनै नभएको भन्ने तर्क गरेको थिएँ ।
बुबाले मेरा बाजेको पालादेखि जागिर खान भनेर जनै लगाउन छोडेको र श्रेष्ठ थर पनि चलनचल्तीमा ल्याइएको बताउनुभएको थियो ।
श्रेष्ठ थर त्यसै पनि सम्मानित छ । त्यसमा पनि बुबाले आफ्नो आत्मजीवनीको सुरुमै जनाउनुभएको छ : ‘पूर्खादेखि अद्यापि मखनको श्री तारिणी भगवती र स्वयम्भूपछाडि आदेश्वर महादेव साम्नेको श्री कालिका देवीलाई दिगुद्य:(कुलदेवता) मानी आएको छ । कुलदेवता र दिगुद्य:को नामबाटै ठाकुरवंशी ६ थरी श्रेष्ठ भन्ने अद्यापि सर्ववीदित छ’ (खर्दार बा, वि.सं. २०६५, पृ. २०) । यसै कथनलाई आधार मानी यहाँ म आफ्नो वंशको पुर्खाको खोज गर्ने प्रयास गर्ने छु ।
सर्वप्रथम ‘६ थरी श्रेष्ठ’ कै चर्चा गरौं । श्रेष्ठ ६ थरी हुन्छन् भने ५ थरी र ४ थरी पनि हुने नै भए ! साढे ५ थरी श्रेष्ठसँग समेत हाम्रो भातचुल्हो चल्दो रहेनछ । उच्चस्तरीय जात जनाउन ‘६ थरी’ भन्नुको मूल कारण पनि अहिले मैले पत्ता लगाएको छु । त्यो त ‘क्षत्री’ शब्दको अपभ्रंश पो रहेछ । उहिले पर्वत क्षेत्रका राजाहरुसँग सम्पर्क हुँदा उनीहरुले जातपात बुभ्mन ‘हामी छेत्री’ (संस्कृतको ‘क्षत्रीय’ त खस जिब्रोले पनि ठीक उच्चारण गर्न कहाँ सक्छ र ?) नेवार राजाहरुले ‘हामी पनि क्षत्रीय नै हौ भन्न खोज्दा जिब्रोबाट ‘छतरी’ उच्चारित भयो होला । पछि त्यसैको आधारमा ‘६ थरी’ भन्न थालिएको प्रतीत हुन्छ । अन्यथा नेवारीमा ‘थरी’ भन्ने शब्द नै छैन र ‘६ थरी’ भनिने र आपसमा बिहाबारी चल्ने उच्च श्रेष्ठस्तरीय नेवारहरुकै थर पनि यसभन्दा निकै बढी छ । जयस्थिति मल्लले बाँधेको नियमअनुसार ‘…श्रेष्ठहरु अनेक जातमा विभक्त गरिए । यिमध्ये दस जातले जनै लाउने अधिकार पाए । उसै गरी आचार्यका तीन जात तथा दैवज्ञका चार जातले पनि जनै लाउने अधिकार पाए’ (सूर्यविक्रम ज्ञवाली, नेपाल उपत्यकाको मध्यकालीन इतिहास, वि.सं. २०१९, पृ. ८१) ।
यहाँनेर नेवारजातिमा स्यस्य: भनिने समुदायको पनि किञ्चित चर्चा आवश्यक हुन्छ । सम्भवत: नेवारी शब्द ‘स्यस्य:’ र संस्कृतको ‘श्रेष्ठ’ पर्यायवाची शब्द हुन् । साहित्यकार तेजेश्वरबाबु ग्वँग:ले यस समुदायको मूलथलो ‘शेषन्त क्षेत्र’ मानेर यस शब्दको व्युत्पत्तिको आधारतर्पm पनि संकेत गरेका छन् भन्न सकिन्छ, यद्यपि हाल काठमाडौं उपत्यकाभित्र र बाहिर पनि स्यस्य: (श्रेष्ठ) को ‘जनघनत्व प्रशस्त रहेको पाइन्छ’ (नेवा: संस्कृति र संस्कार, २०६३, पृ. ?) । जे होस्, उच्च जातिका नेवारहरु उपत्यकाबाहिरबाटै आएका हुन् कि भन्ने पनि यसले निकै हदसम्म स्पष्ट पार्छ । थकुजुजु थरका नेवारहरु पनि यस कथनको अपवाद होइनन् ।
हाम्रो कुलको वास्तविक थर चाहिं ‘थकुजुजु’ रहेछ । यस नेवारी शब्दको ठेट अर्थ हुन्छ ‘ठकुरी राजा’ । मेरा बराजु (जीतमान) ले थर थकुजुजु नै लेख्ने गरेका थिए भने उनीभन्दा पहिलेका सबै पुस्तामा यही चलन भएको अनुमान लगाउन गाह्रो पर्दैन । बाजेका पालादेखि मात्र थकुजुजु थरको परित्याग गरिएको भए पनि उनका दाजु (निरालाल) भने थकुजुजु नै लेख्तथे, तर कान्छा भाइ (सिद्धिलाल) ले भने श्रेष्ठ लेख्न थालेका थिए (यो हाँगो जागिरकै क्रममा विराटनगर पुगेको छ) । बाजे (गणेशबहादुर) ले चाहिं थर मात्र परित्याग गरेर नपुगी ‘लाल’ को बदला ‘बहादुर’ समेत अपनाएका थिए । सानै उमेरमा टुहुरो बन्नु परे तापनि बुबाले समेत यसैको अनुसरण गरी रामबहादुर नामले जागिर खानुभयो, तर आफ्ना छोराछोरीको नाममा क्रमश: ‘प्रकाश’ र ‘बदन’ थपिदिनुभयो ।
बैतडीबाट काठमाडौं फर्केपछि म कुलको रहस्य खोतल्नतिर लागें । बुबाले एकपल्ट नेपाली कागजमा लेखिएको एउटा वंशावली पनि पढ्न घरमा ल्याउनुभएको थियो । त्यो सम्भवत: ‘ठकुरी राजा’ भनाउँदाहरुको वंशावली थियो होला । यसै वंशका झङ्गल थकुजुजु भन्ने व्यक्ति कान्तिपुरका राजा भाष्कर मल्लका काजी थिए रे । हामी उनैका वंशज हौं भन्ने बुबाबाट थाहा पाएँ । एकपल्ट मरुटोलमा बडादशैंको पूजाका दिन थकुजुजुहरुको गुठीयारहरुकै साथमा बुबा र मैले पनि कुभिण्डो काट्ने मौका पाएको हुँ । पछि त त्यसमा पनि सरिक हुन छाडियो । पछि इतिहास पढ्दा थाहा पाइयो : रत्नमल्लले कान्तिपुरमा शासन जमाउनुभन्दा पहिले कुनै समयमा काठमाडौंका १२ टोलमा थकुजुजु वंशका १२ जना राजा थिए रे । तिनीहरु सगोलमा ‘झिन्निम्ह थकुजुजु’ भनिने हुँदा संयुक्त रुपमा पालैसान्ति शासन चलाउने गरेका थिए कि भन्ने प्रतीत हुन्छ, किनभने अद्यापि १२ जना थकुजुजुका सन्तानको घरमा पालैसान्ति पचली भैरवको घ्याम्पो राखेर जात्रा चलाउँदै आएको देखिन्छ । तिनैका एक प्रमुख मन्त्रीको सहयोगले विष मिलाइएको भोज खुवाएर बाह«ैजनालाई सखाप पारी रत्न मल्लले सन् १४९० मा कान्तिपुरको शासन हत्याएपछि विश्वासघाती मन्त्रीलाई पनि बाँकी राखेका थिएनन् । जे होस्, अभैmसम्म पनि हरेक बाह्र वर्षमा एकपल्ट संस्कतिविद् डा. कमलप्रकाश मल्लले पूर्वज लुमंका (पूर्वज सम्झना) पुस्तकमा जनाएअनुसार ठकुरी राजाहरुको समयमा सार्वजनिक सभा गर्ने स्थल मरुसत्तल (काष्ठमण्डप) को अगिल्तिर पचली भैरवको तरवार र राजतरवार साट्ने कार्यमा थकुजुजुकै सन्तानको प्रमुख भूमिका रहने तथ्य उल्लेख्य छ । यो पुरानो राजवंशबाट नयाँ राजवंशमा सत्ता हस्तान्तरणको प्रतीक हो भन्ने मेरो ठनाइ छ (कृष्णप्रकाश श्रेष्ठ, इतिहासको परिप्रेक्ष्यमा नेपालका किम्बदन्ती र जात्राहरु ।। प्राच्य संस्कृति–२, मास्को, २००९, पृ. २१६) ।
जे जसो भए तापनि ‘थकुजुजु’ को थिए त भन्ने प्रश्नको उत्तर यस थरले दिँदैन । किनभने ‘ठकुरी राजा’ भन्ने त वास्तवमा थर नै होइन, मात्र उपाधि हो । कारण के त भने राज–खानदानका जुनसुकै व्यक्तिलाई पनि यो उपाधि लागू हुन सक्तछ । त्यसैले थकुजुजुका पनि पूर्खा को थिए त भन्ने प्रश्नको उत्तर खोज्नु अनिवार्य हुन्छ । यो विचार मलाई रुस आएपछि मात्र फुरेको हो र यसका लागि म पाइए जति वंशावली र इतिहास खोतल्न लागें (तर स्थलगत अध्ययनको खाँचो देख्छु) ।
हाम्रो कुलका एक पूर्वपुरुष झङ्गल थकुजुजु भाष्कर मल्ल (सन् १७००–१७१४) का काजी बनेको चर्चा माथि नै गरियो । पारिवारिक वंशावली त्यसभन्दा माथि जाँदैन । उनलाई इतिहासमा कतै–कतै झङ्गल थारी (ठकुरीको अपभ्रंश हो कि ?) लेखिएको पाएँ । उनले कान्तिपुरको राजदरवारमा लामो समयसम्म उनको हालीमुहाली रहेको देखिन्छ । डिल्लीरमण रेग्मीले जनाएअनुसार ‘वंशावलीमा झङ्गल ठाकुरलाई आफ्नो समयको एक प्रख्यात व्यक्तित्वको रुपमा चित्रण गरिएको छ र उनी महीन्द्रसिंह (सन् १७१४–१७२२) को समयसम्म पनि त्यत्तिकै प्रभावशाली रहेका होलान् भन्ने विश्वास गर्न गाह«ो पर्दछ’ (मिडिभल नेपाल, पार्ट २, १९६६, पृ. १५९) ।
राजमाता भुवनलक्ष्मीको संरक्षणमा भाष्कर मल्ल बाल्यकालमै राजगद्दीमा राखिएको केही समयपछि राजाको मन्त्रीको रुपमा झङ्गल थकुजुजुको सक्रियता रहेको देखिन्छ र २२ वर्षकै उमेरमा प्लेगको रोगको शिकार बनेका निसन्तान राजाको ठाउँमा उनले नै वंशावलीमा जनाइएअनुसार दोलखाबाट शिवसिंहको सातौं पुस्ताका सन्तति महीन्द्रसिंहलाई ल्याएर कान्तिपुर र पाटनको समेत राजा बनाएको थिए भनिएको छ (ऐजन, पृ.१७०) । गणेशमन्दिरको जीर्णोद्धारसम्बन्धी टिपोटमा अंशत: भनिएको छ : ‘…श्री श्री यम्बु श्री यलन श्री श्री महीन्द्रसिंहदेवस्य काजी झङ्गल थकुलस वेलास’ (ऐजन, पृ. १६९) । कान्तिपुर र पाटनलाई नेवारीमा क्रमश: ‘यम्बु’ र ‘यलन’ भनेको हो । सम्भवत: यिनै राजाको पालामा कुनै मुसलमानलाई काजी बनाएको वा सूर्यविक्रम ज्ञवालीका अनुसार पाश्र्ववर्ती नोकर भर्ना गरेकोमा उनले काठमाडौंवासीको विद्रोहको नेतृत्व नै गरेको पनि वंशावलीमा पढेको थिएँ (ढुण्डीराज भण्डारी, नेपालको ऐतिहासिक विवेचना, वि.सं. २०१५, पृ. १२०) । डिल्लीरमण रेग्मीको भनाइमा ‘झङ्गल ठाकुरको सट्टामा कुनै मुस्लिमलाई मुख्यमन्त्री बनाइएको सन्दर्भलाई एक गम्भीर प्रश्नको रुपमा लिन सकिन्छ । वंशावलीको कथनअनुसार ठूला र साना प्रमाणहरु र खसहरु सबैले राजाको यस कदमको विरुद्ध विद्रोह नै गरेका थिए र देशबाट भागेर गएका ५जना बाहेक सबै मुस्लिमहरुको कत्तल गरिएको थियो (मिडिभल नेपाल, पार्ट २, पृ. १७४) । अन्त्यमा झङ्गल थकुजुजुले नै पुन: काजीको पगरी पाए । विद्रोहीहरुले राजालाई नै अपदस्थ गरी उनको ठाउँमा ‘सायद जगज्जयमल्ल (सन् १७२२–१७३६) लाई राजा बनाए । केही समयपछि झङ्गल ठाकुरले महीन्द्रसिंहसँग मेलमिलाप गरे, तर मन्त्री अब सर्वेसर्वा बनिसकेका थिए’ (ऐजन, पृ. १७६) । सूर्यजिक्रम ज्ञवालीको भनाइअनुसार भाष्कर मल्लले तराईको जङ्गलमा हात्ती पक्रेकाले ‘गजपति वीर महीन्द्रसिंह’ नाम ग्रहण गरेको अनुमान लगाएका छन् (नेपाल उपत्यकाको मध्यकालीन इतिहास, पृ. १६४) ।
पाटनमा आफ्नो आधिपत्य स्थापित गरेको हुनाले पाटने काजीहरुले चिढिएर भाष्कर मल्ललाई मार्ने षड्यन्त्र गरेको हुँदा ‘स्वामीभक्त झङ्गल ठकुरी काजीले इनलाई लुकाई स्वयम्भूनाथका पछाडि किंदोल बहालमा राखेको’, तर दरवार फर्केपछि ‘राजाको शीघ्र मुत्यु’ भएको सन्दर्भमा सूर्यविक्रम ज्ञवालीले फादर डेसिडेरीको हवाला दिंदै त्यतिखेर काठमाडौंमा पैmलिंएको महामारी उनको मरणको कारण नभएकोतर्पm संकेत गरेका छन् (ऐजन, पृ. १६६) ।
लामो समयसम्म कान्तिपुरको मुख्यमन्त्री बनेका झङ्गल थकुजुजुको सन्दर्भमा डिल्लीरमण रेग्मीको कथन उल्लेख्य छ । उनले लेखेका छन् : ‘महीन्द्रसिंहको राज्यकालमा पनि तत्कालीन प्रशासनमा झङ्गल ठाकुर अत्यन्त महत्वपूर्ण व्यक्तित्व थिए । उनी केही वर्षसम्म जगज्जयमल्लको पालामा पनि सत्तामा कायमै थिए । तत्कालीन कतिपय दस्तावेजहरुमा राजाहरुको शासनकालमा उनको प्रशासनको कसरी उल्लेख गरिएको छ भन्ने हामीले देखिसकेका छौं । सिंहासनको पछाडि वास्तविक सत्ता उनैसित थियो भन्ने कुरामा शंका छैन’ (ऐजन, पृ. १७३) ।
यिनको नाम झङ्गल रहनु पनि उल्लेख्य छ । उनी चराचुरुङ्गीका सौखिन थिए र प्रशस्त चराचुरुङ्गी पाल्ने हुनाले नै सके उनलाई झङ्गल थकुजुजु भन्न थाले । तर एउटा वंशावलीमा भाष्करमल्ल नै चराचुरुङ्गी पक्रेर पाल्ने हुँदा उनको देहान्त हुँदा चारजना पत्नीमध्ये जेठी रानीले यसैको पापले दिवंगत राजा नर्कमा डुबिरहेको बताएर सत्तल, पोखरी र धारा निर्माण गर्ने अनुरोध गरेर सती गएको वर्णन छ । वंशावलीमा लेखिएको छ : ‘यहाँपछि झङ्गल थकुल काजीले सतीका वचनानुसार मखनटोलमा जगन्नाथका देवल बनाई गुठी राखी स्नान गराइदिया । फेरि काशीमा पनि धेरै ब्राह्मण भोजन गराइदिया । फेरि असनटोलका ढोकाबाहिर सत्तल, धारा, मूर्ति बनाइदिया’ (प्राचीन नेपाल, अंक ६, माघ २०२५, पृ. १०) । असनबाट रानीपोखरीतिर जाने बाटोनजिकै हाल राष्ट्रिय नाचघर रहेको परिसरमा विभिन्न चराचुरुङ्गीको आकृतिअंकित पाटीसहित धारा र पोखरी त्रिचन्द्रकलेजतिर जाँदा मैले कैयौंपल्ट निरीक्षण गरेको थिएँ, तर अहिले त्यो लोप भैसकेछ । मखन टोलका वासिन्दा यिनै झङ्गल थकुजुजुकै कुनै सन्तान पछि अटकोनारायणस्थानमा बस्न थाले होलान् । मन्दिरपछिल्तिर बायाँ कुनाको घर देखाउँदै बुबाले एकपल्ट ‘त्यो हाम्रो पुर्खेउली घर हो’ भनी देखाउनुभएको थियो । त्यस घरमा उहाँ किशोरावस्थामा जेठाबा नीरालाल थकुजुजुको संरक्षणमा केही वर्ष बस्नुभएको थियो (खर्दार बा, पृ. २६) ।
इतिहासमा रत्नमल्लभन्दा पहिले काठमाडौंको शासन गर्ने थकुजुजुहरुलाई ‘वैश्यठकुरी’ भनिएको पाइन्छ । आपूmलाई झर्रा ठकुरी मान्ने मल्लहरुले विजीत राजाहरुलाई होच्याउन वैश्य भनेको हुनसक्ने मत पनि विशेषज्ञहरुको छ । यी ठकुरीहरु नुवाकोटबाट काठमाडौंमा आएको भन्ने पनि वंशावलीहरुमा लेखिएको पाइन्छ । इतिहास कोट््याउँदै जाँदा नेपालमा ठकुरीवंशको शासकको रुपमा अंशुवर्मालाई लिइन्छ र उनी पनि नुवाकोटकै थिए भनी इतिहासविद् योगी नरहरिनाथले भन्ने गरेको परिप्रेक्ष्यमा हाल ‘अशोकवारी’ भनिने स्थान लिच्छविकालको ‘अंशुवाटिका’ भनिने बगैचाकै अपभ्रंश हुनाले यहीं नै अंशुवर्मा जन्मेको ठाउँ हुन सक्ने अनुमान गरिएको छ । ठकुरी भए पनि अंशुवर्माले आफ्नी छोरी भृकुटीलाई भोटका राजासँग बिहे गरिदिएका कारणले र अझ बौद्धधर्मलाई समेत आश्रय दिनाले समेत त्यसपछि खास गरी मध्यकालमा जातपातको भेदभाव निकै तीव्र हुँदा उनको वंशजलाई झर्रा क्षत्रीय ठकुरी नमानेको पनि हुन सक्छ । यो पनि वैश्यठकुरी भन्नुको एक कारण नहोला भन्न सकिंनैन । तैपनि वैश्यठकुरी भन्ने चलन त्यसअघि नै थियो भन्ने वंशावलीबाट चाल पाइन्छ । उदाहरणका लागि अंशुवर्मालाई पनि वैश्यठकुरी भनिएको एक उद्धरण यस प्रकार छ : ‘…यी राजा (नरेन्द्रदेवका पौत्र, विष्णुदेवका पुत्र भीमदेव) का सन्तान भएन र पुत्रीकन १ बुद्ध वैश्यठकुरी अंशुवर्मा नाम राखी कन्यादान दी राजा तुल्याई आपूm शान्त भैगया । कलिगत वर्ष ३१५७ मा अंशुवर्मा गद्दीमा बसे । अंशुवर्मा वर्ष ६८’ (राजवंशावली, २०२५ पृ. ११–१२) । यसै वंशावलीमा अंशुवर्मा ‘बडो चंचल, महा भयंकर, तामस मूर्ति, ठूलो पुरुषार्थी’ भन्दै चित्रण गरी उनले देवपाटनको दरवार छाडी मधेलव (?) भन्ने ठाउँमा ‘बडो शुद्ध रमणीय धेरै चीज संयुक्त गरी दरवार बनाई’ बस्न गएको र ‘आपैm प्रयाग तीर्थमा गै भैरवनाथकन यथाविधिक्रमले ल्याई भैरव खुशी गर्ना निमित्त आफ्ना दरवारसन्धि मन्दिर बनाई प्रतिवर्ष आहुति गरी बसायाका अझतक छँदैछन्’ (राजवंशावली, २०२५ पृ. ११–१२) भनी जनाइएको छ । अंशुवर्मालाई वंशावलीकारले ‘बुद्ध वैश्यठकुरी’ भन्दै एकातिर बुद्धधर्मका अनुयायीजस्तो देखाइएको छ भने अर्कोतिर उनी भैरवका पनि उपासक देखिन्छन् । वैष्णवधर्मालम्बी लिच्छवि राजाहरुको भन्दा उनको धार्मिक आस्था बेग्लै भएको देखापर्दछ । तर यो नै वैश्यठकुरी भन्नुको आधार हो जस्तो लाग्दैन । यदि उनी ठकुरीवंशका संस्थापक हुन भने कसरी वैश्य हुन सक्तछन् र ? कतै यो ‘वैश्य’ उच्चारित शब्द ‘वैशालीय’ को अपभ्रंश त होइन ? वैशालि गणतन्त्र (अहिलेको मुजफ्फरपुरको बसाढ ग्राम) को पतनपछि त्यहाँका लिच्छवि राजपुत्रहरु नेपालतिर लागेका थिए (रामजी उपाध्याय, नेपालको इतिहास, सन् १९५०, पृ. ११५) ।
राजा जयस्थिति मल्लका समयमा (ई.सं. १३८३–१३९५) लेखिएको ‘गोपालराजवंशावली’ को पाण्डुलिपिको सुरुमा लिच्छविभन्दा अगाडिका वर्मावंशका राजाहरुको नाउँ लेखिएको छ (लैनसिंह बाङ्गदेल, जय वर्माको मूर्ति र नेपालको वर्मावंश, २०६२, पृ. १७) । काठमाडौं उपत्यकामा प्राप्त पहिलो धर्मनिरपेक्षित (धर्मसँग सम्बन्ध नभएको) मूर्ति नेपालका प्रथम ज्ञात राजा जयवर्माको हो । सन् १९९२ को मई महिनाको पहिलो हप्तातिर (वैशाख २०४९) मालीगाउँको एउटा घरको जग खन्दै गरेको बेलामा मानिसको जत्रै शरीर भएकोे उँधोमुन्टो लाएर घोप्टो परी लडिरहेको पाँच टुक्रामा खण्डित भएर भाँचिएको यो मूर्ति पाइएको थियो । नेवारीमा सख्वालों भनिने बलौटे ढुङ्गामा कुँदिएको त्यस मूर्तिको पादपीठमा कुषाण ब्राह्मी लिपिमा ‘सम्बत् १०७’ अर्थात् ई.सं. १८५ र ‘राजा जयवर्मा’ भनी लेखिएको छ । इटालीका दुईजना पुरातत्वविद्हरुले मर्मत गरी जोडेको यो शिरदेखि तल पादपीठसम्म ७१ इन्ची अर्थात् झण्डै ६ फीटको मूर्ति हाल छाउनी म्युजियममा राखिएको छ । डिल्लीरमण रेग्मीले आफ्नो पुस्तकमा किर्कपैट्रिकले दिएको वर्माप्रत्ययधारी १२ जना राजाहरुको नामसूची दिएका छन् जसलाई सूर्यवंशी बताइएको छ (एन्सेन्ट एण्ड मिडिभल नेपाल, सन् १९५२, पृ. ६०) । त्यसमा जयवर्माको नाम चन्द्रवर्मापछि दोस्रो स्थानमा छ । त्यसपछि क्रमश: वृषवर्मा, सर्ववर्मा, पुठीवर्मा, जस्टिवर्मा, कुवेरवर्मा, हरिवर्मा, सिद्धिवर्मा, वासुदेववर्मा (वसुदत्त), पतिवर्मा (श्रीपति), शिवबृद्धिवर्माको नाम अउँछ । यी १२ जनाको नामपछि मानदेवको चाँगुनारायण स्तम्भलेख (सम्बत् ३८६) मा दिइएका देवप्रत्ययधारी नामहरु (वृषदेव, शंकरदेव, धर्मदेव, मानदेव) को सूची दिइएको छ ।
यी वर्मावंशी को थिए त ? बालचन्द्र शर्माले लेखेका छन् : ‘वंशावलीअनुसार किरात राजा पटुकको पालीमा पश्चिमतिरबाट सोमवंशी राजपूतहरुको नेपालमा आक्रमण प्रारम्भ भएकोले उक्त किरात राजाले आफ्नो गोकर्णको पुरानो थलो छोडी शंखमूलमा नयाँ दरवार खडा गर्नुपर्यो । पटुकका उत्तराधिकारी किरात राजा गस्तीलाई अन्तिम रुपले पराजीत गरी नवागन्तुक सोमवंशीहरुले गोदावरीमा नयाँ दरवार बनाई नेपालमा आफ्नो शासन कायम गरे’ (नेपालको ऐतिहासिक रुपरेखा, २०२२, पृ. ७८) । उनले अगाडि राइटको वंशावलीको हवाला दिंदै सोमवंशी राजाहरुको नामोल्लेख गरेका छन् : निमिष, मताक्ष, काकबर्मा, पशुप्रेक्ष्यदेव र भाष्करबर्मा । यस नामसूचीमा दुईजना राजाको नाममा वर्मा अंकित छ, तर जयबर्माको उल्लेख छैन । साथै उनले ‘भाष्करबर्मा निसन्तान भएकाले ‘गौतम गोत्रीय सूर्यवंशी राजपूत क्षत्रिय भूमिबर्मालाई गोद लिई आफ्नो उत्तराधिकारी बनाए, र यस प्रकार नेपालमा सूर्यवंशी लिच्छविहरुको शासनक्रम कायम भएको हो’ भनी जनाएका छन् (ऐजन, पृ. ७८) । स्मरणीय के पनि छ भने लिच्छवि राजवंशमा पनि बर्मा प्रत्ययान्ती नामहरु पाइन्छन् । ढुण्डिराज भण्डारीले आफ्नो पुस्तकमा पशुपति शिलालेखको आधारमा राइटले तयार पारेको नामसूचि दिएका छन् जसमा भूमिवर्मापछिका १७ राजाहरुको नाममा वर्मा प्रत्यय रहेको छ । अन्तिम नाम वृखदेववर्माको छ र त्यसपछिका नाम मानदेवको चाँगुनारायणको स्तम्भलेखसित मिल्दछ । त्यसमा मानदेवपछि महादेव र त्यसपछिका ९ नामहरु पनि वर्मा प्रत्ययधारी नै छन् (नेपालको ऐतिहासिक विवेचना, २०१५, पृ. ३९) । यसबाट वर्माप्रत्यय वंशको सूचक नभएको प्रतीत हुन्छ ।
इतिहासविद् जायसवालले वंशावलीका अनुसार ‘समुद्रपर्यन्त विजय गरी सम्पूर्ण एकत्रित धन पशुपतिलाई चढाएर देवपाटनको सानो गाउँको स्थानमा सुवर्णपुरी नामक सुन्दर शहर समेत बसाउने’ भाष्करबर्मालाई ‘त्यस समयसम्म पनि वैशाली गणराज्यहरुका प्रधान छँदैथिए’ भन्ने जनाउँदै उनले ‘समुद्रगुप्तका मातामह र चन्द्रगुप्त (प्रथम) का ससुरा अनुमान गरेका छन्’ र उक्त सोमवंशी राजाहरुलाई लगभग ईशाको २०० तिर ‘वैशालीदेखि नेपाल आउने लिच्छवि नै ठहराएका छन्’ (ऐजन, पृं ७९) । तर उनीहरुले नेपाल–प्रवेश ‘पश्चिमतिरबाट’ गरेको चाहिं मननीय छ । यसले नुवाकोटतिर स्पष्ट संकेत गर्दछ । मेरो विचारमा वैशालीका राजवंशका सन्तति हुनाले नै उनीहरुलाई वैश्यठकुरी भनिएको हुनुपर्दछ । यस परिप्रेक्ष्यमा सूर्यविक्रम ज्ञवालीले ‘वैश्य’ नभनी ‘बैंस’ लेख्नुको तात्पर्य पनि मननीय प्रतीत हुन्छ । अवश्य नै ‘वैशाली’ को छोटो नेवारी रुप ‘बैंस’ भयो होला र कालान्तरमा त्यसैलाई ‘वैश्य’ ठानिएको हो ।
लिच्छविकालमा अक्सर द्वैधशासन र यदाकदा त्रैधशासन प्रणाली अस्तित्वमा आउने गरेको थियो । लिच्छवि राजाहरु कमजोर भएको अवस्थामा कहिले बर्मावंश त कहिले आभीर गुप्तवंशको जगजगी हुने गर्दथ्यो । सम्भवत: लिच्छवि राजाका भारदारको रुपमा रहेका बर्मा र गुप्त वंशीहरुका बीच संघर्ष तीब्र हुन्थ्यो भन्ने अनुमान लगाउन सकिन्छ । बर्मावंशका सामन्तहरु कमजोर स्थितिमा हुँदा आफ्नो आधिपत्य बलियो रहेको नुवाकोटमा आश्रय लिन्थे होलान् ।
लिच्छवि राजा शिवदेव प्रथमको समयमा सन् ५७१ तिर अंशुवर्मा महासामन्त बनेका थिए । भाषावंशावली अनुसार उनले ‘नेपालका तत्कालीन राजाकी छोरीसित विवाह गरे र पछि स्वयं उनका उत्तराधिकारीको रुपमा राजगद्दी प्राप्त गरी ‘ठकुरी वंश’ को शासन कायम गरे… यिनका मुद्राहरुमा सूर्यचिन्ह अंकित भए तापनि यिनका शिलालेखहरुमा यिनलाई ‘लिच्छवि’ मानिएको छैन’ (बालचन्द्र शर्मा, नेपालको ऐतिहासिक…, पृ. ८४) । अंशुवर्माका पुत्रलाई कृतवर्मा भनिएको छ, तर नातिले चाहिं वर्मा लेख्न छाडेको बुझिन्छ । सम्भवत: अंशुवर्माले लिच्छवीकन्यासित विवाह गरेको हुँदा लिच्छवी राज्यका उत्तराधिकारी बनेका उनका वंशजहरुले पितृवंशको उल्लेख गरिरहनु आवश्यक ठानेनन् होला । अझ उनीहरुले त आपूmलाई लिच्छवि राजाहरुले जस्तै सूर्यवंशी समेत मान्न थालेको देखिन्छ । फेरि अंशुवर्माभन्दा पहिलेको उनको पुर्खेउली वंशको स्पष्ट उल्लेख पनि त पाइँदैन ।
सूर्यबिक्रम ज्ञवालीले जनाएअनुसार ‘लिच्छवी नरेन्द्रदेवले तिब्बतका सहायताले सप्तम शताब्दिमा नेपालको सिंहासन आफ्ना अधीनमा गराएपछि अंशुवर्माका वंशका बैंस ठकुरीहरु नेपालको खाल्डोबाट ओल्टे कोल्टे लागी यत्र तत्र गई बस्नु स्वाभाविक छ । यिनीहरु नुवाकोट गई बसेको अनुमान हुन्छ । जयकामदेव निसन्तान भएर होस् वा शक्तिहीन भएको हुनाले होस् मौका पर्ने बित्तिकै बैंस ठकुरीहरुले टाउको ठाडो पारी हालेको कुरा बुझिन्छ’ (नेपाल उपत्यकाको मध्यकालीन इतिहास, वि.सं. २०१९, पृ. २०) ।
अन्तिम लिच्छवि राजा जयकामदेव निसन्तान भएकाले सन् १०४७ मा ‘नुवाकोटे ठकुरी भाष्करदेव गद्दीमा बसे’ । ढुण्डिराज भण्डारीको पुस्तकमा उनलाई नुवाकोटे ठकुरी राजवंशका भाष्करदेव वर्मा पनि भनिएको पाइन्छ (नेपालको ऐतिहासिक विवेचना, पृ. १०) । त्यसपछि बलदेव वा वलवन्तदेव (१०५९–६०), उदयदेव (?), प्रद्युम्नकामदेव वा पद्मदेव (१९६५–६६), नागार्जुनदेव र शंकरदेव (सन् १०६९–१०७८) राजा भएको देखिन्छ । तत्पश्चात् वंशावलीअनुसार ‘भास्करदेवले सिंहासनच्यूत गरेको प्राचीन राजवंशको यौटा हाँगो’ (ऐजन, पृ. २२) मानेको वामदेवले वैश्यठकुरीहरुलाई सिंहासनच्यूत गरी पुन: ‘नेपालको राजसिंहासनमा अंशुवर्माका सन्तान बसे’ (नेपालको ऐतिहासिक रुपरेखा, २०२२, पृ. ११४) भन्ने जनाइएको छ । अंशुवर्मालाई कतै वैश्यठकुरी भनिएको छ त कतै सूर्यवंशी ठकुरी (अंशुवर्माका सन्तानलाई बालचन्द्र शर्माले सूर्यवंशी राजपूत क्षत्रिय वा ठकुरी भनेका छन्) । अंशुवर्माका लिच्छवि रानीका सन्तानले नेपालको शासनको वास्तविक अधिकारीको दावी गर्न पनि लिच्छविहरुले भैmं आपूmलाई सूर्यवंशी घोषित गरेको हुनु सम्भव छ । शासनका लागि प्रतिस्पर्धामा एउटै वंशमा पनि विभाजन देखिनु अस्वाभाविक हुँदैन ।
रामजी उपाध्यायले सन् १०९८ तिर पाल्पाका राजा मुकुन्दसेनले आफ्ना खस र मगर सैन्यका साथ आक्रमण गरेपछि महामारीले ध्वस्त भएको उपत्यकामा आठ वर्षसम्म शून्य राज्यशासन रहेको अवस्थामा फेरि ‘वैश्यठकुरी राजपूत’ वंशका अनेक राजाहरु (कान्तिपुरमा १२, पाटनमा २० र भक्तपुरमा ३ जना) ले आफ्नो अधिकार जमाएको र तिनका ‘अनेक पुस्ताका अनगिन्तीका राजाहरुले २२५ वर्षसम्म नेपालको राज्य गरेको’ उल्लेख गरेका छन् (नेपालको इतिहास, सन् १९५०, पृ. १२०) । यस प्रकार शंकरदेवपछि फेरि नुवाकोटे ठकुरीहरुले नै सम्भवत: मल्लवंशको उदयसम्म राज्य गरेको देखिन्छ ।
थकुजुजुका सन्तानले मान्दै आएको स्वयम्भूपछिल्तिरको आदेश्वर महादेव र त्यस सामुन्नेको कालिकादेवीले पनि यस वंशको प्राचीनताकै द्योतन गरिरहेको देखिन्छ । नुवाकोटबाट काठमाडौं उपत्यकाका आउने वैश्यठकुरी वा अझ त्यसभन्दा पनि अघिका सोमवंशी वर्माहरुले नै त्यसको स्थापना गरी आदेश्वर भन्ने नाउँ दिएको हो कि ? आदेश्वर नाम प्राचीनताको द्योतक हो भन्ने लाग्छ । काठमाडौंमा भने आजभन्दा १२ सय वर्षअघिका ठकुरीवंशका राजा शंकरदेवले कलिगत ३९२७ मा स्थापना गरेको तारिणीदेवी (नेवारीमा तानाद्य:) को एकतले सानो मन्दिर तलेजुकै मन्दिरपछाडि तानावहालमा रहेको छ । सूर्यविक्रम ज्ञवालीले जनाएअनुसार ‘तनादेवतालाई शंकरदेवले आफ्नो इष्टदेवता मानेका थिए । यो कारणले काठमाण्डुमा तनादेवताको मन्दिरभन्दा अग्लो घर नबनाउनु भन्ने आज्ञा उनले थिए (नेपाल उपत्यकाको मध्यकालीन इतिहास, पृ. २१) ।
रत्नमल्लले कान्तिपुरको शासनको बागडोर आफ्नो हातमा लिएपछि सन् १५०१ मा आफ्नी इष्टदेवी तलेजु (तुलजाभवनी) को अग्लो मन्दिर बनाउन लगाउँदा जहिले पनि बनाए जति राति कसैले भत्काइदिने गरेको पाइँदा ज्योतिषहरुले तारिणीदेवीले भत्काउने गरेको चाल पाई दिनको एउटा राँगो बलि चढाउने वाचा गरेपछि मात्र तलेजुमन्दिर बनाउन सकिएको किंवदन्ती छ (हाल दशैंको समयमा वर्षको एउटा राँगो दिइन्छ) । मेरो विचारमा यो पुरानो राजवंश र नयाँ राजवंशको संघर्षको द्योतक हो र आखिर मल्लवंशका राजाहरुले थकुजुजुहरुलाई पनि शासनमा सम्मानित स्थान दिएपछि मेलमिलाप गरिएको हुन सक्तछ । बाह«जना थकुजुजुलाई षड्यन्त्र गरी मार्ने काजीलाई पछि प्राणदण्ड दिइनु पनि यसैको परिणाम होला ।
स्वयम्भूपछाडिको आदेश्वरस्थानमा उहिले नै बुवा–मुमासङ्गै एकपटक मात्र पुगेको थिएँ तर काठमाडौंको केन्द्रमा रहेको तानाबहालमा हरेकपल्ट काठमाडौं जाँदा म आफ्नी कुलदेवीको आँगनमा पुग्ने गरेको छु । त्यहाँ मूल प्रवेशद्वारबाटै देख्न सकिने गरी राजा प्रतापमल्लद्वारा स्थापना गरिएको अगलबगलमा मत्येनारायण र लक्ष्मीनारायणसहित स्वस्थानीदेवीको मण्डप छ भने भित्रपट्टि विभिन्न देवदेवीहरुका स–साना स्थानहरुका साथै देवीको खड्ग राखिने आगँछें (भण्डारघर) र आदेश्वर शिवलिङ्ग पनि स्थापना गरिएको छ । म त्यहाँ थकुजुजुवंशबारे केही जानकारी पाउन सकिन्छ कि भन्ने मुख्य उद्देश्यले नै त्यहाँ पुग्दछु, किनभने तीन पुस्तादेखि जनै लगाउन छोडीसकेको व्यक्तिलाई मन्दिरभित्र वा देवीका सरसामान, शक्तिको प्रतीक खड्ग र थ्यासपूm आदि ऐतिहासिक कागजात राखिने भण्डारघरमा त प्रवेश–निषेध हुने नै भयो । तानाबहालको हेरचाहका लागि हाल थकुजुजुहरुकै सन्ततिले तानादेवी संरक्षण समिति गठन गरेका छन्, तर उनीहरुले समेत दीक्षा लिन छाडिसकेको बुझियो । एक वर्ष अघि सन् २०११ को अप्रिलमा म त्यहाँ पुगेको थिएँ । त्यहाँ विभिन्न पुरातात्विक वस्तुहरु, घरहरु र झङ्गल थकुजुजुले बनाएको पौवा समेत उचित सम्भार हुन नसकी जीर्ण भइसकेको छ । पूर्खाको उत्तरदेनको संरक्षण गर्दै त्यसमा आधुनिक पुस्तकालय राखिएमा राम्रो हुने थियो भन्ने विचार पोखेर एउटा खुला म्युजियम नै भन्न सकिने तानाबहालको अवलोकन गरी मास्को फर्केंं ।
कला : हरिप्रसाद शर्मा