दिदीबहिनी थिएनन् आमाका !
हजुरआमाका पनि दिदीबहिनीहरु थिए भन्ने सुनिनँ मैले । दाजुभाइहरु पनि थिएनन् आमाका । एक अर्थमा एक्लो हुनुहुन्थ्यो आमा । हामी सन्तानले घेरिएपछि बल्ल आमाको संसार फराक भयो, फैलियो, फराकिलो भो ।
‘लुकी सानिमा !’
आमाले प्राय: भनिरहनुभएको हुन्थ्यो । आमाकी तिनी कति नजिककी थिइन् – म जान्दिनँ । जसका आफन्त, नातेदारै कम भए । जसको नजिकका नै थोरै भए । जसका नातागोता नै अल्प भए ।
आमाले सानिमा कहाँ भेट्नु भो ?
धेरै दिनदेखि फुटिरहेका छन् कुरा–फोका । पानीफोका जत्तिकै कुरा–फोका ।मैले भेटेको सम्झना छैन लुकी सानिमासँग । उनको अनुहार, कपाल, शरीर, हातगोडाको सम्झना छैन । उनको बोली, हाँसो वा विरक्ति पनि स्मृतिमा छैन ।
लुकी कसरी सानिमा भइन्, कहिलेसम्म, किन भइन् र कुन कारणले भइन् – मैले सोध्ने ख्याल पनि गरिनँ । आमा पनि जानु भो । आमाकी लुकी सानिमा पनि गइन् ।
लुकी एउटा अर्थको सुवासले मसँग लुकामारी खेलिरहेको छ ।
लुकी मैले नभेट्दै लुकिसकेकी थिइन् । उनको नामले मलाई किन–किन नजिक पुर्याउन खोज्छ । केही बुझ्न, जान्न र खुल्दुली गराइरहन्छ ।
लुक्नुको अर्थ के कति छ ? मैले कमै बुझेको छु ।
लुकाइसँग छेलिनु, ओझेलिनु, बेपत्तिनु, हराउनु वा लुप्त हुनुसँग भाव जोडिएको होला । लुक्नुसँग लापत्तिनु, किनारिनु, छेकिनु वा नदेखिनु अर्थ पनि गाँसिन्छ कि ? साधारण रुपमा केही छिप्नुसँग लुकाइको अन्तरङ्ग मर्म हुनुपर्छ ।
आमाले लुकी सानिमाबारे भनिरहँदा – मैले उनको नामसँग नजिकिएर डुबिरहेँ । जो बढी डुब्छ उत्रिइहाल्छ ऊ । लुकी शब्दले मलाई एक पटक तैराएरै छोड्यो ।
लुकी सानिमा चाँडै लुकिन् । आमाले उनी लुकेको बारेमा निकै चिन्ता गर्नु भो । लुकी अर्थात् मरी ।
अचेल म जतासुकै लुक्नेहरुको ताँती देख्छु । लुक्नलाई जोसुकै तम्तयार छन् । हरेक ठाउँमा मान्छेहरु लुक्ने लहरमा जुटेका देख्छु । लुक्नलाई लापत्तिने समाज बढिरहेको देख्दैछु म ।लुक्नु भनेको नदेखिनु मात्र होइन होला । अस्तित्वबाट अलप हुनु पनि त लुक्नु हो । यो अलप, लोप, लुप्त संस्कार खुबै बढिरहेको देख्दैछु म ।
लुक्नलाई जङ्गल चाहिँदैन । लुक्नलाई नदी चाहिँदैन । लुक्नलाई खोँच चाहिँदैन । ताल, झाडी वा सुरु चाहिँदैन । ओडार, गुफा, खाल्डो वा दलदल चाहिँदैन । लुक्नलाई ठूलो दरबार वा महल चाहिँदैन ।
मानिसहरु अचेल लुक्दै गइरहेका छन् । टुँडिखेलबाट देखापरेका ठूला–ठूला व्यक्तित्वहरु दर्शनका पानी–फोका पट्याकपुटुक फुटेर कता लुके–लुके ।देशबाट, समुदायबाट, जातिबाट, नाताबाट र परिवारै लुकेका छन् त्यस्ता धेरै अनुहार । ती अनुहारमा नेता, अभियन्ता, शिक्षक, कर्मठ, सेवक, व्यापारी वा परोपकारी परेका हुन्छन् । सञ्चारकर्मी, गायक, अभिनेता, वकिल र कर्मचारीको ताँती पनि लुकेका छन् ।
मैले थुप्रै देखेको छु लुक्नेहरु ।
लुक्दा के हुन्छ – रमाइलो, हाँसो, आनन्द वा निमग्न ? यी भावनामा लुकी–लुकी के भेटिन्छ ? मैले कहिल्यै जान्न सकिनँ । तर पनि लुक्नेहरुको खोजीनीति गरिरहन मन लाग्छ ।
धेरैचोटि लुकेँ म पनि ।
परालको माचमुनि, रुखका फेदमा, पानीमुनि वा सिरुघारीमा लुकेर अरुलाई छक्याएँ । आपूm लुकिरहँदा अरुले देख्ला र हारुँला भन्ने ठूलो पिरलोमा ढुकढुकिन्थ्यो छाती । ती ढुकढुकी रोकी–रोकी जित्ने मेरो रहर काँ चानचुने हो र ?
अचेल लुक्नेहरु फरक पाराले लुकिरहेका छन् । उनीहरुको लुकाइमा जीवनबोध वा सन्तोषको हात लागि भएको देख्दिनँ म ।
लुक्नेहरुले ठूलो ठाउँ खोज्दै आँगन, शहर, राजधानी वा विदेशसम्म पुर्याएर आपूmलाई लुकाइरहेका छन् । लुकाउने ठाउँ खोज्दै धेरै अनुहार युरोपतिर बेपत्तिएका छन् । छिपाउने स्थान खोज्दै धेरै अनुहार अफ्रिकातिर लापत्तिएका छन् ।
कति अरुबाट लुकाइएका छन् – धेरै आफैँ लुकिरहेका छन् । लुकी–लुकी आफ्नो जीवन–यात्रा चलाउनु भनेको कत्ति नि सजिलो होइन । घानबाट उच्छिटिएको मकैको दाना मात्र हो लुक्नु भनेको । भेटेको क्षणमा त्यही पिसाइमा परिहालिन्छ ।
छोरी अक्षि एकपटक हराइन् । उनको मामाघरमा हामी सबै जिस्किरहेथ्यौँ । म नानीसँग खेल्दाखेल्दै आफ्नै काममा जुटेँ । निकै बेरपछि छोरी हराएको खबर मेरा कानमा आए । मुस्किलले २–३ वर्षकी ती सानी छोरी हराएको पिरलोमा हामी बाबुआमा, उनका मामा–माइजू पनि अत्तालियौँ ।
सारा गाउँ पसेर उनको खोजी गर्यौँ । उनी खेल्ने चौर, बाटो, पसल र आफन्तको घरतिर खोज्यौँ धुइँधुइँती । हैरान खेपेर घर आएर म बसेँ ।
झण्डै एक–डेढ घण्टापछि म बसेको ठाउँ अघिल्तिरको खाटमुनि कोही रोएको सुनियो । गएर हेर्यौँ । हामीलाई छक्याएर लुक्न गएकी छोरी खाटमुनि नै निदाइछन् । जब बिउँझिन् खाटमुन्तिर अँध्यारो देखिन् । अनि कहालिएर रोइछन् ।
जिन्दगी यस्तै रहेछ ।
लुक्न खोज्यो – लुकिसक्दा फेरि बिउँतेर संसारको खोजाइमा परिहालिन्छ । लुक्ने कोसिसमा बालुवालाई तालले पखालेजस्तै हामी भेटिइहाल्दा रहेछौँ ।अचेल धेरै आफ्नाहरु लुकिरहेका छन् ।तिनीहरु लुक्ने अनौठा–अनौठा गुफा बनिरहेका हुँदा हुन् । कतै धन, पद, वैभव, उन्नतिसँगै मानिस लुक्ने ओडार होलान् । आफ्नाहरु त्यसरी लुक्दा मैले तिनलाई उनीहरुकै नामले बोलाएँ । तीसँग जोडिएका पद, प्रतिष्ठा, पैसा वा शक्तिको उपमाले बोलाइनँ ।अचेल दाजुभाइहरु लुकिरहेछन् ।
तिनीहरु लुक्ने अर्कै सुरुङ बनिरहेका होलान् । जग्गा, जमिन, घर, राम्रा पत्नी वा इखालु सन्तानका गुप्ती खाडलतिर ती रमाइरहेका होलान् । मैले उनीहरुलाई तिनका धन, महल, सन्तानका हेराइले बोलाइनँ ।अचेल दिदीबहिनीहरु लुकिरहेछन् ।
तिनीहरु रुप, ठाँटबाठ वा धनधान्यका गुफामा होलान् । तिनका गुफा बाहिरबाट मैले रुखका पात बेरेर पिँ–पिँ बजाउँदै बाल्यकालको स्नेहसँग जोडिन भनिरहेको छु । तिनका सुरुङमा नपसेको घामपानीबारे बताएर बाहिरिन सम्झाइरहेको छु ।
‘लुकी–लुकी नबस । संसारलाई आफ्नो अनुहार देखाऊ ।’
लुक्नुको पीडा सम्झाउँछु ।आफु पनि नछेलिएको संसारको पात्रबारे व्याख्या गरिरहेको छु ।
‘लुकी सानिमा !
आमाले भनेको यो नाता र परिचयले फेरि कुरा भुल्काउँछ मनमा ।
म पनि धेरैचोटि लुकिसकेको रहेछु । घरका धेरै कोठामा लुक्तै साथीहरुसम्म देखिएँ । उनीहरुबाट लुकी–लुकी विद्यालयसम्म देखिएँ । शिक्षकहरुका थुप्रै नियम कानुनमा लुकी–लुकी विश्वविद्यालयका बेञ्चमा टुप्लुकिएँ ।
लुक्नु र टुप्लुकिनु सबैभन्दा ठूलो जोडघटाउ रहेछ । पुस्तकका पाना र अक्षरजस्तो । अक्षर कसरी लेख्नु पाना नभए ? रित्ता पानाले पुस्तकमा के शोभा पाउँछन् र ?
घरमा नानीहरु ढोकाको चेपमा लुकेर घर भित्रिनेलाई एकैपटक ‘हाउ’ गरेर अत्याउँथे । मैले पनि यो लीला गरेँ । आमा र हजुरआमा हुँदै यो क्रमले आजसम्म बचाएको हुनुपर्छ ।
नलुक्ने हो भने ‘हाउ’ गर्नेको मूल्य पो के ? ‘हाउ’ मात्र गर्ने त नलुक्ने हो भने नि अर्थ पो के ? यसरी समयका सब्लाँटा र बिब्ल्याँटामा प्रश्न उठिरहेका छन् ।
लुक्नु भनेको साँगुरिनु पनि होला ।
एकदमै थोरै समयमा, कसैले नदेखोस् भनेर शरीर झन्–झन् सानो बनाएर अनि आफ्नो धुकधुकीसम्म नसुनोस् भनेर खाँबो, ढोका, रुख, कुनो वा आलीका डिलमा लुकेर हामी खेल्यौँ । आनन्दको खेल– लुकामारी ।
लुकामारी खेल्दा त्यही योजना, त्यही लक्ष्य र त्यही सपना हुन्थ्यो– लुकेर बस्न सकियोस्, साथीलाई हराउन सकियोस् । कति साना, मसिना, खिरिला र थोपामा खुशीका खित्का र मुस्कानका थोप्ला बसिरहेका हुँदा रहेछन् ।अचेल ठूला–ठूला चित्र, चरित्र लुकाएर पनि हर्षित नहुने समाज बढिरहेछ, समुदाय थुप्रिरहेछ, संसार बनिरहेछ ।
यो कुरा लुकेछ – लुकी सानिमाको अरु सेरोफेरो के थियो ?
आमालाई सोधिनँ । सोध्ने समय जानिनँ । वा मलाई महत्व ढिलो बोध भयो । अब त्यो कथा पनि अपुरो भयो ।
गुणन हिसाब कण्ठ गर्न लाउँथे गुरुहरुले विद्यालयमा । अनि दुई एकान दुई, दुई दुना चार । यही भाका र लयमा मैले कण्ठ गरेँ । मलाई अहिले पनि क्यालकुलेटर थिच्नु पर्दैन ।
हिजोआज फरक छ वातावरण । बोर्डिङ स्कुलका प्रविधिसँग नजिक्याएर विद्यार्थीहरुको दिमाग बोधो हुँदै गइरहेछ । उनीहरुका मस्तिष्कलाई भुत्ते पारिदँैछ ।
मेरी सानी छोरीको विद्यालयमा आठ कक्षासम्म गुणन घोक्न लगाइयो । आठपछि क्यालकुलेटर प्रयोग गर्न पाउने रहेछन् उनीहरुले । तर पढ्न र घोक्नको अल्छीले उनी घरी–घरी शौचालयमा मेरो मोबाइल बोकेर जान्थिन् । पछि थाहा पाएँ– मोबाइलमा भएको जोड, घटाउ र गुणनको प्रविधिबाट गुणा हिसाब सिक्ती रहिछिन् ।
‘देखाएर गर । लुकी–लुकी नगर ।’
मैले छोरीलाई त सम्झाएँ । तर सकेसम्म लुकाएर जे गरे पनि हुन्छ भन्ने वातावरण म देखिरहेको छु । वरिपरिको परिवेश त्यही भएपछि मैले फेरेको श्वासमा पनि प्रदूषित कण गएनन् भन्न म सक्तिनँ कत्ति नि ।
कोही लुक्ने इच्छाका होलान् । धेरै त लुकाउने वा लुकाइ माग्ने चरित्रका नि छन् । त्यसरी लुकिनेहरुसँग परिचयको लागि श्रृङ्खला हुँदैन ।
बत्ती छेउको उज्यालो र त्योभन्दा एक हात परको अँध्यारोसँग के कस्तो साइनो हुन्छ ? अलिक गहिरेर हेर्ने हो भने कसैलाई लुकाउने वा लुक्ने कथाले बोलेको सारभन्दा अर्को लाग्दै–लाग्दैन ।
आमाले भन्नु भएको सम्झना छ– धागो लुकाएर सिएको लुगा पो लुगा । नत्र त भ्वाङ टालेको देखिइहाल्छ नि ।
सबैबाट लुक्नेहरुको लस्कर निकै देखिरहेको छु म । ती लुक्तै–लुक्तै कुन पिँधसम्म पुग्लान् ? ती लुकी–लुकी कुन दुलाको बिन्दुसम्म पुग्छन् ?
दापमै लुकेका हुन्छन्– खुकुरी र कर्द । खुकुरीलाई धार दिने र उध्याउने कर्द हो । खुकुरीको लम्बाई सामु कर्द त लुक्छ ।
आज लुक्नेहरुको यै सिद्धान्त छातीमा गीत बनेर गुञ्जिरहेको होला । गीतलाई सङ्गीत दिनेहरुले त्यै लुकाइलाई समातेका होलान् । तर मैले लुकी–लुकी सास फेरिनँ ।
लुक्ने मन कत्ति नि गरिनँ । लुक्ता नचिनियोस् भनेर अनुहारमा कालो घसघास गर्नेहरु बढिरहेका छन् हिजोआज ।
जिताइदिएँ, जिताउँछु, जिताउनु छ – तर लुक है भन्नेहरु धेरै छन् । लुकी–लुकी जित्नेहरु पनि धेरै छन् । लुकेर जितेको श्रीपेच लाउनेहरु थपिइरहेका छन् । वरपर लुक्ने र लुकाउने खेलको रमिता छ ।हार्नलाई लुक्दै छु म– जिम्मा कसैले नलिनु !