सङ्गीतकार विनय वर्माको स्मृतिमा पर्यटन बोर्डको हल मा साङ्गीतिक कार्यक्रम गरिएको छ । नेपाली गीत सङ्गीतका क्षेत्रमा अनवरत सक्रिय रहेर सेवा गरेका वर्माको सम्झनामा श्रुति सङ्गीता लय र कपन सङ्गीत सरोवरको संयुक्त साङ्गीतिक श्रद्धाञ्जली कार्यक्रम आयोजना गरेको हो ।
वरिष्ठ सितार वादक उमा थापाको प्रमुख आतिथ्यमा श्रुति सङ्गीता लयका बालबालिकाहरूले गणेश भजन गाएर सुरु गरे भने श्रुति सङ्गीता लयकै प्रहर्ष महर्जनले तबला सोलो कार्यक्रम प्रस्तुत गरे ।
साङ्गीतिक सम्झना कार्यक्रममा विनय वर्माकी सुपुत्री गायिका सुजाता वर्माले शास्त्रीय गायन प्रस्तुत गरेकी थिइन् । सो प्रस्तुतिमा विनय वर्माका नातिहरू सङ्कल्प वर्मा र शतक वर्माले सुजाता वर्माका लागि तबला र तान पुरा बजाएर साथ दिएका थिए । चौथो साङ्गीतिक कार्यक्रमका रूपमा सन्तोषभक्त श्रेष्ठ, नगेन्द्रविक्रम राई र जगन्नाथ धगौडाको शास्त्रीय सङ्गीतको प्रस्तुति थियो भने अन्तिम प्रस्तुतिका रूपमा प्रसिद्ध शास्त्रीय गायक श्री केसी र प्रसिद्ध तबला बादक मिलेस तण्डुकारको ध्रुपदको थियो । कार्यक्रम बिसुकुमार केसीको सभापतित्वमा सम्पन्न भएको थियो ।