पानी हो
पिउन दिनुपर्छ तिर्खाहरूलाई
त्यो पानी धाराको होइन, खोलाको होइन
तिमी स्वयं हो
सुरक्षित धर्म अनि सर्वस्व सम्झिन्छौँ
स्पर्श कसैले गर्न नहुने
कसैले पिउन पनि नहुने
तिम्रो पानीलाई
प्रतिज्ञा गर्छौ सुरक्षित राख्ने
चाहे तिर्खाहरूले मागुन्
चाहे खोस्न, लुट्न आउन् जाली झेलीहरू
अनेक रूप र भेष लिएर
यो सत्य हो, नबिर्स
धमिलो दह जम्छ बग्न नपाएपछि पानी
र जन्मिनेछ थुप्रै विषाक्त कीटाणुहरू
डस्नेछन् तिमीलाई त कीटाणुहरूले
काम शून्य, इच्छा शून्य बनाएर
ढल्नेछन् त्यस बेला
सर्वस्व र धर्म रूपमा उभिएका तिम्रा सबै टाकुराहरू
तिमी केवल अस्थिपञ्जर हुनेछौ
तिमीलाई पिउने कुनै इच्छाहरू हुने छैनन्
तिमीलाई पिएर शान्त हुने
कुनै बहुला आवेगहरू पनि हुने छैनन्
त्यसैले म भन्छु
पिउन दिनुपर्छ पानीलाई
चाहे त्यो पानी तिमी नै होस्
अर्थात् खोलाको होस् ।