शङ्का
शङ्का लाग्छ घरि–घरि देश भल्की रूँदा खेरी
कतै दिउँसो रात पार्ने हुन् कि भन्ने डर फेरि ।
बिर्खे दाइकी आमा सधैं सपनीमा बर्बराउँछिन्
सुन्तलीलाई बिपनीमै ऐँठन हुन्छ साह्रै रून्छिन् ।
कतै साइँली बौलाउँछिन् कि मनै उन्को अमिलिँदा
बिना बर्खा उर्लिएर मेचीकाली धमिलिँदा
ढुक्कसँग चौतारीमा बस्नै पनि ठूलो डर
कुन् दिनमा एउटै चिहान हुने हो कि आफ्नै घर ।
ठुल्दिदीको घाँस दाउरा काट्ने वनपाखाभरी
बारूद धुँवा खप्न नसकी उडे कठै ! वनका चरी ।
सानी बहिनी पँधेरीमा पानी भर्न जान्न भन्छिन्
राक्षसको बिग्बिगीले थर्–थर् काम्दै कान थुन्छिन् ।
गाइने दाइको सारङ्गीमा उन्मुक्तिको गीत छैन
कान्छा–कान्छी देउरालीमा फूल साट्ने प्रीत छैन ।
हृदयमा लालीगुराँस सयपत्री सुनाखरी
फुल्नै नपाई कोपिलैमा झर्ला भन्ने पीर फेरि ।
कस्तो हु“दो रैछ हजुर
कस्तो हुँदो रैछ हजुर मानिसको जात ।
घाम छँदै दिउँसै हजूर पार्न खोज्छन् रात ।।
खुट्टा तानी छिर्के हानी माथि–माथि जानी ।
मै हुँ जान्ने भन्छन् हजुर गर्छन् ठूला बात ।।
भने जस्तो भइन भने खन्न थाल्छन् खोइरो ।
साँचो बोल्न हुन्न हजुर उल्टै हान्छन् लात ।।
सित्तै पाएका खान्छन् रमाई पाथी तिनेक चुक ।
जता आगो बल्यो हजुर उतै लाग्छन् साथ ।।
कुन छ ठूलो पार्टी खोज्दै कुन् छ ठूलो नेता ।
बिन्ती पुकार गर्छन् हजुर जोड्छन् जुम्ला हात ।।
ल्याइदेऊ न उज्यालो
ल्याइदेऊ न उज्यालो धर्तीमा गगनको त्यो न्यानो घामले
पीडाले पोलेको बस्तीमा शीतल पोखिदेऊ जूनले ।
सुनाइदेऊ सन्देश सबैलाई सरर हिमाली हावाले
खडेरी परेको मनलाई भिजाइदेऊ मेची र कालीले ।
आइदेऊ न हुरी र बतास फाटिदेऊ क्षितिजको तुँवालो
चिरिदेऊ अँध्यारो रातलाई बालिदेऊ अखण्ड दियालो ।
फुलिदेऊ मनका फाँटभरि रक्तिम त्यो लाली गुराँस
चुलिदेऊ सिर्जना हिउँसरी सगरमाथाको यो बास ।
बाँसुरी फुकेर धुन ब्युँझाइदेऊ देवी र देउराली
बोलाइदेऊ मुग्लानीदाइलाई सम्झाई देऊ उकालीओराली
रसाइदेऊ पहरे छाति फुटिदेऊ भुल–भुले मुहान ।
गाइदेऊ स्वर खोली गीत डाकिदेऊ झल्मले बिहान ।
तिर्सना
हुँदैन कसै नउठी आफै तिर्सना नगरी
माटोमा त्यसै काँ फुल्छ फूल पसिना नझरी ।
नजरभरि आँशुका डोब छन् कति सुकेका
अधरभरि दुखेका गीत छन् कति लुकेका
बाँसुरीभित्र खोजेर नौलो धुनलाई बजाउन
पाखुरीभित्र ठूलो छ बल सिर्जना सजाउन ।
हुँदैन कसै नउठी आफै तिर्सना नगरी
माटोमा त्यसै काँ फुल्छ फूल पसिना नझरी ।
सबैले आफ्नो छिचोले बाटो पुग्नलाई शिखर
हामीलाई यही पछौटेपनले पार्यो नि बिगार ।
रोक्किनी किन उचाल पयर नीदलाई त्यागेर
लठ्ठिए साह्रै यी आँखा हाम्रा उठन जागेर ।
हुँदैन कसै नउठी आफै तिर्सना नगरी
माटोमा त्यसै काँ फुल्छ फूल पसिना नझरी ।