चितवनबाट प्रकाशित हुँदै आएको आएको अनुसन्धानमूलक साहित्यिक–साास्कृतिक त्रैमासिक पत्रिका ‘हाम्रो सिर्जना’ले सहिद दिवसको दिनमा दिँदै आएको ‘दशरथ चन्द स्मृति पुरस्कार’ यो पटक काभ्रे बनेपाका मोहन दुवालले पाएका छन् । साहित्यकार दुवाल जनमत मासिक साहित्यिक पत्रिकाका प्रधान सम्पादक हुन् । मंगलबार भरतपुरमा आयोजित कार्यक्रममा दुवाललाई पुरस्कार प्रदान गरिएको छ ।
पुरस्कारको राशि नगद १५ हजार रुपैयाँ रहेको छ । ‘हाम्रो सिर्जना’ पत्रिकाका प्रकाशक डीआर पोखरेलका अनुसार यो पुरस्कारका लागि वरिष्ठ साहित्यकार प्रध्यापक आनन्ददेव भट्ट र सुशीला भट्टले अक्षयकोष स्थापना गरेका थिए । सहिदको बलिदानी भावानाप्रति उच्च सम्मान प्रकट गर्नका लागि यो पुरस्कार स्थापना भएको पोखरेलले बताए । यो पुरस्कार २०७० सालदेखि सहिद दिवसका दिन दिइँदै आइएको छ ।
दुवालले सहिद शुक्रराज शास्त्रीको चिन्तन प्रधान कृति ‘स्वर्गको दरबार’लाई जनमतमा धारावाहिक रूपमा प्रकाशित गरेका कारण पुरस्कृत गरेको पोखरेलले जानकारी दिए । १९८६ सालमा प्रकाशित भएको शास्त्रीको उक्त कृति चर्चाभन्दा बाहिर रहेर सबैले भुल्दै गएको अवस्थामा दुवालले ‘जनमत’को ११७ देखि १३७ अंकसम्म प्रकाशित गरेका थिए । विस २०६६ सालमा दुवालले सो कृतिलाई पुनः पुस्तकका रूपमा प्रकाशित गरेका छन् ।
सहिदको महत्त्वपूर्ण कृतिलाई जोगाउने काममा यो महत्त्वपूर्ण योगदान भएका कारणले दुवाललाई पुरस्कृत गर्ने निर्णय भएको पोखरेलले जानकारी दिए । चितवन जिल्ला समन्वय समिति (जिसस)को सभा हलमा भएको पुरस्कार वितरण कार्यक्रमका प्रमुख अतिथि जिसस प्रमुख नारायणप्रसाद अधिकारी रहेका थिए । पुरस्कृत व्यक्तित्वका बारेमा प्राध्यापक कपिल अज्ञातले प्रकास पारेका थिए ।
प्राध्यापक अज्ञातले दुवाल साहित्यिक सेवक शिरोमणि भएको बताए । ‘नामले विचारप्रधान जस्तो लाग्ने तर विषयका हिसाबले साहित्यिक पत्रिका जनमतलाई दुवालले तीन दशकदेखि नियमित प्रकाशन गर्दै आउनु भएको छ । आफ्नो शेषपछि पनि नियमित होस् भनेर कोष बनाउनु भएको छ । साहित्यक कर्म सेवा कर्म हो भन्ने भावले उहाँ लाग्नु भएको छ । यसले अरुलाई पनि सेवामा लाग्न प्रेरित गरेको छ,’ अज्ञातको भनाइ थियो ।