विश्व प्रसिद्ध धवल निलगिरी र धवलागिरि हुँदै
माछापुच्छ्रे र अन्नपूर्णका काखहरूबाट उर्लँदै
काली गण्डकीदेखि सेती गण्डकीको सेरोफेरो घुम्दै
टुकुचे देखि टुकुचासम्मको अनन्त यात्रामा
–तिमी अविरल बगिरह्यौ अनन्त सागरमा
–एउटा सार्थक जीवन बाँच्ने प्रयास गर्यौ मृत्यु पर्यन्तसम्म
बाँचुन्जेल त सबै बाँच्छन्
–तिमी मरेर पनि बाँचिरह्यौ
–हाम्रा हृदय आकाशमा छाइरह्यौ
तिम्रो अनुपस्थितिमा घाउहरू बल्झेकै छ
सम्झनाका चियाबारीहरुमा पछ्यौरीहरू अल्झेकै छ
भूपी दाइ,
–यी भोकमा डुबेका चोकहरू उस्तै छन्
–रात रातभर उपियाँले टोक्ने पनि उस्तै छ
–दिन दिनभरि रुपियाँले टोक्ने पनि उस्तै छ
एकादेशका कथाहरू भएका छन्
–अमर सिंहले काँगडासम्म बढेको कुरा
–बुद्धले यस धरामा शान्तिको बिउ छरेको कुरा
खै ! हामी त कालापानीसम्म पनि पुग्न सकेका छैनौँ
खै ! हामीले त आफ्नै घरभित्रका युद्धसम्म पनि रोक्न सकेका छैनौँ
सायद हामी वीर भएर पनि बुद्धु भएर होला
सायद हामी बुद्धु भएर पनि वीर भएर होला
न, तिमीले नै खोज्न सक्यौ त्यो सर्पलाई
न, हामीले नै भेट्टाउन सक्यौँ त्यो सर्पलाई
हामीलाई उही पुरानो क्यारमको गोटी बनाएर
यो हल्लै हल्लाको देशमा
–घुम्ने मेचमाथि अझै पनि
–झल्लै झल्लाको बास छ !
–अन्धै अन्धाको राज छ !!
–अन्धै अन्धाको राज छ !!