आज राति १२ बजिसकेको छ होला । टोलमा गस्तीवालाले ढ्याङ्राङ–ढुङ्रुङ्, ट्वाक्राक्टुक्रुक गरेर निद्रा नै खुलाइदियो । जति निदाउन प्रयास गर्दा पनि निदाउन सकिनँ । झन् मनमा अनेक प्रकारका हुने, नहुने कुराहरू खेल्न लाग्यो । निद्रा पटक्कै लागेन । यता कोल्टे पर्छु, उता कोल्टे पर्छु, तर निद्रा भने आएन । जुरुक्क उठें, बत्ती बालें । बत्ती थिएन । लोडसेडिङले जति बेला पनि बत्ती हुँदैन । राति बत्ती नभए के गर्ने ! न पढ्ने, न लेख्ने । जुरुक्क उठेर मात्र के गर्ने ? बत्ती आउने पालो थियो ५ बजे मात्र । फेरि समयमा निदाउनु पनि स्वस्थ जीवनको लागि धेरै आवश्यक हुन्छ, थाहा छ भनेर पल्टेर निदाउन कोशिश गरें । भोलि बिहान यो गस्तीवालालाई बेस्सरी हपार्छु नि भनेर सोचेकी त के हपार्नु ? ग्वान्द्राङ्–गुन्द्रुङ् नगरे मैले नै आज गस्ती आएन भन्छु । किन हपार्ने ? भनेर मनमनै कुरा खेलाएँ । उठेर मनमा अनेक कुरा खेलाएपछि केको निद्रा लाग्ने हो । उठेर त्यसै बसिराखेकी थिएँ । मेरो मनमा त्यतिबेलाको रमाइलो क्षण याद आयो । जुन दिन म एस.एल.सी.मा बोर्ड फस्ट भएकी थिएँ । त्यो समय म र मेरी आमा यति खुशी भएका थियौं कि, त्यस्तो खुशी र रमाइलो आजसम्म कहिले भएका थिएनौं । आमाले तिम्रो बुबा भएको भए पनि कस्तो खुशी मान्नु हुन्थ्यो होला ? छोराछोरी भनेपछि जे पनि गरिदिन हुरुक्कै हुनुहुन्थ्यो भन्नु हुँदा दुवैजनाको मन खिस्रिक्क भयो । एस.एल.सी.मा बोर्ड फस्ट भएको खुशी भए पनि बुबाको मृत्युको सम्झनाले हामी दुवैजना एकछिन मौन भयौं । किनभने एस.एल.सी.को खुशीमा पनि बुबाको अवसानको सम्झनाले खुशी दिन सकेन । हामी दुवैजना भावविह्वल भएका थियौं, तापनि मैले आमालाई सम्झाएँ कि बितेका नरमाइला क्षणहरू सम्झेर विरक्तिनुभन्दा वर्तमानको रमाइलो क्षणलाई खुशीमा भुल्नु सार्थक हुन्छ भनेर सम्झाउँदा आमाको मनमा केही शान्ति पलाएजस्तो लाग्यो । रात धेरै गइसक्यो, सुतौं भनेर हामी दुई पल्टेर निदाउन कोशिश गर्यौं । कुनबेला निद्रा लाग्यो थाहा भएन । जब उज्यालो भयो मेरो आमाको मनमा के कुरा खेल्यो कुन्नि ? बिहान त खुशीले मलाई तिमीलाई जे मनपर्छ, जस्तो मन पर्छ, त्यही एक चीज लेऊ । म पैसा दिन्छु भन्नुभयो र मैले नजिकको छिमेकी दाज्यूको दोकानबाट एउटा नयाँ डिजाइनको दोसल्लाको सल, एकदम राम्रो खाले लिएर आएँ र मेरो आमालाई मेरो एस.एल.सी.को बोर्ड फस्टको उपलक्ष्यमा भनेर ओढाइदिएँ । आमा त्यतिबेला खुशी देखिनु हुन्थ्यो । त्यतिबेला दामी कपडा भनेको त्यही दोसल्ला नै थियो । पैसा कति पर्यो कुन्नि, अहिले मलाई याद भएन । यसैबेलाको मौका छोपी एस.एल.सी. पास भएपछि आई.ए. त पढ्नु पर्यो नि हगि आमा ! भनेर भन्दा एकछिन आमा बोल्नु भएन । हाम्रो गाउँमा त्यतिबेला कलेजहरू थिएन । एस.एल.सी पास भएपछि काठमाडौं, पोखरा पढ्न जानुपथ्र्यो । साथीहरू कोही पोखरा, कोही काठमाडौं पढ्नको लागि गएको थाहा थियो । त्यसैले काठमाडौं, पोखरा पढ्नको लागि कसरी पठाउने, नपठाई पनि भएन भनेर चिन्ता मानेको जस्तो लागेर आयो । घरमा अरू कोही थिएन, म र आमा । एकजना दाजु हुनुहुन्थ्यो । दाजु विदेशमा जानु भएको थियो । उतै विदेशी केटी विवाह गरेर घरमा पैसा पनि पठाउनु हुन्नथ्यो । खबर पनि केही गर्नु हुन्नथ्यो । मेरो पनि मन थिएन, आमालाई एक्लै छोडेर बाहिर गएर पढ्न । मैले भने होइन आमा म बाहिर गएर पढ्छु भनेको होइन, म घरमै बसेर पढ्छु । जाँच दिन जाने बेलामा केही व्यवस्था मिलाएर जान्छु । चिन्ता केही नगर्नुस् । म तपाईंलाई छोडेर कहीँ पनि जान्नँ । यति कुरा भन्दा आमाको केही हँसिलो अनुहार पाएँ । ठीकै छ, भनेर आत्मसन्तुष्टि गरें । एवंप्रकारले मैले आई.ए., बी.ए. पास गरें । एम.ए. पनि पढ्न एकदम मन थियो, तर पढ्ने कसरी ? हामी मध्यमवर्गीय परिवार । एम.ए. पढ्ने पैसा कहाँबाट ल्याउने ? एम.ए. पढ्न धेरै परिश्रम पनि गर्नुपथ्र्यो । त्यसैले परीक्षा आउने भन्दा ३ महिना पहिले नै काठमाडौंमा गएर कलेज भर्ना गरेर रेगुलर विद्यार्थीको रूपमा परीक्षा दिने भनेर सोच राखेकी त थिएँ । आजभोलि गर्दागर्दै परीक्षा पनि नजिकै आउन लागिसक्यो भनेर दिदीको छोरीलाई घरमा राखेर म काठमाडौं परीक्षाको लागि जान तयार हुन लागें । दिदीको घर बजार एरियाभित्र पथ्र्यो, तर हाम्रो घर भने अलि टाढा गाउँमा पथ्र्यो, जिल्ला एउटै भए पनि । दिदीको छोरीलाई ३ महिनाको लागि आमालाई राम्ररी हेरचाह गर्नको लागि भनेर आँखा चिम्लेर काठमाडौं हिंड्ने तयारी गरें । अप्ठ्यारो त मलाई पनि लागेको थियो, तर के गर्न परीक्षाको लागि जानुपर्ने । काठमाडौंको साथीले पनि आमालाई नै सम्बोधन गरेर पत्र लेखेकी थिई – आमा छोरीको चिन्ता लिनु पर्दैन । तपाईंकी छोरी मेरो हितैषी मित्र हो । परीक्षा सिद्धिएको भोलिपल्ट नै तपाईंको घर पठाइदिन्छु । जाँच नसिद्धिएसम्म मेरो घरमा बस्छ । परीक्षाको लागि जसरी भए पनि पठाइदिनुस् । त्यसरी पत्र लेखेपछि आमा पनि ठीकै छ भन्नेतिर लाग्नुभयो । साथीकहाँ बस्ने भनेर थाहा पाएपछि मन पनि ढुक्क भयो होला । साथीलाई धन्यवाद दिंदै तिमीले आमालाई पत्र पठाइदिएको हुनाले आमा खुशी हुनुभयो । म २, ४ दिन पछि आउँदैछु भनेर प्रत्युत्तर पठाइदिएँ । साथी अमृत साइन्स क्याम्पसमा साइन्स पढ्दै थियो, तर उनको दाइ भने ल क्याम्पसमा पढ्ने रहेछ । मेरो र उनको विषय मिल्ने रहेछ र म ३ महिनाको लागि पूरै फिस तिरेर क्याम्पस भर्ना हुन भनेर घरबाट काठमाडौंतिर प्रस्थान गरें । त्यतिबेला ३ दिन हिँडेर पोखरा र पोखराको प्लेनद्वारा काठमाडौं पुगिन्थ्यो । त्यतिबेला प्लेनको टिकट पनि ६५।– रुपियाँ मात्र थियो । तैपनि हामीलाई जान कठिनाइ नै हुन्थ्यो । बडो मुश्किलले काठमाडौं जान आँटेकी थिएँ । आँटेपछि पूरा हुने रहेछ । राम्रो काममा आँटेर प्रयास गरियो भने सफल हुन्छ भन्ने कुरा मैले पहिले नै सुनेकी थिएँ ।
साथीको घरमा आफ्नै घर जस्तो गरेर बस्न पाउँदा म पनि खुशी र साथीको परिवार र मेरो आमा पनि औधी खुशी भएको मैले पाएँ । साथीको घरमा एकजना आमा, २ जना दिदी, बहिनी, एकजना दाज्यू र फुपू पनि एकजना रहेछन् । फुपूको विवाह भइसकेको रहेछ । ५/६ वर्षको छोरा पनि थियो । मैले यसको सन्दर्भमा केही सोधिन । सोध्नुपर्ने आवश्यकता पनि देखिन ।
क्याम्पस भर्ना भएपछि रेगुलर क्याम्पस जानुपर्ने । घरमा फर्केपछि अध्ययन गर्नुपर्ने । फुर्सद नै नहुने । घरमा फोन भने बराबर गर्थें । १५ दिन छुट्टी हुँदा पनि घरमा जान पाइन । परीक्षाको लागि अध्ययन गर्नुपर्ने हुनाले । साथीको दाज्यू मेरो पनि दाज्यू भनेर सम्बोधन गर्थें । उसले भने मलाई एकदमै मद्दत गथ्र्यो । क्याम्पस जाँदाखेरि पनि सँगै जाने । किनकि उनको बाइक थियो । मेरो केही सामान यताउता गर्नु परे पनि उनले नै बाइकमा राखेर ल्याइदिन्थ्यो । मलाई एकदम सजिलो भएको थियो । साथीको परिवार पनि एकदम अनुशासित, मर्यादित, संस्कारित, पारिवारिक नियम, कानुन, तौरतरीका सबै भएको, म पनि त्यस्तै संस्कारमा हुर्केको हुनाले सजिलो भयो । खाना पनि सँगै खाने गर्थें । साथी र म मिलेर पकाउँथें । म घर फर्कने बेलामा हिसाब–किताब गर्नुपर्ला भनेर सोधेकी थिएँ । तर बाहिरबाट सामानहरू ल्याउँदा पैसा पनि मैले तिर्ने गर्थें । कहिले–कहिले पैसा तिर्दा भने साथी मान्दैनथ्यो । तर एकै चूल्होमा खान दिए पछि त किन्न परिहाल्यो नि भनेर हपार्थें । खाना पनि एउटै टेबुलमा बसेर रमाइलो मानेर खाने गर्थें । यहाँ मेरो आमा भएको भए झन् कति रमाइलो हुन्थ्यो होला भनेर सम्झिराख्थें । मेरो तन, मन मेरो आमाप्रति नै हुन्थ्यो । परीक्षा कहिले सिद्धिन्छ र घर जाने भन्ने मात्र मेरो सोच थियो । परीक्षा पनि नजिकै आइराखेको हुनाले अध्ययनमा बढी ध्यान दिनुपर्छ भन्ने सबैको धारणा थियो । अचानक मेरो आमा विरामी हुनु भएछ । पत्र चाहिँ साथीको हातमा परेछ । उनीहरू सल्लाह गरेर – थाहा नदिने किनभने त्यहाँ सबै हेर्ने भइहाल्छ । यहाँ उनलाई भन्यो भने परीक्षा बिग्रन्छ, भनेर मलाई कसैले भनेन । आजको जस्तो समय, जमाना भएको भए गाउँमा केही हुन नपाउँदै काठमाडौं खबर आइहाल्थ्यो त्यहाँ मान्छे बितेर लाश लगेको हुँदैन, काठमाडौं खबर आइहाल्छ । तर त्यतिबेला सञ्चार माध्यम यति व्यापक र सुलभ थिएन, हिजो–आजको जस्तो । मैले जाँच ५, ६ दिन मात्र बाँकी भएको बेलामा थाहा पाएँ । त्यतिबेला आराम भइसकेको रहेछ । तैपनि म घर जान कोशिश गरें, तर उनीहरूले जान दिएनन् । पहिले नै मलाई किन नभनेको भनेर साथी र उनको दाज्यूलाई यति गालि गरें, तर उनीहरू कोही रिसाएनन् । बरु हाँसेर बोल्थे । मलाई लाग्छ – यो परिवार मेरो पूर्व जन्ममा मेरो रहेछ कि क्या हो । दिन बित्दै गए पछि परीक्षा पनि सकियो । परीक्षा पनि राम्रो भएको थियो । म घर जाने तरखरमा थिएँ । त्यही समयमा अष्ट्रेलियामा पढ्न गएकी छोरी २, ४ दिन पछि आउने रहेछ मलाई जान दिएन । तैपनि भेटेर जानु पर्ला भनेको त कामकुरा त अर्कै पो परेछ ।
छोरी अष्ट्रेलियाबाट फर्कंदा विवाह गरिदिने सोचेको रहेछ । छोरी कान्छी हो, किन मेरो साथी ठूलीलाई पहिले विवाह नगरी किन कान्छीलाई विवाह गर्ने तरखरमा रहेछ । मलाई थाहा भएन । मेरो मनमा खुलदुली लाग्यो, तैपनि मैले न आमालाई न छोरीलाई सोध्न सकें ! कसैलाई सोध्न नसके पछि म विलखबन्दमा परें । कसरी कुरा निकाल्ने होला भन्ने सोच गर्दा मैले साथीलाई नै भन्ने आँट गरें । बेलुका सँगै एउटै पलङमा सुत्थें । पलङ ठूलो थियो । त्यति असजिलो थिएन । नत्र म एक्लै सुतेको बानी दुईजना सुत्न सक्दैनथें । खाना खाइसकेपछि जब हामी सुत्नको लागि माथि कोठामा गयौं । एकदम मिल्ने साथी भए पनि विवाह जस्तो कुरा गर्न अप्ठ्यारो हुने रहेछ । किन हो उनले पनि अरू–अरू सबै कुरा भन्ने त्यही कुरा नभन्ने भनेर आँटेर भने । किन हो ? यहाँ त उल्टो कामकुरा पो हुन लागेछ । मैले केही बुझिन भनेर भन्दा बल्ल उनले वास्तविक कुरा भन्न लागिन् – बहिनी बाहिर देशमा गएर पढेकी छे । कस्तासँग लभ गरेर आउने हो । यसको केही भर छैन । पहिले कान्छीलाई दिने दाज्यूको विवाह गर्ने र तिमीलाई पछि गरिदिने हुन्छ ? भनेर सोध्दा मैले हुन्छ, मैले विवाह नै गर्दिन । तपाईंको बुहारी कस्ती आउँछे मेरो आमालाई दु:ख दिने, टेन्सन गरिदिने आइ भने त दाइलाई छुट्टाइदिने, आमा र म मात्रै बस्ने भन्ने मेरो सोचाइ छ भन्दा म उनको कुरामा सहमत भइन । किनभने दाइले आमालाई दु:ख दिंदैन । अहिलेसम्मको मेरो अनुभवमा – मैले भनें । उनले उत्तर दियो – तिमीले पनि विवाह नगरी आमालाई पालेर बस्ने भनेर बसेकी होइन र ? तिम्रो दाइ पनि त विदेशमा छ । एक दिन घर आउला भनेर भन्दा मैले केही भन्न सकिनँ । मेरो दाइले विदेशमै विवाह गरेर नागरिकता लिएर विदेशमा बस्ने भन्न पनि सकिनँ । किनकि मैले यो सम्बन्धी उनलाई केही कुरा भनेकी छैन । विवाह गर्ने मेरो सोच नै छैन भन्न पनि सकिनँ । म त दोधारमा परें । मनमा अनेक कुरा सोच्दासोच्दै मैले जोकिङ गरेर प्वाक्कै भनें – मैले विवाह गरें भने तिमीले पनि गर्ने हो ? भनेर प्रश्न गर्दा उनले पनि प्वाक्कै भनि के रे ! तिमी मेरो दाइसँग विवाह गर्ने मैले तिम्रो दाइसँग विवाह हुन्छ पो भन्छ ए ! उनको दाइलाई म पो सोचेकी रहेछ । उनको आमाले पनि ठीक भनी छोरीले, मैले भन्न सकेकी थिइन, छोरीले भनी भनेर कोठाभित्र पस्नुहुन्छ । म त चकित परें, किनकि त्यतिका महिना बसें, मैले सोचेकी थिइनँ । उनीहरूले एक आपसमा तिम्रो साथी जस्तो बुहारी पाउन पाए त तिमीलाई पनि विवाह गरिदिन्थें भनेर कुरा गर्ने रहेछ, तर मलाई थाहा थिएन, तर उनको दाइले यति सहज तरिकाले आफ्नै जस्तो गरेर कामकुरा गर्दा पनि मैले केही सोचेकी थिइनँ । किनकि मेरो आमाको चिन्ता बाहेक अरू मैले केही सोचेकी थिइन । उनको दाइले यस्तै सोच राखेर सहयोग गरेको हो कि ? जस्तो पो लाग्यो अहिले मलाई । मैले अब कुरा टाल्नतिर लागें । अरू कुरा छोड पछि गर्ने, बहिनीको विषय कुरा गरौं हुन्न र ? भनेर कुरा बटारें । किनकि बहिनीको छुट्टी कति छ ? कहिलेसम्म बस्ने हो ? बहिनीलाई सोधौं न त ? हामीले कुरा गरेको बहिनीले सुनेकी रहिछ । उनले थाहा पाएर उनकी लभरलाई ल, मेरो विवाह गरिदिने कुरा गरिराख्नु भएको छ । हाम्रो छुट्टी सिद्धियो, हिंड्नुपर्यो । ऊ चाहिँ बनेपाको रहेछ भनेर फोन गरेछ । उनी फौरन काठमाडौं आएर आमा–बुबा कसैलाई नसोधी अष्ट्रेलियाको दुईवटा टिकट लिएर आए । विदा सिद्धियो । भोलि हामी यहाँबाट हिंड्ने भन्दा त हामी सबै चकित भयौं । दुईजनाको लभको अगाडि हाम्रो केही लागेन । छोराले हाम्रो विदा धेरै थिएन, केवल १५ दिन भए पनि यसो बसौं, आराम गरौं भनेर यहाँ आएको हो आमा ? विवाहको कुरा पछि गर्दै गरौंला भनेर उनीहरू अष्ट्रेलिया हिंडे । हामी सबै चित पर्यौं । मैले पनि हाम्रो कुरा पनि पछि गर्दै गरौंला, फोन छँदैछ । मेरो आमा कति आत्तिनु भएको होला । म पनि भोलि यहाँबाट हिंड्नुपर्ला भनें । उनीहरूको मनमा के–के कुरा चल्यो मलाई थाहा भएन । भोलिपल्ट म पनि घर हिंडें ।