युद्धले थाकेर जीर्ण भएका मनहरू
युद्धका घाउ जमेका तनहरू
जङ्गलभरि अनियन्त्रित लागेका
– आगो निभेको देखेर
लामो युद्धका घिनलाग्दा दौडहरू
– विराम भएको सुनेर
खुसियालीका रङ्गीचङ्गी तोरण टाँग्दै
हृदयका स्वागतद्वारहरू बनाउँदै
– कुनै उत्सवको तयारीमा लागेका छन्
– कुनै महोत्सवको तयारीमा जुटेका छन्
मनको सङ्लो बिम्बभित्र
धमिलो धमिलो प्रतिबिम्ब हेर्दै
– मानसिक क्षतिका मोलतोलसँगै
– भौतिक क्षतिका लेखाजोखा राख्दै
विक्षिप्त विगतका कुरूप यात्राहरूमा
भ्रमित भविष्यका कठिन मार्गहरूमा
सुखद् वर्तमानका उज्याला झिल्काहरू
– देखा परेको बेला
आफ्ना निहीत स्वार्थ पूर्तिका लागि
आफ्ना निहीत अहम् पूर्तिका लागि
अब हाम्रो आस्थाको फेरि हत्या नहोस् भन्ने
– हार्दिक कामनासहित
अब हाम्रो विश्वासको फेरि हत्या नहोस् भन्ने
– मार्मिक कामनासहित
युद्धले आजित जीवनहरू
वैधव्य भोग्न अभिशप्त जीवनहरू
कुहिरोभित्रका आहत जीवनहरू
असुरक्षित घरभित्र सुरक्षित ओत माग्दैछन् !
बुद्धको देशभित्र हराएको शान्ति खोज्दै छन् !!