म त्यस कार्यालयमा हाकिम भएर गएपछि बहाली गरेको पहिलो हप्ता भेट गर्न आउनेहरूको लुँडो नै लाग्यो । सामान्य तथा जुनसुकै कार्यालयमा पनि नयाँ हाकिम आएपछि त्यहाँ काम परिरहने मानिसहरू हाकिमसँग राम्रो सम्बन्ध बनाउन आउने नै गर्छन् । त्यसमाथि पनि यो त कर कार्यालय थियो, जहाँको नाउँ सुनेर गरिब गुरुवालाई त केही असर पर्दैन तर धनी र ठूला व्यापारीहरूको भने सातै जान्छ । हुन त नबिराउनु नडराउनुको आहान छ तर अन्तको भने थाहा छैन नेपालमा चाहिँ ९० प्रतिशतभन्दा बढी धनीहरूले आफूले तिर्नुपर्ने कर पूरा इमान्दारीका साथ तिर्दैनन् । अनि कर कार्यालयको नामबाट पसिना आउनु स्वाभाविकै पनि हो । उनीहरू ठान्छन्, हाकिमसित मित्रता भइरह्यो भने जोगिएर बस्न सकिन्छ । अझ यति मात्र होइन, अरूहरूको सिफारिस गरेर सके दाम पनि, नभए पनि नाम त अवश्यै पाइन्छ । यसरी भेट गर्न आउनेहरूमा धेरै त उद्योगपति र व्यापारी नै थिए तर केही ठूला जमिनदार र धनपतिहरू पनि अटाएका थिए । सबैसँग सामान्य परिचय, औपचारिक कुराकानी भयो । तीमध्ये एकजना भने म आजीवन बिर्सन सक्दिनँ ।
उनी एक ठूला जमिन्दार थिए । त्यस बेला जमिनमा वा जमिनको उब्जनीको आयमा कर लाग्दैन थियो, तर पनि उनी भेट्न आएका थिए । यसले मलाई अलिकति अनौठोजस्तो पनि लाग्यो । पछि उनी गइसकेपछि थाहा भयो, उनको लगानी–व्यवसाय पनि रहेछ, आफू राजनीति नगरे पनि छोराबाट राजनीति गराउँदा रहेछन् । अरू धेरै राजनेताहरूका पिठ्यूँमा पनि उनको हात रहने गर्दो रहेछ । उनका छोरा भारतबाट चोरी पैठारी भई आएका गाडीहरू (कार, जीप र ट्रकसमेत) भन्सारमा र प्रहरीमा मिलाएर नेपाली नम्बर बनाई बेच्ने काम गर्दा रहेछन् र आफ्नो गाउँ पञ्चायतका प्रधानपञ्च पनि रहेछन् । उनी सत्तरीको लगभगका थिए तर पहलमान खेलेको जीउ हुनाले चाउरी, मुजा केही थिएनन् । झिँगा बसे पनि चिप्लनेजस्तो चिल्लो छाला, पुष्ट मसलदार छाती र पाखुरा, भुँडी पनि नउठेको, होचो पनि होइन अग्लो पनि होइन कद, सेतो कपालमा चमेली तेल तीन हात परसम्म वास आउने गरी हालेर सलक्क कोरेका, उनी अहिले पनि युवतीहरूले पछ्याउने व्यक्तित्वका थिए । हुन पनि उनी युवतीका मामलामा अलि चर्चित नै भन्ने पनि पछि थाहा भयो । उनका स्वर पनि मीठो, बोली गम्भीर र नम्र थियो । उनले बोलेको भीमसेन जोशीले मध्यलयमा रागको आलाप लिएजस्तो थियो । सेतो धोती, सेतै कमिजको पहिरनमा काँधमा सेतोमा हरियो चारखाने बुट्टा भएको गम्छा बेरेर उनी हेर्दैमा भारतीय चलचित्रका दादा जस्ता देखिन्थे । हुन पनि पछि थाहा भयो, उनी त्यस भेकका खतरनाक व्यक्ति नै रहेछन् । डाँका पाल्नु, डकैती गराउनु, मानिस मराउनु, खडा धानबाली कटाउनु वा कुनै तरुनीको अपहरण गराउनु, कुनै पनि काम उनको देब्रे हातको खेल रहेछ ।
सबभन्दा महत्वपूर्ण कुरा त उनको जुँगा थियो । जसले एकपटक ती जुँगालाई देख्यो, त्यसले कहिल्यै पनि बिर्सन नसक्ने तिनको विशेषता थियो । सेतो–सेतो, कैलो–कैलो अझ भनौं केही खैरो भने पनि हुने रङ्गको बराँठ्ठिएको बाहिरी करेत साँपजस्तो एक रौं पनि नछरिईकन सलक्क मिलेको, ओठमाथिबाट निस्केर गालामा केही ढल्किँदै हँसियाजस्तो घुमेर कानमाथि लगी सिउरिएका ती जुँगा पनि चमेलीको तेलमा टलक्क टल्किएका थिए । उनलाई देखेपछि मलाई मनमा ती जुँगा समातेर एक पटक मजाले बटार्न मन लागेर आयो । तर संसारमा देखेका सबै कुरासित मनमा लागेजस्तै व्यवहार गर्न कहाँ पाइन्छ र ? त्यो गरिमापूर्ण पदमा बसेर त्यस्ता व्यक्तित्वसित झन् त्यो पनि पहिलो भेटमै जुँगा तान्न जानु त विलकुल असम्भव नै थियो । तर के गर्नु, मन पनि त मनै हो । त्यसमा कुनै कुरा उब्जेपछि इरेजर लगाएर सिसाकलमको लेखोट मेटेजस्तै निमिट्यान्न पारेर मेटिहाल्न पनि सकिँदैन । यस्तै मलाई पनि भइरह्यो । उनीसँग शिष्टाचारका कुरा ‘ज्यू हजुर’ भन्दै र सुन्दै गरेर चिया खुवाएर पठाइयो । उनी त गए, तर उनको जुँगाको स्मृति र तिनलाई बटार्ने इच्छा भने मनबाट गएन ।
त्यसपछि पनि हाम्रो भेट बेलाबखत भइरह्यो । उनका बारेमा अझ बढी जान्दै गएपछि त झन् झन् त्यो जुँघा समाउने कल्पना बादलमा रहेको चन्द्रमा समाउनेजस्तै असम्भव लाग्दै गयो । तर के गर्नु, यो मनले भने आफ्नो इच्छा बिर्सन सकेन । यस्तैमा त्यस जिल्लामा पनि स्थानीय निकायहरूको निर्वाचनको बेला आयो । त्यस निर्वाचनमा मलाई श्री ५ को सरकारले रिटर्निङ्ग अधिकृत तोकेको थियो । जिल्लाभरको चुनावको रेखदेख गर्ने र कर्मचारी, प्रहरी आदि खटाउने जिम्मा आफ्नो कार्यालयको कामका अतिरिक्त मैले गर्नुपर्ने भयो । अरू सबै गाउँ पञ्चायतमा त कर्मचारी खटाएर पठाए मात्र पुग्थ्यो, तर उनको गाउँ त अरूजस्तो सामान्य गाउँ थिएन । त्यहाँबाट उनका छोरा पुन: प्रधानपञ्चमा उठेका थिए । उनका विरोधीहरू सदरमुकाममा आएर अञ्चलाधीशकहाँ हजुर त्यस गाउ“मा चुनावका दिन खूनखराबा हुन्छ, हाम्रो जिउज्यानको सुरक्षा गरि पाऊ“भनेर कराउन थाले । अनि अञ्चलाधीशले रिटर्निङ्ग अफिसर र डीएसपी आफै आवश्यक सुरक्षाबलसहित गएर चुनाव निस्पक्ष गराई आउनू भनी आदेश दिए । सरकारको केन्द्रको र स्थानीय प्रशासनको पनि भित्री आकाङ्क्षा उनका छोराले नजिते हुन्थ्यो भन्ने थियो । त्यसैकारणले उनलाई धाँधली गर्न नदिए हार्छन् भन्ने आशा पनि थियो । अरू कुनै उपाय अपनाउन वा आफैँ उनीविरुद्ध हामीले धाँधली गर्ने त कुरै थिएन । हामीलाई मात्र खटाएर चित्त नबुझेर अञ्चलाधीश आफैँ पनि चुनावका दिन त्यस गाउँमा पुगे । यसरी त्यो गाउँको चुनाव प्रहरी र प्रशासनको अधिकतम निगरानीमा हुने भयो ।
चुनावका दिन हामी बिहानै उठेर गाउँमा पुग्यौं । हामी पुग्दा सात बजेको थियो । मतदान केन्द्र अघिल्लै दिन तयार गरिसकिएको रहेछ । लाम बस्न डोरीको बार टाँगेर वरिपरि बाँसको बार लगाई बाँसकै एउटा आकर्षक प्रवेशद्वार पनि बनाइएको रहेछ । त्यस प्रवेशद्वारबाहिर एक छेउमा जिमिदारसाहेब एक खुट्टाले उभिएर प्रणाम मुद्रामा हात जोडेर जमेका थिए । त्यो प्रणाममुद्रा हामीलाई पनि थियो र अरू आउने मतदाताहरूलाई पनि । चुनाव प्रचार गर्ने समय सकिइसकेको भए पनि यसरी मतदान केन्द्रको परिधिबाहिर हात जोडेर उभिई बस्नु हुँदैन भनेर उनलाई भन्न सकिने कुनै कारण थिएन । ती बृद्ध पहलमान चुपचाप बेलाबेलामा खुट्टा फेर्दै यसैगरी उभिइरहे । उनको मुख तेजले धपधप बलेको थियो । जुँगामुनि स्मित हाँसो जबर्जस्ती ल्याइएको भए पनि फैलिएका आँखाभित्र हेर्दैमा दृढताको समुद्रको अथाह गहिराइको अनुभूति हुन्थ्यो । भोट खसाल्न लाममा बसेकाहरू उनको त्यो रूप देख्दैमा अभिभूत भएर लज्जावती झार ओइलाएझैं लल्याकलुलुक हुन्थे । उनले न त कसैसँग एक शब्द बोले, न त कुनै इसारा गरे । गरे भने केवल एक खुट्टामा उभिएर नमस्कार मात्र गरिरहे । उनी त्यहाँबाट न चिया खान, न खाना खान, न लघुशङ्का दीर्घशङ्का निवारण गर्न गए । कतिले कति कर गर्दा पनि उनका अगाडि कसैको केही चलेन र यत्तिकै साँझ पाँच बजे मतदान सकियो । गाउँमा यतिका प्रहरी लिएर आउनैपर्ने रहेनछ भन्ने विश्वास पार्दै शान्तिका साथ चुनाव सम्पन्न भयो । अनि मात्र उनी त्यहाँबाट हटे तर अझै पनि न त घर गए, न त केही खाए, मतगणना हुने हलबाहिर गएर एउटा खटियामाथि आसन जमाएर बसि मात्र रहे । मतगणना हुने हलमा कर्मचारी र उम्मेदवारका प्रतिनिधि जो छिरे, ती अन्तिम नतिजा नहुन्जेल बाहिर आउन नपाइने गरियो । म पनि भित्रै बसिरहेँ । सात बजेतिर मतगणना सकियो र त्यस हलबाट बाहिर निस्कने व्यक्ति म नै पहिलो थिएँ । स्वस्थ प्रतिस्पर्धाको यस चुनावमा सरकारी इच्छाविपरीत उनकै सुपुत्रको विजय भएको थियो, त्यो पनि अत्यधिक बहुमतबाट । उनले उत्सुकतापूर्वक मेरो मुखमा हेरे । त्यस हेराइमा प्रश्न थियो, उत्सुकता थियो र कताकता वेदना हो कि जस्तो पनि थियो । म सरासर उनी भएका ठाउँमा गएँ र उनका दुवै जुँगा हातले च्याप्प समातेर यी जु“गा कहिल्यै झुक्न सक्दैनन् भन्दै बेसरी मुसारेँ । त्यस बेला म पनि पठ्ठै थिएँ र यी हातमा अलि बढी नै बल थियो । त्यसमाथि यतिका दिनदेखि भित्री हृदयमा बलेको इच्छा पूर्ण गर्न पाउँदा निकै बल लाग्यो पनि होला । उनलाई दुख्यो कि दुखेन कुन्नि ? दुख्न त अवश्यै दुख्यो होला तर त्यो जीतको खुसीका अगाडि त्यस्ता पहलवान्लाई त्यस्तो जाबो दुखाइको के वास्ता हुन्थ्यो र ? उनले मेरो खुट्टामै समातेर प्रणाम गरे । त्यसपछिका कुराहरू त भनिरहनु खास आवश्यक पनि छैन ।