अचानक वाकिटकीमा सिग्नल बज्यो । ड्राइभरले रेस्पोन्स गरे । “सुन । अलि समय लाग्ने भयो । राम्रो याद गरेर बस्नू ।”
“ठीक छ सर, ठीक छ ।”
समय लाग्ने कुरा सुनेर मलाई सारै झर्को लाग्यो । आनन्दले सुतिरहेकालाई उठाएर ल्याई त्यस्तो अनकन्टार सुनसान स्थानमा–मसान कुरेको जत्तिकै कुरेर बस्नुपर्दा मलाई सारै अन्यौल लागेको थियो । सपनामा पनि नसोचेको घटना यथार्थमा भोग्नुपर्दा मलाई जपना जत्तिकै लागिरहेको थियो । मन र मस्तिष्कभरि नै प्रश्न नै प्रश्न भएर पनि म खाली, खाली मौन थिएँ ।
“दिदी ! अब हजुरले आराम गर्नुस् । अलि समय लाग्ने भयो । गोडा सोझ्याएर बस्नुस् । हजुरले धन्दा मान्नु पर्दैन । हजुरलाई केही पनि हुँदैन । खालि हजुरसित सोध्ने प्रश्नहरुको सहीसही जवाफ दिनुपर्छ हजुरले, तपाईं नडराउनुस् है । हामी छौं नि हजुरका भाइहरु । हजुर ढुक्कले बस्नु भए हुन्छ ।”
ड्राइभरले मीठो कुरा गरेर मलाई दिएको ढाडसमा पनि मलाई शङ्का लागेको थियो । एउटी अञ्जान आइमाईसित किन त्यतिको नजिक भई कुरा गरेको थियो । जरुर पनि मेरो मन पेट लिनलाई होला भनी मैले विचार गरेँ । उनी पनि बर्दीधारी सैनिक नै थिए । न उनी जनपक्षीय सैनिक हुन् कि ? सेना पनि तीन खण्डमा विभाजित छन् भन्छन् – राजा वीरेन्द्र हालको राजा र माओवादी । न यी सैनिक माओवादी पक्षका हुन् कि ? मेरो मनमा अनेकौं कुरा खेल्न थाले ।
“भाइ ! तपाईंले मप्रति माया र सहानुभूति देखाउनुभयो । त्यसको लागि धेरै धन्यवाद छ । तपाईंले मलाई डराउनु पर्दैन भन्नुभो । म किन डराउनु ? मैले बिराएको छैन । हुन त अहिलेको यो कालो समयमा नबिराएकाले नै डराउनु परेको छ । जति माओवादीको नामले मारिएका, यातना दिइएका, थुनेका बेपत्ता पारिएका, मुद्दामा फँसाइएका (झुट्टा मुद्दा) आदिमा अधिकांश त निर्दोषीहरु नै छन् । ६९ वर्षको उमेरमा यसरी सेनाको पक्राउमा परी आँखामा कालो पट्टि लगाई तपाईं सेनाहरुको घेरामा बस्नुपर्ने मैले सपनामा पनि सोचेकी थिइनँ । मलाई यो अवस्थामा राख्न के म अपराधी हुँ र ? ठीक छ । सेनाकै शक्तिमा भ्रष्ट अनैतिक शासकहरु टिकेका छन् । सेनाबाट भइरहेका कारवाही तपाईंलाई चित्त बुझेको छ, भाइ ? मान्छेले धर्म छोड्नुहुँदैन । अधिकारको आँखा हुँदैन । तर अधिकारीको त आँखा छ नि । हेर्न या देख्न सक्नु परेन ?”
“सेना पनि त मान्छे नै हुन् कसलाई मनपर्छ र आम नरसंहार ? के गरुँ ? देश त खत्तम भयो नि दिदी । खैर दिदी ! तपाईंलाई छिट्टै छोड्नेछ ।”
“खोइ भाइ ? मलाई त विश्वास लागेन । अहिले मलाई यसरी ल्याउनुपर्ने कुनै कारण छ त ? लौ, भन्नुस् त । जे कुराको लागि मेरो घरमा छापा मार्नु भो, त्यसको केही पनि नभेटिएपछि फर्केर जानुपर्ने होइन र ? जति सोधपुछ गर्नुपर्ने थियो, ती सबै मेरो घरमा त्यतिका समय लगाएर गरिसके । अब थुनामा राखेर गरिने प्रश्न पनि त त्यही नै होला । मेरो जवाफ पनि त्यही नै हुनेछ । सेना यतिको एकोहोरो हुने मलाई थाहा थिएन । एउटी साधारण आइमाई कहाँ छिन् भनेर मलाई समातेर ल्याई यो अवस्थामा राख्ने ? के यो उचित हो ? यही हो प्रजातन्त्र ? र सेनाको कार्य ? आफ्नै दाजुभाइ, दिदीबहिनीलाई मार्ने सफाया गर्ने र गर्न लगाउने ?”
“दिदी ! यो हाम्रो बाध्यता हो । माथिको आदेश हामीले मान्नैपर्छ । तर नरसंहार हामीले चाहेका होइनौं ।”
“हेर्नुस् भाइ । बन्दुकको नाल फर्काउने समय आइसकेको छ । अति नरसंहार भएपछि प्रकृतिले पनि सहँदैन । हामी त चेतनशील मान्छे हौं । खालि सहने त प्रश्नै उठ्दैन ।”
केही समय ड्राइभर चुप लागेपछि आफ्नो सीट झारझुर गरेर त्यसमा भएका बालुवा र धूलो झारी त्यसैमा मजाले बसी खुट्टा मोटरको बाहिरसम्म पुर्याएर तन्काई, टाउको सिटमा अडाएर मलाई फेरि भने– “दिदी ! यो देशको कुरा गरी साध्य नै छैन । अब तपाईं आराम गर्नुस् ।”
“योभन्दा आराम अरु के हुन सक्छ ? अनुहारमा कालो नकाब छ । मेरो रखवाला तपाईंहरु हुनुहुन्छ । मैले आफूलाई धन्य ठानी गौरव नै मानेकी छु ।”
दुईजना सेना गन सोझ्याएर मोटर बाहिर उभिरहेका थिए अरु मोटरभित्रै निदाउन थालेको जस्तो लाग्यो । तिनीहरु पनि थाकिसकेका थिए । म बसेको सिटको अगाडिको खाली सिटमा एउटा सैनिकले मेरा सम्मानपत्र फ्यात्त राखेको धमिलो गरी देख्ने बित्तिकै मेरो मुटु फेरि ढुक्क फुलिहाल्यो । त्यसैमा हो कि माओवादीको बुलेटिन लुकाइराखेको ? बिस्तारै सम्मानपत्र लिई तिनीहरुले नदेखिने गरी त्यसको पछाडि छामेर हेर्ने तीव्र इच्छा जागेको थियो । त्यसमा थिएन होलाजस्तो पनि लाग्यो मलाई । के गरुँ ? सम्मानपत्र लिऊँ कि नलिऊँ ? म दोधारमा परेकी थिएँ । फेरि सेनाले देख्यो भने, झन् तिनीहरुलाई प्रमाण भेट्टाउन दिने जस्तो हुने भएकाले म अलि हच्केकी थिएँ । त्यसैमा भएको भए पनि पछाडिको सबै किला झिकी, बाक्लो कागत उप्काएपछि मात्र भेटिने भएकाले म चुपै लागेर बसेकी थिएँ ।
कुकुरको भुकाइ अझै शान्त भएको थिएन । सुरुदेखि नै एकोहोरो भुकिरहेको थियो । त्यो अपरिचित कहालीलाग्दो सुनसान स्थानमा कुकुरको भुकाइले त्यहाँको वातावरण नै थर्काइरहेको थियो । डर मैले घरैमा छाडेर आएकीले होला, मलाई डर भने पटक्कै लागेको थिएन । दु:ख भने अत्यन्तै लागेको थियो । सानो उमेरदेखि यस राष्ट्रलाई राणाशाहीहरुको पञ्जाबाट मुक्त गरी प्रजातन्त्र स्थापनार्थ चलेको सङ्घर्षमा मैले भाग लिंदाका सबै कुराहरुले मलाई हा हा गरी जिस्क्याउन आएजस्तो लागिरहेको थियो । २००४ साल बैशाख १७ गते प्रदर्शित नेपालको सर्वप्रथम जुलुसमा प्लेकार्ड समाती सहभागिता जनाएकी हुँ मैले । त्यहीँदेखि सुरु भएको थियो मेरो राजनीतिक क्षेत्रमा सङ्घर्षशील, कठिन, कन्टकीय जीवनको अन्त्यहीन यात्रा । ती सङ्घर्षमा मैले पाएको चोट, दुखाइ र पीडाका रिल आफसे आफ मेरो दृष्टिमा घुमेको थियो । ६९ वर्षको उमेरमा कुनै बेला सेनाको कब्जाभित्रको अन्धकारमा कैद हुनुपर्ने कुरा मैले सोचेकै थिइनँ । तर सङ्घर्ष नै त हो । यसको अन्त्य कतै हुँदैन । मैले आफूलाई सबै प्रकारको लोभ–लालच र मानवीय कमजोरीबाट हुने कार्यहरुबाट पर राखी, विशुद्ध राष्ट्र, राष्ट्रियता र जनतालाई शोषणबाट मुक्त गर्ने सङ्घर्षमा आफ्नो विवेक, चेतना, निर्भिकता र कलमले साथ दिएर आइरहेकी सम्झनाले मलाई ठूलो प्रेरणा र प्रोत्साहन दिएको थियो । मेरो निष्पक्ष, इमानदारिता, स्वच्छ छविलाई कायमै राखी मैले गर्दै आएको सङ्घर्षले मलाई झुुक्न दिएको छैन । म गौरवले शिर ठाडो पारी बसिरहेकी छु ।
निकै समय लगाएर सैनिकहरु फर्केको कुकुरको आक्रामक भुकाइबाट थाहा पाएर मोटरभित्र सुस्ताइरहेका सैनिकहरु जुरमुराउँदै आ–आफ्नो पोजिसनमा बसे । सेनाहरु आपसमा कुरा गर्दै आए– “यार ! कस्तो भयानक कुकुर ?! त्यसले भेट्टाएको भए त हामीलाई बिताउने थियो । त्यसले त मेरो मुटु नै हल्लाइ दियो ।”
“कस्तो भयानक कुकुर त्यसरी राख्नै हुँदैनथ्यो । त्यसले त मान्छेको ज्यान सजिलैसित लिन्छ सर ।”
अचानक मैले सम्झेँ – बी.बी.सी.बाट प्रसारित समाचारमा बारम्बार देखाइएको एउटा भयानक दृश्य– खाकी ड्रेसमा लाठीधारी तीनजना प्रहरीले समातेर ल्याएका प्रहरी कुकुरहरुले सुनसान बाटोमा आइरहेको एउटा गरिब कालो युवकलाई आक्रमण गर्न लगाएर त्यसमाथि ती तीनैजनाले लाठी र बुटले प्रहार गरिरहेको घोर अत्याचारको दृश्य । प्रहरी त यतिको ब्रुटालिटिमा ओर्लिन सक्छन् भने सेना कतिको अमानवीय हुन सक्छन् ? अनुमान मात्र गर्न सकिन्छ । यथार्थ थाहा पाउन सकिन्नँ । अहिलेसम्म पनि ती काला युवकमाथि तीन तीन जनाप्रहरीहरुका प्रहार र कुकुरहरुको टोकाइले छटपटिँदै चिच्याएको त्यो युवकको हृदय विदारक स्वर र त्यस दृश्यले मलाई दु:खी पार्न छोडेको छैन । अहिले भुकिरहेको भयानक कुकुरले त्यो बी.बी.सी.ले समाचारमा देखाएको भयानक दृश्यलाई जीवन्त तुल्याई दिएको थियो ।
सबै सेनाहरु आफ्नो–आफ्नो स्थानमा बसिसकेपछि टोली प्रमुखले मलाई सम्बोधन गरी भने –“शान्ता दिदी ! माफ गर्नुहोला । समय अलि बेसी नै लाग्यो के गरुँ ? हाम्रो कामै यस्तै हो । तपाईंलाई त केही अप्ठ्यारो भएन ? तपाईं सुत्नु भएन ?”
“घरमा त काम्पोज खाएर सुत्नुपर्छ भने यो अवस्थामा मैले कसरी सुत्न सक्नु ?”
“ए काम्पोज खाने बानी त राम्रो होइन है । त्यसले त शरीरमा नराम्रो असर पार्छ भन्छन् । तपाईंलाई केही असर पारेन ?”
“खोइ ? अहिलेसम्म त ठीकै छु ।”
मोटर स्टार्ट भयो । त्यसले आफ्नो गति लिनुभन्दा पहिले त्यही बन्द सटरहरु र रोगाहा पिलपिले बत्ती बलिरहेका लट्ठाबीचको चन्द्राकारको बाटो भई पश्चिमतिर बढेको थियो मोटर । निशब्द भयानक सुनसानको छाती चिर्दै, सारै अप्रिय आवाज छोड्दै मोटर आफ्नो अगाडि बढ्दै थियो । निष्पट्ट अन्धकार थियो । कतै बत्ती बलेको थिएन । मोटरको हेडलाइटले देखाएको थियो, ठूलठूला रुखहरु मौन उभिइरहेका । नकाबभित्रका आँखाले देखेका अति नै धमिलो दृश्यले मलाई कता लाँदै छ ? त्यो मैले थाहा पाएर पनि थाहा पाउन सकिनँ । किन कि छाउनी व्यारेकमा लाने त भनेका थिए, तर त्यो बाटो त छाउनीको जस्तो लागेन मलाई । घुम्ती, खाल्डो र हिलो भएको बेचल्तीको बाटोजस्तो थियो । कुनै प्रकारको ट्राफिक र बटुवा भेटिएन । त्यो बाटो पार गर्न मोटरलाई पनि निकै कष्ट भइरहेको थियो । खुब जोल्टिन खाँदै मुश्किलले मोटर अगाडि बढिरहेको थियो ।
“शान्ता दिदी ! तपाईंलाई ठीक छ ? राम्ररी समातेर बस्नुस् है ? बाटो खराब छ ।”
“छाउनी जाने बाटो त यतिको भयानक र खराब नहुनु पर्ने हो । तपाईंहरु कुबाटोबाट आउनुभो क्यारे ।”
“दिदी ! तपाईं सारै चलाख हुनुहुन्छ ।”
सेनाप्रमुखले किन त्यति नजिक हुन खोज्दै मसित कुरा गरेका थिए ? मैले बुझ्न सकिनँ । त्यसरी मायाले प्रश्न गर्दै, मेरो पीर लिने गरेकाले त मलाई समातेर लगिरहेको जस्तो पनि लागेको थिएन । खूबै नरम व्यवहार पाएकी थिएँ मैले । त्यसरी कुरा भइरहँदा त ती भाइहरु सशस्त्र सेना सैनिक जस्तो पनि लागेको थिएन मलाई । तर मलाई त्यसरी गन नै तेस्र्याई, आँखामा कालोपट्टि बाँधेर ल्याएको यथार्थको वाणले भने मेरो मुटु नै पार गर्न खोजिरहेको आभासले म अन्यौलमा थिएँ ।
त्यतिबेला मैले लहरी मोटरमा राखेर मार्न लगेका सहिद दशरथ चन्द, शुक्रराज शास्त्री, गङ्गालाल श्रेष्ठ र धर्मभक्त माथेमालाई सम्झेकी थिएँ । त्यस्तै मध्यरातमा सशस्त्र राणाका अर्दलीहरुको बीचमा राखी मलाई जस्तै लगेका थिए होलान् । बाटो पनि यस्तै सुनसान र खराब थियो होला । फरक यति मात्र थियो कि उहाँहरुको अनुहारमा कालो नकाब थिएन । सहादत प्राप्त गर्न निमेष पहिलेसम्म पनि यो अनित्य संसारमा देख्नुभएको थियो । आफूलाई मार्नेको अनुहार देख्नुभएको थियो । उहाँहरुलाई कसले गोली हान्यो, कसले झुन्ड्याएर घाँटीमा पासो हालेको थियो र ती स्थानहरुमा को–को थिए ? प्रत्यक्ष देखिरहनुभएको थियो उहाँहरुले । त्यो महा कालो समय थियो । उहाँहरुलाई कसले गोली हान्यो, कसले झुन्ड्याएर घाँटीमा पासो हालेको थियो र ती स्थानहरुमा को को थिए ? प्रत्यक्ष देखिरहनुभएको थियो उहाँहरुले । त्यो महा कालो समय थियो १९९७ सालको माघ महिनाको मध्यरात । तर अहिले त २०५९ सालको जेठ महिनाको १७ गते मध्यरातमा मलाई सशस्त्र सेनाहरुको बीचमा राखेर आँखामा कालो पट्टीले बाँधेर कता हो कता लगिरहेका थिए । उहाँहरु त लोग्नेमान्छे जवान र ६० वर्ष नपुगेका हुनुहुन्थ्यो । तर म आइमाई सत्तरी वर्ष पुग्न लागेकी । उहाँहरुलाई त राजकाज ताकेको दोष लगाई मुद्दा चलाई ज्यान लिने फैसला सुनाइएको थियो । तर मलाई त दोष नलाग्दै पक्रिने बित्तिकै, संसारको उज्यालोबाट अलग्याई महाअन्धकारतिर लैजाँदै थिए । त्यतिबेला त हुकुमी शासन थियो निरङ्कुश राणाहरुको । अहिले त संवैधानिक राजतन्त्र तथा बहुदलीय प्रजातन्त्र छ । म आजित भएर मुस्काएँ पनि । बाँच्नु मात्र पर्दोरहेछ, शासक वर्ग कतिको अपराधी, कतिको रक्त पिपासु, कतिको अधर्मी हुँदारहेछन्, प्रत्यक्ष देख्न र भोग्न पाइने रहेछ ।
उहिले र अहिलेको देश, काल परिस्थितिलाई अनायास तुलना गर्न थालेँ म । आकाश र जमिनको फरक पाएँ । मुखमा कानुन भएका राणा शासक, जसले सुनको थालमा भुजा खाएर हीरा, मोतीमा खेलेको, कल्पना नै गर्न नसकिने सुख–चैन भोगेकाले पनि मान्छे मार्न चाहेका थिएनन् । जस्तोसुकै ठूलो सजाय सुनाइसकेपछि पनि उसले माफी माग्यो भने माफी दिने चलन थियो । जनताको आँसु र रगत हेर्न सक्दिन भनेर श्री पद्म शमशेरले राजकाज नै त्यागेका थिए । त्यत्रो ऐयाशी श्री ३ महाराज जुद्ध शमशेरले समेत राजकाज त्यागेर रिडीमा गई बसेका थिए । तर अहिले ? दसौं हजार नेपाली मरिसकेका छन्, अनैतिक भ्रष्ट, भ्रष्टाचारीहरुले आफ्नो शासन काल लम्ब्याउन ।
अचानक कतै परबाट आएको लाग्नेमान्छे र स्वास्नीमान्छेहरु रोएका, कराएका स्वरहरु सुनेँ मैले । कुनै बस्ती नजिक आइपुगेको जस्तो लाग्यो मलाई । चिसो हावा सरसराइरहेको थियो । मुटुभित्रसम्म चिसो पसेको जस्तो मलाई जाडो लाग्न थाल्यो । सलभित्र दुवै हात घुसाएँ मैले । मोटरको स्पिड कम भयो हेडलाइटको ज्योति मोटा मोटा रुखहरुमा ठोकिँदै बिस्तारै मोटर बन्द गेटको अगाडि रोकियो । हेडलाइटले झिपझिप गरी सिग्नल दियो, हर्न बजाएर । बिस्तारै टिनको ठूला खापा भएको गेट खोले सशस्त्र सेनाहरुले । मोटर बिस्तारै ढोकाभित्र पुगेर रोकियो । सशस्त्र सेनाहरुले मोटरलाई घेरे । मोटरभित्रका सेनाहरु मोटरबाट ओर्ले । आफ्नो झारझुर र तानतुन गरी तन्काएर मलाई टोली प्रमुख सेनाले भने – “दिदी ! तपाई ओर्लिनु पर्यो । ए दिदीलाई बिस्तारै ओराल न । बिस्तारै है, बिस्तारै । लड्नुहोला है ।”
टोली प्रमुखको आदेश सुन्ने बित्तिकै सेनाहरुले मलाई समातेर बिस्तारै मोटरबाट ओराले । खुट्टाले तल जमिनमा छुने बित्तिकै दलदलमा परेको जस्तो चिसो र गिलो लाग्यो मलाई । आकाशको आँसु भर्खरै मात्र थामिएको जस्तो आलो गिलो माटोको अनौठो गन्धले मेरो नाकलाई समातिहाल्यो । कता हो कता टुँडिखेलको बीचमा ओरालेको जस्तो घाँसमाथि पानी जमेको मैले आभास पाएँ । छ्याप्लाङ्गछ्याप्लाङ्ग आवाज पनि आएको थियो ।
“दिदी ! यहाँ हिलो छ । तपाईंले साडी स्याहार्नुस् । लड्नुहोला । खोइ, तपाईंको व्याग मलाई दिनुस् त ।”
मैले हेन्डब्याग दिएँ, ब्यागभित्र चेक गर्न मागेका होलान् नि सोचेँ मैले ।
“दिदी ! तपाईंको ब्याग यही रहन्छ । यहाँ ठूलो सिक्योरिटी छ । तपाईंले धन्दा मान्नुपर्दैन । यहाँ सुरक्षित साथ राखिदिन्छ नै ।”
मैले केही बोलिनँ । किनकि बोल्नु नै बेकार थियो । टोली प्रमुखले अरुलाई जनाउ दिएर भने –“लेऊ यो दिदीको ब्याग राम्ररी सुरक्षित राख्नू । ब्यागभित्र जेजे छ, सबै टिपेर लिस्ट बनाइ राख्नू । बुझ्यौ ?”
“हवस् सर हवस्” भनेको पनि सुनेँ ।
“शान्ता दिदी ! मैले नै तपाईंलाई बिस्तारै लैजान्छु सीधा अगाडि पाइला चाल्नुस् ।”
मैले साडीका मुजा उचाली कम्मरमा घुसारिसकेकी थिएँ । सल मिलाएर ओढेँ । टोली प्रमुखले मलाई अर्ध अँगालोभित्र पारी बिस्तारै डोहोर्याउँदै लगे । दायाँबायाँ सङ्गीन तेर्साइ उभिइरहेका बत्तीको प्रकाशमा धमिलो दृश्य देखेँ मैले । मैले बिस्तारै पाइला सार्दै गएँ । घाँसमा जमेको पानीमाथि टेक्दै गएँ ।
“दिदी ! यहाँ स–सानो खुड्किलो छ । खुट्टा अलि माथि उचाल्नुस् । अब सीधा हिँड्नुस् । बाटो अलि साँघुरो छ । दायाँतिर चेपेर सीधा अगाडि पाइला सार्दै जानुस् ।”
सानो खुड्किलो चढेपछि प्राय: अन्धकार नै थियो । बायाँपट्टि हातले आड लिन खोज्दा पाल राखिराखेको जस्तोमा परेको थियो । पालको कपडाजस्तो लागेको थियो मलाई । दायाँपट्टि पक्की सिमेन्टको जस्तो ठोस थियो । दायाँपट्टि आड लिँदा मेरो हात सिमेन्टले प्लास्टर गरेको घर हो वा पर्खालजस्तोमा परेको थियो ।
“दिदी बाटो साँघुरो छ । दायाँतिर चेपेर हिँड्नुस् । बायाँतिर खस्नुहोला है दिदी । तपाईंलाई एउटा कुरा भन्न चाहन्छु म हेर्नुस्, तपाईंलाई हामीले केही नराम्रो गरेका छैनौं । बडो अदप र इज्जतसाथ तपाईंलाई यहाँ ल्याएका छौं । तपाईं यहाँबाट छुटेर जानु भएपछि पत्रकार सम्मेलन त गरिहाल्नुहुन्छ । हामीलाई दोष लगाई, तपाईंले गाली गर्नुहुने मलाई थाहा छ । के गरुँ ? अह्राएको काम मैले गर्नैपर्छ । ठीक छ । तपाईंको विवेकले जे देख्नुभएको छ त्यही भनिदिनुहोला । मलाई गाली नगरिदिनु होला । मैले तपाईंको केही गरेको छैन ।”
टोली प्रमुखले अलि दबेको स्वरमा मलाई जे भनेका थिए, त्यसबाट मलाई के स्पष्ट भएको थियो भने उनलाई मिडियाको ठूलो डर रहेछ । त्यसबाट निस्पट्ट अन्धकारभित्र बढ्दै गएको मेरो पाइलाले उज्यालो पाएको जत्तिकै मेरो हौसला बढेको थियो । उनको डरलाई साम्य पार्न आवश्यक ठानी नरम स्वभाव दर्शाइ मैले भनेँ –“तपाईंले कसरी भन्नुभयो कि म यहाँबाट छुटेर जाने बित्तिकै पत्रकार सम्मेलन गर्छु भनेर ? फेरि तपाईंलाई मैले गाली किन गर्ने ? यस्तो झन्झट मोल्न मलाई के मतलब ? मलाई न नेता बन्नु छ, न मन्त्री । तपाईंले त माथिबाट अह्राएको अर्डर मानेर काम गर्ने त हो ।”
“हामी मान्छे चिन्छौं नि दिदी । तपाईंले अवश्य पनि पत्रकार सम्मेलन गर्नुहुनेछ । तपाईंले मबाट जे–जस्तो व्यवहार पाउनुभयो त्यही भनिदिनुहोला । बस् ! यति भन्नु छ मेरो । यो मेरो विशेष अनुरोध सम्झनुस् है दिदी ?”
“मलाई तपाईंले चिन्नुभएकै छैन । मैले भनिहालेँ मलाई झन्झट मोल्नु छैन । म त लेखिका हुँ । साहित्य रच्ने मेरो काम हो ।”
सिमेन्टको साँगुरो लामो पेटीजस्तो बाटोको अन्त्यमा आइपुगियो क्यारे ! सेनाको पाइला रोकियो । मैले पनि आफ्नो पाइला रोकेँ । कहाँ हो कहाँ ? मलाई त सपना देखेको जस्तै लागिरहेको थियो । मेरो सात दशक लामो जीवनमा भोगेको त्यो पहिलो अन्धकार थियो ।
“पर्खनु है दिदी । यहाँ ढोका छ । बिस्तारै गोडा उचाली भित्र पस्नुस् ।”
ढोकाभित्र मेरो पाइला पर्ने बित्तिकै नमीठो अप्रिय चिसो ओसको जस्तो कस्तो कस्तो गन्धले मलाई छोपिहाल्यो । त्यहाँभित्र यतिको अन्धकार थियो कि मैले एक पाइला पनि अगाडि सार्न सकिनँ । त्यहाँ ५/६ जना सेना थिए जस्तो लाग्यो मलाई । ताल्चा खोलेको आवाज आयो । ढोका खोलेको अनौठो आवाज पनि सुनेँ मैले । गरुङ्गा बुटका आवाजहरु पनि आइरहेका थिए । टोली प्रमुख सेनाले भने –“ए दिदीलाई बिस्तारै भित्र लैजा त ।”
टोली प्रमुखले अह्राउने बित्तिकै ३/४ वटा कडा हातहरुले मलाई समाउन आए । मेरो आङ्ग सिरिङ्ग भइहाल्यो । मलाई बिस्तारै डोर्याएर केही पाइला सार्न लगाएपछि एकजनाले भने –“ए दिदीलाई बिस्तारै भित्र लैजा त ।”
टोली प्रमुखले अह्राउने बित्तिकै ३/४ वटा कडा हातहरुले मलाई समाउन आए । मेरो आङ्ग सिरिङ्ग भइहाल्यो । मलाई बिस्तारै डोर्याएर केही पाइला सार्न लगाएपछि एक जनाले भने –“दिदी बिस्तारै दैलो नाघ्नुस् त ।”
तिनीहरुका सहाराले मैले दैलो नाघ्ने बित्तिकै फोहर इनारभित्र पुगेको जस्तो नमिठो गन्ध मिसिएको चिसोले मलाई छोपिहाल्यो । त्यहाँको जमिनमाथि बालुवा छरिएको जस्तो लाग्यो मलाई । मैले पाइला नै सार्न सकिनँ । शून्य दिशाले खाली मनको बोझले म त्यहीँ उभिइरहेँ ।
“दिदी ! बिस्तारै दायाँ मोडेर जानुस् त, ठोकिएला है । बिस्तारैबिस्तारै पाइला सार्नुस् ।” बाक्लो प्लास्टिक तानेको जस्तो आवाज सुनेँ । म पूर्ण रुपले अन्धो भइसकेकी थिएँ । के गर्न लागे । कता लान लागे ? म त एकदम अन्यौलमा परेँ । शून्य अन्धकार कति भयानक हुने रहेछ ?
“दिदी ! अब तपाईंले जुत्ता फुकाल्नुस् । भित्र पाइला टेक्नुस् ।”
मैले पाइला टेक्ने बित्तिकै नरम पाएँ । सायद फोम हुनुपर्छ । त्यसमा पनि बालुवाका कणहरु भएकाले मेरो नाङ्गो पाइतलामा बिझिहाल्यो । म शून्यले नै उभिइरहेँ । अन्धकारले निस्सासिइरहेँ ।
“दिदी ! तपाईंले यहीँ बस्नु छ । अब तपाईंले आराम गर्नुस् ल ।”
म त्यही फोममाथि बसेँ । दुवै हात फैलाएर फोममाथि । अलि परसम्म फैलिएकाले ओछ्यान नै हुनुपर्ने अनुमान गरेँ मैले । बल्ल थाकेको महसुस भयो मलाई । अलि गलेको शरीरभित्र खालीपन बढ्दै आएकाले चन्द्राकारले खुट्टा खुम्च्याएरै त्यही ढलेँ म । त्यहीँबाट मेरो संसारको एउटा महत्वपूर्ण भाग काटेर दुई हिस्सामा विभाजित भएको थियो र एउटा आँखाले देखेको र अर्को आँखाले नदेखेको संसार । अन्धकारभित्र गुट्मुटिएर पल्टिरहेको मेरो शरीरले ओगटेको सानो टुक्रा जमिनमा सीमित रहनु मात्र मेरो भागमा परेको संसार थियो । मैले थाहा पाएँ कि अन्धाको जीवन कतिको भयानक शून्य हुने रहेछ ? जन्मेदेखि नै आँखा नदेख्नेलाई त थाहा नै हुँदैन कि संसार कस्तो छ ? चन्द्र र सूर्य कस्ता छन् ? मानिसको पूर्ण आकार कस्तो हुन्छ ? प्रकृतिको सौन्दर्य कस्ता छन् ? उसको लागि त यो विश्व, चराचर, कालो महाकाली अन्धकार नै हुने रहेछ । तर पछि अन्धो हुनेले त पहिले संसारलाई देखिसकेकाले अचानक अन्धो हुनुपर्दाको अन्यौल अन्धकारको दु:खकष्ट र सहाराहीन अवस्थाले अर्ध लास भई बाँच्नुपर्ने यथार्थको कालो आगोले त्यतिबेला नै मलाई पोलेको थियो । कसैको सहारा नपाई केही पनि गर्न नसक्ने अवस्थामा थिएँ म ।
एउटा सेना गएको र अर्को सेना आएको तिनीहरुको गरुङ्गो बुटको आवाजले मात्र थाहा पाउँथेँ मैले । मतिर आइरहेको पदचाप मेरो नजिक पुगेर टक्क रोकियो । बाक्लो प्लास्टिक सारेको जस्तो आवाज आयो । म चुपचाप पल्टिरहेकै थिएँ ।
“शान्ता दिदी ! तपाईं निदाउनुभयो ?”
त्यही टोली प्रमुखको स्वर, मैले चिनिहालेँ ।
“कहाँ सुत्नु ? तपाईंले मेरो निद्रा मेरै कोठामा थुनेर यहाँ कसरी अन्धकारमा बस्न बाध्य गराउनुभयो मलाई । तपाईंलाई धेरै धन्यवाद छ । अन्धोको दिन, दिनचर्या र जिन्दगी कस्तो हुने रहेछ ? कसरी बित्दोरहेछ ? त्यो अनुभव गर्ने ठूलो मौका मलाई दिनुभएकोमा ।”
“दिदी ! तपाईं साँच्चिकै मान्नुपर्ने मान्छे हुनुहुँदोरहेछ । कसरी थाहा पाउनुभयो ? त्यो मान्छे म नै हुँ । खैर छोडौं यो कुरा तपाईं केही खानुहुन्छ कि ? के खानु होला र ? बिहान हुने बेला हुन लाग्यो दिदी ! तपाईंलाई म एउटा झुल पठाइदिन्छु । अब हाम्रो भोलि बिहान मात्र भेट हुनेछ ।”
“कृपया कष्ट नगर्नु होला । मलाई झुल चाहिँदैन । मलाई यस्तै ठीक छ ।”
“तपाईं नरिसाउनुस् न । यहाँ तपाईं झुल नभई बस्न सक्नुहुन्न । जिद्दी नगर्नुस् । म झुल पठाइदिन्छु ।”
सेना फर्केको पदचापको साथै ढोकामा ताल्चा मारेको स्वर सुनेपछि मलाई थाहा भयो कि म ताल्चाभित्र थुनिएकी रहेछु भनेर । टोली प्रमुख सेनाले मसित गरेका व्यवहारले मेरो मनलाई माथि उठाइदिएको थियो । मसित कडा, सहन नसकिने, अमानवीय व्यवहार नगर्ने संकेत मैले पाएकी थिएँ ।
अचानक ढोकाको ताल्चा खुल्यो । बुट लगाएको पदचाप मतिर आयो । प्लास्टिक जस्तो सारेको आवाजसँगै स्वर सुनेँ –
“दिदी । तपाईं उठ्नुस् त । सरले झुल पठाइदिनुभएको छ । म झुल टाँगिदिन्छु ।”
“भाइ मलाई झुल चाहिँदैन । कृपया फर्काएर लानुस् । यस अवस्थामा राखेको मान्छेलाई केको झुल ?”
“फेरि सरले नराम्रो मान्नुहोला । यहाँ असाध्य मच्छर छ । तपाईं सुत्न त के, बस्नै सक्नुहुन्न । नाई नभन्नुस् । म झुल टाँगिदिन्छु ।”
डोलीको आकारमा सेनाले झुल टाँगेर गएकाले होला बस्दाखेरि झुल मेरो टाउकोले उचालिएको थियो म अर्ध चेतनाले नकावभित्रको आँखा बाली, आफ्नै अतीतका संघर्षहरुमा पुग्न थालेँ । त्यतिबेला म पूर्ण रुपले आफूमा थिइनँ । मन र मस्तिष्क अलग अलग धारमा बगिरहेको थियो । एक प्रकारको अव्यक्त नशाले म लठ्ठिरहेकी थिएँ ।
अचानक फेरि ताल्चा खुल्यो । गरुङ्गो बुटले टेक्दै मतिर आउँदै गरेको थियो । टक्क पाइला रोकेर बाक्लो प्लास्टिक तानेको आवाजसँगै त्यही परिचित स्वर सुनेँ मैले –
“शान्ता दिदी ! मैले झुल पठाइदिएको थिएँ । पाउनुभो ? ए पाइसक्नुभएको रहेछ । ए के गरेर टाँगेको झुल ? अलि मिला न ।”
“सर मिलाएर टाङ्ग्ने ठाउँ नै छैन । त्यसै अड्काइदिएको छु मैले ।”
“लौ भैगो । अहिलेलाई यसै छोडिदिऊँ पछि मिलाउँला । शान्ता दिदी ! अब तपाईंलाई लामखुट्टेले खान सक्दैन, सिरानी छैन । आजलाई भैगो । लौ अब तपाईं सुत्नुस् ।”
सेनाहरु फर्केर जाने बित्तिकै ढोकामा ताल्चा लगाइहाल्यो । ढोका बाहिर ४/५ जना सेनाहरु रहेको बुटको आवाज र तिनीहरुको गुनगुन कुराकानीबाट मैले थाहा पाएकी थिएँ । मेरो टाउकोमाथि पनि गरुङ्गो बुट लगाएका पदचापहरु सुनेर मैले के अनुमान लगाएकी थिएँ भने मलाई राखेको ठाउँ दुई तल्लाको होला । माथि जाने भर्याङ्ग भने काठको भनेर, त्यसमा टेकेको आवाजबाटै मैले थाहा पाएकी थिएँ । म भने शून्यले पल्टिरहेकै थिएँ । अचानक टोली प्रमुखको अनौठो एकजोडी आँखा मेरो भृकुटीमा बस्न आयो । उनले गोडा फटाई, गन सोझ्याई अनुहारमा नकाब लगाई सेनाको अफिसरको पोजले उभिएको मेरो कोठासमेत मेरो अगाडि उभिन आयो । उनले गरेका एक एक प्रश्न मेरो छातीमा प्रतिध्वनित हुन थाल्यो । उनका अनौठा आँखाको नानी मेरो भृकुटीमा चम्किन थाले । जङ्गली बिरालाको आँखाजस्तो लाग्यो मलाई ।
घन्टीमा चार हानेको सुनेँ मैले । बिहान हुन लाग्यो भनेर थाहा पाएँ मैले । त्यहाँ पुग्नुभन्दा पहिलेदेखि नै सेलाएको मेरो शरीरबाट पानी टप्किनु मात्र बाँकी थियो । झन बिहान हुन लाग्यो भन्ने थाहा पाउनासाथ बिहानीको ओस र मन्दमन्द चिसो हावाले मलाई छोइरहेको चाल पाउन थालेँ मैले । भित्रदेखि मुटु काम्न थाल्यो । एक कप चियाको तलतल लाग्यो ।
म उज्यालोको प्रतीक्षामा थिएँ । घरमा भए एउटा कागतीको रस र एक लिटर पानी खाइसकेर पछि चिया खाइसकेकी हुन्थेँ । कुन बेला चिया दिने हो ? मलाई दिक्क लागिसकेको थियो । अचानक घन्टा र घन्टीहरु टाङ्गटाङ्ग र टुङ्गटुङ्ग बजेको सुनेँ । ए, यहाँ नजिकै सानोतिनो देउतास्थान पनि रहेछ भनेर थाहा पाएँ मैले । श्लोक भट््याउँदै घन्टी बजाउँदै पनि गरेको सुनेँ । सेनाहरुले पनि देउतामाथि आस्था र विश्वास राखेका थिए क्यारे ? जरुर त्यो देउता भगवती नै हुनुपर्ने मैले विश्वास गरेँ, किनभने – सेनाले पनि प्रहरीले जस्तै शक्ति माग्ने न हो । निर्दोष जनतालाई सकेसम्म दबाउन सकूँ, मान्छे मार्दा पनि उसको आफ्नो मन नकमाओस्, छिटो प्रमोशन होस् आदि ।
शक्तिको भक्ति गर्नु नै एक मात्र आफ्नो विकासको बाटो हो भन्ने मूल–मन्त्र दिने नै पुराण–महापुराण हुन् । त्यसैको आधारमा विकृति–विसङ्गति, अन्याय–अत्याचार, शोषण भ्रष्टाचार आदि महा–बिपत्तिको विष फैलिंदै छ ।
धर्म नै धर्ममा नरहेको यथार्थले म हैरान भएँ । धर्म, व्यक्तिको व्यभिचार छोप्ने साधन मात्र नभई निर्दोषको रगत नै चुस्ने अचुक अस्त्र पनि बनेको छ । मैले झ्वास्स सम्झेँ कि अब हाम्रो भेट भोलि बिहान मात्र हुनेछ भनेर गएको टोली प्रमुख सेनाले (मलाई घरबाट पक्रेर ल्याउने सेनाप्रमुख) ममाथि यतिको माया र सहानुभूति देखाउन फेरि मकहाँ किन आएका होलान् भन्ने प्रश्नले पनि मेरो मुटुमा ठाउँ पाएको थियो । त्यसरी मेरो सेवा गरेको देखाउनाको अर्थ ? उनले चाहेको भए, मलाई मेरो घरबाटै नल्याउन सक्थे ।
मलाई फेरि बिहानको वातावरणले समातिहाल्यो । बाहिरतिर कराएका चराहरुको चिरबिरे स्वर पनि सुनेँ मैले । म उज्यालोकै प्रतीक्षामा थिएँ । तर मलाई फरकै के पर्छ र ? उज्यालो र अँध्यारोको ? आँखा त नकाब बाहिर थिएन । अन्धकारभित्रै थियो ।