मध्यरातमा जब उठेर हेर्छु
पूर्णिमाको यो आकाशमा
आधाउधी बादलको पर्दा छ
भित्रबाट कुनै रहस्य जस्तो
जूनले चिहाउँछ
कति सुन्दर छ यो जगत्
अकल्पनीय बुट्टामा यो प्रकाशले
विना बादलको आकाश पो
नसुहाउने रहेछ
विना दु:खको जीवनझैँ
विना चिन्ता बितेको
दिन र रातझैँ
दु:ख र पीरले घोटेर नै
यो जीवन नित्य बल्दोरहेछ
तर चिन्तारहित आकाशको खोजीमा
दु:खरहित संसारको खोजीमा
नित्य भड्केको छु
नित्य उडेको छु
आज पो देख्तैछु
विना बादलको आकाश
त्राशद औ शोभाहीन लाग्दोरहेछ
बादल खोज्दै भागीहिँड्ने चन्द्रमा जस्तो
तर आज मध्यरातमा
उठेर हेर्छु
दु:खहरुको फुलबारीमा चन्द्रमा नाचिरहेको
चिन्ता र व्यथाको खास्टो ओढेर ।