जो स्रष्टा छ त्यसका क्रिया शिल्प, दृष्टि सौन्दर्य बन्छ, कल्पना सत्य बन्छ भनी साहित्यिक स्रष्टाको पहिचान परिभाषित गर्न मन पराउने वरिष्ठ कवि माधवप्रसाद घिमिरेका लागि साहित्य अमृतको लतजस्तै हुन गएको सन्दर्भ उनले चर्चा गरेका छन् । देवकोटा, सिद्धिचरण, बालकृष्ण सम, लेखनाथ पौड्यालकै पदविन्यास, वाक्यरचना र प्रबन्ध–कल्पना मिलाएर उनले कविता सिर्जना गरेका छन् । देशको गाथा गाउन सिपालु यी कविले शैली र भावको सम्मिश्रण गराएर आफ्ना सबैजसो कवितामा सजीव ढङ्गले देशको व्यथाकथा प्रस्तुत गरेका छन् ।
कवि द्रष्टा हुन्छ, कवि स्रष्टा हुन्छ ।गौरी काव्यकृतिमा मात्र होइन, कविका सबैजसो काव्यकृतिमा यस्तै भावभूमि नियाल्न पाइन्छ । देवकोटाद्वारा लिखित मुनामदन गीतिकाव्यभन्दा निकै पछि चर्चा–परिचर्चामा आएको मालतीमङ्गले गीतिनाटकको दृश्यकाव्यले माधव घिमिरेको कविव्यक्तित्वले नेपाली जनमानसको मुटुको स्पन्दनभित्र निकै ठाउँ पाएको हो । कविता सबैले लेख्न सक्छन्, कविताको नाममा कविता बनाउन सकिन्छ । त्यसैले सबैले सजिलै कविता लेख्छन् । तर सुन्दर र मर्मस्पर्शी कविताहरु कोर्न त निकै साधना गर्नुपर्छ । साधनामा पारङ्गत नहुनेहरुको कविता नाममात्रको बन्छ । कवितामा साधनारत एकजना सिद्धहस्त वरिष्ठ कवि हुन् – माधव घिमिरे । जसले कविता काव्यमा निरन्तर कलम चलाए र जीवनदान दिए, त्यसैको प्रतिफलका रुपमा सफल कविका रुपमा माधव घिमिरे नेपाली साहित्यजगत्मा प्रतिष्ठापित हुन गए ।
कविताकै सन्दर्भमा कवि माधव घिमिरे यसरी मीठो बोल्छन् –‘विषय कविता हो, तर विषय मात्र कविता होइन ….. । उद्देश्य कविता हो, तर उद्देश्य मात्र कविता होइन । जहाँ उद्देश्य मात्र हुन्छ, त्यहाँ कविता तथ्य र उपदेश हुन्छ । जहाँ उद्देश्य छैन, त्यहाँ कविता स्वप्नमा बर्बराएजस्तो हुन्छ ।’ कवि घिमिरेले औंल्याएजस्तै हो कविता । कविले बुझेका मर्म–व्यथा, अर्थ, दृश्यकै भावभूमिमा नै रमेर कविले कविता कोर्छन् । जति बढी सबलता कविमा खुल्छ त्यसकै परिणतिमा कविता बन्छ । कविता कविकै चेतनाबाट स्फूरित हुने भावधारा हो ।
कवि माधव घिमिरेले पनि आफ्नै भावधारामा भुल्दै धेरै कविताहरु बनाए । उनले बालबालिकाहरुका लागि उनीहरुकै परिवेशमा घामपानी झुल्न दिए, बाललहरी फुल्न दिए र सुनपङ्खी चरी उड्न लगाए । त्यसैले त उनी भोलिका कर्णधारहरुका लागि पनि सुन्दर कविका रुपमा पहिचान दिन सफल भए ।गौरीमा फुकाएका मर्मका व्यथाहरुले उनलाई करुणरसका मर्मज्ञ मात्र बनाएनन्, यस कृतिले नै उनको कविव्यक्तित्वलाई माथि उचालिदियो ।राजेश्वरी र पापिनी आमाले उनको शिल्पकारितालाई झन् माथि उठाए, राष्ट्रनिर्माता र धर्तीमाताले उनको राष्ट्राभिमानको चेतना उजागर गरिदिएर देशभक्त कविका रुपमा पहिचान देखाउन सफल बनाए । किन्नर–किन्नरी गीतसङ्ग्रहले उनको गीति–मार्मिकता कस्तो छ भनी सबैलाई परिचित गरायो ।शकुन्तला, मालतीमङ्गले, विषकन्या, हिमालपारि हिमालवारि, अश्वत्थामा, हिमकमल आदि गीतिनाटकले कविको उचाइमा थप उचाइ थपिदिए ।आफ्नै गीत, आफ्नै बाँसुरीले उनको काव्यचिन्तन र साहित्यिक मर्मलाई बुझ्न सफल तुल्याइदिए ।
वि.सं. १९७६ आश्विन ७ गते मङ्गलबारका दिन पिता गौरीशङ्कर शर्मा घिमिरे र माता द्रौपदीदेवी घिमिरेको कोखबाट गण्डकी अञ्चल, लमजुङ, पुस्तुन, बाहुनडाँडामा जन्मेका माधवप्रसाद घिमिरेले सर्वदर्शनमा शास्त्रीसम्म बनारसबाट उत्तीर्ण गरेको देखिन्छ । २०७७ भाद्र २ गते उहाको निधन भएको दिन । ‘उपदेशमञ्जरी’का कवि तीर्थराज पाँडे र ‘वैराग्य मुक्तिमञ्जली’का कवि प्रेमप्रसाद भट्टराईबाट विशेष प्रभावित भएर कविता–सिर्जनामा लागेका कवि घिमिरेले पछि कविशिरोमणि लेखनाथ पौड्यालबाट विशेष प्रभावित हुँदै काव्यसिर्जनामा आफूलाई तल्लीन बनाएको देखिन्छ । जीवनका उकाली–ओरालीहरुमा कहिले बनारसको विद्यार्थी भएर, कहिले आफ्नै गाउँ लमजुङमा आधार स्कुलका प्रधानाध्यापक भएर, कहिले कलेज अफ एजुकेसन इन्स्टिच्युटका प्रशिक्षक भएर सेवा पुर्याइसकेको देखिन्छ । पछि भाषानुवाद परिषद् (नेपाली भाषा प्रकाशिनी समिति) अन्तर्गत लेखक भएर, गोरखापत्र संस्थानमा सम्पादकीय विभागमा कार्यरत रहेर सेवा पुर्याएका कवि घिमिरेले साहित्यिक सेवाका हकमा काव्यप्रतिष्ठानका सदस्य भएर, नेपाल लेखक सङ्घका अध्यक्षमण्डलका सदस्य बनेर, नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानका सदस्य, उपकुलपति र कुलपतिसम्म बनेर आफ्नै गरिमा र पहिचान देखाएका छन् । हाल यिनी नेपाली शिक्षा परिषद्को अध्यक्ष भएर, वरिष्ठ कविका रुपमा पहिचान देखाएर अमेरिका, बेलायत लगायत प्रवासका गाउँबस्तीमा, नेपालकै अञ्चल–अञ्चलमा, काठमाडौंमा हुने साहित्यिक सभा–समारोहहरुमा ९७ वर्षको उमेरमा पनि आफ्नो सिर्जनशील कर्मठता फुकाउँदैछन् । सबैसँग मिल्न जानेका कवि माधव घिमिरेका लागि मन पर्ने स्वदेशी साहित्यकारहरुमा लेखनाथ पौड्याल, लक्ष्मीप्रसाद देवकोटा, सिद्धिचरण श्रेष्ठ, कृष्णप्रसाद पराजुली, कञ्चन पुडासैनी, घनश्याम कँडेल, दैवज्ञराज न्यौपाने, वासुदेव त्रिपाठीहरु हुन् । त्यस्तै, विदेशी साहित्यकारहरुमा कविले उल्लेख गरेअनुसार रवीन्द्रनाथ टैगोर, सुमित्रानन्दन पन्त, वच्चन, वर्डसवर्थ, किट्स, गालिब, खलिल जिब्रान, गैबेला मिस्ताक, शरदचन्द्र, टाल्सताय, पुस्किन, दोस्तोवस्की, चेखब, मोपाँसा आदि हुन् ।
निरन्तर साहित्य–सिर्जनामा सङ्घर्षरत कवि माधव घिमिरेको साहित्य–साधनालाई कदर गरेर विशिष्ट प्रज्ञापदक, प्रसिद्ध गोरखादक्षिणबाहु, त्रिभुवन प्रज्ञापुरस्कार, सीताराम साहित्य पुरस्कार, आदिकवि भानुभक्त पुरस्कार आदिका साथै थुप्रै ठाउँ र संस्थाहरुबाट सम्मान र अभिनन्दनसमेत दिइसकेका छन् । जीवनप्रति आशावादी बनेका कवि घिमिरेले भविष्यको इच्छामा महाकाव्य लेख्ने प्रण साँचेका छन् । जीवन नै महाकाव्यजस्तै बनाइसकेका कवि घिमिरेका सुन्दर काव्यसिर्जनाले उनको काव्यकृतिको उच्च ठाउँ बनाइसकेको छ र महाकाव्य लेखे पनि नलेखे पनि उनी महान् कविका रुपमा प्रतिष्ठापित भइसकेका छन् । तर पनि उनको महाकाव्य लेख्ने धोको पूरा होस् भनी हामीले किन आशा नगर्ने ? सरल शैलीमा लेखिएका मार्मिक भावका बिहानका सुनौला चुलीजस्ता सुन्दर र रहस्यमय कविताहरु मन पराउने कवि घिमिरेले स्रष्टाहरु व्यक्तिमा रहन्न, कविताको सिर्जना व्यक्तिभित्र काव्यपुरुष (कवि) को सिर्जना हो र त्यो दुर्लभ उपलब्धि हो, त्यसलाई आफैले ठग्न हुन्न, ढाँट्न हुन्न भनेका छन् ।
चौध वर्षको उमेरदेखि कविता रचना गर्न थालेका कवि माधव घिमिरेले राजनीति र साहित्यको विभेद यसरी छुट्याउने गर्छन् –‘दुवैको उद्देश्य, लोकको गरुँ हित हो, तर मार्ग भिन्नाभिन्नै हुन्छ । राजनीतिक वादमा विवाद पनि हुन्छ, तर साहित्य निर्विवाद संवाद हो ।’ यस्तै सोच राखेर कवितामा जीवन समर्पित गरेका एकजना सफल र प्रतिष्ठित कवि माधव घिमिरेले कवितालाई गहन र ग्रहणीय बनाउन यसरी सुझाव सम्प्रेषण गरेका छन्– ‘क) आफ्नो मनमा भिज्नु र अर्काको मर्म बुझ्नुमा कविताको गहनता रहन्छ । र ख) लय, सौन्दर्य र हृदय अनि कविको अन्तर्दृृष्टि पनि कविताका स्वत्व हुन् ।’
जीवनलाई आयातित वरदानका रुपमा स्वीकार गर्ने कवि माधव घिमिरे लेखकीय जीवनबाट कहिल्यै निराश भएको देखिँदैन, त्यसैले त उनी आफ्नो जीवनकै सन्दर्भमा यसरी गाउने गर्छन् :
फुर्सत मलाई तपस्या हो, विपत मलाई बरदान
ढुङ्गा छोई मूर्ति हजुर, मूर्ति छोई मुस्कान ।
यस्तै खालका सुन्दर काव्य–अनुभूति पोख्न सिपालु कवि घिमिरेले आफ्नो परिवारका सन्दर्भमा यसरी लेखेका छन् –‘… मेरा आठवटा छोराछोरी छन् । पहिली पत्नीबाट दुईवटी छोरी भए, दोस्री पत्नीबाट ६ वटा । २००४ सालको असारमा पहिलो पत्नीको स्वर्गवास भएपछि २००५ सालको माघमा दोस्रो विवाह गरेँ ।’ हँसीमजाक गर्न पनि सिपालु रसिक स्वभावका कवि माधव घिमिरेले छन्द र लोकलयमा कविता सिर्जना गरेर जीवनका अनुभूति पनि पोखेका छन्, देशका मर्म पनि छामेका छन् र जनमनका दुर्दशा र भावना पनि कवितामा अभिव्यक्त गरेका छन् ।
कवि माधव घिमिरेका कविताहरु निकै सरल छन्, रोचक छन्, त्यसैले त कविताजस्तै कवि घिमिरे पनि सरल छन्, अनि सबैका मनमनमा कवि भएर प्रफुल्लित भएका छन् । देशकै बारे, नेपाली जीवनकै सम्बन्धमा लेखेजस्ता कविताका हरफहरु माधव घिमिरेसँगै गाइरहूँजस्तो लाग्छ :
बहिरहे पनि नदी छैन बहेजस्तो
जिइरहे पनि जीवन छैन जिएजस्तो
सुमेरुको श्रृङ्गार स्वाभिमानी शिर हो – झुकाऊँ कसरी
बाँकी रह्यो पीर–बाँकी रह्यो चीर, हो – म गाऊँ कसरी …
यस्तै कविताका हरफहरु हुन् – माधव घिमिरे । यस्तै भावनाका भावधारा सम्प्रेषित गर्ने कवि हुन् – माधव घिमिरे ।