हली दाइले हलो जोत्यो मुटु धसी धसी
हिँड्छौ कठै: भोको पेट पटुकीले कसी ।
निधारभरी पसिनाको मोती दाना फुल्यो
फाँटैभरी पहेलपूर सुनको बाला झुल्यो ।
कैले फेर्छौ धुरी खाँमो कैले फेर्छौ पाली
बाँझो धर्ती जोतीरन्छौ आशा दियो बाली ।
वर्षै पिच्छे नुन तेल सावाँ ब्याज दुख्छ
झोलुङ्गामा लालाबाला दुधे ओठ सुक्छ ।
गानो गोला दुख्छ भन्छन् बरा ! रातैभरी
अभावको समुन्द्रमा डुब्छन् घरी–घरी ।
तिम्रै शिरमा झरी बादल तिम्रै शिरमा घाम
छाती भरी दुख पिरले चिथोरेका डाम ।
यही माटोको माया लाग्छ पहराको पानी
भन्छन् मेरो हली दाइ कति स्वाभिमानी ।
म त भन्छु इमानको सुनाखरी हौ तिमी
कर्मशील पाखुरीको प्रतिबिम्ब हौ तिमी ।
प्रकाशित कृति : कवितासंग्रह–६, गीतसंग्रह–४,
विविध–१ । एक हजारभन्दा लोकगीत/दोहरी रेकर्ड