हब्सी,
तिमीले हजारौं वर्षदेखि
अत्याचार सहेका छौ – पशुहरूले जस्तै
र मरुभूमिको बतासमा उडेको छ तिम्रो खरानी ।
०००
तिम्रो आत्मालाई
सधैं जिउँदो राख्छु भन्ने बहानामा
तिम्रो दु:खलाई जस्ताको तस्तै राख्नका निम्ति
घुस्सा हिर्काउने बर्बर अधिकार
र कोर्रा हान्ने गोराको अधिकारलाई
जिउँदो राख्नका निम्ति
तिम्रो मर्ने अधिकार
र रुने अधिकार सधैंलाई कायम राख्नका निम्ति
निर्दयीहरूले बनाएका छन्
एउटा अति सुन्दर चिडियाघर
तिम्रो टोटेमको छातीमा
उनीहरूले उकासिदिएका छन्
अन्तहीन भोक र अन्तहीन बन्धन ।
०००
वनको आडमा बस्ने सर्पले जस्तै
एउटा घिनलाग्दो मृत्युले
तिमीलाई सधैं चियो गरेको छ
वनस्पतिका काप र रेशमहरूबाट
फैलिएका हाँगाहरूले जस्तै
बेरेको छ तिम्रो शरीर र तिम्रो पीडित आत्मालाई ।
०००
त्यसपछि तिम्रो छातीमा
छोडिएको छ डरलाग्दो विषालु सर्प
काँधमा हालिदिएको छ
उम्लँदो पानीको हलो
साँचो–झ्ूटो मोतीको टलकले लोभ्याएर
अँगालोबाट खोसिदिएको छ तिम्री मायालु
खोसिदिएको छ अनगन्ती धनसम्पत्ति ।
०००
अँध्यारो रातमा
तिम्रो छाप्रोबाट निस्केको छ टमटमको आवाज
थर्किएर आएको छ
लछारिएकी स्वास्नीमान्छेको करुण चीत्कार
तिम्रा फराकिला काला–काला
नदीनालाहरूको छातीलाई चिर्दै
आँसु र रगतको समुद्रमा बगेर
बेसकन लादिएको जहाज गइरहेको छ
त्यो पापभूमितिर
जसलाई तिनीहरू मातृभूमि भन्छन्
त्यहाँ मान्छे घिनलाग्दो छ
डलरको जहाँ हाइहुकुम छ
जहाँ दिनदिनै
तिम्रा छोरा, तिम्री मायालु
निर्दयी र डरलाग्दो शोषणको रथको पाङ्ग्रामुनि
सहिनसक्नु सास्ती खाएर
ऐया–आत्था गरिरहेका छन् ।
०००
उनीहरूले तिमीलाई सम्झए कि
तिमी पनि अरूजस्तै मान्छे हौ
गोरो देउताले एकदिन सबैलाई समान बनाउनेछ
रुवाइको गीत गाउँदै घुमेका छौ तिमी
घरहीन भिखारीजस्तै
गोराहरूको दैलादैलोमा ।
जब शरीर र मनमा पीडाको ज्वार उठेको छ
रातभरि तिमी नाचेका छौ
र गाएका छौ
आँधीको छटपटीजस्तै ।
०००
हजारौं वर्षको दु:खको गर्भबाट
निस्केको छ एउटा प्रचण्ड शक्ति
आगो सल्केको छ पौरुषको सुरको कथा–कुथुङ्ग्रीमा
आज सङ्गीतको घातक झ्ङ्कारमा ।
त्यस बौलाउँदो स्वरध्वनिको
मुक्तधाराको प्रचण्डतामा
महादेश हल्लिसकेको छ
वारिदेखि पारिसम्म
तर्सेर उठिसकेको छ सारा संसार
विस्मात र आतङ्कले
कान लगाएर सुनेका छन्
त्यो डरलाग्दो छन्द,
त्यो डरलाग्दो रगतको छन्द,
त्यो डरलाग्दो छन्द सङ्गीतको
आतङ्कित गोराहरूले
कान ठाडो गरी सुनेका छन्
अँध्यारो रातमा जलिरहेको अगुल्टोजस्तै
एउटा नयाँ गीत ।
०००
बिहानी भइसक्यो साथीहरू !
आँखा खोलेर हेर
हाम्रो अनुहारतिर
चम्किरहेको छ एउटा नयाँ अठोट
आँखा उठाएर हेर
पुरानो अफ्रिकाको छातीमा
ओर्लिसकेको छ एउटा नौलो बिहानी
हजारहजार वर्षदेखि हराएको देश,
हराएको धर्ती, हराएको पानी
हराएका फराकिला नदीनालाहरू
यतिका वर्षपछि
फेरि पाउनेछन् सर्वश्व गुमाएका हब्सीहरूले ।
०००
घाम लागिसकेको छ
उसका फैलिएका रापिला किरणहरूमा
सुक्नेछ तिम्रो मुखभरि फिँजिएको थुक
साङ्लो चुँडाल साथीहरू ! साङ्लो चुँडाल ।
साङ्लो चुँडाल्नासाथ
सधैं–सधैंका लागि टुङ्गिनेछ
तिम्रो सहिनसक्नुको भयङ्कर दिन ।
कालो धरतीको छाती चिर्दै
शिर ठड्याएर उभिनेछ
एउटा स्वतन्त्र निर्भीक कङ्गो
कालो माटोको अँध्यारोमा
कालो बीउभित्रबाट
कालो बहादुर निस्किएर
उज्यालो आकाशमा शिर उठाई उभिनेछ
कङ्गो, मेरो कङ्गो !
– अनु. पारिजात