नाट्यसम्राट् बालकृष्ण समको १२३ औं जयन्तीको अवसर पारेर त्रिमूर्ति निकेतनले अठारौँ त्रिमूर्ति दिवस मनाएको छ।सोही अवसर पारेर शनिबार चार जनालाई त्रिमूर्ति निकेतनका विविध विधाका २०८० सालका पुरस्कार र सम्मान पनि प्रदान गरियो ।\
त्रिमूर्ति निकेतनका अध्यक्ष इन्दिरा प्रसाई, लेखनाथ पौडयाल काव्यसभाका संयोजक प्रा.केशव सुवेदी र लक्ष्मीप्रसाद देवकोटा प्रतिष्ठानका संयोजक प्रा.डा.महादेव अवस्थीले श्री रामबाबु सुवेदी, प्रा.डा.सावित्री कक्षपति र प्रा.डा.बेञ्जु शर्मालाई पुरस्कार प्रदान गरे ।
६ दशकदेखि नेपाली भाषासाहित्यको श्रीवृद्धिका लागि समर्पित रही शास्त्रीय छन्दकविताको सिर्जना एवं छन्दकाव्यको प्रचार प्रसार अभियानमा समेत संलग्न भई विशिष्ट योगदान दिने श्री रामबाबु सुवेदीलाई ‘लेखनाथ काव्य पुरस्कार’, नाट्यसम्राट् बालकृष्ण समको व्यक्तित्व र कृतित्वमाथि महत्त्वपूर्ण दस्तावेज प्रस्तुत गर्नुका साथै नेपाली रङ्गकर्मको संवर्धनमा समेत समाहित हुँदै नेपाली भाषासाहित्यको सेवामा मन, वचन र कर्मले समर्पित प्रा.डा.सावित्री कक्षपतिलाई ‘बालकृष्ण सम पुरस्कार’ र विगत ६ दशकदेखि काव्यसाधनामा निरन्तर समर्पित रहँदै नेपाली कविताको संवर्धनमा विशिष्ट योगदानका निम्ति प्रा.डा.बेञ्जु शर्मालाई ‘देवकोटा काव्य पुरस्कार’ प्रदान गरियो । तीनै पुरस्कारको राशि जनही एक/एक लाख रूपैयाँ रहेको छ ।










