कवि भूपिनका कविताहरुमा जीवन्तता पाइन्छ । उनका उपन्यासमा सामाजिक मान्यता र परम्परा पूरै झल्किन्छ । सरल तर मन छोइ हाल्ने शब्दमा खेल्न निपुण भूपिनका क्षतिग्रस्त पृथ्वी र मूल सडक कवितासंग्रह, शब्दको नेपथ्यमा संयुक्त कवितासंग्रह, हजार वर्षको निन्द्रा कवितासंग्रह, चौबिस रिल निबन्धसंग्रह, सुप्लाको हवाइजहाज कवितासंग्रह तथा मैदारो उपन्यास प्रकाशित भइसकेका छन् । कैयौं फुटकर कविता र निबन्ध लेखेका भुपिनले पछिल्लो समय उपन्यास विधामा कलम चलाएका हुन् । पुस्तक पढ्न सारै रुचाउने भूपिनसँग जनमतको लागि पुस्तकको सेरोफेरोमा रहेर गरेको कुराकानी :
यतिखेर कुन पुस्तक पढ्दै हुनुहुन्छ ?
राहुल साङकृत्यायनको भोल्गादेखि गङ्गासम्म । हेमराज अधिकारीले नेपालीमा अनुवाद गर्नुभएको किताब ।
नेपाली, अंग्रेजी र हिन्दी भाषाका मनपर्ने एक एक वटा पुस्तकको नाम लिनुपर्दा ?
कुनै एक पुस्तकको नाम लिन निकै गाह्रो छ । वास्तवमा कुनै एउटा विधाको कुनै एउटा पुस्तकको नाम भन्न पनि साह्रै कठिन लाग्छ मलाई ।
तपाईंको लागि लेखपढको उपयुक्त समय कुन हो ?
जुनसुकै फुर्सदको समय । मेरो अनुभव भन्छ, प्राय: रातमा म अलि बढी सक्रिय हुन्छु ।
साहित्यका विविध विधामध्ये अलि शक्तिशाली विधा तपाईंलाई के लाग्छ ?
धेरै कारण कविता नै मलाई सबैभन्दा शक्तिशाली लाग्छ । तर मैले साहित्यका हर विधालाई प्रेम गर्छु । हरेक विधाका आ–आफ्नै सामथ्र्य हुन्छन् ।
सानोमा कस्ता पुस्तकहरु पढ्न पाउनु भयो ?
सानोमा त पाठ्यपुस्तक पनि राम्रोसँग पढ्न पाइएन । धेरै दाइदिदीहरुले पढेका धेरै पेज च्यातिएका थोत्रा किताबहरु पढेर बित्यो बाल्यकाल । लाहुरे परिवारमा पुस्तकको बास हुने सम्भावना निकै न्युन थियो । किशोरकालमा युधीर थापासँग भेट भयो । दमित यौन भड्काउने युधीर थापा र त्यही मार्काका उपन्यास पढ्दापढ्दै म विद्यार्थी राजनीतितिर आकर्षित भएँ । परिणामस्वरुप सिधै रुसी र चिनिया साहित्यमा हामफाल्ने अवसर मिल्यो मलाई । रादुगा र प्रगति प्रकाशनबाट अनुवाद भै आउने सस्ता र आकर्षक किताबहरु संगठनका साथीहरुले पढ्न दिन्थे, प्रेरित गर्थे । तर समस्या थियो, ती किताब पनि लुकिलुकि नै पढ्नु पथ्र्यो । लुकिलुकी युधीर थापाको लुकेको समाज, सुवासको नीलो चोली पढ्दा पढ्दै मैले लुकिलुकि गोर्की, चेखब, तोल्सतोय, तुर्कनेभ पढ्न पाएँ । अहिले लु शुन र याङ मो पनि पढेँ । अहिले सोचिल्याउँदा यो समय मेरो महत्वपूर्ण डिपार्चर थियो ।
कस्ता पुस्तकहरु पढ्न बढी मनपथ्र्यो ?
प्राप्त हरेक पुस्तक पढ्थेँ । कथा र उपन्यास बढी पढ्थेँ किनकि ती बढी उपलब्ध थिए । कविताप्रति रुचि बढाउने काम रेडियो नेपालको बाल कार्यक्रम, महेन्द्र मालाका कविता र भूपी शेरचनको घुम्ने मेचमाथि अन्धो मान्छेले गरिदियो । मैले त्यो समयदेखि कविता लेख्न पनि सुरु गरेँ ।
तपाईं कुन उमेर समूहमा बढी पढ्नु भयो ?
स्नातकदेखि स्नातकोत्तर पढ्ने बेलासम्म बढी किताब पढेँ । क्याम्पसमा प्राध्यापन गर्न थालेपछिका एक दशकसम्म पनि राम्रै पढेँ जस्तो लाग्छ ।
धेरै पटक दोहोर्याएर पढेका पुस्तकहरु कुन कुन हुन् ?
दोहोर्याएर पढ्न मन लागेका पुस्तकहरु त धेरै छन् । पढेर दोहोर्याएका कृतिहरुमध्ये अरुको तुलनामा कविताकृति धेरै छन् । कतिपय कृतिहरु आफूले लेख्ने वा लेखिरहेको कृतिका लागि दोहोराउँछु । कवितामा घुम्ने मेचमाथि अन्धो मान्छे,आमाको सपना, ट्वान्टी लव सङ्स एन्ड सङ्स अफ डिस्पेयर, सर्वेश्वर दयाल सक्सेनाका प्रतिनिधि कविताहरु आदि । उपन्यासमा गोर्कीको आमा, बिपीको मोदिआइन, पारिजातको शिरीषको फूल, हेमिङ्वेको ओल्ड मेन एण्ड द सी, पर्ल एस बकको द गुड अर्थ, हर्मन हेस्सेको सिद्धार्थ आदि । निबन्धमा एब्सट्राक्ट चिन्तन प्याज, रोशन शेरचनको धोबिघाट एक्सप्रेस, नारायण ढकालको शोकमग्न यात्री, जनकलाल शर्माको कौतुकमय डोल्पो आदि । नाट्यकृतिहरु भने दोहोराएर पढेको याद छैन ।
दोहोर्याएर पढ्नुका कारण खासमा के थियो ?
प्राथमिक कुरा त प्रेम र आनन्द नै हो । ती कृतिसँग गहिरो प्रेम बसेको हुन्छ र पठनको प्रभाव गाढा बसेको हुन्छ मनमा । कतिपय कृति उमेर अनुसारको प्रभाव परीक्षण गर्न पनि दोहोर्याउन मन लाग्छ । केही कृति हुन्छन्, जुन आफ्नो लेखन प्रोजेक्टलाई सहयोगी भएकाले दोहोर्याउँछु । कतिपय कृति प्रेरणाका लागि । उदास भएको बेला ती कृतिहरुले मलाई जीवनप्रति आशावादी हुन सघाउँछन् ।
ती पुस्तकहरुमा असाध्यै मन परेको पक्ष के हुन् ?
समय र समाजको सुन्दर चित्रण । जीवनप्रतिको आशावादीता । दार्शनिक गहिराई । कलाको उच्चता ।
पुस्तक पढिरहँदा त्यसका पात्र, लेखक र परिवेशले कतिको पछ्याँउछ ?
गम्भीर कृतिका चरित्रहरुले लामो समय प्रभावित गर्छन् । कतिपय पात्रहरुसँग प्रेम बस्छ । याङ मोको उपन्यास युवाहरुको गीतकी नायिका ताओ चिङसँग मेरो किशोरकालमा प्रेम बसेको थियो । समुद्र किनारमा बसेर माउथ हार्मोनियन बजाउने उनलाई मैले कालीगण्डकी वा खोला किनारहरुतिर खोजिरहन्थेँ । सिद्धार्थको नायक सिद्धार्थ ज्ञानको अतृप्त खोजीमा भौँतारिइरहेको आफूजस्तै लाग्छ अझै । म्यान क्यान बि डिस्ट्रोयड बट नट डिफिटेड भन्ने स्यानटियागोले सामुद्रिक एकान्तमा छाल र सार्कसँग गरेको संघर्ष पढ्दा आफूभित्र त्यो बुढो माझी आरोपित भएको महसुस गरेको थिएँ । यस्ता धेरै घटनाहरु छन् ।
तपाईंको विचार पढ्नु केका लागि हो ?
ज्ञान र कलाको असीम आनन्दले हृदय भर्नका लागि । मेरा लागि ज्ञान र कलाबिनाको जीवन कल्पना बाहिर छ । सायद सबैका लागि यही सत्य हो । किताबले मलाई म कहिल्यै हिँडेर पुग्न नसक्ने ठाउँ, भेट्न नसक्ने पात्र, बोध गर्न नसक्ने घटना र सोच्न नसक्ने कल्पनाको दुनियाँमा पुर्याउँछ । कला शील्पको सौन्दर्यले लपेट्छ ।
कस्ता पुस्तकले जीवनमा बढी सघाए ?
जीवनका मूल प्रवृत्तिलाई बलियो बनाउन आशाको घाम पोतिएका किताबहरुले नै मानिसलाई बाँच्न सघाउँछ । बशुधैव कुटुम्बकम र बाँच र बचाऊ भन्ने शन्देश दिने किताबहरुले नै हो मानिसलाई मानवीय बनाउने । हर विभेदहरुबाट मुक्त सामाजिक न्यायपूर्ण समाजको कल्पना गर्ने किताबहरुले नै हो मानिसलाई मानिस बनाउने । मलाई यस्तै किताबहरुले धेरै सघाएका छन् ।
पाठकलाई १० वटा पुस्तक पढ्नको लागि सिफारिस गर्नुपर्दा ?
पाठकहरुको रुचिको विधा के हो ? सिफारिस गर्ने कुरा यसमा भरपर्छ । मैले र्याण्डम्ली छान्दा– महाभारत, दश स्पोक जराथ्रुस्ट, सिद्धार्थ, द गुड अर्थ, ओल्ड म्यान एण्ड द सी, हाम्रो समाज, आमा, घुम्ने मेचमाथि अन्धो मान्छे, ट्वान्टी लव सङ्स, वेस्ट ल्याण्ड, ह्याम्लेट आदि ।
तपाईंसँग कति जति पुस्तकहरुको कलेक्सन होला ?
डेराबासी मानिसका लागि पुस्तकालयको सौख निकै महंगो हुने रहेछ । डेरा सर्ने बेला सबैभन्दा बढी समस्या किताब सार्दा हुन्छ । त्यसैले मैले किताबहरु पुस्तकालय वा स्कुललाई दिन्छु र आफूसँग ठिक्कको पुस्तकालय राख्छु । हाल मसँग त्यस्तै हजार जति पुस्तकहरु होलान् कि ?
पढ्न चाहेर पनि पढ्न नपाएका कुनै पुस्तक ?
अचेल कतिपय पुस्तक अनलाइनमा भेटिन्छन् । पुस्तककै रुपमा नभेटिएका पुस्तक अनलाइन डाउनलोड गरेर पढ्छु । बरु समस्या के छ भने पढ्ने रुचिलाई स्क्रिन टाइमले खाइरहेछ । पढाइ कम हेराई ज्यादा भएको छ ।
मनपरेका ५ जना स्वदेशी र विदेशी लेखकहरुको नाम लिनुपर्दा ?
स्वदेशी : पारिजात, भूपी शेरचन, शंकर लामिछाने, सरुभक्त, नयनराज पाण्डे । विदेशी : शेक्सपियर, तोल्तोय, गोर्की, पाव्लो नेरुदा, राहुल सांकृत्यायन ।
अध्ययन र लेखाई बाहेकका रुचिहरु के छन् ?
यात्रा, फोटोग्राफी, कला र फिल्म पनि मेरो रुचिका विषय हुन् । प्रकृति मेरा लागि डाक्टर हो । दु:ख पीडाबाट मुक्त हुन म डाक्टर भेट्न निस्कन्छु, हिलिङका लागि म अचेल पुस्तकभन्दा पनि बढी प्रकृतिको भर पर्छु । पछिल्लो समय मैले गर्ने बुशक्राफ्ट प्रकृतिसँग अझ निकट हुने मेरो प्रयत्न हो । अचेल मलाई ’न्यु नोम्याड जीवन’ले जबरजस्त आकर्षित गर्न थालेको छ । कुनै दिन मैले यस्तो जीवन अपनाएँ भने पनि आश्चर्य नमाने हुन्छ ।
नयाँ पुस्तालाई नपढी नहुने पुस्तकको रुपमा कुन–कुन पुस्तकहरु सिफारिश गर्नुहुन्छ ?
मैले सिफारिस गर्न सक्ने मलाई प्रिय लागेका पुस्तकहरु नै हुन् । जसको बारेमा माथि चर्चा गरिसकेको छु ।
तपाईंको पछिल्लो साहित्यिक योजनाहरु के–के छन् ?
केही रुचिका योजनाहरु छन् । तर काम गर्न सकिरहेको छैन । कोभिड समयका ब्यक्त अव्यक्त गहिरा पीडाबाट मुक्त नहुँदै आमा ओछ्यान पर्नुभयो । आमा बिरामी भएपछि संसार बिरामी छ । मन बिरामी छ । योजनाहरुमा काम गर्ने कुनै रुची र जाँगर बढाउन सकेको छैन । यस्तो मनोदशा कहिलेसम्म रहन्छ ? थाहा छैन ।
श्रष्टा र सिर्जनाको सम्बन्धलाई तपाईं कसरी हेर्नुहुन्छ ?
हरेक श्रष्टाका लागि सिर्जना नै प्रेम हो, धर्म हो । सिर्जना धर्मलाई प्रेम गर्नुले नै सर्जकको समाज र समयसँगको सम्बन्ध बलियो र गहिरो बन्छ ।
तपाईंको जीवनमा सानैदेखि कोही रोल मोडेल छ, जसले जीवन यात्रामा निरन्तर सकारात्मक प्रेरणा दिएको होस् ?
कहिलेकाहीँ सोच्छु, मेरा रोल मोडेलहरु धेरै छन् । कहिलेकाहीँ लाग्छ, मेरा रोल मोडेलहरु वास्तवमा कोही पनि छैनन् । ’मेरा रोल मोडेलहरु कोही पनि छैनन्’ भनेर विसंगतिपूर्वक सोचिरहेको बेला पनि मेरो मनमा एउटा नाम गुन्जिन्छ, बुद्ध । महत्वकांक्षी सुनिएला, पाखण्डपन पनि लाग्ला, तर मलाई सबैभन्दा प्रिय लाग्ने नाम बुद्धकै हो । अलिकति पनि गुण नमिल्नु बेग्लै अध्ययनको विषय । हाहाहा ।