शहीद शुक्रराज शास्त्रीद्वारा लिखित ग्रन्थ हो – स्वर्गको दरबार (२०६६) । यसको पहिलो संस्करण शुक्रराज शास्त्री बाटै वि.सं. १९८७ मा छापिएको थियो । दोस्रो र तेस्रो संस्करण ‘जनमत वाङ्मय प्रतिष्ठान’द्वारा छापिएको छ । यो पठनीय एवम् सङग्रहणीय सन्देश मूलक ग्रन्थका रूपमा देखापर्छ । यसमा शास्त्रीले गृहस्थी जीवनलाई नै स्वर्ग मानेका छन् । पुराणादिको प्रभावले हाम्रो मानसमा ‘स्वर्ग’ भनेर इन्द्रको राज्य, जहाँ अप्सराहरू नृत्य गरिरहेका हुन्छन्, जहाँ सुगन्धमय बगैँचा एवम् मन मोहित पार्ने हराभरामय रोमाञ्चक वातावरण हुन्छ । मत्र्यलोकमा प्रशस्त पुण्य आर्जन गरेका जन मात्र मृत्यु पछि स्वर्गको द्वारमा प्रवेश गर्न पाउँछन् र पुण्य खाता बमोजिम सुख–सुविधा वा ऐश्वर्य उपयोग गर्न पाउँछन् तर यहाँ लेखकले यसै लोकमा स्वर्गको दरबार हुने देखाएका छन् ।
स्वर्गको स्वरूप कस्तो हुन्छ । त्यसका बाधक तत्त्वहरू के के हुन् । तिनको के ले निवारण हुन्छ जस्ता कुरालाई शास्त्रीय प्रमाणहरू प्रस्तुत गर्दै लेखकले सटीक ढङ्गले व्याख्या–विश्लेषण गरेका छन् । सुख–सुविधा, यश–आराम हर कसैको चाहनाको विषय हो । सकेसम्म दुःख, कष्ट बेहोर्न नपरोस्, आनन्द र यश–आराममै रम्न पाइयोस् भन्ने इच्छा हर कसैमा रहन्छ । यसैका निम्ति हर कोही लागि परेका हुन्छन् । स्वर्गीय सुख–सुविधा र आनन्द कसरी प्राप्त हुन्छ भन्ने कुरा लेखकले यस ग्रन्थमा त्यसैको सुन्दर विवेचना गरेका छन् । त्यो पारलौकिक रूपमा रहेको स्वर्ग कल्पना मात्र हो । यथार्थमा इह लौकिक स्वर्ग व्यवहार बाटै अनुभव गर्न सकिन्छ । पारलौकिक स्वर्ग पुण्यको फल मानिन्छ भने इह लौकिक स्वर्ग बुद्धि, विवेक र कर्मशील गुण–स्वभावबाट प्राप्त हुन्छ । शास्त्रीका अनुसार गृहस्थ श्रम नै सुन्दर स्वर्ग हो । गृहिणी भएको गृहलाई नै गृह भनिन्छ । गृहिणी शून्य गृहलाई गृह मानिँदैन । गृहस्थ जीवनमा प्रवेश गर्न गृहिणी अर्थात् पत्नी हुन पुर्यो । यसका निम्ति विवाहित दम्पती हुनुपर्यो । असल र कर्मशील दम्पतीमा सुख भोगका सबै श्री सम्पत्ति हुन्छन् । पत्नी परिवार सहित सुखभोग गरिएको अवस्था नै स्वर्गीय अनुभवको अवस्था हो ।
गृहस्थी भनेको विवाहित अवस्था हो । विवाह भनेको भार वहन गर्न सक्ने विशिष्ट प्रक्रिया हो । जिम्मेवारी लिन सक्ने अवस्थामा मात्र व्यक्ति विवाहको योग्य हुन्छ । विवाह पछि नै स्वर्गको द्वार खुल्ने हुँदा व्यक्तिले विवाहमा नै बुद्धि–विवेक पुर्याउनु पर्छ । विवाह जीवन यात्राको यस्तो मोड हो जसबाट स्वर्गीय आनन्दको यात्रा आरम्भ हुन्छ । त्यसैले शास्त्रीका अनुसार “उच्च, आदर्श, श्रेष्ठ विचार, परिपक्व बुद्धि तथा आत्मिक, मानसिक, शारीरिक उन्नति हुने अवस्थामा विवाह गर्नु जाति हुन्छ ।” कति वर्ष पुगे पछि विवाहको योग्य भइन्छ । कारण–प्रमाण सहित ती सबैको सम्यक् ज्ञान शास्त्रीको यस ग्रन्थबाट पाउन सकिन्छ । यस सन्दर्भमा बाल विवाह र अनमेल विवाहबाट समाजमा दुराचार बढ्ने र सनातन धर्मको समेत हानि हुने उनको निष्कर्ष छ । लेखकले विधवा प्रति विशेष सहानुभूति राख्दै तत्कालीन समाजमा विधवाले भोग्नु परेको मानसिक र शारीरिक यातनाको पनि चर्चा गरेका छन् । नारी आफ्नो वैध व्यधर्म मै रहन्छु, ब्रह्मचर्य नियमको पालना गर्छु भन्नेले विवाहन गर्नु उत्तम कुरा हो तर कामाग्निमा जलिरहनु भन्दा विवाह गर्नु नै श्रेयस्कर हुन्छ भनी विधवाले पनि विवाह गर्न पाउने हकलाई उनले न्यायोचित मानेका छन् । परिपक्व अवस्थामा भएको विवाहले धर्मको पनि रक्षा हुन्छ । बालविवाह र अनमेल विवाहले सनातन धर्ममा पनि आघात पर्न सक्ने तथ्यको सुन्दर ढङ्गले विश्लेषण गरेका छन् ।
“बर बधू शिक्षित र परिपक्व भएपछि नै गरिएको विवाह सुन्दर हुन्छ” भन्दै शिक्षाको महत्त्व पनि दर्साएका छन् । शिक्षाले आत्माको संस्कार गर्छ, समाजको सुधार गर्छ, त्यति मात्र होइन शिक्षाले ज्ञान–विज्ञानको द्वार खोल्छ । आत्मोन्नतिका निम्ति पनि शिक्षाको अनिवार्यता छ । धना गम, आरोग्य, प्रियवादिनी पत्नी, आज्ञाकारी पुत्र, विद्या लाभ, असल मित्र यिनै छ तत्त्व स्वर्ग स्वरूप हुन् भन्ने लेखकको निष्कर्ष छ । उनले अनेक ग्रन्थ, विद्वान् र मनीषीका सूक्तिमय दृष्टान्तहरू प्रस्तुत गरेर कथ्यको पुष्टि गर्दै ग्रन्थलाई गुरुत्वमय तुल्याएका छन् । पति–पत्नी परस्पर सन्तुष्ट छन्, परस्पर हित र सहयोगको भावना राख्दछन् भने त्यसैमा आनन्द र समृद्धिको स्रोत निहित छ । प्रेममा शङ्का वा सन्देह रहनु हुन्न भन्ने पनि उनको कथन छ ।
ग्रन्थ भित्र तीन अध्याय छन् । प्रथम अध्यायमा स्वर्गको निरूपण छ, त्यस्तै द्वितीयमा स्वर्ग द्वारका बाधक तत्त्व एवम् तृतीयमा स्वर्ग रूपको वर्णन छ । तीनै अध्यायमा शास्त्रीय प्रमाणहरू प्रस्तुत गरेर लेखकले विषयको सुन्दर प्रतिपादन गरेका छन् । पति पत्नी बिचका पारस्परिक प्रेम र वैवाहिक सम्बन्धका विषयमा वैदिक मन्त्र र उपदेशहरूको पनि उल्लेख गर्दै पति पत्नीका धर्म, कर्तव्यको पनि विशेष प्रमाण प्रस्तुत गरेका छन् । ग्रन्थ रचनामा लेखकले आर्य समाज र सत्यार्थ प्रकाशबाट विशेष प्रभाव र प्रेरणा प्राप्त गरेको मानिन्छ ।
गृहस्थी जीवन नै स्वर्गीय आधार हो । स्वर्ग यसै लोकमा छ । स्वर्गका बाधक तत्त्वको निराकरण शिक्षा र चेतना बाटै सम्भव छ । प्रेममय व्यवहारबाटै स्वर्गीय अनुभूति प्राप्त हुन्छ भन्ने ग्रन्थको सार सन्देश बुझिन्छ । ग्रन्थकारले ग्रन्थलाई रुचिकर तुल्याउन निकै मिहिनेत गरेको पाइन्छ ।
गृहस्थता श्रमका विषयमा कुनै कविको रचना यहाँ उद्धृत गर्नु मनासिब हुन आउँछ, जस्तै :
सानन्द सदनं सुताश्च सुधिव:कान्ता न दुर्भाषिणी
सन्मित्रं सुधनं स्वयोषिति रतिश्चाज्ञापरा: सेवका: ।
आतिथ्यं शिवपूजनं प्रतिदिनं मिष्ठान्नपानं गृहे
साधो सङ्गमुपासते हि सततं धन्यो गृहस्थाश्रम: ।।