तत्कालिन नेपाल कम्युनिष्ट पार्टी रुपन्देही जिल्ला कमिटीको पहलमा तिनाउ खोलाले छोडेको पर्ति जग्गामा (भाँठामा) भूमिहिन किसानलाई २०२८ सालतिर सितापुरमा २८/२९ सुकुम्बासीलाई बसोबास गराइएको थियो । उनीहरु टाटीलेबारेका भित्ता र थाकलका पातले छाएका झोपडीहरु बनाएर बसोबास गरेका थिए । सुकुम्बासी बस्ती भए पनि अत्यन्त मिलाएर बनाएको र व्यवस्थित बस्ती थियो । म पनि २०३२ सालतिर तत्कालिन नेपाल कम्युनिष्ट पार्टीको कार्यकर्ताका रुपमा रुपन्देही जिल्लामा गएकी थिएँ । तर मलाई सितापुर गाउँमा लगिएको थिएन ।
मलाई पुराना बस्तीहरु जस्तै सौरैया, पोखरापारी, दुबौलिया, बेताही, बेताहानियाँ लगायतका गाउँहरुको जिम्मा दिइएको थियो । अहिले स्मरण गर्दा सायद त्यो समय मेरा लागि परीक्षणकाल रहेछ भन्ने लाग्छ । त्यसैले मलाई सितापुर गाउँमा लगिएको थिएन । हुन त दुई वर्षको परीक्षणकाल बिताएपछि बल्ल मैले २०३४ सालमा पार्टीको सङ्गठित सदस्यता पाएकी थिएँ । जबकि मैले महिला, किसान, विद्यार्थी, सुकुम्बासी, बुद्धिजीवी, शिक्षक, कर्मचारी, युवाहरु बीचमा गई कैयौं सङ्गठनहरु निर्माण गरिसकेपछि बल्ल मैले पार्टीको विश्वास जित्न सफल भएकी थिएँ । दुई बर्षसम्म “वनम्यान” कण्टेक्टमा रहेर काम गरेकी थिएँ । मैले राजद्रोहीको रुपमा वारेण्टमा छँदा पहाडिया मूलकी मैले तराई मूलका मानिसहरुसँग उनीहरुका बीचमा भूमिगत रहेर काम गर्नुपथ्र्यो त्यसताका । उज्यालामा बाहिर निस्कन पाइँदैन थियो र अँध्यारैमा आफ्ना सम्पूर्ण गतिविधिहरु सञ्चालन गरी उज्यालो हुँदा भूमिगत भइसक्नुपर्ने बाध्यताहरु थिए । अलि परिपक्व भइनसकेका कार्यकर्तालाई सीतापुर भाँठामा लैजाने चलन थिएन र मलाई पनि लगेनन् । पार्र्टीले स्थापना गरेको बस्ती भएकोले अन्य क्षेत्रहरुमाभन्दा सुरक्षित क्षेत्रका रुपमा लिइन्थ्यो र त्यहाँ बसोबास गर्ने मानिसहरु अत्यन्त अनुशासित र निष्ठावान् पनि थिए । के बृद्ध, के प्रौढ, के जवान, के किशोर सबै उमेर समूहका मानिसहरु स्तर अनुसारका सङ्गठनमा सङ्गठित भएका थिए । स्तरअनुसारको जिम्मेवारी पनि पाएका थिए र आ–आफ्नो जिम्मेवारीलाई हरेकले उत्तरदायीपूर्ण ढङ्गले पूरा गर्ने गर्थे । त्यसैले त्यो क्षेत्रमा पार्टीका सानादेखि ठूला ठूला कार्यक्रमहरु बाक्लै भइरहन्थे, कुनै न कुनै कार्यक्रम त्यहाँ टुट्दैन थिए । आफ्ना घरायसी कामहरु गर्दै पार्टीको सुरक्षाको कामसमेत महिलाहरुले गर्ने गर्थे । खेतमा काम गर्दै वा घाँसदाउरा गर्दा गर्दै पनि आफ्ना जिम्मेवारीका पार्टी कामहरुमा समेत उत्तिकै तल्लिन रहेर पूरा गरेका देखिन्थे ।
सुरक्षित दृष्टिले बरेड एरिया मानिएपनि भैतिक रुपमा भने अनेकौं समस्याहरु थिए र तिनलाई चिर्दै अनेकौं जात, जाति, भाषाभाषी क्षेत्र आदिका मानिसहरुलाई एउटै समूहमा ल्याई उनीहरुका मन जितेर उनीहरुका बीचमा रहेर राजनीति गर्न सजिलो थिएन । भौतिक समस्याहरु त थुप्रै थिए । खान, बस्ने, सुत्ने, बग्रेल्ती थिए र सबभन्दा ठूलो समस्या भनेको सुरक्षाको हुन्थ्यो ।
उक्त बस्ती पार्टीद्वारा बसाइएको बस्ती भएकोले त्यहाँ बसोबास गर्ने किसानहरु पार्टीप्रति इमान्दार र निष्ठावान व्यक्तिका परिवारहरु नै त्यो ठाउँमा बस्ने गर्दथे । त्यसकारण अन्यत्र भन्दा त्यहाँको बस्तीलाई पार्टीको सुरक्षित इलाकाका रुपमा लिइन्थ्यो र अलि परिपक्व नभइसकेका कार्यकर्तालाई समेत सितापुर गाउँलाई गोप्य रुपमा राखिन्थ्यो । त्यो क्षेत्रमा पार्टी विरोधी मानिसहरु कोही पनि पस्ने समेत आँट गर्दैनथे । अरु ठाउँभन्दा सुरक्षित मानिएको सितापुर भाँठामा पार्टीका केन्द्रदेखि स्थानीय स्तरसम्मका अनेकौं कार्यक्रमहरु बाक्लै हुने गर्थे । त्यहाँको कुरा बाहिर छिरिक्क पनि नजाओस् भन्नेमा त्यहाँ बस्ने घरपरिवारहरु सबै सचेत थिए । त्यसैले त्यो इलाकामा अलि परिपक्व भइनसकेका कार्यकर्ताले समेत जान पाउँदैन थिए र लगिदंैन थियो । अन्यत्र भन्दा बलियो इलाकाका रुपमा लिइन्थ्यो सीतापुर भाँठालाई । सुकुम्बासी बस्ती भए पनि त्यहाँका सबै उमेर समूहका मानिसहरु आ–आफ्नो उमेर र स्तरअनुसार विभिन्न कमिटीमा संगठित थिए । त्यहाँ सुकुम्बासी बस्ने झोपडीहरु देखिए पनि व्यवस्थित बसाई र सचेत परिवारहरु रहेका थिए । त्यहाँका किसानहरु पौरखी थिए र आफ्ना निजी झोपडी बनाएर बस्न पाएकोमा अत्यन्त खुसी पनि थिए ।
सुकुम्बासी बस्ती भए पनि ब्यवस्थित ढङ्गले लहरै र लाइनै गरी झोपडीहरु बनाइएका थिए । पार्टीका नेता वा कार्यकर्ताहरु आउन जान सजिलो होस् भन्ने हिसावले निर्माण गरिएको बस्तीमा पुग्दा जोकोहीलाई पनि मुक्तक्षेत्रमा पसे जस्तै ढुक्कको अनुभूति हुन्थ्यो । कमरेड प्रदिप नेपालको मुक्त आकाशको खोजी नामक पुस्तकको जन्म पनि त्यही क्षेत्रबाट भएको हो । हुन त सुकुम्बासीको बस्तीमा भौतिक आधारहरु निम्नस्तरमा थिए र अभावै अभावको सामना गर्नुपथ्र्यो । पहिलो समस्या त खान र बस्नकै समस्याहरु हुन्थे भने दोस्रो सुकुम्बासीका झोपडी साँघुरा थिए । उनीहरुको संसार त्यहीँ एउटा झोपडीभित्र अटाएको हुन्थ्यो, एउटा कुनामा बाख्राका पाठा, अर्काकुनामा कुखुराका चल्लाहरु एउटा डोकाले ढाकेर थुनेका हुन्थे र अर्का कुनामा खाना पकाउने चुलो हुन्थ्यो । त्यसैमा उनीहरु दम्पत्ती र दुई तीनवटा बच्चा बच्चीहरु सुत्ने ठाउँ पनि त्यहीं हुन्थ्यो । त्यसमाथि हामीहरु थपिन पुग्दा कसरी बसिएको होला ? यो मूल्यांकन पाठकको जिम्मामै छोडियो । सुरक्षित रुपले त्यहि बसेर लेखपढ समेत कसरी गरियो ? फर्किएर हेर्दा अहिले आफैलाई कहाली लागेर आउँछ । हरेक पाइला पाइलामा चुनौतीहरु प्रशस्तै थिए । तत्कालिन पञ्चायती ब्यवस्थाका निरङ्कुश रवैयाका कारण अधिकांश जनसमुदायहरु भित्रभित्रै भुसको आगो सल्केजस्तै आक्रान्त थिए । त्यसैलाई आधार बनाई हामीले आफ्ना गतिबिधिहरु सञ्चालन गर्ने गथ्र्यौ ।
भूमिगत राजनीति गर्ने भनेको सजिलो थिएन । फलामकै चिउरा चपाउनु जत्तिकै कठिन विषय हो । ती सबैका बाबजुद पनि ती सबैलाई सामना गर्दै अहोरात्र पार्टीकै काममा लाग्दा खाने बस्ने समस्या भए पनि जसोतसो गुजारा चलाउनै पथ्र्यो । त्यहाँका भूमिहीन किसानहरुले पालैपालो खाना खुवाउने नियम नै बनाएका थिए र आफ्नो घरमा जे जुर्छ आफूले जे खान्छन् त्यही हामीलाई पनि खान दिने गर्थे । पुग्दा दुई छाक र आफूले एक छाक खाँदा एकछाक खुवाउँथे । अलि हुँदाका दिनमा पेटभरी पनि खान पाइन्थ्यो सबैले नहुँदाका दिनमा सबैलाई बराबरी पाते बिला लगाएर पनि खानुपथ्र्यो र कहिले थोरै चावलमा धेरै पानी राखेर (गोलहथ) पकाएको पातलो त्यसैमा हल्का नूनसमेत राखेर पकाएको माड खाएर पनि छाक टार्नु पथ्र्यो । कहिले कुतलीकोसा उसिनेर र कहिले खोलाको जलुका खोजेर ल्याई त्यसैको लेदो नून राखेर बनाएको हुन्थ्यो त्यसैलाई दामासाही गरेर छाक टर्ने गथ्र्यो । कहिले खयरका बोक्राको “चिया” पकाएर साना साना भेलीका डल्ला हातमा लिएर त्यही टोक्दै त्यही खयरका बोक्राको पानी पकाएर चियाका रुपमा पिएर पनि छाक टार्न पथ्र्यो । हामीले गर्ने सम्पूर्ण कार्यक्रमहरु रातमै गरेर सिध्याउनु पथ्र्यो । जब गाउँबस्तीहरु सुतेर सुनसान हुन्थ्यो तब हाम्रा गतिविधिहरु सुरु हुने गर्थे । जब गाउँबस्तीका मानिसहरु ब्युँझिने समय हुन्थ्यो हामीहरु सुरक्षित रुपमा भित्र पसिसक्नुपथ्र्यो । कार्यक्रम नहुँदाका रातमा त हामीहरु सेल्टरमा आउँदा सेल्टरदाता कमरेडहरु उठेर आफ्ना काममा लागेपछि मात्र उहाँहरु सुतेका ठाउँहरु खाली भएपछि मात्र उहाँहरु सुतेका फाटेका टालेका जस्तासुकै भए पनि ओछ्यानहरु खाली हुन्थे र तिनैमा खुस्रुक्क पसिन्थ्यो । कार्यक्रम नहुँदाका रातमा भने अलि समस्या हुने गथ्र्यो । कौडामा आगो तापेर रात बिताउनु पथ्र्यो । सुकुम्बासी बस्तीको सानो आँगन त्यसैका एउटा छेउमा पहाडी भाषामा अगेनो र तराई भाषामा कौडा । जाडो समयमा बाहिरै कौडामा आगो बालेर ताप्ने चलन थियो । रात छिप्पिंदै गएपछि अरु बिस्तरा तताउन जान्थे र आगो ताप्ने कौडा पनि खाली हुन्थ्यो । बल्ल कौडाका छेंउमा बसी आगो बालेर ताप्न हामीलाई अनुकुल हुन्थ्यो । त्यही पनि आगो ताप्ने दाउरा कहाँ पाउनु र दिनमा साना साना नानीहरु गएर ठूलाबडाका गाईवस्तुहरु चराउने सार्वजनिक ठाउँहरुबाट सुकेका गोवरका गुइँठाहरु बटुलेर जम्मा पारेका हुन्थे । त्यसमा धान कुटेको मोटोभुस (डँडाल्नो) को समेत आगो बालेर आगो ताप्दा एउटा कोखो तातो हुँदासम्म अर्को कोखो चिसा भइसक्थ्यो । त्यही पनि कहिले यता फर्कियो कहिले उता फर्कियो । जब जब रात छिप्पिंदै छिप्पिदै जान्थ्यो चिसो पनि बढ्दै बढ्दै जान्थ्यो । जति रात छिप्पिंदै जान्थ्यो र चिसो ठण्डी पनि उत्ति नै झम्टिंदै आउँथ्यो । अझ बिहानीपख त आगो बाल्ने कुरा पनि सकिंदै जाँदा चिसाले हान्दै जान्थ्यो । बिहानीको मिठो सन्देश दिंदै कुखुराको भाले बास्दा अब त न्यानोमा बस्न पाइने भयो भनी कतिबेला टाटी खुल्छ भनी प्रतीक्षा तीव्र हुन्थ्यो । अब भने साथीहरु बिस्तारै उठेर आ–आफ्ना काममा लाग्नुहुन्थ्यो । उहाँहरु उठेर खाली भएका ताता बिस्तरामा पस्ने हाम्रो पालो आउँथ्यो । म भने कमरेड फगुनी लोधको घरमा बढी मात्रामा बस्ने गर्थे । उहाँले मलाई धेरै माया गर्नुहुन्थ्यो र कहिले कहिले त कामरेड “आओल्जा यहीं घञ्चमञ्च होकर सुतलजाई” भन्नुहुन्थ्यो । आफ्ना श्रीमान घरमा नहुँदा रातमा अघिपछि त्यो सम्भवना नै हुँदैन थियो । त्यसरी कौडामा आगो तापेरै धेरै रातहरु मैले बिताएकी छु ।
त्यसबेलामा तराईको चलन अनुसार जाडोका समयमा कतै पाहुनाका रुपमा जान पर्दा एउटा नयाँ दरी र एउटा सिरक आफैले बोकेर जाने चलन थियो । जसका घरमा जतिजना परिवार संख्या हुन्थ्यो त्यत्तिका लागि मात्र त्यहाँ बिस्तरा हुन्थ्यो । जगेडा बिस्तरा हुँदैन थियो । त्यसमा अझै भूमिहीन किसानको घरमा जगेडा बिस्तरा कहाँ हुनु ? गरिवीका कारण साँझबिहानको हातमुख जोड्न त मुस्किल हुन्थ्यो । तर मध्यम किसान र धनी किसानका घरमा समेत पाहुनाका लागि भनेर छुट्टै बिस्तरा हुँदैन थियो । त्यसैले उनीहरुका आफ्ना पाहुना आउँदा सिरक र एउटा नयाँ दरी बोकेर आउने गरेको आफैले देखियो । हामीहरु त आफ्नो भएको सबै छोडेर शरीरमा लगाएका एकजोर लुगामात्र लिएर हिँडेका मुश्किलले एउटा पछ्यौरासम्म भए हुन्थ्यो भनी सोच्थ्यौं । त्यसले गर्दा तराई मूलका बस्तीहरुमा काम गर्दा जाडोका समयमा निक्कै गाह्रो पथ्र्यो । प्रायश: कौडाको आगो तापेरै जाडोका रातहरु बिताएर निर्माण गरेको नेकपा (एमाले) नेपाल कम्युनिस्ट पार्टी (माक्र्सवादी लेनिनवादी) पार्टी हो । समय समयमा छिन्नभिन्न भएको देख्नुपर्दा आफ्नै मुटु छिन्नभिन्न भएको जस्तो लाग्छ । हरेक वर्षको जाडो यामले भूमिगतकालका समयको स्मरण दिलाउने गर्छ । गाउँबस्तीहरु मस्त निदाएपछि हाम्रा गतिविधिहरु हुने गर्थे भने उनीहरु न उठ्दै हामीहरु भूमिगत हुने गथ्र्यौ । जुन गाउँमा कार्यक्रम हुन्छ त्यस गाउँका आसपासका गाउँलेले चाल नपाउने गरी एक ठाउँबाट अर्का ठाउँमा जाँदा समेत अनावश्यक मानिसहरुले देख्लान भन्ने डर हुन्थ्यो । जुन गाउँमा कार्यक्रम हुन्छ त्यो गाउँमा बस्दा असुरक्षित हुने डरले जति टाढा जानु परे पनि अँधेरी रात होस् वा आँधीहुरी आओस् जेसुकै भए पनि छामछुम गर्दै छोढ्नै पथ्र्यो । अलि सुरक्षित मानिएको सेल्टरमा पुग्दा चिसा रातहरुमा बसेर कौडा बालेका ठाउँमा आगो रहेछ भने त्यही खोस्रेर अलिअलि हात सेकाएर हामी बस्थ्यौं । कैयौं रातहरु विवशतापूर्वक बिताइएका ती दिन रातहरुमा सुत्ने ठाउँ हुँदैन थियो र बिस्तरा पनि हुँदैन थियो । एउटा छेउमा बसेर कैयौं रातहरु बितेका ती क्षणहरु स्मरण गर्दा आफैलाई कहाली लागेर आउँछ । तर पनि कुनै दु:ख लाग्दैन थियो । त्यस समयमा कसैलाई लोभ लालचले गलाउन सकेको थिएन । त्यसबेला हामी सबै बराबरी छौं भन्ने गर्वको बोध मात्र हुन्थ्यो । जनताका हकहितका लागि काम गर्ने भएकाले त्यस्ता निजी समस्याहरुले मलाई कहिल्यै छोएन । त्यस्ता समस्याहरु त कुनै समस्या हुन् जस्तै लाग्दैन थिए । दिनभरी घरका मानिसहरु बाहिर बाहिरै खेतीपाती लगाउने तथा स्याहार्ने मौसम अनुसार कोही मजदुरी गर्न जाने, कोही घरकै काममा ब्यस्त हुन्थे । म भने घरभित्रै अँध्यारा कुनामा बसेर आफ्नो अफिसेली कामको लेखापढी गर्नका लागि राम्रोसँग उज्यालो पनि हुँदैन थियो । टाटीले बारेका भित्ताका चरबाट आउने मधुरो मधुरो उज्यालोले काम चलाउनुपथ्र्यो । त्यसरी गोप्य रुपले बस्दा समेत पनि कतिबेला कताबाट अप्रासङ्गिक ब्यक्ति वा कुनै सिआईडी वा प्रहरीका मानिसले थाहा पाउँछन् कि भन्ने हरपल हरक्षण त्राहित्राहि भइरहने भएकोले सतर्कतापूर्वक रहनुपथ्र्यो । दिउँसो सबै बाहिर बाहिरै आफ्ना आफ्ना काममा ब्यस्त रहे पनि हामीहरु राजनीतिक नेता कार्यकर्ता भने दिनभरी भित्रभित्रै बसेर आफ्नो अध्ययन लेखनका कामहरु गर्दा समय बितेको पत्तै पाइँदैन थियो । त्यसरी घरभित्र बस्दाको समयमा फुर्सद मिलाई मिलाई घरायसी कामहरुमा समेत सघाउने गर्थे । जस्तै साना साना नानीहरु हेरिदिने भित्र बसेर गर्न सकिने कामहरु गहुँका सुख्खारोटी बनाएर राखिदिने खेती लगाउने र स्याहार्ने बेलामा कामको भ्याई नभ्याई हुन्थ्यो । त्यस्ता समयमा सानोतिनो काममा भए पनि सघाइदिने र उनीहरुका भनाइहरुलाई धैर्यतापूर्वक सुनिदिने गर्दा उनीहरुले राहत मान्ने गर्थे भने आफूलाई त्यहाँको वस्तुस्थितिको ज्ञान हुन्थ्यो र वास्तविक वस्तुस्थितिको जानकारी भएपछि जनकार्यका लागि सहयोग हुन्थ्यो ।
तत्कालिन कोअर्डिनेशन केन्द्रका महासचिव कमरेड सिपी मैनाली र सबैजसो ठूला नेताहरु प्रदीप नेपाल, ईश्वर पोख्रल, विष्णु पौडेल आदि बस्ने गरेको सुकुम्बासी बस्ती हो सितापुर गाउँ । त्यहाँ पार्टीका साना सानादेखि केन्द्रिय कमिटीका बैठकहरुसमेत हुने गरेकाले अधिकांश पुराना एमालेका शीर्ष नेताहरु त्यो ठाउँमा जानुभएको छ र बस्नुभएको छ । खै अहिले त उहाँहरुलाई सम्झना छ कि छैन ?