हाल तपाईँ के लेख्दै हुनुहुन्छ ?
गजल लेखिँदै छ, फाट्टफुट्ट ।
प्रत्येक स्रष्टाका साहित्यलाई हेर्ने र परिभाषित गर्ने आ–आÇनै किसिमको दृष्टिकोण हुन्छ । तपाईँको दृष्टिकोण के हो ?
साहित्य चिन्नेका निम्ति चन्दन हो भने नचिन्नेका लागि कुकाठ । मलाई यस्तो भन्न मन लागेको हो । त्यस्तो मन लाग्दालाग्दै पनि केही कुरा थप कुरा राख्न चाहेँ । त्यो के भने नचिन्नेले कुकाठ ठान्ने गरे पनि त्यो कुकाठको आगो तापेर पुस–माघको जाडो र सिरेटोबाट सुरक्षित भएको अनुभव गर्ने गर्छन् र आनन्दित हुन्छन् । यसको ठिक विपरीत साहित्यसँग साख्यै नाता जोर्नेहरूबाट साहित्य बदनाम हुने गर्छ । यस्ता धूर्तहरूले पाठकलाई बाटो छोडेर कुबाटोतिर लाग्न प्रेरित गर्छन् । उनीहरूका निम्ति अश्लील, उच्छृङ्खल भावहरू अभिव्यक्ति स्वतन्त्रताको परिभाषाभित्र पर्छन् । उनीहरू यो सबै जानी–जानी गर्ने गर्छन् ।
तपाईँ कस्तो लेखनलाई उत्कृष्ट ठान्नुहुन्छ ?
मान्छे आकृतिले मात्र मान्छे भएर हुँदैन । मान्छे आचरणबाट पनि मान्छे प्रमाणित हुनुपर्छ । त्यसैले जुन लेखनले मान्छेलाई साँच्चैको मान्छे बनाउन सघाउँछ म त्यस्तो लेखनलाई उत्कृष्ट लेखन ठान्छु ।
साहित्यकारहरूको दायित्व कस्तो हुनुपर्छ ? तपाईँको विचार प्रस्ट पारिदिनुहोस् ।
मेरो विचारमा अघिल्लो उत्तरलाई व्यवहारमा उतार्दा साहित्यकारहरूको समाजप्रतिको दायित्व पूरा हुन जान्छ ।
हालसालको साहित्यलाई तपाईँले कसरी हेरिरहनुभएको छ ?
कहिले कुन कहिले कुन प्रतिकूल परिस्थितिका कारणले कुँजिएर वेग हान्न नसकी विश्व प्रतिस्पर्धामा पछाडि पर्नुपरेको अवस्थाबाट सजग भई कुँजिएका पखेटामा अभूतपूर्व ऊर्जा भर्दै निकै जोडदार रूपमा वेग हान्ने तयारीमा जुटेको देख्छु म हालसालको साहित्यलाई ।
तपाईँ आफू कुन–कुन साहित्यकार, चिन्तकहरूबाट प्रभावित हुनुहुन्छ ?
जनताप्रति चासो राखी जनहितलाई सर्वोपरि ठानी लेख्ने सबै साहित्यकारहरू मेरा प्रिय छन् । चिन्तकहरूमा एउटै नाम मार्क्सको लिए पुग्छ होला ।
तपाईँको लेखकीय जीवनको सुरुवात कसरी भयो ? र तपाईँको साहित्यिक यात्रा कुन विधाबाट सुरु भयो ? कृपया सबभन्दा पहिले प्रकाशित कुनै पनि विधाको लेख, रचना उल्लेख गर्नुहोस् ।
असलमा भन्दा मेरो लेखकीय जीवनको शुभारम्भ खेल्दाखेल्दै भएको हो । बाल्यावस्थामा कुनै कारणले मन फुरुङ्ग हुँदा बुर्कुसी मार्दै मैले गाउने गरेको मेरो गायत्री मलाई अहिले पनि कण्ठ छ – सर्के मुनि दर्के पर्यो, यामुना कि क्यामुना । २०२५ साल भदौमा तत्कालीन साप्ताहिक पत्रिका लुम्बिनी सन्देश जो बुटवलबाट प्रकाशित हुने गर्थ्यो, त्यसमा छापिएको स्वर्ग नै सरेछ भूमा शीर्षक कविता नै मेरो प्रथम प्रकाशित रचना हो । कविता विधाबाट साहित्यिक यात्राको थालनी भएको हो ।
तपाईँलाई कसरी साहित्य–सिर्जनामा लाग्ने प्रेरणा प्राप्त भयो ? बताइदिनुहुन्छ कि ?
सर्वप्रथम प्रथम घर । घरमा पिता । दोस्रोमा छरछिमेक, वरिपरिको परिस्थिति, परिवेश जसमा पाठ्यसामग्री, सँगी साथी, गुरु वर्गबाट मलाई प्रेरणा प्राप्त भएको हो ।
साहित्यकारको रूपमा तपाईँको सही मूल्याङ्कन भएको छ कि छैन ?
जे, जति, जस्तो मूल्याङ्कन भएको छ ठिकै भएको छ जस्तो अनुभव गरेको छु ।
साहित्य र राजनीतिमा तपाईँ कस्तो समानता वा असमानताको अनुभव गर्नुहुन्छ ?
समुन्नत समाजमा उपयोगिताको हिसाबले राजनीति र साहित्य दुवै समान हुन्छन् । तर जहाँ राजनीतिको एकतर्फी लिँड्को लगाइने अवस्था हुन्छ, त्यहाँ साहित्यको भूमिका विपक्षीको हुन जान्छ ।
तपाईँ कुनै राजनीतिक वादबाट प्रभावित हुनुभएको छ कि छैन ? के साहित्यमा राजनीति प्रभावित हु“दैन र ?
विचारअनुसारको व्यवहारवादबाट प्रभावित हुनुपर्दछ भन्ने मान्यता राख्छु । साहित्यको प्रभाव राजनीतिमा र राजनीतिको प्रभाव साहित्यमा पर्ने गर्छ । यसमा पहिलोको प्रभाव अलि बिस्तारै परोक्ष रूपमा पर्छ भने दोस्रोको झट्ट र प्रत्यक्ष रूपमा पर्छ । यस सन्दर्भमा साहित्यकारहरू सलमान रुस्दी र तसलीमा नसरिन माथिको ‘फत्वा’लाई साहित्यमा राजनीतिको ठाडो हस्तक्षेपको ज्वलन्त उदाहरण मान्न सकिन्छ ।
तपाईँजस्तो एक जना सफल लेखक हुन के–के गुणहरू आवश्यक हुन्छ ?
निष्ठा, लगन, परिश्रम, इमानदारीलाई आवश्यक गुणका रूपमा लिन सकिन्छ ।
जीवनमा कहिल्यै कठिनाइ अनुभव गरी लेखकीय जीवनबाट निराश त हुनुभएको छैन ?
कठिनाइले निराश होइन झन् क्रियाशील हुन उत्प्रेरित गर्ने गरेको छ । बरु सजिलो अवस्थामा तुलनात्मक रूपमा निष्क्रिय भइयो होला ।
दिनचर्या कस्तो छ ? जीवनका समकालीन क्षणहरूबारे जानकारी दिनुहुन्छ कि ?
के दिन के रात एउटै भा’छ । चारैतिर अन्धकार व्याप्त छ । उज्यालो चाहिएको छ । रापिलो घामको अभावमा कठ्याङ्ग्रिएका मुटुहरू तताउन आगो बाल्नुपर्ने भएको छ । यस्तोमा एउटा ‘बूँद’ ले धेरै के नै गर्न सक्थ्यो, आगो सल्काउन सहयोग पुग्ला कि भनी चकमक कोर्दै छ ।
तपाईँको व्यक्तिगत र साहित्यिक जीवनका तीता, मीठा अविस्मरणीय क्षणहरू छन् भने कृपया बताइदिनुहोस् न ।
तीता, मीठा, टर्रा, नुनिला सबै खाले क्षणहरूलाई मैले रचनामा समेटेकै छु । थाहा पाइरहनुभएको छ । पुनरावृत्ति गर्नुपर्ला र ? तैपनि चलेकै छ आँधी, बलेकै छ दियो ।
भविष्यमा तपाईँको के योजना छ ?
अहिलेकोभन्दा बढी जनमत प्राप्त गर्ने ।
तपाईँको कुनै खास अम्मल छ कि ?
कस्तो गजबको मेरो अम्मल भएछ साथी ।
प्यालाको साटो ओठमा गजल भएछ साथी ।।
रोग ब्याधीले कत्तिको सताउने गर्छ ?
खास गरी हाम्रो जस्तो पछौटे अवस्थामा रहेको देशमा निरोगी त को नै होला ? ग्यास्ट्रिक, सुगर, ब्लड प्रेसर यी रोगहरूले राष्ट्रिय रोगको दर्जा पाउन थालिसकेका छन् । मलाई पनि हाइ ब्लड प्रेसर (उच्च रक्तचाप) र स्पोन्डोलाइसिस (मेरुदण्ड क्षय) रोगले माया गरेका छन् । गनिमत भन्नुपर्ला इमर्जेन्सी परेर अस्पताल दगुराइहाल्नुपर्ने रोग अझैसम्म लागेको छैन ।
गजल के हो ?
गजल, काव्य साहित्यको एउटा मनोरम विधा हो ।
अन्तमा जनमत र पाठकहरूलाई के सन्देश दिन चाहनुहुन्छ ?
जनमत जनमत प्राप्त गर्नमा सफल छ । यो प्राप्ति अक्षुण्ण रहोस् । पाठक प्रतिक्रियावान् हुनुहोस् । यही कामना गर्छु ।