कुनै एउटा मध्यदिन ,
कोठाका पर्दाहरू झमल्याङ्ग झारेर
म आफूले आफूलाई कोर्न बस्छु ।
उज्यालो दिन, अँध्यारो कोठा..
म छिन्न भिन्न छरिएकी , मलाई समेट्न खोज्छु।
म एक छिन समय रोक्छु , समाज बिर्सिन्छु,
आफ्नो परिचय भुल्छु, अनुहार बिर्सिन्छु,
शरीर त्याग्छु र
आफूले आफूलाई खोज्न निस्कन्छु।
समय दौडिँदै छ , म घिस्रीदैछु…
कर्म बढ्दै छ , उमेर घट्दै छ…
आसा पलाउँदै छन्, कल्पना मेटिँदै छन्…
सपना बढ्दै छन्, बिपनी बिलिँदै छन्…
आँखा चिम्म छन् ….
म आकाश सम्झन्छु, पहाड सानो लाग्छ …
बादल देख्छु ,आकाश अस्तित्वहीन !!
म समुन्द्र सम्झन्छु ,मरुभूमि बकम्फुसे लाग्छ…
बालुवा देख्छु, पानी अस्तित्वहीन !!
म इन्द्रेणी देख्छु , फुल रोप्छु…भुमरीले छोप्छ
रङ्ग अस्तित्वहीन !!
म प्रकाश समात्छु ,जुनकिरी गन्छु,
चन्द्रमा नियाल्छु …तारा झार्छु,
प्रार्थना अस्तित्वहीन !!
बिपनीमा वजन बोकेका सारा तथ्यहरू
कल्पनामा अस्तित्वहीन लाग्छन् ।
म फिस्स हाँस्छु !
आँखा अझै चिम्म छन्…
म एकचित्त छु …एकाग्रह छु।
मेरो आफ्नो परिधि बन्द छ ।
म एक दायरामा बन्द छु।
यो दायरा मलाई कुनै समाजले दिएको हैन …
म आफैले आफैलाई सिमाङ्कन गर्दै छु ।
दिनको उज्यालोमा
रातको अन्धेरले आफूलाई बेर्दैछु।
चारैतिर बन्द परिधि भए पनि
प्रेम मेरो परिधि भित्र घुस्रिन खोज्दै छ ।
प्रेममा मोह देख्दै छु ।
म कमजोर हुँदै छु।
मैले कोरेका दायराहरू लल्याक लुलुक हुँदै छन्।
केहीले बाँधे जस्तो हुँदै छ।
अन्ततः प्रेम मेरो परिधि लाई जितेर घुस्रिन्छ।
मेरो अस्तित्वसँग प्रेम सहवास गर्न खोज्छ।
मलाई सम्बन्धका धागाहरूले अल्झाउन खोजेझैँ लाग्छ ।
यो सम्भोगको नतिजा मैले समाजलाई दिनुपर्छ!!
मेरा आँखा खुल्छन् ।
मेरो परिचय अगाडि आउँछ।
मेरो चिनारी अगाडि आउँछ।
म साधारण महिला कहलिन्छु।
म नारी हुन्छु।
म कसैकी छोरी हुन्छु…
कसैकी श्रीमती हुन्छु …
कसैकी आमा हुन्छु।
मलाई समाज र सम्बन्धले फेरि
कक्य्राक्क कुक्रुक्क बनाउँछन्।
म कल्पनामा त रम्छु…
तर वास्तविकता सँग हार्छु !!