२००३ असोज मार्से, दिप्रुङ, खोटाङमा जानुकादेवी रेग्मी भई जन्मेकी यिनी वरिष्ठ कथाकार परशु प्रधानकी जीवन सँगिनी हुन् । बाल साहित्यका प्रख्यात लेखिका कल्पना प्रधान भई लेखन क्षेत्रमा लागेकी यिनका प्रकाशित बालसाहित्यका कृतिहरुमा रुपैयाँ फल्ने रुख (२०४२), सेतो परी काली परी (२०४२),हीरा र मोती, मेरो सानो घोडा (२०४२),पञ्चतन्त्रमा पाँच कथा(२०४२), अर्थ न बर्थका कुरा (२०४२), चीँ अपरा (२०४६), खिच्रीमिच्री (२०४६),बिनाको बर्थ डे, मामाको बिहे बाल कथाहरु र बाल उपन्यासहरुमाखरायो र उसको छायाँ,ल्वाँदे र ग्वाँदे,पराक्रमी फर्सी छन् । बालकवितासङ्ग्रहहरुमा चिँ मुसी चिँ, नानीका साना कविता, मेरो सानो खरायो,सप्रेम सम्झना आदि छन् । बाल साहित्यमा आफ्नै खालको सिर्जना गर्न सफल यिनका सिर्जनाहरु बालोपयोगी छन् । बालसाहित्यको उत्थान र प्रवद्र्धनमा लाग्न पाउँदा गौरव गर्ने यिनी यसैमा रम्ने वातावरणको खोजीमा छन्। बाल साहित्यको सबै विधामा जसो कलम चलाउँदै आएकी यिनी बालसाहित्यका थुप्रै पुरस्कारले पुरस्कृत र सम्मानित भएको देखिन्छ । इन्टरनेटका कारणले हाम्रो बालसाहित्यले विश्व बालसाहित्यसँग प्रतिस्पर्धा गर्नुपर्ने हाँक आएकोमा यिनी खुसी छन् । साहित्यलाई यिनी समाज सुधारको बाटो हो भनेर परिभाषित गर्न रुचाउँछिन् । बाल साहित्यका स्रष्टाका रुपमा प्रसिद्धि कमाएका यिनी साहित्यकारका रुपमा आफूलाई चिनाउन पाउँदा गौरव गर्ने गर्छिन् ।
१.तपाईंको साहित्य लेखनको थालनी कसरी भयो ? कृपया बताइदिनुहुन्छ कि ?
पहाडी परिवेशको जन्म र त्यहाँको पढ्न नपाउने पीडा, समाजका दिदीबहिनीको आँसु र टुहुरा बालबालिका । यी सबै कुराले मलाई लेखनमा घचघच्याएको हो ।
२. साहित्यको सिर्जना गर्ने भावना र प्रेरणा कसरी र को–बाट प्राप्त गर्नुभयो ?
मेरो जन्मघरको पूर्व झ्यालबाट म सधैं हेर्थें । त्यहाँ एउटा बुल्कु नामको खोला छ । त्यो खोलामा झर्ना झर्दथ्यो । त्यो मलाई अति सुन्दर लाग्थ्यो । त्यो देखेर मेरो बालचेतनामा अनगिन्ती कुराहरु उर्लेर आउँथे । त्यसका विविधतापूर्ण सुन्दर रुपहरु म देख्थेँ । त्यसैले म झ्यालमा बसेर घण्टौंसम्म हेर्दथेँ । त्यही हेराइले कविता लेख्ने प्रेरणा मिलेछ ।
राति सुत्ने बेलामा केही न केही लोककथाहरु प्रायश: मेरी आमाबाट सुन्ने गर्थें । यिनै दुई कुराबाट खास मैले प्रेरणा पाएकी हुँ ।
३. साहित्य सेवामा निरन्तर रूपमा लागिरहनुभएकी तपाईं यसबाट कतिको सन्तुष्ट हुनुहुन्छ ? कृपया बताइदिनुहोस् ।
हाम्रो समाजका सबै नेपाली नानीहरुले अत्यन्तै मन पराइदिए जुन समय २०२० को दशकमा धेरै मान्छेले बालसाहित्यमा कलम चलाएका पनि थिएनन् । मैले लेखेका कथा–कविताहरु सजिलै प्रकाशन पनि भएका हुन् । लेखेअनुसार राष्ट्रका विभिन्न मान–सम्मान पनि पाएकै छु । यी सबै कुराहरुबाट मैले असन्तुष्ट हुनुपर्ने ठाउँ छैन ।
४. नेपाली साहित्यमा महिला लेखिकाहरूको भूमिका र अग्रसारिता सम्बन्धमा तपाईं कस्तो धारणा राख्नुहुन्छ ?
आजको यो इन्टरनेटको युगमा हामी नेपाली गाउँले महिलाहरु धेरै थोरै अगाडि बढेका छौं । अझै हामीले हीनताबोध नगरी पुरुषहरुसँग काँधमा काँध मिलाएर अझै अघि बढ्दै गयौं भने उच्च शिखरमा पुग्न सक्नेछौं ।
५. “साहित्यकारहरू आ–आफ्नो विचार वा दृष्टिकोण कलात्मक तरिकाले उद्घाटन गर्ने माध्यम साहित्यलाई बनाउँछन् । वास्तवमा साहित्यमा मुख्य कुरो सिद्धान्त र दृष्टिकोण हुन्छ र त्यसलाई मार्मिकरूपमा जनसमक्ष पुर्याउन र उनीहरूलाई हृदयङ्गम गराउन कलात्मक सौन्दर्यकासाथ प्रस्तुत गरिन्छ ।” यस भनार्इंप्रति तपाईंको के धारणा छ ?
कलाविहीन साहित्यलाई कसैले साहित्य मान्दैन र म पनि मान्दिनँ । खाली सिद्धान्त र विचार मात्र थोपरेर त्यो कुनै हालतमा साहित्य हुँदैन ।
६. हालका विभिन्न साहित्यिक प्रतिष्ठानको साहित्यिक गतिविधि र साहित्यिक धारा सम्बन्धमा तपाईं कस्तो धारणा राख्नुहुन्छ ?
नेपालका सबै साहित्यिक प्रतिष्ठानहरु स्वच्छ र उच्च विचार लिएरै खोलिएका छन् । अहिलेको बिग्रँदो राजनीति र समाजमा भएका अनेकथरि झैं–झगडाका कारण कुनै पनि प्रतिष्ठानले राम्ररी फस्टाउने मौकै पाउन सकेन । मलाई त्यस्तो लाग्छ ।
७. तपाईंलाई मनपर्ने स्वदेशी र विदेशी लेखकहरू को–को हुनुहुन्छ ? कृपया बताइदिनुहुन्छ कि ?
मलाई पुरानो पुस्ताका नेपाली सबै साहित्यकारहरु मनपर्छ । मैले उहाँहरुको प्रेरणाबाट आज यतिसम्म लेख्न सकेकी छु । उहाँहरु सबै र सधैं मेरा आदर्शका गुरुहरु हुनुहुन्छ ।
८. तपाईंलाई सधैं सम्झना रहिरहने कुनै साहित्यिक रोचक घटना भए कृपया झर्को नमानिकन उल्लेख गरिदिनुहोस् ?
तिथिमिति त म ठ्याक्कै भन्न सक्दिनँ । ४०–४१ सालको कुरा हो । एकदिन दिउँसो १ बजेतिर फोनको घण्टी बज्यो । बोल्न थालेँ । त्यो फोन गर्ने व्यक्ति हुनुहुन्थ्यो श्रद्धेय रमेश विकल । उहाँले मलाई पाटनको हरिहरभवनमा रहेको पाठ्यक्रम विकास केन्द्रमा भोलि आउनुपर्ने कुराको जानकारी दिनुभयो । मैले सबै कुरा सुनेर भनेँ – घरमा श्रीमान् हुनुहुन्न । म एक्लै आउन सक्दिनँ ।
तपाईंको श्रीमान् कहाँ जानुभयो ?
जापान ।
ए त्यसो भए देवर शैलेन्द्रलाई लिएर आउनुस् न ।
उहाँको कुरामा अझै जोड दिँदै नजानलाई भनेँ – शैलेन्द्रले मान्दैन के गर्नु ?
जे गर्नुपर्छ गर्नुस्, तर जसरी पनि तपाईंले आउनैपर्छ ।
उहाँको कुरा काट्न नसकेर करैले म बोलेँ – हवस्, जसरी हुन्छ म आउँछु ।
अब मलाई आपत पर्यो । अहिलेका हाम्रा छोरीहरुलाई एक्लै अमेरिका जान त्यस्तो आपत पर्दैन तर त्यो बेला मलाई त्यहाँ पुग्न गाह्रो भयो । तै पनि मेरो मनले भन्दैथ्यो जा–जा तेरो भाइ छ, उसैलाई लिएर जा । मैले भाइलाई बोलाएँ, ऊ आयो । अनि भाइ नगेन्द्रराज रेग्मीले मलाई लिएर गयो । हामी दिदीभाइ चुपचाप बस्यौं । मैले उपस्थितिसम्म जनाएँ । त्यहाँ धेरै साहित्यकारहरु जम्मा हुनुभएको थियो । मैले जम्मा ३ जनालाई मात्र चिनेकी थिएँ । उहाँहरु रमेश विकल, धु्रवकृष्ण दीप र कृष्णप्रसाद पराजुली मात्रै । सभामा उपस्थित सबैले यो त्यो लेख्ने कुरा गरे । मैले सुनेँ र चिया विस्कुट खाएँ । हिँड्ने बेलामा दाइ कृष्णप्रसाद पराजुलीले भन्नुभयो – तपाईंलाई राम्रो राम्रो कथा लेख्न आउँछ । यौटा कथासङ्ग्रह तयार गरेर दिनुस् है । हवस् भन्दै हात जोडेर म विदा भएँ ।
कृष्णप्रसाद दाइका कुराहरु मनमा आएर म कथामा सोच्न थालेँ । सोच्दासोच्दै बिस्तार–बिस्तार लेख्न थालेँ ।अप्सरा भन्ने नाम दिएर पाण्डुलिपि भाइ नगेन्द्रराज रेग्मीको हातमा पठाइदिएँ । यो दर्ता गराउनु, यो कापीको खेस्रा गरेको कविता पनि मिल्छ कि देखाऊ । साना–साना कथा पनि लेखेकी छु यो पनि सोध है । भाइले मेरो सबै कुरा बुझेर त्यहाँ गयो ।अप्सरा कथासङ्ग्रह दर्ता गर्यो । अरु दुईटा कथा र कविताको खेस्रा देखायो । मेरो त्यो खेस्रालाई खूबै श्रद्धासँग लिँदै रमेशदाइले भन्नुभएछ – ओहो, बच्चाको त यो हो नि कथा–कविता । यसलाई छाडेर जानुस्, म छापिदिन्छु ।
भाइ आयो । सबै कुरा सुनायो । पैसा लिन पनि बोलाएको छ दिदी भन्यो । मैले भाइलाई भनेँ तिमी नै गएर पैसा ल्याऊ । साँच्चै छिट्टै किताब छापियो । भाइले पैसा पनि ल्यायो । दिदीभाइ खुसी भयौं । त्यो अप्सरालाई आदरणीय रमेश विकलदाइले अपरा बनाइदिनुभयो । सानो कवितालाई उहाँले नै चिँमुसी चिँ नाम दिनुभयो । सानो कथालाई खिच्रीमिच्री नाम भयो । त्यो खिच्रीमिच्रीबाट बाल टेलिफिल्म नर्स बनेर प्रसारण भयो । अपराबाट रत्नबालकोष पुरस्कार पाएँ । अहिले सम्झँदा म छक्क पर्दछु । केही नबोली त्यो बेला एकैचोटि तीनवटा कृति विकलदाइको सतप्रयासमा पाठ्यक्रम विकास केन्द्रबाट प्रकाशित भए । मेरो लेखनका ती ऐतिहासिक घटनाबाट दुई कुराहरु प्रमाणित भए । पहिलो कुरो मेरा रचनाहरु श्रीमान् परशु प्रधानले लेख्छ र श्रीमतीको नाममा छाप्छ भन्ने हल्ला मेट्न समर्थ भएँ । दोस्रो–नेपाली बालसाहित्यमा अझ सजग र सक्रियपूर्वक साधना गर्ने दृढ सङ्कल्प गरेँ ।
९. तपाईंको पहिलो प्रकाशित रचना कुन हो र तपाईंका प्रकाशित लेख–रचनाहरूमध्ये सबभन्दा मनपर्ने कुन रचना हो ?
पहिलो प्रकाशित रचना बालकविता मेरो सानो खरायो हो । मैले रचना गरेका रचनाहरु सबै उस्तैउस्तै लाग्छ मलाई । राष्ट्रका बालबालिकाहरुले भने यी किताबलाई बढी मन पराएको अनुभव गरेकी छु – मेरो सानो घोडा, रुपियाँ फल्ने रुख, बीनाको बर्थडे, पराक्रमी फर्सी, सुनचाँदीको बालक आदि ।
१०. यस बाहेक तपाईंको साहित्य सम्बन्धमा केही कुरा भन्न बाँकी छ भने बताइदिनुहोस् ।
साहित्यमा समर्पित व्यक्तिको उचित कदर अवश्य हुनुपर्छ नातागोता र राजनीतिमा मुछ्नु हुँदैन । कुनै पनि राष्ट्र भनेको खाली भूगोल मात्र होइन । साहित्य, कला र संस्कृति नै राष्ट्रको पहिचान हो जस्तो लाग्छ ।
(जनमत, पूर्णाङ्क १४३, असार २०६६)