गीताञ्जलि काव्यकृतिमा नोबेल पुरस्कार प्राप्त गरेर एशियाकै परिचय विश्वमा बाँड्न सफल कवि रवीन्द्रनाथ टैगोर सन् ( १८६१–१९४१)ले विश्वमा चर्चा पाएका थुप्रै कथाहरू पनि लेखेका छन् । टैगोरका जीवन–दृष्टि गान्धीबाट प्रभावित भएकै कारणले यिनी साहित्यका गान्धी भनेर पनि चिनिन्छन् । सरल शब्द शैलीमा परिवेशको चित्रण गर्न सफल कथाकार भएकै कारणले यिनलाई यथार्थवादी कथाकारका रूपमा समीक्षकहरू चर्चा गर्छन् ।
कविता, कथा, उपन्यास, नाटक, संस्मरणका विविध विधामा यिनी सिद्धहस्त लेखक भएर नाम चलाए । पोस्टमास्टर यिनका कथाहरूमध्ये चर्चित कथा मानिन्छ । पोस्टमास्टर कथामा गाउँको सुबोधपन, निस्वार्थ सेवा कस्तो हुन्छ ‘रतन’का भावनाहरूमार्फत् देखाउन सफल छन् ।
सर्वप्रथम जागिरमा बहाल भएपछि पोस्टमास्टरलाई उलापुर गाउँमा आउनुपर्यो । गाउँ भने अति साधारण छ । नजिकै एउटा नीलको कोठी छ, त्यसै कोठीका साहेबले अनेक परिवन्द मिलाएर यो नयाँ पोस्टअफिस स्थापित गराएका थिए ।
हाम्रा पोस्टमास्टर कलकत्ताका ठिटा हुन् । पानीको माछोलाई भुइँमा राख्दा जस्तो त्यसको दशा हुन्छ, यस सानो गाउँमा आउँदा पोस्टमास्टरको पनि त्यही दशा भयो । फुसको एउटा अँध्यारो घरमा तिनको अफिस छ, छेवैमा एउटा सानो पोखरी छ, त्यसको पानी फोहोर भएर हरियो झरले डम्म ढाकिएको छ एवं चारैतिरका डील छन् झयाङले जेलिएका । कोठीका गुमश्तालगायत जेजति कामदारकारिन्दा छन् तिनीहरूलाई मनाक उस्तो फुर्सत भने हुँदैन एवं तिनीहरू भलाद्मीहरूसित बसउठ गर्न सक्ने खालका होइनन् पनि ।
नभन्दै कलकत्ते ठिटा अरूसित राम्ररी झयाम्मिन जान्दैनन् पनि । अपरिचित ठाउँमा जाँदा कि त ती उद्दत हुन्छन् वा लाज मानी सङ्कोची भई बसिरहन्छन् । यसैले स्थानीय मानिसहरूका साथ पोस्टमास्टरको हेमचम हुन सकेन । तर कामको उतिसारो चटारो थिएन पनि । कहिलेकाहीँ एक–दुई कविता लेखिटोपल्छन् । सारा दिन तरूपल्लवका कम्पन एवं आकाशका बादल हेर्दै जीवन बडो सुखका साथ व्यतीत भइरहेछ भन्ने भाव ती कवितामा व्यक्त गर्छन् । तर अन्तर्यामीलाई थाहा छ, अरबी उपन्यासको कुनै दैत्य आईकन उसले एकै रातमा हाँगाबिगा र पातपल्लवसुद्ध सारा रुखहरू ढालेर त्यस ठाउँमा पक्का सडक बनाइदिए एवं त्यसका दुवै किनारमा गगनचुम्बी ठूल्ठूला महलका लामले बादललाई दृष्टिपथबाट ओझ्ेलमा पारिदिए मात्र यी अद्र्धमृत भलाद्मी फेरि नयाँ जीवन पाउन सक्ने थिए ।
पोस्टमास्टरको खानगी अति सामान्य छ । पकाउने काम आफैँ गर्नुपर्छ एवं गाउँकी एउटी टुहुरी केटी तिनको कामकाज गरिदिन्छे, त्यसका साटो ऊ दुईचार गाँस खाने कुरा पाउँछे । केटीको नाउँ हो रतन । उमेर बाह्र–तेह्र हुँदो हो । बिहे होला भन्ने विशेष सम्भावना पनि छैन ।
साँझ्को बेला जब गाउँमा गुहालीबाट धूवाँको मुस्लो मडारिँदै माथि उठ्थ्यो, झयाउँकिरी झयाङ्–झयाङ् बैरागलाग्दो गरी कराउँथे, टाढातिर गाउँका मतवाली बाउलको दल मृदङ्ग र खैँजडी बजाउँदै ठूलो स्वरले गीत गाउन थाल्दथ्यो, जब अँध्यारो ओसारामा एक्लै बसीकन गाछीका हल्लाइ देख्दा कविहृदयमा पनि अलिकति कम्पनको सञ्चार हुन्थ्यो, त्यस बेला घरको कुनामा एउटा मलिन टुकी बालीकन पोस्टमास्टर डाक्थे – रतन । यसै बोलाइका निम्ति रतन ढोकामा पर्खी बसिरहन्थी तर डाकिनेबित्तिकै ऊ कोठाभित्र जान्नथी, भन्थी – हजुर, केको निम्ति डाक्नुभाको ?
पोस्टमास्टर – तँ के गर्दैछेस् ?
रतन – चुल्होमा आगो सल्काउन जान लाग्या । भान्साघरको ।
पोस्टमास्टर – आफ्नो भान्साघरको काम पनि गरेस्, अहिले एक चिलिम तमाखू भर् त !
चाँडै नै दोटा गाला भुक्क पारेर चिलिम फुक्दै रतन आउँथी । हातबाट हुक्का लिई पोस्टमास्टर उत्निखेरै सुध्याउँथे, अँ रतन, तँलाई आमाको सम्झ्ना छ ? उसकी आमाको लामो कथा छ – उसलाई केही सम्झ्ना छ, केही बिर्सिसकी । आमाभन्दा बाबु त्यसलाई बढ्ता माया गथ्र्यो, बाबुको अलिअलि सम्झ्ना छ । दिनभरि बनिबुतो गरी साँझ्मा बाबु घर फर्कन्थ्यो । यी सन्ध्याहरूमध्ये संयोगवश एक–दुईको सम्झ्नाको छापा त्यसको मनमा परेको छ सफा तस्बिरझ्ैं । यी कुरा हुँदाखेरी रतन अलि वरवर सर्दै पोस्टमास्टरका खुट्टाछेउ भुइँमा बस्न आइपुग्थी । त्यसलाई सम्झ्ना हुन्थ्यो यसको एउटा सानो भाइ थियो – धेरै उहिले झ्रीको एक दिन एउटा दहको किनारमा दुवै जनाले मिलेर रुखको भाँचिएको हाँगालाई बल्छी बनाई माछा मार्ने खेल खेलेका थिए । अरू अनेक ठूल्ठूला घटनाभन्दा त्यसलाई यही कुराको बढ्ता सम्झ्ना छ । यस्तै कुराकानीको प्रसङ्गमा कहिलेकाहीँ राति धेरै बितिसक्थ्यो, अनि अल्छी लागेर पोस्टमास्टरलाई भात पकाउने जाँगर चल्दैनथ्यो । बिहानको बासी तिहुन हुन्थ्यो औ रतन हतारहतार आगो सल्काई दुईचारोटा रोटी पकाएर ल्याइदिन्थी, त्यसैले दुवै जनाको रातको छाक टथ्र्यो ।
कहिलेकाहीँ साँझ्खेर फुसको सोही ठूलो घरको कुनामा अफिसको खाटमा बसेर पोस्टमास्टर आफ्नो घरका कुरा झ्क्थिे – सानो भाइ, आमा एवं दिदीका विषयका कुरा, परदेशमा एक्लै कोठामा बस्दा जसका निम्ति हृदय व्यथित हुन जान्छ तिनीहरूको विषयका कुरा । जेजति कुरा सँधैजसो मनमा आइरहन्छन् तर नीलकोठीका गुमश्ताहरूका छेउ जुन केही गरे पनि भन्न सकिन्न, तिनै कुरा एउटा अशिक्षिता क्षुद्र बालिकालाई उनी भन्थे । यसो गर्नु राम्रो होइन भन्ने कुरा मनमा पटक्क लाग्दैनथ्यो । हुँदाओर्दा यस्तो पनि भयो, कुराकानी गर्दा उसका घरका सदस्यहरूलाई आमा, दिदी, दाजु भनी धेरै उहिलेदेखि नै चिनेझ्ैं गरी केटी साइनो लगाउन पनि थाल्थी । यति मात्र होइन, आफ्नो क्षुद्र हृदयमा केटीले तिनीहरूका काल्पनिक मूर्ति पनि चित्रित गरेकी थिई ।
एक दिन वर्षायाममा बादल नभएको मध्याह्नमा अलि तातो–तातो सुकोमल बतास चलिरहेको थियो । घाम खाएका घाँस एवं रुखबाट एक प्रकारको बास निस्किरहेको थियो । यस्तो लाग्दथ्यो, मानौं थाकेकी पृथ्वीको तातो नि:श्वास शरीरमाथि परिरहेको छ, एवं कतै एउटा जिद्धी चरो आफ्नो एकोहोरो स्वरले मध्याह्नभर प्रकृतिको दरबारमा अत्यन्त करुण स्वरले बारम्बार नालिस दिँदो छ । पोस्टमास्टरका हातमा कुनै काम थिएन । त्यस दिनको वर्षाले धोइएका चिल्ला र नरम तरूपल्लवको हिल्लोल एवं पराजित वर्षायामका ताक मासिएर केही बाँकी रहन गएका घामझ्ैं सेता र चुलिँदै गएका मेघका गरागराको दृश्य नभन्दै दर्शनीय वस्तु थियो । पोस्टमास्टर यो हेर्र्दै थिए एवं विचार गर्दै थिए, यतिखेर छेउमा एउटा कुनै खास आफ्नो मानिस हुँदो हो – हृदयभित्रैदेखि उनमा उत्सर्ग भएको एउटा स्नेहशील मानवमूर्ति । त्यो चरो यही कथा नै बारम्बार भनिरहेको छ एवं यस जनहित तरुच्छायानिमग्न मध्याह्नको पल्लवमर्मरको अर्थ पनि केही अंशमा यस्तै हो कि भन्ने कुरा उनको मनमा विस्तारविस्तार आउन थाल्यो । यो कोही पनि विश्वास गर्न सक्दैनथ्यो औ जान्न पनि सक्दैनथ्यो, तर सानो गाउँको सामान्य तलब खाने नायब पोस्टमास्टरको मनमा गम्भीर निस्तब्ध मध्याह्नमा बिदाको लामो दिनमा त्यस प्रकारको एउटा भाव झ्ुल्किन्थ्यो ।
पोस्टमास्टरले एउटा लामो सास फेरेर डाके – रतन । रतन त्यस बेला अम्बाको रुखमा खुट्टा फैलाई काँचो अम्बा खाँदै थिई । मालिकको स्वर सुन्नेबित्तिकै कुद्दै छेउमा आइपुगी – स्याँस्याँ गर्दै भनी – दाजु, मलाई बोलाको ? पोस्टमास्टरले भने – तँलाई म अलिअलि भए पनि पढ्न सिकाउँछु । यो भनेर उनले भरमध्याह्न त्यसलाई कपुरी क, पेट फारो ख घोकाए । यस्तै किसिमले केही दिनभित्रै जोडेका अक्षर चिन्हाउनमा उनी सफल भए ।
साउन महिनामा वर्षाको अन्त हुँदैन । खाडल, प्वाल, नाला पानीले डम्म भरिए । दिनरात भ्यागुताले टर्रटर्र एवं पानी परेको शब्द सुनिन्छ । गाउँका बाटामा आवतजावत एक प्रकारले बन्दझ्ैं हुन्छ – नाउबाट हाट जानुपर्छ ।
एक दिन बिहानदेखि नै निकै बदली लागेको थियो । पोस्टमास्टरकी छात्रा धेरै बेरदेखि ढोकाको छेउमा बसिरहेकी थिई बोलाइको प्रतीक्षा गर्दै, तर सदाको नियमित डाकेको स्वर सुन्न नपाएकीले आफ्नो पोस्तक–पाता लिई बिस्तारै–बिस्तारै कोठाभित्र पसी । हेरी, पोस्टमास्टर आफ्नो पलङमाथि सुतेका छन् – थकाई मारिरहेका होलान् भन्ने ठानी अलिकति पनि चालचुल नगरी कोठाबाहिर निस्कन खोजी । सहसा सुनी – रतन । चाँडचाँडै फर्की रतनले भनी – दाजु, सुत्नुभा थियो ?पोस्टरमास्टरले काँतर स्वरमा भने – अलिक सन्चो नभएस्तो छ – मेरो कपाल छामिहेर त ।
यस्तो एकदम नि:सङ्ग प्रवासमा झ्रीका ताक रोगकाँतर शरीर अलिकति स्याहारसुसार पाउने इच्छा गर्छ । तातो निधारमाथि शङ्खका चुरा लगाइएका कोमल हातको स्पर्शको सम्झ्ना हुन्छ । यस्तो साफी एक्ला भई प्रवासमा बस्दाहुँदी रोगले गालेको ताक मायालु नारीका रूपमा आमा औ दिदी छेउमा बसेका छन् भन्ने कुरा सम्झ्ने इच्छा हुन्छ । यस कुरामा भने प्रवासी पोस्टमास्टरको मनको अभिलाषा खेर गएन । बालिका रतन नभन्दै सोझ्ी बालिका भइदिई । त्यसै बेला त्यो आमाको स्थानको अधिकार गरेर बसी, वैद्य डाकेर ल्याई, चाहिने बेला ओखती खुवाई, रातभरि सिंह्राननेर जागराम बसी, आफैले पथ्य बनाएर खुवाई एवं सैकडौंपल्ट सोधी – दाजु, केही सन्चो भाझ्ैं लाग्छ ?
रोगले गलेका पोस्टमास्टरलाई बल्ल बिसेक भयो । मनमा उनले अठोट गरे, अहँ अब होइन, यहाँबाट जसरी भए पनि सरुवा हुनैपर्छ । स्थानीय अस्वास्थ्य उल्लेख गरेर तुरुन्त उसै बेला उनले सरुवा हुनका निम्ति अधिकारीछेउ कलकत्तामा दरखास्त पठाए ।
रोगीको स्याहारसुसारबाट छुट्टी पाई रतनले ढोकाबाहिर आफ्नो ठाउँमा फेरि अड्डा जमाई । तर अघिका झ्ैं फेरि त्यो डाकिँदैन । कहिलेकाहीँ यस्सो चियाएर हेर्थी, पोस्टमास्टर अत्यन्त अन्यमनस्क भई चौकीमा बसेका वा पलङमा सुतेका हुन्थे । रतन जुन बेला मलाई डाक्छन् कि भन्ने आशा गरेर बसिरहेकी हुन्थी ती त्यस बेला अधीरचित्त भई आफ्नो दरखास्तको उत्तरको बाटो हेरिरहेका हुन्थे । ढोकाबाहिर बसी केटीले सयौंपल्ट आफ्नो पुरानो पाठ उघ्री । पछि जुन दिन मलाई डाक्लान् त्यस दिन संयुक्त अक्षरमा अल्मलिएँ भने – … यही एक मात्र एउटा आशङ्का त्यसको थियो । बल्ल एक सातापछि एक दिन साँझ्तिर त्यो डाकिई । आनन्दले हतारिँदै मझ्ेरीमा पुगेर रतनले भनी – दाजु, मलाई डाक्नुभएको ?
पोस्टमास्टरले भने – रतन, म भोलि नै जाँदैछु ।
रतन – कहाँ जानुहुन्छ दाजु ?
पोस्टमास्टर – घर जान्छु ।
रतन – फेरि कहिले आउने ?
पोस्टमास्टर – अब आउँदिनँ ।
रतनले अरू कुनै कुरा सुध्याइन । त्यसलाई पोस्टमास्टरले स्वयं नै भने – मैले सरुवा हुनाका निम्ति दरखास्त पठाएको थिएँ, सो स्वीकृत भएन । त्यसैले राजीनामा दिई घर जाने भएको छु । धेरै बेरसम्म कसैले अरू कुनै कुरा गरेन । टुकी पिलपिल गर्दै बल्न थाल्यो एवं एक ठाउँमा कोठाको छाना छेडेर माटोको एउटा भाँडोमाथि टप्टप् गरी वर्षाको पानी पर्न थाल्यो ।
एक छिनपछि रतन बिस्तारै–बिस्तारै उठी, भान्छाघर गई रोटी पकाउन थाली । सदाको झ्ैं त्यो फुर्तिली भइन । सके मस्तिष्कमा अनेक भावनाको उदय भयो होला । पोस्टमास्टरले खाइसकेपछि केटीले उनलाई सुध्याई – दाजु, मलाई पनि आफ्नो घर लैजानुहुन्छ ? पोस्टमास्टरले हाँसेर भने – यो कसरी हुन सक्छ ? के–कति कारणले यो कुरो असम्भव हो सो बालिकालाई बुझउन उनले आवश्यक ठानेनन् ।
रातभरि सपना एवं विपनामा केटीका कानमा पोस्टमास्टरले हाँसेर भनेका शब्दहरू घन्किरहे – यो कसरी हुन सक्छ ?
बिहान उठेर पोस्टमास्टरले देखे, नुहाउने पानी ठीक छ । कलकत्ताको बानीअनुसार ती उघाएर राखेको पानीले नुहाउँथे । ती कुन बेला प्रस्थान गर्छन् यो कुरो किन हो केटीले सोध्न सकिन, बिहान आवश्यक होला कि भन्ने ठानी उसले एकदम सखारै नुहाउने पानी नदीबाट ल्याएकी थिई । नुहाइसकेर तिनले रतनलाई डाके । रतन नबोली सुरुसुरु कोठाभित्र पसी, अनि आज्ञाका निम्ति केही नबोलीकन मालिकका मुखतर्फ हेरिरही । मालिकले भने – रतन, मेरा ठाउँमा जो मानिस आउलान् उनलाई म भनेर जाउँला, मैझ्ैं तेरो हेरविचार तिनले गर्नेछन् । म जाँदैछु भन्ने कुरामा तैंले फिक्री मान्नुपर्दैन । यी कुरा अत्यन्त स्नेहपूर्वक तथा दर्याद्र्र हृदयबाट निस्केका हुन् भन्ने कुरामा कुनै सन्देह थिएन, तर को बुझछ नारीहृदय ! मालिकको तिरस्कार रतनले अनेक दिन क्यै नबोली सहेकी छे तर आजको यस्तो नरम वचन त्यसले सहन सकिन । एकदम उच्छवसित हृदयले रुँदै भनी – नाइँ–नाइँ, तपाईंले कसैलाई केही भन्ने आवश्यकता छैन, म बस्न चाहन्नँ ।
पोस्टमास्टरले रतनको यस किसिमको व्यवहार कहिल्यै देखेका थिएनन्, त्यसैले ती जिल्ल परे ।
नयाँ पोस्टरमास्टर आए । तिनलाई सारा हिसाबकिताब बुझई पुराना पोस्टमास्टर जानलाई ठीकठाक पारे । जाने बेला तिनले रतनलाई डाकेर भने – रतन, तँलाई मैले कहिल्यै पनि केही दिन सकिनँ । आज जाने बेला तँलाई केही दिएर जाँदैछु, यसले तेरा केही दिन टर्लान् ।
बाटोखर्च बाँकी गरेर आफ्नो तलब जे बाँचेको थियो सो तिनले खल्तीबाहिर निकाले ।
त्यस बेला रतनले भुइँमा पस्रेर तिनका खुट्टामा छाँद हालेर भन्न थाली – दाजु, तपाईंका चरणमा परी बिन्ती गर्दैछु, जनि गर्नुहोस्, मलाई केही दिनुपर्दैन । मेरा निम्ति कसैले केही फिक्री लिनुपर्दैन । यति भनेर त्यो त्यहाँबाट हुर्रिएर बाहिर निस्किहाली ।
भूतपूर्व पोस्टमास्टर लामो खुइय गर्दै, हातमा कार्पेटको ब्याग हल्लाउँदै, काँधमा छाता लिई, भरियाको टाउकोमा नीलो तथा सेतो धर्सा भएको टिनको बाकस बोकाउँदै बिस्तार–बिस्तार नाउतिर हिँडे ।
जब ती नाउमा चढे औ नाउ हिँड्न थाल्यो, वर्षाको पानीले फैलेको नदी पृथ्वीका छचल्किरहेका आँसुझ्ैं चारैतर्फ टलपल गर्न थाल्यो, त्यस बेला हृदयभित्र एउटा ठूलो पीरको अनुभव पोस्टरमास्टरले गर्न थाले – गाउँकी एउटी सामान्य केटीको करुण अनुहारले मानौं भन्न नसकिने खालको एउटा अघोर जोडको इच्छा पनि भइहाल्यो : जाऊँ फर्कूं, संसारका काखबाट फ्याँकिएकी त्यस टुहुरीलाई सँगै लिएर आऊँ । तर त्यस बेला पालमा बतास लागिसकेको थियो, वर्षाको नदी निकै बेगले बगिरहेको थियो, गाउँ नाघेर नदीका किनारको श्मशान देखिन थालेको थियो एवं नदीको प्रवाहमाथि गइरहेका पथिकको उदास हृदयमा यस दर्शनको उदय भयो – जीवनमा यस्ता कति वियोग, कति मृत्यु हुन्छन्, फर्केर लाभ नै के ! यस संसारमा को कसको !
तर रतनको मनमा कुनै दर्शनको उदय भएन । त्यो त्यसै पोस्टअफिस घरको चारैतिर केवल गहभरि आँसु लिई रल्लिँदै भौतारिरहन्थी । यस्तो बुझ्न्थ्यिो, त्यसको मनमा झ्ीनो आशा जागिरहेको छ – दाजु फर्केर आए भने ? यसै बन्धनमा परेर केही गरे पनि ऊ त्यहाँबाट अन्त जान सकेकी थिइन । हाय बुद्धिहीन मानवहृदय ! तँलाई भ्रान्तिको क्यै गरे पनि बोध हुँदैन, यस्तो हुनुपर्ने, यस्तो नहुनुपर्ने, यस्तो गरेमा यस्तो हुन्छ, यस्तो नगरे यस्तो हुँदैन – यस्ता युक्तिशास्त्रका विधान धेरै विलम्बका पश्चात तेरो मगजमा आउँछन् । प्रबल औ साक्षात् प्रमाणलाई पनि नपत्याई, झ्ूटो आशालाई दुई पाखुराले कसी छातीभित्र भरिसक्के गरी टाँसेर राख्ने बल गरिन्छ, अन्तमा एक दिन सारा नाडी काटेर, हृदयको रक्त सोसेर त्यो भाग्दछ, त्यस बेला चेतना आउँछ तर फेरि दोस्रो भ्रान्तिका बन्धनमा जेलिनका निम्ति चित्त व्याकुल हुन थाल्छ ।
(अनुवादक : ईश्वर बराल)