दुई दशक अघि कलाकार सुरेशकुमार द्य:लाले चारकोलको माध्यममा ३५ वटा विशुद्ध नेपाली मुहार चित्र ‘मिरर अफ नेप्लिज पिपुल’ शीर्षकमा पहिलो एकल प्रदर्शनी गरेका थिए । त्यस पछि २०६० मा उनले चारकोल कै माध्यममा ‘हाम्रा कवि र साहित्यकार’ शीर्षकमा दोस्रो एकल प्रदर्शनी गरेका थिए । दोस्रो चित्रकला प्रदर्शनी पछि १८ वर्ष मौन रही चारकोलमा पहिचान बनाइ रहेका द्य:लाले फरक कला शैलीका साथ देखा परेका छन् ।
शिव महिमा र चरित्र चित्रण गरिएको शिव पुराणको धर्म, मोक्ष, ज्ञान, जप, तपस्या तथा उपवासलाई आधार मान्दै शिवको महिमालाई चित्रण गरेर चित्रकार सुरेशकुमार द्य:लाले कला सिर्जना गरेका छन् । शिव महिमामा आधारित दुई दर्जन कलाकृतिहरू नेपाल आर्ट काउन्सिलमा प्रदर्शनमा छन् । उनले शिव महिमालाई अक्षरमा समेत उतारेका छन् ।
आर्ट काउन्सिलमा आयोजित चित्र प्रदर्शनीसँगै त्यसलाई बुझाउने पुस्तक पनि सार्वजनिक गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले ‘सत्यम् शिवम् सुन्दरम्’ शीर्षकको चित्रकला प्रदर्शनी शुभारम्भ र पुस्तक लोकार्पण गरेका हुन् ।
पुस्तक र आफूले कोरेका चित्रहरूलाई द्य:ला ध्यानबाट सिर्जित सिर्जनाका रूपमा व्याख्या गर्छन् । २० वर्षसम्म उनले शिव पुराण र त्यसका विभिन्न पक्षहरूबारे अध्ययन गर्दै चित्रमा उतार्दै त्यसलाई लेख्न पनि थालेका हुन्। हाल भइरहेको उनको तेस्रो एकल प्रदर्शनी हो ।