कक्षा ८ मा पढ्दा देखि नै कविता लेख्दै आएकोले कविता गोष्ठीमा भाग लिन पाउँदा आफूलाई गौरवशाली सम्झिन्थेँ । नेपाली र नेपाल भाषा दुवै भाषामा कविता लेख्दै आएकोले कविता पढ्न पाउँदा, कवि गोष्ठीमा सामेल हुन पाउँदा खुसी हुन्थेँ म । २०२२ सालतिर नेपाल युवक सङ्गठन अञ्चल समितिको आयोजनामा प्रतियोगितात्मक कविता गोष्ठी काठमाडौँमा हुने सूचना गोरखापत्रमा पढेको थिएँ । काठमाडौँ गएको बेलामा उक्त सूचना पढेको हुनाले प्रतियोगितामा भाग लिने हिसाबले रत्नपार्क भित्र गएर निवेदन र कविता लेख्यौँ । त्यसताका क्लिष्ट कविता मन पराउने हुनाले म आफू पनि क्लिष्ट कविता लेख्न पाउँदा रमाउँथेँ । पारिजात, ईश्वर वल्लभ, मदन रेग्मी, द्वारिका श्रेष्ठ, मोहन कोइरालाका क्लिष्ट कविताहरू खोजी–खोजी पढ्थेँ । नबुझे पनि आफूले पनि नबुझ्ने कविता लेखेरै दङ्ग पर्थेँ । पशुपति कर्माचार्य सँग कविताको संवाद हुन्थ्यो । एक–अर्कामा कविताको आदान प्रदान गर्थेँ ।
रूपरेखा, रचना, अभिव्यक्ति, भानु लगायत अन्य थुप्रै साहित्यिक पत्रिका न्यूरोडको पिपल बोटमा पुग्दा किन्ने गथ्र्यौं । सोख जस्तै थियो साहित्यिक पत्रिका पढ्नु र सङ्कलन नगर्नु; त्यसैले साहित्यिक पत्रिकाहरू सधैँ किन्ने गर्छु ।
क्लिष्ट कविता मनमा राख्दा ताकाको कुरा हो; गोरखापत्रमा सूचना छापे अनुसार रीत पुर्याएर प्रतियोगितामा भाग लिने निवेदन रत्नपार्क भित्र बसेर लेखेँ । र एउटा कविता पनि त्यहीँ कोरकार गरियो । मैले सम्झे अनुसार — “जीर्णोद्धार धरती + मान्छे = म”नामक कविता कोरेँ । आफैँले नबुझ्ने जस्तो कविता कोरियो । दोहर्याएर कविता पढेँ । कविता जस्तो भयो । सेतो कागजमा कविता साफी भयो । भोटाहिटीमा रहेको हुलाकमा निवेदन र कविता खसालियो र मन–मनमा कवि भइयो भन्ने सोच बोकेर घरमा फर्केँ ।
केही दिनपछि कवि सम्मेलन हुने ठाउँ, मिति र समय थाह लाग्यो । नेपाल युवक सङ्गठन, अञ्चल समितिको आयोजनामा भएको उक्त साहित्यिक कार्यक्रम भृकुटी मण्डपस्थित पुलिस क्लबमा हुने भनिएको थियो । कृष्णप्रसाद दुवाल मेरा काइँला दाइ युवक सङ्गठनका सम्बन्धित व्यक्ति भएको हुनाले उनी सम्मेलनका संयोजक हुनु हुन्थ्यो । निर्णायकहरूमा साहित्यकारहरू वासु शशि र भवानी घिमिरे रहनु भएको थियो । आमन्त्रित कविहरू सहित प्रतियोगितामा सामेल हुनुभएका सबै कविहरूको उपस्थिति पुलिस क्लबमा भयो । आयोजकहरूले मलाई एउटा चिठ्ठी थमाई दिए । चिठ्ठीमा के छ केही नहेरीकन पनि मेरो मनमा एक खालको त्रासको जन्म भयो । नेपाल भाषाका अभियन्ता, सरकार विरुद्ध आवाज उठाउँदै आएका युवा भएकै कारणले केही छेक थुन हुने हो कि?अर्थात् मेरो कविता प्रतिबन्धमा पर्यो कि भन्ने डर मनमा मडारी रह्यो । कतै कुनोतिर उभिएर नै पत्र खोली हेरेँ । पत्रमा बधाईका साथ लेखिएको रहेछ — “तपाईंको कविता प्रतियोगितामा तेस्रो भएकोले तपाईँ पुरस्कृत हुने भएकोले कार्यक्रमको पछिसम्म रहनु होला ।” पत्र पढिसकेपछि एक खालको आनन्द अनुभूति भयो । स्कुलमा ख्याल–ख्यालमा कविता सुनाउँदै आएको, साथीभाइको माझमा ‘ओ कवि’को विशेषण पाउँदै र रमाउँदै कविताको यात्रामा आफ्नै ढङ्गले कुदिरहेको एक जना १६ वर्षको युवा म, त्यस कवि गोष्ठीमा अञ्चल स्तरीय कवि भएको पत्र प्राप्त भयो । म निकै रमाएँ । मेरो पालो आएपछि खुसीले मैले कविता वाचन गरेँ । निर्णायकहरू मध्येबाट कवि वासु शशीले वाचित कविताहरूको समीक्षा गर्नु भएको थियो । तेस्रोमा मेरो नाम सुनाउँदै कवि वासु शशीले — “मोहन दुवालको कवितामा मानवीयता छरपस्ट छन्, कवि दुवालको कवितामा मानवता सम्प्रेषित छन् ।” भन्नुभयो । म ज्यादै खुसी भएँ । त्यत्रा कविहरूको हूलमा, अझ काठमाडौँको पुलिस क्लबको सभा कक्षमा विशिष्ट कवि वासु शशीले मेरो कविताको प्रशंसा गरेर नगद रु.३००।– को खाम थामी दिँदा मेरो मानसपटलमा कस्तो खालको सौन्दर्य झुल्यो होला? म आज पनि त्यस बेलाको वातावरण सोचेर बरोबर प्रफुल्लित हुन्थेँ ।
कार्यक्रम सिद्धिएपछि कृष्ण दाइले एक ठाउँमा निर्णायकहरू लाई खाजा ख्वाउने चाँजोपाँजो मिलाइ राख्नु भएको थियो । दाइ सँगै त्यस्ता महान् कविहरू सँग कमलाक्षीमा गएर खाजा खान पाएको दिन ! मेरा लागि अहो भाग्यशील दिन । कविता लेखेर ३००।– रुपियाँ पुरस्कार पाएको दिन । विख्यात नेपालका कविहरूसँग बसेर खाजा खान पाएको दिन; सम्झिँदा पनि गौरव लाग्छ । दाइ र म त्यस दिन बनेपा फर्किन सकेनौँ । दिदीको घर (नक्साल) मा नै रात बितायौँ ।
मनमा जे फुर्यो त्यही कविता बनाउने, विषयको खोजी गर्नु नपर्ने, घटना–प्रसङ्गहरू कल्पेर पनि कोर्न जानेकैले मेरो आफ्नो परिचय त्यस बेला पनि‘कवि’का रूपमा परिचित थिएँ । घरमा पनि दाजुहरू सबैजसो कविता कोर्छन्; समाजसेवा गर्छन् त्यसैको प्रतिफलमा म पनि साहित्यकार, समाज सेवक बन्न पाएको हो जस्तो मलाई लाग्छ । कविता लेख्दै आएपछि कविता बन्दै जाँदो रहेछ । म गद्यमा कविता लेख्छु । प्रतियोगितामा वाचन गरेको कविता पनि गद्यमा नै लिपिबद्ध भएको मेरो क्लिष्ट ढङ्गको कविता हो । पुरस्कृत भएको रातमा गहिरो निन्द्रा नै लागेन । कविमा दर्ता भएको खुसीयालीमा मेरो मन मझेरीमा सुन्दर फूलका सुगन्धमय वासना हरहर आए जस्तो पो हुँदा रहेछन् । सपनामा मेरो बुबाले मलाई अगाडि आएर आशिष् दिए मात्र होइन — “मेरो कोखका कान्छा छोरा पनि कविमा दर्ता भयो ।” ल लत्तो नछोड्, निरन्तर कविता लेख्न मन दर्हो बनाउन सकूँन्, त्यही बाटोमा कुदिरहन सकुन्; नेपालका सबैले चिनिँदो तिमी युगको कवि बन्न सक्षम होस् । यात्रामा थाक्ने नगर ।” सपनाबाट ब्युँझिएँ । म झसङ्ग भएँ; म त काठमाडौँमा दिदीको घरमा पो सुतिरहेको