नेपाली साहित्यिक पत्रकारिताको इतिहासमा जनमतले आफ्नो विशिष्ट पहिचान बनाइसकेको छ । साहित्यिक यात्रामा नेपाली साहित्य जगतलाई जनमतले जे जस्तो योगदान दिएको छ, त्यसको मूल्याङ्कन उच्च छ । व्यक्तिगत प्रयासमा जस्तोसुकै असजिला घडीहरूमा पनि यो यात्रालाई निरन्तरता दिने मोहन दुवालको लगाव र मेहनतले जनमत सयौं अङ्कको गौरवमय अवस्थामा आइपुगेको छ । यसर्थमा जनमतले आफ्नो छुट्टै इतिहास बनाउन सफल भएको छ । नेपाली साहित्यका अध्येता अन्वेषकहरूका लागि जनमतको यो गौरवमय इतिहास एक अध्ययनोपयोगी विषय बन्न पुगेको छ ।
पारिजात, चूडामणि रेग्मी, धुस्वां सायमि र केवलपुरे किसानका विशेष अङ्कहरू प्रकाशित गरिसकेको छ भने दिवंगत स्रष्टाहरूको सम्मानस्वरूप भीमनिधि तिवारी, पारिजात र लैनसिंह वाङ्देल स्मृति अङ्क पनि प्रकाशित गरिसकेको छ । यीबाहेक एक कविता अङ्क र दुईवटा काभ्रेली प्रतिभा अङ्क पनि विशेष अङ्कका रूपमा प्रकाशित भएका छन् । यस लेखमा जनमतका यिनै विशेष अङ्कहरूको सामान्य परिचय दिने प्रयास गरिएको छ ।
१. भीमनिधि तिवारी स्मृति अङ्क :
नेपाली साहित्यमा आफ्नो विशिष्ट स्थान राख्न सफल बहुआयामिक साहित्यकार भीमनिधि तिवारी (१९६८–२०३०) को सम्मानमा २०४६ साउन महिनामा प्रकाशित भीमनिधि तिवारी स्मृति अङ्क जनमतको पहिलो विशेष अङ्क हो । आजीवन सक्रिय साहित्यिक साधनामा लागेपनि तत्कालीन सत्ताधारी वर्गबाट भएको उपेक्षाप्रति विमति जनाउँदै इतिहासको त्यो भूललाई जनताको तर्फबाट सच्याउने कार्य जनमतले गरेको भान हुन्छ । यसको औचित्यलाई जनमतको सोही अङ्कको सम्पादकीयले पनि स्पष्ट पार्दछ – दिवंगत भएर गए पनि अमर व्यक्तित्वहरूप्रति कदर गर्ने क्रममा भीमनिधि तिवारीका सम्पूर्ण कृतिहरूको मूल्याङ्कन गरी उहाँका कृति र देनहरूलाई पहिल्याएर श्रद्धा अभिव्यक्त गर्न सिक्नु हामी सबैको कर्तव्य हो ।
यस अङ्कमा तिवारीको व्यक्तित्व र कृतित्वसँग सम्वन्धित १८ वटा लेख, रचना र संस्मरणहरू प्रकाशित छन् । यसका साथै तीन अन्तर्वार्ता र तिवारीका तीन कविता र केही साहित्यिक टिप्पणीहरू पनि प्रकाशित छन् । प्रकाशित १८ लेखहरूमध्ये आठ समालोचनात्मक टिप्पणीहरू समावेश छन् । जसमा आनन्ददेव भट्टद्वारा तिवारीको २०२८ सालमा प्रकाशित नाटक महाराजा भूपतीन्द्र मल्ललाई ऐतिहासिक तथ्यको नजिक रहेर समीक्षा गरिएको छ । नेपाली व्यङ्ग्य कविता परम्परामा स्मरणीय कृति मानिने विस्फोट (२०१७) कवितासङ्ग्रहप्रति टिप्पणी गर्दै समालोचक हीरामणि शर्मा पौडयालले तिवारीमा पाइने व्यङ्ग्य कौशलको समीक्षा गरेका छन् । अर्को महत्वपूर्ण समालोचना भीमनिधि तिवारीको दु:खद नाट्यकारिता हो । केशवप्रसाद उपाध्यायद्वारा लेखिएको यो समालोचनात्मक लेखमा तिवारीका पाँचवटा दुखान्त नाटकका वस्तु, चरित्र, द्वन्द, रूप आदि तत्वका आधारमा टिप्पणी गर्दै तिवारीले दुखान्त नाट्य विधामा कुनै नवीन योगदान दिन नसकेतापनि उनको दुखान्त चेतको मौलिकताको भने पुष्टि गरेका छन् । यीबाहेक सुशीला भट्ट र राजेन्द्रप्रसाद पौड्यालले तिवारीका साहित्यिक प्रवृत्तिहरूका बारेमा र डी.एस.पीडितले तिवारीको व्यङ्ग्य कृतित्वको समीक्षा गरेका छन् । त्यस्तै फ्रान्सेली विद्वान जाँ फिजाको दृष्टिमा तिवारीको मूल्याङ्कनको चर्चा गरिएको छ धु्रव सापकोटाको लेखमा ।
शंकर कोइराला, बादेपा, विष्णुविभू घिमिरे, मञ्जु काँचुली, बेञ्जु शर्मा र भरतराज पन्तका ६ वटा संस्मरण र सिद्धिचरण श्रेष्ठ, केदारमान व्यथित एवं तिवारी पत्नी श्रीमती भुवनेश्वरी तिवारीसँग लिइएका अन्तर्वार्ताले तिवारीको सक्रिय, सरल र स्वाभिमानी जीवनका विविध सत्यहरूको उद्घाटन गरेका छन् । घटराज भट्टराईले तिवारीको संक्षिप्त जीवनी प्रस्तुत गरेका छन् ।
नेपाली साहित्यमा विभिन्न विधामा गरी करीब चार दर्जन कृतिको योगदान दिएर विशिष्ट स्थान राख्न सफल भीमनिधि तिवारीलाई आजीवन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको सदस्यबाट बञ्चित गरिएको मार्मिक प्रसंगलाई तिवारीकै आत्मसंस्मरण राजकीय प्रज्ञा प्रतिष्ठानमा उल्लेख गरिएका छन् । यस आत्मसंस्मरणले एकातिर तिवारीको स्वाभिमानी व्यक्तित्वलाई प्रकाश पारेको छ भने अर्कोतिर तत्कालीन सत्ताधारीको अकर्मण्यता र पक्षपातपूर्ण व्यवहारको उद्घाटन गरेको छ । तीन कविताबाहेक तिवारीका केही साहित्यिक टिप्पणीहरूलाई पनि यस अङ्कमा समेटिएको छ भने २३ जना विभिन्न नेपाली भाषा र साहित्य क्षेत्रका विद्वानहरूले भीमनिधि तिवारीको कृतित्व र व्यक्तित्वप्रति गरेको टिप्पणीलाई पनि यस अङ्कमा समेटिएको छ ।
२. कविता अङ्क :
साहित्यिक अङ्क (२८–३०) जनमतले कविता अङ्कका रूपमा प्रकाशित गरेको छ । यस विशेष अङ्कमा स्थापित र उदयीमान १३१ नेपाली र ४ जना अन्तर्राष्ट्रिय प्रतिभाहरूका जम्मा १३६ थान कविता, गीत, गजल र मुक्तकहरू प्रकाशित भएका छन् ।
जनमतको यस विशेष अङ्कमा श्यामदास वैष्णव, भरतराज पन्त, धुस्वां सायमि जस्ता पुराना कविहरूदेखि मञ्जुल, अविनाश श्रेष्ठ, तोया गुरूङ, गोपाल पराजुली, रामलाल अधिकारी, भीष्म उप्रेती, विश्वमोहन श्रेष्ठ, विमल भौकाजी, बेञ्जु शर्मा, वियोगी बूढाथोकी, मञ्जु काँचुली, भागिरथी श्रेष्ठ, हेमन्त श्रेष्ठ, श्यामल, नकुल सिलवाल, उदय निरौला, महेश रेग्मी, श्रीहरि फुयाल, पूर्ण वैद्य, दामोदर पुडासैनी, श्रवण मुकारूङ, ललिजन रावल, इन्द्रकुमार श्रेष्ठ सरित, रामप्रसाद ज्ञवाली, राजेन्द्र पराजुली, दुवसु क्षेत्री, विजय बजिमय आदि समकालीन हस्तीहरूका कविताहरू र मनु ब्राजाकी, रवि प्राञ्जाल, सानुराजा श्रेष्ठ अञ्जान आदिका गजलहरूसहित अन्य कवि कवयित्रीका जम्मा १३२ थान कविता, गीत, गजल र मुक्तकका साथै बे्रख्त, पाब्लो नेरूदा, मायकोबस्की, चेरावण्डा राजु आदि विदेशी कविका कवितांश पनि समावेश गरिएको छ ।
सबै विचार, प्रवृत्ति र धारालाई प्रतिनिधित्व गर्ने यस विशेष अङ्कका कविताहरू विविध भाव र संरचनाका छन् । १३२ थान रचनामध्ये १०७ थान गद्य कविता, ९ थान पद्य कविता, ११ थान गजल, ४ थान मुक्तक र २ थान गीत रहेका छन् । यी सम्पूर्ण रचनामध्ये धेरैजसो रचनाले समकालीन नेपाली कविताको केन्द्रीय प्रवृत्तिकै बढी प्रतिनिधित्व गर्छन् । त्यसमा पनि २०४६ सालको राजनीतिक परिवर्तनको अगाडि र पछाडिका सामाजिक, राजनीतिक परिवेश कविताहरूमा बढी मुखरित भएका छन् । ३० वर्षे निरंकुश शासनतन्त्र विरूद्ध उठेका हातहरूप्रति ऐक्यवद्धता र जनताको नयाँ झण्डा सर्वत्र फर्रफराएको हेर्ने चाहना कविताहरूमा पोखिएको पाइन्छ । परिवर्तनको युद्धमा होमिंदा शहीद बनेकाहरूप्रति श्रद्धा र सम्मानभाव पनि कविताहरूमा व्यक्तिएका छन् । परिवर्तनले दिएको यो उल्लासपूर्ण गर्भिणी मनमा आशङ्काको काँडाले नघोचोस् भन्ने सदीच्छा केही कविताहरूमा पाइन्छ । एकातिर यस्ता सकारात्मक चिन्तन पनि कवितामा मुखरित भएका छन् भने अर्कातिर २०४६ सालको राजनैतिक परिवर्तनको लगत्तैपछि देखापरेको विकृति र विसङ्गतिजन्य परिवेश पनि कविताहरूमा झल्किएका छन् । परिवर्तनसँगै आफ्नो पुरानो कोट फ्याँकेर नयाँ कोट लगाउने अवसरवादीहरू, चुनाव र सत्ताको विकृतिजन्य राजनीतिले जन्माएका नवसामन्तहरू, बोलाइमा आवाज नभेटिने राजनेताहरू, वीरता टेकेर माथि पुगेकाहरू, कुर्सीका पुजारीहरू, आमाको चिहानमाथि हिउँदे गोठ बनाउने काजीहरू, परिवर्तनको घामले पनि नतातेका पिँजडाका सुगाहरूका कारण नौलो घाम ताप्ने आशामा निराश बनेकाहरू यस्ता धेरै कविताका विषयवस्तु बनेका छन् ।
यस अङ्कमा समावेश कविताहरूको अर्को प्रवृत्ति युगीन विडम्वनाहरूप्रतिको विसंगतपूर्ण प्रस्तुति हो । अभाव, शोषण र महत्वाकांक्षाले चिथोरिएर अशान्त र कुरूप बनाइदिएको विसंगतपूर्ण अवस्थामा, आधुनिकतासँगै आएको यान्त्रिकता, हरमोडमा सम्झौतामा बाँच्नुपर्ने जीवन आदिप्रतिको असन्तुष्टि, पलायन, निराशा यस्ता कविताका साझा प्रवृत्तिका रूपमा आएका छन् ।
त्यस्तै वर्तमान विश्वजनीन व्यथाहरू पनि केही कवितामा प्रतिध्वनित भएका छन् । शक्तिशालीहरूबीचको शक्तिसंघर्ष र त्यसले थोपरेको युद्धद्वारा सिर्जित समस्याहरू, युद्धप्रतिको असन्तुष्टि र विरोध एवं व्यङ्ग्यका स्वरहरू पनि यी कवितामा आएका छन् । यीबाहेक मानवीय संवेदनाका विविध पक्षहरू, जीवन व्यवहारका अनेक सन्दर्भहरू, राष्ट्रप्रेम, दार्शनिकता आदि प्रवृत्तिसमेत यी कवितामा पाउन सकिन्छ ।
कविताहरूका साथसाथै यस अङ्कमा कविता लेखनका सम्वन्धमा १७ जना कवि कवयित्रीहरूका कविता अनुभूति र उनीहरूको काव्य यात्राको जानकारीसमेत समावेश गरिएको छ । समकालीन नेपाली कविताका सक्रिय हस्ताक्षरहरूका यी विचारहरूले कविता मानवीय पीडा र संवेदनाहरूको सार्थक अभिव्यक्ति भएको पुष्टि गर्दछन् ।
३. पारिजात विशेषाङ्क :
जनमतको वर्ष १०, साहित्यिक अङ्क ४३–४५, २०४९ साउन–असोज अङ्क साहित्यकार पारिजात विशेष अङ्कका रूपमा प्रकाशित भएको छ । आधुनिक नेपाली साहित्यकी सशक्त हस्ताक्षर पारिजातलाई जनमतले यस अङ्कमा साहित्यिक तपस्विनीको विशेषण दिएको छ, जुन अत्युक्ति लाग्दैन ।
यस अङ्कमा पारिजातको कृतित्वमाथिका ६ थान समालोचना र ८ थान टिप्पणीहरू समावेश छन् । समालोचना विधाअन्तर्गत रञ्जुश्री पराजुलीले पारिजातको मैले नजन्माएको छोरो कथालाई नारी मानसिकतासँग तुलना गरी लेखिएको समालोचना यस अङ्कको पहिलो समालोचना हो । त्यस्तै समालोचना खण्डअन्तर्गत नै रामहरि पौडयालले २०३६ सालपछिको समसामयिक नेपाली राजनीति र सामाजिक परिवेशको सापेक्षतामा माक्र्सवादी कोणबाट साल्गीको बलात्कृत आँशु कथासङ्ग्रहको समालोचना गरेका छन । पारिजातको चर्चित उपन्यास शिरीषको फूलले नारीको स्वाभाविक अस्तित्वबोध भन्दा पुरूषको अस्तित्वबोधलाई पाखण्डी रूपमा अघि सारेको निष्कर्ष राजेन्द्र सुवेदीले शिरीषको फूल उपन्यासभित्र उपन्यासकार पारिजात शीर्षक समालोचनामा दिएका छन् । देवीप्रसाद सुवेदीले बोनी लघुउपन्यासको चर्चा गर्दै सो उपन्यास पारिजातको अतिपरिस्कृत आख्यानात्मक गद्यलेखन माथिको अर्को थप सफलता भएको निष्कर्ष निकालेका छन् भने शिवप्रसाद सत्याल पीठले चाहिँ बोनीमा पारिजातको वैचारिक विचलन भएको तर्क अघि सारेका छन् । इन्द्रकुमार श्रेष्ठ सरितले मनोविश्लेषणको कसीमा मैले नजन्माएको छोरो कथाको समीक्षा गरेका छन् । गोपीकृष्ण शर्माले पारिजातको समग्र आख्यानकारिताको चर्चा गर्दै उनलाई दुई विपरित धारा र मान्यतामा उत्तिकै सफल आख्यान रचना गर्ने नारीप्रतिभा मानेता पनि उनका उत्तरवर्ती उपन्यासहरूले शिरीषको फूलको उचाइलाई छुन नसकेको तर्क दिएका छन् ।
यस अङ्कमा पारिजातको व्यक्तित्व र कृतित्वप्रति विभिन्न विद्वानहरूका आठ थान टिप्पणी पनि समावेश गरिएका छन् । टिप्पणीको क्रममा यज्ञनिधि दाहालले सामयिक लेखनको भीडमा पारिजातलाई विशिष्ट स्थानमा राखेका छन् । खगेन्द्र संग्रौलाले पारिजातका सबल र दुर्बल पक्षहरूको तर्कपूर्ण समीक्षा गर्दै उनको गौरवमय जीवनको प्रशंसा गरेका छन् । घटराज भट्टराई र जयदेव भट्टराईले पारिजातका साहित्यिक प्रवृत्ति र योगदानको छुट्टाछुट्टै लेखमा उल्लेख गरेका छन् । देवीप्रसाद गौतमको लेखमा पारिजातको समग्र सिर्जनात्मक व्यक्तित्वमाथि प्रकाश पार्दै आख्यानको क्षेत्रमा उनी सर्वोत्तम स्रष्टा भएको टिप्पणी गरेका छन् । आनन्ददेव भट्ट, डा. तुलसीप्रसाद भट्टराई र शक्ति लम्सालले पनि आ–आफ्नो लेखमा पारिजातको जीवनका विभिन्न पाटोहरूका साथै उनको साहित्यिक विशेषता र योगदानको चर्चा गरेका छन् ।
श्यामप्रसाद, हरिहर खनाल, कृष्णप्रसाद पराजुली, डा. केशव उपाध्याय, निर्मोही व्यास, हारूहितो नोजू, कुलमानसिंह भण्डारी, बासुदेव अधिकारी, श्यामदास वैष्णव, विनयकुमार कसजू र डा. अरूणा उप्रेतीका पारिजातसँगका संस्मरणहरूले उनको जीवनका कतिपय पक्षहरूको उल्लेख त गरेका नै छन् साथसाथै स्वाभिमानी र निर्भिक स्रष्टाका रूपमा चिनिएकी पारिजातको यो परिचयले राम्रैसँग पुष्टि गरेका छन् । पारिजातका आत्मसंस्मरणहरूले उनको संघर्षशील जीवनका मार्मिक पक्षहरू उजागर गरेका छन् भने उनीसँग जनमतले लिएको अन्तर्वार्ता उनको साहित्यप्रतिका विविध दृष्टिकोणहरू प्रष्ट्याउन समर्थ छ । यी रचनाहरूका अतिरिक्त पारिजातद्वारालिखित केही कवितांश र पारिजातप्रति समर्पित रामप्रसाद ज्ञवाली, रामशरण खरेल र आर.एल. श्रमजीवीका कविताहरू पनि समावेश छन् । पारिजातको यो अङ्क नेपाली स्नातकोत्तरका लागि सन्दर्भ ग्रन्थका रूपमा सूचिकृत भएको छ ।
४. पारिजात स्मृति विशेषाङ्क :
जनमतको पूर्णाङ्क (६८–७१) पारिजात स्मृति विशेषाङ्कका रूपमा प्रकाशित छ । त्यसो त जनमतले यसभन्दा अगाडि (४३–४५) अङ्क पारिजात विशेषाङ्कको रूपमा प्रकाशित गरिसकेको थियो, जुन अङ्कलाई पारिजात स्वयंलाई विशेष अभिनन्दन गरी हस्तान्तरणसमेत गरिएको थियो । पारिजातको निधनपश्चात पनि पारिजातको योगदानको अभिनन्दन गर्ने जमर्को गरी जनमतले बहुआयामिक साहित्यकार पारिजातको अमरत्वप्रति सम्मान व्यक्त गर्ने काम गरेको छ ।
यस अङ्कका प्रायजसो लेख–रचनाहरू साभार छन् । साभार लेख–रचनाहरू भएता पनि पारिजातको बहुआयामिक व्यक्तित्वको प्रकाश पार्ने यी रचनाहरू साहित्यका अध्येताहरूका निमित निकै उपयोगी छन्, जुन पाठकले एउटै सङ्ग्रहमा पाएका छन् ।
यस अङ्कमा पारिजातका बहुचर्चित दुई कविता जीवन एक बेवारिसे मृत्युको मुचुल्का र आन्दोलन समावेश गरिएका छन् भने दुर्गालाल, शार्दूल भट्टराई, प्रमोद स्नेही, रमेशप्रसाद सागर, गुराँस श्रेष्ठ, रघुराम न्यौपाने र गोपाल निर्भिक बन्धुद्वारा लेखिएका पारिजातप्रति समर्पित कविताहरू पनि समावेश छन् ।
पारिजातको लेखकीय व्यक्तित्व र उपलब्धीहरूको चर्चा गर्ने क्रममा विभिन्न ख्यातिप्राप्त विद्वानहरूले विभिन्न वैचारिक कोणबाट आफ्ना टिप्पणीहरू प्रस्तुत गरेका छन् । पारिजातका बारेमा व्यक्त यी विविधतम् दृष्टिकोण संयोजन गरी पाठकले सिङ्गो पारिजातको व्यक्तित्वको सुस्पष्ट बिम्ब आफ्नो मस्तिष्कमा उतार्न सक्छ ।
मोदनाथ प्रश्रित, मोहनविक्रम सिंह, हरिगोविन्द लुइँटेल, अशेष मल्ल, डा. ऋषिराज बराल, जंगब चौहान, देवीप्रसाद सुवेदी, नारायण ढकाल, निनु चापागाईं, मोहन दुवाल, शैलेन्द्र साकार, बादेपा, कुन्दन अर्याल, गोविन्द वर्तमान, रत्ननिधि रेग्मी, खिमानन्द पोखरेल, राजकुमार केसी, डि.आर. पौडेल, सन्तोष आचार्य, सविन शाक्य, दीपक शर्मा, बलराम तिमल्सिना आदि विभिन्न व्यक्तित्वहरूले जुनसुकै कोणबाट आ–आफ्नो दृष्टिपात गरेतापनि निष्कर्षत: पारिजातको उच्च साहित्यिक प्रतिभा, सुन्दर भाषाशैली, स्वाभिमानी जीवन भने उदाहरणीय बनेको देखिन्छ । यीबाहेक राष्ट्रिय जीवनका विभिन्न व्यक्तित्वहरू र पत्रपत्रिकाले पारिजातको निधनमा दिएका अभिव्यक्ति र समवेदनाहरूसमेत संकलन गरी जनमतले महत्वपूर्ण कार्य गरेको छ ।
यस अङ्कमा संस्मरणहरू पनि समावेश गरिएका छन् । पारिजातसँग लामो उठबस रहेका कलाकार रायन, रमेश विकल, ललिजन रावल, पेनर्जीन, धु्रवचन्द्र गौतम, कृष्ण सेन, मेरिल्याण्ड विश्वविद्यालयकी प्राध्यापिका मार्गेट स्याण्डस, सञ्जय थापा, रघु पन्त, ज्ञानेन्द्र विवश, अनिल श्रेष्ठ, बा. अ. कनकद्वीप, कुण्ड टण्डन, दुवसु क्षेत्री, शोभा गौतम, बबिता बस्नेत, गोविन्द गिरी प्रेरणा र आर.एल. श्रमजीवीका संस्मरणहरूले पारिजातको जीवनका विभिन्न सन्दर्भहरूको प्रकाश पार्ने काम गरेका छन् । रामप्रसाद ज्ञवालीको पारिजातको मृत्युप्रसङ्गको मार्मिक डायरी र चूडामणि रेग्मीको पारिजातको वास्तविक जन्ममितिको खोज पनि यस अङ्कका आकर्षण हुन् ।
५. काभ्रेली प्रतिभा अङ्क – १
जनमत मासिकले राष्ट्रियस्तरमा आफ्नो पहिचान बनाउन त सफल छ नै साथसाथै यसले काभ्रे जिल्लाका प्रतिभाहरूको साहित्यिक प्रतिभाको विकासमा पनि महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । २०५०/५१ (चैत्र–जेठ) को काभ्रेली प्रतिभा (अङ्क १) यसैको एक उदाहरण हो । यस अङ्कमा काभ्रे जिल्लामा जन्मिएका र काभ्रे जिल्लालाई आफ्नो कर्मथलो बनाएका पुराना स्थापित स्रष्टादेखि नयाँ स्रष्टाहरूसम्मका रचना प्रकाशित भएका छन् । गणितीय हिसाबले यस अङ्कमा बीस थान कविता, दुई थान गजल, तीन हाइकु, एक थान गीत, छ थान कथा/लघुकथा र एघार थान निबन्धात्मक लेख गरी जम्मा ४३ थान लेख रचना प्रकाशित छन् ।
कविता विधाअन्तर्गत कृष्णप्रसाद पराजुली, जनकप्रसाद हुमागाईं, रमेश खकुरेल, किरण खरेल, कृष्णप्रसाद दुवाल, अर्जुन पराजुलीजस्ता राष्ट्रिय रूपमै स्थापित स्रष्टाहरूदेखि निर्मल श्रेष्ठ, सुमन वैद्य, अशोक व्याञ्जू, रत्नप्रसाद श्रेष्ठ, रमेशप्रसाद सागर, सरस्वती चिमौरियाजस्ता उदीयमान काभ्रेली प्रतिभाका कविता, गीत, हाइकू र मुक्तक प्रकाशित छन् । त्यस अङ्कमा प्रकाशित कवितामध्ये कृष्णप्रसाद पराजुलीको हिमालको पानी बगेकै छ कविता राष्ट्रवादी भावनाले ओतप्रोत छ, रमेश खकुरेलले आफ्नो कवितामा कविताको सौन्दर्य गाएका छन्, अर्जुन पराजुली बजेटलाई व्यङ्ग्यात्मक बिम्ब दिन पुगेका छन्, जनकप्रसाद हुमागाईंले पनि राष्ट्रिय भावना पोखेका छन् । यीबाहेक किरण खरेलको गीत र कृष्णप्रसाद दुवालका बालकविताहरू पनि यस अङ्कमा प्रकाशित छन् । नयाँ पुस्ताका कविमध्ये निर्मल श्रेष्ठको कवितामा विसंगत वर्तमानको चित्रण पाइन्छ । सुमन वैद्यले मिचिएको राष्ट्रिय स्वाभिमानको बारेमा आवाज उठाएका छन् । अशोक व्याञ्जू बलिदानको अर्थ खोज्छन् भने सरस्वती चिमौरियाले मान्छेको मूल्यको खोजी गरेकी छिन् । रत्नप्रसाद श्रेष्ठका गजल र रमेशप्रसाद सागरका हाइकूमा समसामयिकता पाइन्छन् । अम्बुभवानी कार्की, गोपाल पराजुली, विश्वनाथ ताम्राकार, रामेश्वर श्रेष्ठ, सोमकाजी शाक्य, विश्वनाथ दाहाल, कृष्णकुमार वैद्य, नारायणदास उलक, दीपक थापा, चञ्चला सरकार, शितल शर्मा, प्रदीप केसी, मंगल श्रेष्ठ यस अङ्कमा अन्य कवि, गीतकार र मुक्तककारका रूपमा देखा पर्दछन् ।
यस अङ्कका कथा–लघुकथा कविताका दाँजोमा केही फितला छन् । सत्यश्वर मकैको समर्पण कथा अन्य कथाको तुलनामा केही राम्रो भएपनि अन्यचाहिं कमजोर नै छन् । यस अङ्कमा अन्य कथाकारहरूमा बलराम तिमल्सिना, चतुर्भूज तिमल्सिना, केदार अवा र रामेश्वर सिलवाल हुन् ।
लेख–निबन्धतर्फ बी. कौडिन्यको बेरोजगारको डायरीमा वर्तमान समयमा बेरोजगार बौद्धिकहरूको दैन्दिनीको मार्मिकता पाइन्छ । नेपाली इतिहास लेखनमा वैज्ञानिक र नवीन दृष्टिकोण अघि सार्ने इतिहासकार केदारनाथ प्रधानद्वारा नेपालको सन्दर्भमा इतिहास र यसको नालीबेलीमा नेपालमा इतिहास लेखनको परम्पराको चर्चा गरिएको छ । माधवप्रसाद सत्यालले लेखेको स्व. नरबहादुर भारतीको जीवनी पनि खोजपूर्ण देखिन्छ । रामप्रसाद ज्ञवालीको मत अभिमत खण्ड १ को समीक्षा यस अङ्कको एकमात्र समीक्षा हो । यस अङ्कका अन्य निबन्धकारहरू विनित मनस्वी, शारदाप्रसाद शर्मा, दीपक शर्मा, दिनेश सेवाचार्य, अनन्तप्रसाद वाग्ले र गीता न्यौपाने हुन् ।
६. काभ्रेली प्रतिभा अङ्क – २
२०५१ असार–भाद्र अङ्कको रूपमा प्रकाशित यस विशेषाङ्कमा पनि काभ्रे जिल्लाका प्रतिभाहरूलाई समेटिएको छ । यस अङ्कमा २९ कविता, ४ मुक्तक र १ नाटक प्रकाशित छन् । यस अङ्कको महत्वपूर्ण लेख कृष्णप्रसाद पराजुलीद्वारा लिखित ३३ जना काभ्रेली स्रष्टाहरूको परिचय हो । यस आलेखमा भानुभक्तपूर्वका महत्वपूर्ण प्रतिभा वसन्त शर्मा (जन्म १८५५) देखि लिखत पाण्डे (२०१९) सम्मका ३३ जना स्रष्टाहरूको साहित्यिक व्यक्तित्वको चर्चा गरिएको छ ।
केदारनाथ प्रधान, केवल श्रेष्ठ, कविप्रसाद प्याकुर्याल, इन्द्र नकर्मी, गोपाल ज्ञवाली, रामकृष्ण अधिकारी, आरएल श्रमजीवी, पद्मप्रसाद मैनाली, रामहरि न्यौपाने, चेतन काफ्ले, गुराँस श्रेष्ठ, इन्द्रप्रसाद अधिकारी, उषा मानन्धर, विना श्रेष्ठ, देवकृष्ण श्रेष्ठ, रवीन्द्र शर्मा, लीलाभक्त प्रधानाङ्ग, सालिकराम घिमिरे, जनार्दन रिजाल, मिमला शर्मा, जगन्नाथ केसी, शुभलक्ष्मी मानन्धर, पुरूषोत्तम ताम्राकार, विनयकृष्ण कायस्थ, ज्योतिचन्द्र शाक्य यस अङ्कका कवि प्रतिभा हुन् । यसका अतिरिक्त सूरजकुमार सापकोटाको नाटक विदापछिको भेट, यादव थापा र इन्द्र लामाका निबन्ध र सिर्जना दुवाल, केपी व्याञ्जू र मुकुन्दप्रसाद दाहालका कथा लघुकथा पनि यस अङ्कमा प्रकाशित छन् । यो अङ्क साहित्यिक दृष्टिले अन्य अङ्कझैं त्यति उच्चकोटीको नदेखिएतापनि काभ्रेली साहित्यको एउटा कालखण्डलाई प्रतिनिधित्व गरेको कारण महत्वपूर्ण चाहिँ छ ।
७. चूडामणि रेग्मी अङ्क :
२०२६ सालदेखि हालसम्म पनि निरन्तर रूपमा जूही जस्तो स्तरीय साहित्यिक पत्रिका प्रकाशन गर्दै भाषा, साहित्य एवं शिक्षा सेवामा लाग्दै आएका चूडामणि रेग्मीको यो योगदान र निरन्तरताको कदरस्वरूप जनमतले २०५४ असार अङ्क चूडामणि रेग्मी विशेष अङ्कको रूपमा प्रकाशित गरेको छ । विभिन्न विधाका एकदर्जन भन्दा बढी कृतिका लेखक एवं जूही, युगज्ञान, यथार्थ कुरा जस्ता पत्रिकाका सम्पादक भएर भाषा र साहित्यको निरन्तर सेवा गरेतापनि मोफसलमा भएकै कारण पर्याप्त कदर नभएका रेग्मीको विशेष अङ्क प्रकाशित गर्नुले जनमतको इमान्दारिता प्रष्टिन्छ । अघिल्ला विशेष अङ्कहरूमा झैं यस अङ््कमा पनि चूडामणि रेग्मीको व्यक्तित्व र कृतित्वमाथि २० थान टिप्पणी र समीक्षा एवं रेग्मीद्वारालिखित रचनाहरू प्रकाशित छन् ।
मोहन दुवाल, विष्णुप्रसाद कोइराला र भरत कोइरालाले भाषा र साहित्यको विकासमा समर्पित चूडामणि रेग्मीको जीवनका विविध पाटाहरूलाई आ–आफ्ना लेखमा समेटेका छन् । समालोचनातर्फ जीवेन्द्रदेव गिरीले चूडामणि रेग्मीको भाषिक योगदानको चर्चा गरेका छन् । यसक्रममा गिरीले झर्रोवादी आन्दोलनदेखि भाषिक अध्ययन अनुसन्धान र भाषिक उत्थानमा रेग्मीको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्नुका साथै भाषिक चिन्तनमा रेग्मीको नयाँ दृष्टिकोणको सविस्तार चर्चा गरेका छन् । गंगाप्रसाद अधिकारीले समालोचकका रूपमा रेग्मीका विशेषता र योगदानको व्याख्या गरेका छन् । रामप्रसाद ज्ञवालीले रेग्मीको व्यङ्ग्यात्मक सवाईसङ्ग्रह गजवाष्टक १०८ का सवल र दुर्वल पक्षहरूको सन्तुलित टिप्पणी गरेका छन् । मधुसूदन गिरीले सामाजिक यथार्थवादी कथाकारका रूपमा चूडामणि रेग्मीको मूल्यांकन गरेका छन् । रोहिणीविलास लुइँटेलले रेग्मीद्वारालिखित यक्षको पोखरा प्रवासलाई कालिदासको मेघदूतको सापेक्षतामा तुलना गरेका छन् । नेपाली व्याकरण वर्णविन्यासमा आफ्नै मौलिक चिन्तन अघि सार्ने रेग्मीको नयाँ वर्णविन्यासप्रति टिप्पणी गर्दै डा. माधवप्रसाद पोखरेलले वर्णविन्यासको सरलीकरण र नियमित गर्ने उनको प्रयासलाई प्रशंसनीय मानेका छन् । चूडामणिकै २०५० सालमा प्रकाशित पारिजात : परिचय र मूल्यांकनको समीक्षा गर्ने क्रममा रविलाल अधिकारीले उनको समालोचना क्षमताको व्याख्या गरेका छन् । कृष्णप्रसाद पराजुलीले चूडामणिको भावना लघुकाव्य संग्रहमाथि प्रकाश पार्दै उक्त कृतिले चूडामणिलाई एउटा कवि कोइलीका रूपमा उभ्याएको बताएका छन् । कृति समीक्षाकै क्रममा धर्मराज अधिकारीले समालोचनात्मक कृति कृति र कृतीमाथि र चूडामणि वशिष्ठले युगज्ञान पत्रिकामा गफाडीको पातो स्तम्भमा रेग्मीले लेखेका निबन्धात्मक रचनाहरूको मूल्यांकन गरेका छन् । त्यस्तै सरोज ओलीले मेरी दिदी काव्यमाथि, होम सुवेदीले रेग्मीका मुक्तकहरूमाथि, शम्भुप्रसाद ढकालले रेग्मीका निबन्धहरूमाथि, गंगाराम ढुंगेलले रेग्मीको कथाकारितामाथि र अनन्तप्रसाद वाग्लेले गजवाष्टक १०८ माथि चर्चा गरेका छन् भने द्रोणकुमार उपाध्यायले जूहीमा चूडामणि र भाषिक चिन्तन लेखमा रेग्मीको भाषिक चिन्तनको चर्चा गरेका छन् । नरेन्द्र चापागाईंले समग्रतामा नेपाली भाषा र साहित्यमा चूडामणि रेग्मीको व्यक्तित्व र योगदानको चर्चा गरेका छन् ।
प्रस्तुत अङ्कको संस्मरण खण्डमा विभिन्न व्यक्तिहरूले चूडामणि रेग्मीसँगका आफ्ना संस्मरणहरू प्रस्तुत गरेका छन् । बोधकुमारी रेग्मी, कुलमानसिंह भण्डारी, ऋषिराम न्यौपाने, श्यामप्रसाद, जनकप्रसाद हुमागाईं, वासुदेव अधिकारी, भक्तबहादुर नेपाली, डम्बर घिमिरेका विभिन्न सन्दर्भका संस्मरणहरूले रेग्मीको मेहेनती, मिलनसार, स्पष्ट र भाषासाहित्यसेवी व्यक्तित्वलाई प्रष्ट्याएको छ । यसका साथै विभिन्न विद्वान व्यक्तित्वहरूद्वारा व्यक्त अभिव्यक्तिहरूले रेग्मीको व्यक्तित्वलाई उजागर गरेका छन् । यसै अङ्कमा समावेश विद्वान गोविन्द भट्टको सम्पादक मोहन दुवाललाई चूडामणि रेग्मीका सम्वन्धमा लेखिएको चिठीले रेग्मीको महत्वलाई अझै प्रष्ट्याएको छ ।
८. धुस्वां सायमि विशेषाङ्क
जनमतको वर्ष १७, साहित्यिक अङ्क ७०, २०५६ चैत्रको अङ्क धुस्वां सायमि विशेष अङ्कका रूपमा प्रकाशित छ । गंकी जस्तो बहुचर्चित उपन्यासका लेखक तथा नेपाली, नेवारी र हिन्दी तिनै भाषामा कुशलतापूर्व कलम चलाउन सक्ने लेखक धुस्वां सायमिको व्यक्तित्व र कृतित्व झल्कने विभिन्न लेख, समीक्षा, टिप्पणी र संस्मरणहरू यस अङ्कमा प्रकाशित छन् । यो अङ्क नेपाली, नेवारी र हिन्दी गरी तीन भाषिक खण्डमा विभाजित छ ।
नेपाली खण्डअन्तर्गत दीपकमणि दाजुभाइद्वारा कवि धुस्वांका हिन्दी भाषाबाट अनुदित तीन कविता घाउ, प्रत्यागमन र पलायन शीर्षक कविताहरू समावेश गरिएका छन् भने बाहिरी आवरणमा पनि धुस्वांको जनताको आवाज शीर्षकको कविता राखिएको छ । त्यस्तै यस खण्डमा धुस्वांद्वारालिखित कथाहरू एउटा जङ्गबहादुरको मृत्यु, यो कथा होइन, बासी आगो हुस्सु भइदियो र गट्टी, संस्मरणहरू म, मेरा कविता र राजा र सम्झनाका हरफहरू, लेख धर्म, नेपाल संस्कृति र फ्रीक स्ट्रीट, स्वीकारोक्ति, गंकी मेरो पर्याय बनेको छ, समीक्षा भूमिकाहरू सचेतका धूनहरू, मृगतृष्णा र अन्य कविता, परिवेश र म तथा जला उपन्यासको एक अंश प्रकाशित छन् । यी सबै रचनाहरू धुस्वांको लेखनीको परिचय दिन समर्थ छन् । म, मेरा कविता र राजा शीर्षकको संस्मरणले शासक सामु नझुक्ने धुस्वांको निडर र स्वाभिमानी व्यक्तित्वको रोचक ढङ्गले पुष्टि गरेको छ । बासी आगो हुुस्सु भइदियो सबल यौन मनोविश्लेषणात्मक कथा हो ।
नेपाली खण्डअन्तर्गत नै समालोचक रामप्रसाद ज्ञवालीले सामयिको हिन्दी भाषामा प्रकाशित कविताका जंगल (२०५५) कवितासङ्ग्रहप्रति गरेको समालोचना समावेश छ । ज्ञवालीले सायमिको सो कृतिको भावपक्षको अभिव्यक्तिमा केन्द्रित रहेर उक्त कृति वेदना, आक्रोश र असन्तुष्टिको अभिव्यञ्जना भएको निष्कर्ष निकालेका छन् । निरर्थकता, अनस्तित्व र शून्यताबोध गर्ने कवित्वको प्रगाढता पाइने निष्कर्ष निकालेका छन् । त्यस्तै सायमिको उयन्यास लेखनबारे समीक्षा गर्दै कृष्ण गौतमले उनको औपन्यासिकताको जग यौन र आर्थिक समस्या भएको टिप्पणी गरेका छन् । गौतमले सायमिका उपन्यास गंकी र मंगाको उच्च मूल्यांकन गर्दै पछिल्ला कृतिमा भने पुरानै कृतिको आवृत्तिशीलता बढी पाइएको आरोपसमेत लगाएका छन् । नेत्र एटमले आधुनिक समयमा जन्मँदैमा कोही आधुनिक हुन सक्दैन, उसको चेतनाको स्तर नवीन हुनुपर्छ भन्ने तर्कका आधारमा कवि धुस्वां काव्यिक चेतनाका हिसाबले आधुनिक, समकालीन र तन्नेरी भएको र उनको काव्यिक समयले यान्त्रिक समयका पर्खालहरू भत्काउने क्षमता राखेको टिप्पणी गरेका छन् । नेपाली भाषामा भन्दा नेपालभाषामा बढी चर्चित धुस्वांको जि भ्वातिं जि सत: (म दासी, म सत्तल) उपन्यासको समीक्षा गर्ने क्रममा डा. जनकलाल वैद्यले उनको कवितात्मक गद्य भाषाको प्रशंसा गरेका छन् । यसै अङ्कमा सायमिको सर्वाधिक चर्चित उपन्यास गंकीबारे ताना शर्माले गरेको पुरानो समालोचना पुन: प्रकाशित छ । शर्माले गंकी उपन्यास नेपालको पहिलो मनोविश्लेषणात्मक कृति भएको उल्लेख गर्दै यो उपन्यासलाई भ्यादिमिर नाबोकोभको लोलिटा र दस्तोएभ्स्कीको नोट्स अफ अण्डरग्राउण्ड र जुम्ल्याहा उपन्यासको समकक्षमा उभ्याएका छन् । जगन्नाथ उपाध्यायले म एउटा गोमा उपन्यासमाथि, गोपीकृष्ण शर्माले शब्दोंका जंगलमाथि गरेको समालोचना साथै चित्तरञ्जन नेपालीले मतिना उपन्यासबारे गरेको पुरानो समीक्षा पनि यस अङ्कमा समावेश गरिएका छन् । परशु प्रधान, धु्रवचन्द्र गौतम, गोविन्द गिरी प्रेरणा, गार्गी शर्मा, माधवलाल कर्माचार्य, दीपकमणि दाजुभाइका टिप्पणीहरूले धुस्वांलाई विद्रोही र वैचारिक कविका रूपमा चिनाएका छन् । मोहन दुवाल र रोशन श्रेष्ठले आफ्ना लेखमा सायमिको व्यक्तित्वको चर्चा गरेका छन् । उत्तम नेपाली, शिव ढकाल, रामशरण खड्का, कृष्णप्रसाद पराजुली, आशाकाजी सेवक, जनक हुमागाईं, देवीलाल श्रेष्ठ, अनन्त वाग्ले र रामराजा धौभडेलका संस्मरणहरूले साहित्यसेवी सायमिको व्यक्तित्वलाई चिनाउँछन् । मोहन दुवाल र गायत्री विष्टले सायमिसँग लिएका अन्तर्वार्ताहरू पनि महत्वपूर्ण छन् ।
यस अङ्कको दोस्रो खण्ड नेपालभाषा खण्डको रूपमा रहेको छ । यस खण्डअन्तर्गत नेपाल भाषामा लेखिएका सायमिका ६ थान कविता र २ थान संस्मरण प्रकाशित छन् । त्यस्तै डा. कमलप्रकाश मल्लद्वारा सायमिको औपन्यासिक व्यक्तित्व र विशेषताको चर्चा गरिएको समालोचना, सुन्दरकृष्ण जोशीद्वारा पासा उपन्यासको समालोचनासहित कृष्णचन्द्रसिंह प्रधानले नेपालभाषाको उपन्यास परम्परामा केन्द्रित भएर सायमिको उपन्यासकारिताको चर्चा गरेको समालोचना प्रकाशित छन् ।
हिन्दी खण्डमा पनि सायमिका चार थान हिन्दी कविता समावेश छन् । यस खण्डमा अखिलेश मिश्रद्वारा शब्दोंका आकाशप्रति गरिएको समीक्षासहित अमृता प्रीतम र नन्दकिशोरद्वारा सायमिसँग लिइएका दुई अन्तर्वार्ता पनि समावेश छन् । हिन्दी साहित्यकी चर्चित हस्ताक्षर प्रितमले सायमिसँग लिएको अन्तर्वार्ता महत्वपूर्ण छ, जसले सायमिको साहित्यिक उचाइको परिचय दिएको छ ।
९. लैनसिंह बाङ्देल स्मृति अङ्क :
वर्ष २०, साहित्यिक अङ्क ८९, २०६० चैत्रमा प्रकाशित यस स्मृति विशेष अङ्कमा नेपाली कला र साहित्यका शिखर व्यक्तित्व लैनसिंह बाङ्देलको योगदान र व्यक्तित्वमाथि प्रकाश पार्ने ४५ वटा लेखरचनाहरूसहित बाङ्देलद्वारालिखित आठ वटा रचनासमेत सामेल गरिएका छन् । लैनसिंह बाङ्देल विशेषाङ्क निकाल्ने तयारीमा जुट्दाजुट्दै बीचैमा बाङ्देलको निधन भएपछि विशेषाङ्क स्मृति अङ्कमा परिणत भएको जानकारी पाइन्छ । सायद यही कारणले होला यस अङ्कमा प्रकाशित प्राय लेख रचनाहरू साभार छन् । जे भएता पनि नेपाली कला साहित्यका अविष्मरणीय प्रतिभा बाङ्देलको बारेमा पूर्ण जानकारी दिन यो अङ्क सफल छ भन्नु अत्युक्ति नहोला ।
यस अङ्कमा बाङ्देलका साहित्यिक धारणाहरू, नेपालको प्राचीन कला एक मूल्यांकन, किराँतकालिन मूर्ति, नेपाली चराहरू जस्ता निबन्धात्मक लेखका साथै एक समयको कथा, बङ्गाली उपन्यासकार शरदचन्द्र चटर्जीको विदेशमा सम्झना, लीजा, प्रोफेसर टुची र रोमको रेष्टुराँ र सम्झनाका तीन टुक्रा जस्ता संस्मरणात्मक लेखहरू पनि समावेश गरिएका छन् ।
त्यस्तै मोहन दुवाल र सुषमा आचार्यले बाङ्देलको जीवनवृत्तको संक्षिप्त परिचय दिएका छन् भने नरेन्द्रराज प्रसाईंले बाङ्देलको बाल्यकालको रोचक जीवनी प्रस्तुत गरेका छन् । समालोचनातर्फ बाङ्देलको मुलुकबाहिर उपन्यासको ५ जना समालोचकका छुट्टाछुट्टै समालोचना समावेश गरिएका छन् । यसरी समालोचना गर्ने समालोचकहरूमा इन्द्रबहादुर राई, डा. दयाराम श्रेष्ठ, कृष्णहरि बराल, नेत्र एटम र कपिल लामिछाने रहेका छन् । त्यस्तै यथार्थवादी प्रयोगका रूपमा लङ्गडाको साथी उपन्यासको समालोचना माधवलाल कर्माचार्य, गोपीकृष्ण शर्मा र डा. मोहन पि. दाहालको समालोचनामा गरिएको पाइन्छ । डा. मुरारीप्रसाद रेग्मीले माइतघर उपन्यासको मनोविश्लेषणात्मक अध्ययन गरेका छन् । लैनसिंह बाङ्देलको समग्र औपन्यासिक प्रवृत्तिहरूको अध्ययन र विश्लेषण गरिएका कृष्णचन्द्रसिंह प्रधान, कृष्ण गौतम, गार्गी शर्माका समालोचनात्मक लेखहरू पनि यस अङ्कमा समावेश छन् । शिवप्रसाद सत्याल पीठले विभिन्न दृष्टिबाट माइतघर उपन्यासको चर्चा गरेका छन् ।
कीथ डी. फेलो, चूडामणि रेग्मी, डा. रामदयाल राकेश, गेहेन्द्रमान अमात्य, गोपाल पराजुली, ताना शर्मा, लय मैनाली, गोविन्द गिरी प्रेरणा, ज्ञानेन्द्र विवश, मणि लोहनी, देवेन्द्र भट्टराई, अनन्तप्रसाद वाग्ले, राधिका राय, मधु शर्मा, कृष्ण प्रधान, कुमकुमदेवी, रामसुन्दर देउजा, सोमकाजी शाक्यका टिप्पणीहरूले श्रद्धा एवं सम्मानपूर्वक लैनसिंह बाङ्देल नेपाली कला साहित्यको अद्वितीय प्रतिभा भएको पुष्टि गरेका छन्् र नेपाली कला, साहित्यमा उनको निधन अपूरणीय क्षति भएको उल्लेख गरेका छन् । त्यस्तै यस अङ्कमा कृष्णप्रसाद पराजुली, सुरेन्द्रराज भट्टराई, जनकप्रसाद हुमागाइँ, शशिकला तिवारी, व्याकुल पाठक आदिका संस्मरणहरूले पनि बाङ्देलप्रति श्रद्धासुमन अर्पण गरेका छन् । यसका साथै यस अङ्कमा मुलुकबाहिर उपन्यासको सूर्यविक्रम ज्ञवालीले लेखेको भूमिका, स्पेनको सम्झनामाथि सिद्धिचरण श्रेष्ठको भूमिका र माइतघर उपन्यासको माधवप्रसाद घिमिरेको भूमिका पनि समावेश गरिएका छन् भने स्रष्टा र साहित्यमा समावेश उत्तम कुँवरको अन्तर्वार्ता पनि सामेल गरिएको छ । अङ्कको अन्तिममा डिना बाङ्देल र चिराग बाङ्देलको लैनसिंह बाङ्देलको कलाकारिता र व्यक्तित्वका बारेमा लेखिएको अंग्रेजी भाषाका दुई लेखहरू पनि समावेश गरिएका छन् ।
१०. केवलपुरे किसान विशेषाङ्क :
जनमतले २०६० चैत्रको साहित्यिक अङ्क ९५ केवलपुरे किसान विशेषाङ्कको रूपमा प्रकाशित गरेको छ । २४० पेजको वृहत आयाम भएको यो विशेष अङ्क प्रकाशित गर्नुको कारण जनमतले यसरी दिएको छ – केवलपुरे किसान नेपाली जनमनका कवि । विचार, भाषाशैलीकै दृष्टिले पनि केवलपुरे किसान जनताका कवि हुन् । … किसान सुबोध कवि हुन् । … शास्त्रीय छन्द र लोक छन्दमा कविता लेख्न सक्षम कवि । … असमान सामाजिक मूल्य र मान्यतालाई समान बनाउन कवितामार्फत् उद्घोष गर्ने कवि । … कवि केवलपुरे किसान जनप्रतिवद्धताको सम्मान हो यो जनमत विशेष अङ्क ।
नेपाली जनमनका कवि केवलपुरे किसानले जनप्रतिवद्धताको कदर र सम्मानस्वरूप प्रकाशित यस विशेषाङ्कमा पनि अघिल्ला विशेष अङ्कमा जस्तै समीक्षा, टिप्पणी, संस्मरण र अन्तर्वार्ताहरू समावेश गरिएका छन् । यस अङ्कमा ११ जना व्यक्तित्वले किसानको व्यक्तित्वको टिप्पणी, १९ जनाले किसानका विभिन्न कृतिको समीक्षा, ९ जनाले संस्मरण, १७ जनाले टिप्पणी लेखेका छन् । यसका अतिरिक्त ९ वटा कविताहरू र २ भूमिका पनि समावेश छन् । त्यस्तै केवलपुरे किसानका १२ वटा संस्मरणात्मक लेखहरू, १ नियात्रा र ४ अन्तर्वार्ताका साथमा साहित्यिक विचारहरू पनि समेटिएका छन् ।
व्यक्तिवृत्तअन्तर्गत किसानको व्यक्तित्वको बारेमा प्रकाश पार्ने गरी मोहन दुवाल, विष्णु शीतल, धर्मराज अधिकारी, विवश वस्ती, यकिना अगाध, संगीता मरहठ्ठा, प्रमोद दाहाल, मोहनमणि लम्साल, भीम राना, रामशरण खड्का र स्वप्निल स्मृतिका लेखहरूले कवि किसानको जनपक्षधरताको परिचय दिन्छन् । सर्वाधिक जनप्रिय किसानको यो लोकप्रियताको रहस्य मोहन दुवालले यसरी खोतलेका छन् – प्रगतिवादी चिन्तन वाक्यमा घोली कवितात्मक अनुभूतिमा संप्रेषण गर्न सिपालु कवि किसानले झ्याउरे लय/छन्दमा सजिलो भाषामा लोकलयलाई टिपेर जनजीवनका दु:ख र पीडाहरूलाई कवितामा पोख्न सिपालु भएकै कारण सर्वसाधारणले उनलाई रूचाएका हुन् ।
समीक्षा/समालोचनाहरूमध्ये गोपीन्द्र पौड्यालले किसानका कविताको चिन्तनको सेरोफेरोमा उनका कविताको विवेचना गरेका छन्, जागरणधर्मी नेपाली काव्यपरम्परामा कवि किसानको विशिष्ट स्थान रहेको विश्वनाथ भण्डारीले औंल्याएका छन् । जगदीशचन्द्र भण्डारीले किसानका पाँच कवितासङ्ग्रहको व्याख्या विश्लेषण गरेका छन् भने तेजविलास अधिकारीले बोको खस्यो कवितासंग्रह चन्द्रमान श्रेष्ठले शंकै शंका कवितासंग्रह, हरिहर चापागाईंले समातेर पछार कवितासंग्रह, इश्वरचन्द्र ज्ञवालीले शंकै शंका कवितासंग्रह, यदुनन्दन ढकालले संघर्षको ठीक गर कवितासंग्रह, डा. रामचन्द्र लम्सालले बोको खस्यो कवितासंग्रहका आधारमा कवि किसानको कवित्वको मूल्यांकन गरेका छन् । कवि केवलपुरे किसानको समग्र काव्य साधनाको विवेचना गर्ने विद्वानहरूमा रविलाल अधिकारी, घनश्याम कँडेल, आनन्ददेव भट्ट, रामहरि लम्साल, देवी नेपाल, पुण्य कार्की रहेका छन् । रामप्रसाद ज्ञवालीले आँशुको पोखरी शोककाव्यको समीक्षा गरेका छन् । त्यस्तै समीक्षाकै क्रममा माधव ढुंगेलको विधवा विलाप कविताको मनोविश्लेषणात्मक अध्ययन, केदार घिमिरेको नारी शोषणको प्रतिबिम्बका रूपमा तालिमेको डाँको कविताको समीक्षाका साथै विजय सापकोटाको किसानका कवितामा नारी समस्याको उठान समीक्षा समावेश छन् । यस अङ्कमा प्रकाशित सम्पूर्ण समीक्षाहरूले किसान प्रगतिवादी नेपाली कविता फाँटका सुबोध, सार्थक र लोकप्रिय प्रतिभा भएको निष्कर्ष दिएका छन् ।
रामहरि पौडयाल, जीवेन्द्रदेव गिरी, गंगाप्रसाद उप्रेती, ऋषिराम न्यौपाने, डा. ऋषिकेश उपाध्याय, भैरव रिसाल, मित्रलाल पंज्ञानी, वैरागी जेठा, जनकप्रसाद हुमागाईं, पुष्करराज भट्ट, आशाकाजी सेवक, चन्द्रप्रसाद न्यौपाने, रामसुन्दर देउजा, रमेश शर्मा, डिल्लीरमण शर्मा, गोमा पौडयाल, नवराज रिजालका समीक्षात्मक टिप्पणीहरू किसानको व्यक्तित्व र कृतित्वको परिचय दिन समर्थ छन् । यस अङ्कमा नरनाथ लुइँटेलले लेखेको आँशुको पोखरी शोककाव्यको भूमिका र सुकुम शर्माले लेखेको शंकै शंका कवितासङ्ग्रहको भूमिका पनि समावेश गरिएको छ ।
मोदनाथ प्रश्रित, श्यामप्रसाद शर्मा, चूडामणि रेग्मी, ओमी शर्मा, हरि मञ्जुश्री, नारायणी अधिकारी, कौशल पाण्डे र राममणि पोखरेलका संस्मरणहरूले किसानको लगनशील, स्पष्ट, विचारमा दृढ व्यक्तित्वलाई चिनाएका छन् । यी संस्मरणहरूले किसान कविमात्र नभई देश र जनताप्रति चिन्तित र समर्पित व्यक्तित्व पनि हुन् भन्ने कुराको पुष्टि गरेका छन् ।
यस अङ्कमा किसानका ३ कविताका साथै डा. गणेशकुमार पौडेल, वी.के. पाल्पाली, आर.आर. चौलागाइँ, आर.सी. रिजाल, रेणुका भट्टराई र भक्तबहादुर नेपालीका कविता प्रकाशित छन् । किसानसँग लिइएका चार अन्तर्वार्ता र उनका छोरा कमल पौडेलसँगको अन्तर्वार्ताले किसानको जनप्रतिवद्ध छविमाथि अझै प्रकाश पारेको छ ।
निष्कर्ष :
निश्चय नै विशेषाङ्क प्रकाशन गर्ने काम आफैमा कठिन कार्य हो । अझ स्तरीय र चिर उपयोगी विशेषाङ्क प्रकाशन गर्नु चुनौतीपूर्ण कार्य हो । जनमतले नेपाली भाषा र साहित्यलाई ठूलो गुन लगाएको छ । योगदानको उचित कदर नभएका र जनताको पक्षमा साहित्य लेख्ने स्रष्टाहरूलाई जिउँदै र मृत्युपश्चात पनि सम्मानस्वरूप विशेषाङ्क प्रकाशित गर्ने परम्पराको निरन्तरता दिएको छ जनमतले । जनमतका यी अङ्कहरू अध्ययनीय, विश्लेषणीय छन् र नेपाली साहित्यमा यिनले छुट्टै इतिहास बनाएका छन् भन्नु अत्युक्ति नहोला ।