सपनामा बारम्बार देखिरहेको मान्छे
खोज्न हिँडेको पनि अब त धेरै भयो,
हिँड्दा हिँड्दा अल्छी पनि लागि सक्यो
हिँड्दा हिँड्दा थकान पनि बढि सक्यो
सपनामा देखिएको सग्लो मान्छे
कहिल्यै मेरो अघिल्तिर आएन
सधैंसधैं बेग्लै बेग्लै देखियो विपनामा ।
सपनामा देखेको सग्लो मान्छे
विपनामा आँखा हराएर उपस्थित हुन्छ
अर्को हात हराएर उपस्थित हुन्छ
कोही खुट्टा हराएर मेरो अघिल्तिर आइपुग्छ
यी सबै मान्छेहरु निन्याउरो मुख लगाएर भन्छन्
तिमीले सपनामा देखेको मान्छे मै हुँ ।
तर मैले सपनामा देखेको मान्छे
भेटेको छैन विपनामा
उनीहरुको कुराप्रति मलाई कहिल्यै विश्वास भएन
म सबैसँग प्रतिवाद गर्दैछु र भन्दैछु –
तिमीहरु त्यो मान्छे हुँदै होइनौ
मैले सपनामा देखेको मान्छे कदापि होइनौ ।
एउटा आउँछ
हराएको नाक बोकेर
उसलाई म उसको हराएको नाकको कुरा गर्छु
ऊ आफ्नो घाइते छाला देखाउँछ र भन्छ
मेरो नाक यही हो
उसको काइते तर्कसँग
म पुरै असहमत छु
सपनामा देखेको सग्लो मान्छे
विपनामा भाँचिएको कुचिएकोमात्र देखिरहेको छु ।
अचेलभरी मेरो अघिल्तिर यी सबैभन्दा खतरनाक
अर्को एउटा मान्छे आउँछ
टाउको हराएको मुर्कट्टाजस्तो मान्छे
उसलाई म उसको हराएको टाउकोको कुरा गर्छु
ऊ आफ्नो अजङ्गको पेट देखाउँछ र भन्छ
मेरो टाउकोको काम पनि यही पेटले गर्छ ।
टाउको हराएको मुर्कट्टाजस्तो मान्छे
बारम्बार सपनामा आएर मलाई डस्न थालेपछि
अचेल मलाई सपनासँगै विश्वास टुट्न थालेको छ
मेरो कुमारी सपना क्रमश: बिगँ्रदै गइरहेको छ ।
अचेल म
खतरनाक समयसँग निरन्तर प्रतिरोध गरिरहेको छु
म यतिबेला आफैंसँग डराइरहेको छु
मलाई राम्ररी थाहा छ –
सपनासँग विश्वास टुट्नु स्वयं म दुर्घटित हुनु हो ।