शारदाका सम्पादक ऋद्धिबहादुर मल्लका सुपुत्र । प्रसिद्ध साहित्यकार गोविन्दबहादुर मल्ल ‘गोठाले’का भाइ ।कोही किन बर्बाद होस् जस्ता बालमनोविज्ञानमा आधारित नाटक लेख्न सफल नाटककाकारको नाम हो – विजय मल्ल । मनोविज्ञानलाई साहित्यमा प्रयोग गर्न रुचाउने साहित्यकार । यिनी कथा, कविता, उपन्यास र नाटकका फाँटमा आफ्नो कीर्तिमान देखाउन सफल छन् । नाट्यकलामा आफ्नै छुट्टै पहिचान छोड्न सफल नाटककारका रुपमा यिनी प्रसिद्ध छन् । बालकृष्ण सम र गोपालप्रसाद रिमालले प्रयोग गर्दै आएका नाट्यकलाका डोबहरुभन्दा पृथक डोबहरुमा रहेर यिनले आफ्नो नाट्य डोबहरु नेपाली साहित्य क्षेत्रमा प्रतिस्थापन गर्न सफल छन् । त्यसैले त भन्न सकिन्छ यिनी प्रतिभाशाली नाटककार हुन् । समसामयिक युगबोधका भाव धाराहरुलाई साहित्यमा समेट्दै, लागिपर्दै यिनले आफूद्वारा सिर्जित साहित्यमा शील्पसौन्दर्य भर्न परिश्रम खर्च गरेका छन् ।
विजयबहादुर मल्लबाट बहादुर कटाएर विजय मल्ल बनेका प्रसिद्ध साहित्यकार । साहित्यिक वातावरण व्याप्त भएको परिवारमा जन्मेर साहित्य लेखनमा सक्रिय हुँदै आफूलाई सफल साहित्यकारका रुपमा चिनाउन पाएका विजय मल्लले राजनीति छोडेर पछिल्लो समयमा साहित्यमा जीवन बिताएको देखिन्छ । एकताका राजनीतिमा सक्रिय यिनी पछि राजनीतिलाई मनको तृष्णा मात्रै बनाए । साहित्यबारे यिनले आफ्नो दृष्टिकोण यसरी व्यक्त गरेका छन् –“मलाई जहाँसम्म लाग्छ साहित्यमा लाग्ने हर व्यक्तिहरु राजनीतिक दृष्टिकोणले पूर्ण हुन्छन् । फरक छ – सक्रिय राजनीति गर्नु र सक्रिय राजनीति नगर्नु । राजनीति नजानीकन, राजनीति थाहा नपाइकन लेख्नै सम्भव भयो होला जस्तो मलाई लाग्दैन । लेखक हुनलाई राजनीतिक ज्ञान पनि चाहिन्छ । समग्र सामाजिक ज्ञान विना लेखक नै हुन सक्दैन । सम्भव नै छैन । अब राजनीति खालि एक पक्ष मात्रै हो तर त्यही पक्षलाई नबुझिकन साहित्य रचनै हुन सक्दैन । त्यसैले राजनीति र साहित्यको सम्बन्ध अन्योन्याश्रित छ ।” (समष्टि, २०५० असोज–कार्तिक) यस खालको सोच बोकेर यिनी साहित्य सिर्जनामा लागे ।
वि.सं. २००१ सालतिर नै नाट्ययात्रा राधा मान्दिनन् लिई देखापरेका यिनका सबभन्दा पछिल्लो कृति सपनाका सन्तानहरु (२०४७) प्रकाशित छन् । आठ वटा पूर्णाङ्की नाटक र तीन दर्जनभन्दा बढी नाटकका रचनाकार विजय मल्लले कविता लेखनबाट साहित्ययात्रा सुरु गरेका हुन् । कथामा पनि सामाजिकतालाई विभिन्न परिदृश्यमा प्रस्तुत गर्न सिपालु कथाकारका रुपमा चीर परिचित विजयबहादुर मल्लको जन्म वि.सं. १९८२ असार १० गते पाको न्यूरोड, काठमाडौंमा भएको हो । बाँचुञ्जेलसम्म साहित्यिक सिर्जनामा तल्लीन रही साहित्यिक गतिविधिमा संलग्न यिनी नेराप्रप्रका सह–सदस्य, सदस्य सचिव, उपकुलपति रही २०२६ देखि २०४६ सम्म करीब २० वर्ष प्रज्ञामा संलग्न रहेको देखिन्छ । उपन्यासमा अनुराधा जस्तो मनोवैज्ञानिक दृष्टिचेत भएको उपन्यास लेखेर चर्चामा आएका विजय मल्लले कुमारी शोभा जस्तो ऐतिहासिक सन्दर्भले व्याप्त उपन्यास पनि लेखेका छन् । उपन्यासमा यिनी आफ्नैपन र दृष्टि–चेत बोकेर कथावस्तु बुन्ने गर्छन् । त्यसैले भन्न सकिन्छ यिनी सफल उपन्यासकार पनि हुन् ।पियानानी यिनीद्वारा लिखित लघु उपन्यास हो । यिनका प्रकाशित नाटककृतिहरुमा पत्थरको कथा, दोभान, भित्तेघडी,स्मृतिको पर्खालभित्र, भूलैभूलको यथार्थ, बौलाहाकाजीको सपना,पहाड चिच्याइरहेछ, जिउँदो लाश,सात एकाङ्की (सम्पादन) रहेका छन् ।
शारदामार्फत् धेरै साहित्यकारहरु यिनले चिने, गोविन्द गोठाले दाइका सिर्जनामार्फत् उनी आफूलाई समृद्ध बनाउन सफल रहे । दौलतविक्रम विष्ट, रमेश विकल, पोषण पाण्डेका समकालीन मित्र विजय मल्लका दृष्टिमा भवानी भिक्षु, गोविन्द गोठाले, गोपालप्रसाद रिमाल राम्रा लेखक हुन् । विजय मल्ल नेपालका राम्रा साहित्यकारमध्ये पर्छन् । उनले थुप्रै विधामा लेखे । जुन जुन विधामा लेखे यिनले प्रसिद्धि कमाए । कथामा परिवेश भित्रका सान्दर्भिक विषयवस्तुहरु खोपेर सुन्दर सहज शैलीमा कथाहरु लेखे, नाटकमा बाल मनोविज्ञानका उत्कृष्ट बिम्बहरुमात्र खिचेनन् सामाजिक सम्बन्ध, अन्तर्वस्तुका चरित्रहरु स्वाभाविक ढंगले यिनले व्यक्त गरे । उपन्यासमा पात्रहरुको मनोवैज्ञानिकता नियालेर नयाँ शब्द शैलीमा आफूलाई उपन्यासकारका रुपमा पेश गरे, कवितामा जनताका पक्षमा विद्रोह बोले । यसैले त यिनी सबैका प्रिय लेखक बने ।
नाटक : एक चर्चा समीक्षात्मक कृति पनि लेखेर आफूलाई साहित्यका प्रबुद्ध व्यक्तित्वका रुपमा देखाउन सफल यिनी कथामा पनि आफ्नो छवि देखाउन सफल छन् । कथामा पनि मनोवैज्ञानिकता प्रस्तुत गर्न सफल यिनका प्रकाशित कथासङ्ग्रहहरुमा एक बाटो अनेक मोड, परेवा र कैदी छन् । विजय मल्ल कविता पनि लेख्छन् । यिनी कवि पनि हुन् । तर कथा, उपन्यास, नाटकमा जति समीक्षा र कवितामा यिनी जम्न सकेको देखिँदैन ।विजय मल्लका कविता पुस्तकमा ६१ वटा कविता सङ्ग्रहीत छन् । प्रकाशित कविताहरुमा छोरीलाई मानचित्र पढाउँदा निकै चर्चित कविता हो । उक्त कविताबाट केही हरफहरु :
मेरी छोरी,
(कुनै दिन त्यस्तो आउला)
जब सबले मिलेर
हातमा हात गाँसेर,
अङ्कमालमा बाँधिएर –
हब्सी, आर्य, मङ्गोल
पलिनिशियन, द्रबिड, कोल
सबले पुछ्नेछन्
आँखाको प्याला घोप्ट्याएर
आँसुले त्यो रक्तरेखा ।
विश्वबन्धुत्व र मानवतामा साँधसीमाना नहुनुपर्ने दृष्टि बनाएर यिनले यसै कवितामा अगाडि लेखे –“रातो रगतले कोरिएको साँध छ / खेतमा डील लाएझैं, हेर, हरेक राष्ट्रको फाँटमा । मानवीयतामा पशुत्व सुहाउँदैन । यिनी कवितामा लेख्छन् –“मलाई त्यस बखत हाँसो उठ्छ – जब बाँदरले मनुष्यको मुकुण्डो लाएर । मानिसको नक्कल गर्दछ, स्वाङ भर्दछ ।” यिनका कवितामा यस्तै–यस्तै तरङ्गहरु छन् । विजय मल्ल नेवार भएर पनि नेपाली भाषा साहित्यलाई उच्चकोटिमा पुर्याउन सक्रिय रहँदै आएका एकजना जीवन्त स्रष्टा हुन् । उनले लेखेजस्तै आफू बाँचुञ्जेल साहित्य सेवा र लेखनमा लागिरहन सकूँकै रुप र बिम्ब भएर गए – विजय मल्ल । पारिवारिक वातावरणमा नै साहित्यको मनोरम भूमि पाएर हुर्केका यिनी शारदा यिनको प्रेरणाको स्रोत भयो । विजय मल्लले अन्तिममा साहित्यमा विजय प्राप्त गरे ।वि.सं. २०५६ साउन ८ गते यिनको निधन भयो ।
साहित्यिक वातावरण पाएर साहित्यकार बनेका यिनी राणाकालीन शासन व्यवस्थाको विरोधी भएकै कारणले २००७ सालताका यिनी जेल पनि परे । राजनीतिक वातावरणमा राजनीति सोचे तर पछि बाबु र दाजु सक्रिय भएर साहित्यसेवा र सिर्जनामा लागेको परिवेश पाएर आफू पनि त्यही साहित्यिक वातावरणमा आफूलाई रमाउन दिए । साहित्यकारहरु देवकोटा, सम, लेखनाथ, रिमाल लगायतका धेरैजसो चर्चित साहित्यकारहरु आइरहने घर भएकै कारणले यिनको साहित्यमा मन गाँसियो । कविता लेखेर साहित्य लेखनमा प्रवेश गरेका यिनी कथा, उपन्यास, नाटकमा सशक्त ढङ्गले पछिल्लोपल्ट आफूलाई देखाए । तर कवितामा पनि यिनी होचो देखिँदैन । सामाजिक यथार्थवादी साहित्यकारका रुपमा प्रतिष्ठित हुन पुगेका यिनी समकालीन साहित्यका प्रतिनिधि साहित्यकार हुन् । यिनका साहित्यमा भाषाशैली सरल, कथानक सामाजिक, पात्रहरु परिवर्तनकामी हुनाका साथै परिवेश र पात्रहरु पनि स्वाभाविक देखिन्छन् । सामाजिक परिवेश, वातावरणभित्रका मूल समस्याहरु, अन्तरविरोधहरुलाई व्यक्त गर्न सिपालु यिनले मनोवैज्ञानिक ढङ्गले पात्र–पात्राहरुलाई उभ्याउन सफल छन् । सामाजिक यथास्थितिबाट सन्तुष्ट नरहेकै कारणले यिनी आफ्नो रचनाहरुमार्फत् सामाजिक, मानसिक, बौद्धिक परिवर्तनका हिमायती बने । सामाजिक समस्यामूलक विषय नै यिनका लागि रचनाको मूल विषय बन्यो । समग्रमा भन्नुपर्दा भन्न सकिन्छ यिनी सफल, प्रभावकारी प्रतिनिधि लेखक हुन् ।
बालकृष्ण सम र गोपालप्रसाद रिमालहरुभन्दा छुट्टै दृष्टिबिम्ब प्रयोग गरेर नाटकमा देखापरेका यिनी नेपाली साहित्यको नाट्यक्षेत्रमा अत्यन्त आदरणीय नाटककार हुन् । नयाँ शिल्प, सौन्दर्य, मनोविज्ञान व्यक्त गर्न सफल लेखक विजय मल्ल युगका सचेत प्रतिनिधि साहित्यकार हुन् । यिनको साहित्यिक सिर्जना र यात्रामा हरियाली व्याप्त छन् ।