नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले संगीत तथा नाट्य क्षेत्रका ६ जना स्रष्टा सर्जकहरुलाई ‘नेपाल संगीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार–२०७८’ प्रदान गरेको छ ।
सोमबार प्रतिष्ठानले राष्ट्रपति कार्यालय शीतल निवासमा गरिएको समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले स्रष्टा सर्जकहरुलाई पुरस्कार समर्पण गरिन् ।
रंगमञ्च विधामा रंगकर्मी ऋद्धिचरण श्रेष्ठ, परम्परागत तथा शास्त्रीय संगीत विधामा संगीत प्रविण मोहनप्रसाद जोशी, नृत्य विधामा वरिष्ठ नृत्य निर्देशक वीणा राजभण्डारी जोशी, नाट्य विधामा नाट्यकर्मी मनबहादुर मुखिया, संगीत विधामा मोहनकृष्ण कार्की ढली तथा लोक सगीतमा लोक सर्जक अमर विरही गुरुङ गरी छ जनालाई छ वटा विधामा ताम्रपत्र तथा जनही एक लाख एक रुपैयाँ नगद सहित सम्मान गरियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले नेपाली मौलिक कलाको खोजी गर्दै तिनलाई अन्तराष्ट्रियस्तर सम्म पुर्याउनु प्रतिष्ठानको दायित्व रहेको बताइन् । ‘सम्मानित स्रष्टा तथा सर्जकलाई बधाई तथा शुभकामना छ । राष्ट्रका यस्ता गहनालाई सम्मान गर्न पाउँदा हर्षको अनुभूति गरेकी छु’ उनले भनिन् ।
प्रतिष्ठानका कुलपति नारायणभक्त श्रेष्ठले प्रतिष्ठानले गरेका गतिविधिका बारेमा जानकारीसमेत दिए ।