१) बलात्कार गुण्डागर्दी, देशमा दिन दिन बढ्यो
नेपालीको जीवनस्तर, झन झन तल झर्यो
दियो बाली खोज्नुपर्ने, सरकार कता बस्छ
अनैतिक गर्ने जो हो, उही धरहरा चढ्यो ।
२) बाहिर नजाउ भन्छ सरकार, आफ्नै घरभित्र बस
अक्सिजन होइन बरु पिउँदै, जहर भित्र बस
मूकदर्शक बन्नु वाहेक, कसले के पो गर्छ यहाँ
कोभिड कडा फर्मान छर्छ, मृत्यु लहरभित्र बस ।
३) समाचारमा मात्र लास, देख्नु बाहेक केही छैन
सञ्जालभित्र श्रद्धाञ्जली, लेख्नु बाहेक केही छैन
अचेलको हावा पनि, आतङ्क नै बोक्छ क्यार
प्रत्येक सासमा मृत्यु गीत, रेट्नु बाहेक केही छैन ।
४) भोज भतेर जन्ती विवाह, गर्दा बन्द भो
मलामघाट साथी छिमेक, मर्दा बन्द भो
ताण्डव नृत्य उत्कर्षमा, चुलिएको बेला
अनायासै रङ्गमञ्चको, पर्दा बन्द भो ।
५) लासमाथि लासको चाङ, थपि‘दैछ देशमा
मानवता निमिट्यान्न, सकि‘दैछ देशमा
कोरोनाको दावानल, दन्किएको बेला
सत्ता खातिर दाउपेच, चर्किदैछ देशमा ।