बागबजारको गल्ली भित्र रहेको आइडियल डिजाइनर्समा ३ दशक अघि जस्तै आज पनि भिडभाड भइ रहन्छ । मन्द मुस्कान, मधुरो बोली अनि सिर्जनात्मक , कलात्मक कला नै सुन्दर श्रेष्ठको विशेषता हुन् । हुन त उनी नेपाली चलचित्र जगतका चर्चित र वरिष्ठ डिजाइनर हुन् । उनी नेपालका पहिलो चलचित्रको पोस्टर डिजाइनर हुन् । उनले डिजाइन गर्नु अघिसम्म जति पनि चलचित्रहरू बने त्यसको सबै पोस्टर डिजाइन इन्दियावाट हुन्थ्यो ।
पाल्पामा जन्मेका सुन्दर श्रेष्ठले आफ्नो कर्म क्षेत्रको रूपमा काठमाडौँलाई रोजे । एसएलसी दिन बुटवल बसेकै बेलामा राष्ट्र बैङ्कमा आर्टिस्ट आवश्यक रहेको कुरा सुइँको पाएका थिए । राष्ट्र बैङ्कको जागिरका लागि अन्तर्वार्ता दिन पहिलो पटक पाल्पाबाट काठमाडौँ आएका सुन्दरले ३० वर्ष राष्ट्र बैङ्कमा काम गरे ।
सुन्दर श्रेष्ठ नेपाल राष्ट्र बैङ्कका नोट डिजाइनर पनि हुन् । सेवाले राष्ट्र बैङ्कका कर्मचारी हो भने कर्मले आइडियल डिजाइनर । नोट डिजाइन गर्ने काम सफल भएपछि राष्ट्र बैङ्कले नोटको डिजाइनसम्बन्धी सबै काम सुन्दरलाई दिन थाल्यो। अहिले पनि अवकाश पाएका सुन्दर नेपालका एक्ला नोट डिजाइनर हुन्। त्यसैले राष्ट्र बैङ्कले अहिले पनि नोट डिजाइन गर्नुपरे उनै सुन्दरलाई सम्झिन्छ।
पछिल्लो समय जति पनि नोटहरूमा फेरबदल भएको छ, त्यो सबै काम सुन्दरले गरेका हुन्। २०५३ सालअघि प्रचलित नोटहरू विदेशमै डिजाइन हुने गर्थे । ०६० सालमा तत्कालीन राजा ज्ञानेन्द्रको फोटो राखेको नोट डिजाइन गर्दा गोरखा दक्षिण बाहु पुरस्कार थापेका थिए । सुन्दरले डिजाइन गरेको अन्तर्राष्ट्रिय समाचारपत्र ‘टेलिग्राम’ले वर्ल्ड मोस्ट ब्युटिफुल करेन्सी’को सूचीमा नेपालका तीन वटा नोट र एक सिक्का संसारकै सुन्दर आकृति भएको नोटको सूचीमा छनोट गरेको थियो ।
सुन्दरले काठमाडौँ प्रवेशसँगै आइडियल डिजाइनबाट काम थालेका थिए । आइडियल डिजाइनका संस्थापक रहेर व्यावसायिक कलाकारितामा आफूलाई पनि प्रतिस्पर्धामा राखेर कलामा निपुणता खोप्न सक्रिय छन् ।
चलचित्रको पोस्टर २०४२ सालदेखि लेख्न सुरु गरेका उनले यस क्षेत्रमा तहल्का नै मच्चाइदिएका छन् । धेरैजसो चलचित्रका पोस्टरहरू बनाएर आफ्नो निपुणता देखाइसकेका यिनले थुप्रै गीत एल्बमका करभहरू पनि रेखाङ्कन गर्न पाएका छन् ।
उनले १३ सय वटा फिल्ममा १० हजारभन्दा बढी पोस्टर बनाइसकेका छन् । चलचित्र पोस्टर डिजाइनका सुरुवातकर्ता उनी नै हुन्, उति बेला विदेशमा पोस्टर डिजाइन हुन्थ्यो । सुन्दरले नेपालमा पोस्टर डिजाइन गर्ने सुरुवात०४३ साल देखि हो । सुन्दरले प्रकाश थापाको निर्देशनमा बनेको चलचित्र ‘सन्तान’ वाट डिजाइनिंग शुरु गरेका हुन् । त्यसअघि सबै चलचित्रका पोस्टर भारतमा डिजाइन हुन्थे । उनले चलचित्र सन्तानको पोस्टर डिजाइन गर्ने चान्स पाए । सुन्दर सङ्ग आइडियाभन्दा बढी आत्मविश्वास थियो । सुन्दरले हातैले पोस्टरको डिजाइन गरे ।
भारतको मुम्बईबाट पोस्टर छापिएर आयो । जब निर्देशक प्रकाश थापाले पोस्टर हेरे । सारै दङ्ग परे । त्यस पछि डिजाइनका लागि भारत जानेहरू सुन्दरकोमा आउन थाले । नेपालमै पोस्टर डिजाइन हुन्छ भन्ने हल्ला भयो । जति फिल्म बन्थे, सबै पोस्टरको डिजाइनको काम सुन्दरको मा नै आउन थाले ।
चित्रकलासँग सँगै उनको अर्को पाटो भनेको गीत रचना हो । उनी गीतकार पनि हुन्। उनले चलचित्रको लागि ३ दर्जन भन्दा बढी गीत लेखेका छन् र प्राय गीतहरूले चर्चा पनि कमाए । सुन्दरले लेखेका ‘माया बस्यो मुटुमा…’ ‘तिर्खा लाग्यो निर्माया, आदि रुचाएका गीतहरू हुन् ।
चित्रकलामा आफ्नै खालका बिम्ब खोप्न सिपालु चित्रकार । ग्राफिक्स डिजाइनमा अहिले पनि उनको सक्रियता उत्तिकै छ । अहिले पनि उनी फिल्मका पोस्टर, स्टिकरलगायत किताबका आवरण, पत्र पत्रिकाका आवरणलाई कसरी आकर्षक बनाउन सकिन्छ भन्ने काममा नै व्यस्त रहेका छन् । तर, मूर्त अमूर्त चित्रकला बनाउन पनि उनले छाडेका छैनन् । आज पनि समय पाउँदा उनी कुची लिएर क्यान भासलाई रङाउन थाली हाल्छन् । उनको विशेषता भनेकै रङ्ग र कुचीमा सिर्जना भर्नु हो ।
तस्बिरहरु : सुन्दर श्रेष्ठको फेसबुक वालवाट