प्रेम गर
भावनाको सागरमा डुबुल्की लगाऊ
चञ्चल हुन्छ मनको पाइला — अक्सर बहकिरहन्छ
ठेस लागेर कतै दुखिहाल्यौ भने
भन्दिनँ कि —
रुँदै नरुनु …
बगाइदिनु निस्फिक्री आफूलाई हृदयको अक्षयकोषबाट
बरु रुँदा रुँदैको आफूलाई उठाएर एेना अगाडि राख
देख्नेछौ त्यहाँ आफ्नै धमिलो छाँया
जबकि क्षितिजभन्दा पर नियाल्न बाँकी नै छ अझै तिमीले
जीवनका अरु सुन्दर दृश्यहरु ।
त्यसैले
संशयको चौकोसबाट निस्केर
शीरमाथिको आकाशलाई हेर
आधा आकाश तिम्रै त हो
पाऊमुनिको माटो छोइहेर
सिंगो धर्ती आफूमै समाहित पाउनेछौ
मात्र अब
तिमी सिर्जनामा आयामहरु थप्दै जाऊ —
कविता बुन/गीत गुनगुनाऊ/नृत्य गर
जीवनको क्यानभासमा आफ्नै सामर्थ्यहरु रँगाउँदै
निर्धक्क अघि बढ ।
कदाचित अझै डगमगाएछन् भने खुट्टाहरु —
बचेरा हुर्काईरहेकी सानी चरीलाई हेर
आफ्नै पौरखले च्यापेर ल्याउँछिन् चारो
एकै उडानमा लामबगर नाघेर ।
उसो त बघिनी पनि —
आफ्नो बाघलाई शिकारी जागिरमा पठाएर
कहिल्यै भान्सा कुरेर बस्दिनन्
लोग्नेको कमाईमा भागबन्दा खोज्दिनन् ।
बस् ….अब —
मात्र एक बुलन्द आवाजले धक्का लगाऊ
मक्किँदै गएको विभेदको पर्खाल
तम्तयार छ विनिर्माणको लागि
र पर्खिरहेछ भविष्यले
तिम्रै हत्केलाबाट बनेको विल्कुलै एउटा नयाँ क्षितिज ।