चलचित्र क्षेत्रका विविध विधामा आफ्नो प्रतिभा प्रदर्शित गर्दै पटकथा लेखक, निर्देशक, निर्माताका रुपमा सक्रिय सम्पदा मल्ल ‘दायित्व यशोदा पन्त पुरस्कारबाट पुरस्कृत भएकी छिन् । मल्ल त्रिभुवन विश्वविद्यालयबाट अंग्रजी साहित्यमा स्नातक र भारतको पञ्जाव प्राविधिक विश्वविद्यालय अन्तर्गत Asoan Academy of films & TV(दिल्ली) बाट चलचित्र विषयमा स्नातकोत्तर उत्तीर्ण गरेर आजसम्म निरन्तर क्रियाशील रहेकी छिन् । विभिन्न भारतीय टेलिशृङ्खलाहरुमा पटकथा लेख्नुका साथै ‘कठपुतली’ र ‘च्यान्टी’ जस्ता नेपाली चलचित्र निर्माण गरेकी सम्पदाले अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा धेरै सम्मान र पुरस्कार प्राप्त गरिसकेकी छिन् ।
उनी प्रसिद्ध नाट्यसंस्था सर्वनामको सृजनशील निर्देशक रही ‘बान्की प्रोडक्सन”को नेतृत्वमा रहेर चलचित्र सम्बन्धी विभिन्न कार्यमा सक्रिय रहेकी छिन् । सानो उमेरमै लेखन, निर्माण र निर्देशन गर्दै चलचित्र र नाट्य क्षेत्रका महत्वपूर्ण विधाहरू मार्फत समाज रुपान्तरणमा निर्वाह गरेको उल्लेख्य भूमिका र बहुप्रतिभाको उच्च मूल्याङ्कन गर्दै दायित्व वाङ्मय प्रतिष्ठानले नगद एघार हजार रुपयाँ सहित ‘दायित्व यशोदा पन्त प्रतिभा पुरस्कार २०७८’द्वारा सम्पदा मल्ललाई पुरस्कृत गरेको हो ।