तिम्रा मुस्कानका हातहरू मलाई छुन्छन्
तारहरूले बाजालाई जस्तै र
मेरो अस्तित्व सङ्गीतमय बन्छ,
मेरा भएभरका सपनाहरू सोहोरिएर तिमी बनेकी छौ
वसन्तले आफ्नो कोपिलालाई पत्र–पत्र खोलेजस्तै
म तिमीलाई आँखाले उघारी–उघारी हेर्छु ।
म देख्छु; तिमी मेरो उक्लने उकालो हौ,
ओर्लने ओरालो र कुद्ने बाटो हौ
पौडिने खोला र पुग्ने चौतारी हौ,
एउटा बालकले कथा सुनेजस्तै म तिम्रा कुरा सन्छु ।
चन्द्रमाले बोलेजस्ता तिम्रा बोलीहरू घन्काउन थाल्छन्
मेरा हाड–हाडभित्र घुसेर
मेरा नसा–नसामा उर्लिएर,
लौ, मेरो छातीमा कान थापेर सुन त
एउटा मुटु मन्त्र जपेजस्तै
केवल तिम्रो नाम उच्चारण गरिरहन्छ ।
मेरो सानिध्यको स्पर्शले तिमीमा
नारीत्वको प्रथम जागरण भएको थियो,
तिमीले आफ्नो स्वरूपलाई
सबभन्दा पहिले
मेरा आँखाको दर्पणमा देखेकी थियौं
तिमी आफू सुखैसुख रहिछु भन्ने थाहा पाएर
आश्चर्यले चकित भएकी थियौ
मलाई मैले कुनै जादू गरेजस्तै
लागेको थियो
मैले तिमीलाई एउटा वरदान दिएजस्तै लागेको थियो ।
तिमीलाई प्रसन्न पार्नुजस्तो
उल्लास अरू मेरो निमित्त केही हुन सक्दैन ।
तिमीलाई आफ्नै सौन्दर्यले मुग्ध तुल्याउनु जस्तो
आल्हाद अरू मेरो निमित्त केही हुन सक्दैन ।
मैले तिमीलाई सपनाजस्तै सुन्दर निद्रा दिने
मेरो बाहुको तकिया बनाएर राखेको छु,
तिमीलाई सपनाजस्तै मधुर निद्रा दिने
मेरो छायाँको ओढ्ने बनाइराखेको छु ।
लौ, मेरो छातीमा कान थापेर सुन त
– जनमत, २०४८ पुस / पूर्णाङ्क २४