रासका रास
आ–आफ्नै दुर्गन्धका दायाँबायाँ तट हुँदै
सकूँ–सकूँ कि बगूँ–बगूँ कै नियति
भोग्नुपरे तापनि
स्वयम्लाई तीर्थस्थल ठानिरहने
बागमती र विष्णुमती त
होइनौं हामीहरू …. ?
वि.सं. १९९७ कार्तिक २ गतेको घटना हो । बिहानको त्यस्तै ९–१० बजेको हुँदो हो । खाना खाने बेला हुनै लागेको हुँदा भोकले रन्थनिनु स्वाभाविक थियो । कमलाक्षीस्थित आफ्नै घरमा बसिरहेको बेला अकस्मात कसैले आएर त्यसबेला भने –लौन तिमीलाई पक्रिन पुलिस आउँदैछ । असनस्थित अन्नपूर्ण मन्दिरको छेउबाट गल्ली हुँदै भाग्न थालें । भाग्दाभाग्दै गर्दा ५ जना भुसतिघ्रेहरूले मलाई च्याप्प पक्रि हाले । त्यसपछि भोलिपल्ट घरबाट खाना नल्याएसम्म रितो पेट सिंहदरबारको चिसो छिडीमा कोचिनुप¥यो । यस्तै दुःख, कष्ट र यातनामा पिल्सिनु र त्यहिताका सरकारबाट सर्वस्वहरणसहित १८ वर्ष जेल सजाँयको घोषणा हुनुको परिणामबाट प्राज्ञिक क्षमताको पूर्ण विकासका निम्ति अत्यन्त उपलब्धिपूर्ण रह्यो । भद्रगोल जेलमा सारिएपछि एकपछि अर्को दिग्गज प्रतिभासितको सान्निध्य र सम्पर्क पाएर मभित्रको कुण्ठित प्रतिभा प्रवाहले सम्पूर्णरूपमा प्रस्फुटित हुने स्वर्ण अवसर मिल्यो । फत्तेबहादुर सिंह, चन्द्रमान मास्के, चित्तधर हृदय, सिद्धिचरण श्रेष्ठसँगै बन्दी जीवन बिताउन पाउनु मेरो निम्ति कविता यात्राको लागि वरदान सावित भयो । त्यस्तै पं. मुरलीधरबाट तर्कशास्त्र, दर्शन, काव्यसिद्धान्त, रसनिरूपणका वक्रोक्तिलगायत संस्कृत साहित्यका प्रतिभाहरूका जानकारी पाएर मैले आफ्नो ज्ञान र अध्ययनको क्षेत्रलाई अत्यन्त व्यापक तुल्याउने मौका पाएँ । यही क्रम नै मेरो कविता–यात्राको यात्रा–क्रमहरू हुन् ।
मेरो काव्य यात्राको उपलब्धिका निम्ति म सिद्धिचरणको ऋणी छु र उनकै ऋण चुक्ता गर्ने प्रयासमा अझै प्रयत्नशील रहँदै आएको छु । राणाकालीन अवस्थामा थुप्रै पटक जेल बसियो । जेलमा धेरै कविताहरू लेखियो–जेलभित्रै आफ्नै कविताको डङ्गुर माथि आगो लगाएँ । ह्वारह्वार्ती आगो दन्कियो–जेलमा खैलाबैला मचियो । ५ वर्षको मेरो जेल जीवनलाई मैले विश्वविद्यालयीय शिक्षाको अवसरका रूपमा भरपुर सहयोग गरें । जेलबाट बाहिर निस्केपछि थुप्रै राजनीतिक कार्यहरूमा संलग्न हुँदा हुँदै साहित्यिक क्षेत्रमा पनि केही न केही गरिरहें । २००४ सालमा नेपाली साहित्य परिषद्को गठन गरियो । त्यस्कै आयोजनामा लक्ष्मीप्रसाद देवकोटाको सभापतित्वमा सरस्वती सदनमा एउटा वृहत उल्लेखयोग्य कवि सम्मेलन गरियो । उक्त कवि सम्मेलनमा नेपालका वरिष्ठ र तत्कालीन सबै कविले भाग लिएको र ३ दिनसम्म सञ्चालन भएको थियो जुन ऐतिहासिक साहित्यिक आन्दोलन हो । राणाकालीन अवस्थामा निकै हलचल ल्याएको थियो । त्यस्तै साहित्यिक स्रोतको प्रकाशन गरियो जस्को सम्पादकमा हृदयचन्द्र सिंह प्रधान हुनुहुन्थ्यो ।
एकदिन गोरखा भाषा प्रकाशिनी समितिछेउ संगम कवितासङ्ग्रह लिएर पुगें । बालकृष्ण समले संगम कवितासङ्ग्रह पढिसकेपछि यस्ता विभिन्न थरि अर्थ लाग्ने पङ्क्तिलाई कविता नै भन्न सकिन्न भनेर खिन्न पारि दिए मलाई ! म छाँगाबाट खसेजस्तै भएँ । यही समयमा डम्बरकुमारीको टोपी र पुरानो कोट लगाएको एउटा मानिस टुप्लुक्क त्यहाँ आइपुग्यो अनि त्यो मान्छे हेर्दाहेर्दै थ्याच्च भूईँमा बस्यो । मैले अनायास त्यस मानिसको हात समात्न पुगें । पछि समले भनेपछि लक्ष्मीप्रसाद देवकोटा भनेर मैले चिनें । त्यही बेला समलाई लक्ष्य गर्दै देवकोटाले प्वाक्क भनि दिए – बाबुसाहेब एउटा कविताबाट ४–५ थरि अर्थ निस्किनु भन्ने कुरा त ठूलो उपलब्धिको कुरा पो हो त – तपाईंले यस्तो उपलब्धिलाई केको आधारमा लाञ्छना लगाउनु भएको हो – खै मैले त केही बुझ्नै सकिन । मेरो त्यसबेलादेखि नै देवकोटासँग प्रगाढ मित्रता झाङ्गिन थाल्यो । देवकोटा साँच्चिकै अगाढ प्रतिभा भएको साहित्यिक हुुन् – भनेर साध्य छैन पछि म संस्मरणहरूमा व्यक्त गरूँला । उहाँबारे संक्षेपमा भन्दा के भन्नु पर्छ जस्तो मलाई लाग्छ भने देवकोटाजी अत्याधुनिक पाश्चात्य चेतना र जातीय संस्कार दुवैको सन्धीस्थलमा उभिनुभएको छ । जबजब पाश्चात्य चिन्तनले बढी प्रोत्साहित गर्छ त्यसबेला उहाँले जातिवादी चेतनाको विरोधमा आवाज उठाउँछ र रत्नदास प्रकाशको आमा कहाँ गएर खाना खानुहुन्छ – भक्ष्याभक्ष्यको विचार गर्दैन । ब्राम्हण संस्कार आउँदा पछुताउने गर्नु हुन्थ्यो । त्यसैले देवकोटा पूर्वीय र पाश्चात्य चेतनाको कापमा परेर थिचिएको व्यक्तित्व झैं लाग्छ । जुन पक्षले जित्छ त्यतैतिर लाग्छन् ।
मेरो राजनीतिक जीवन र साहित्यिक जीवन राष्ट्रिय मुद्राको दुई पाटा जस्तो छ । राजनीतिमा वस्तुस्थिति र चेतनाले थिचे जस्तो हुन्छ, साहित्यमा मानवीयता, विश्ववन्धुता झल्केका महसुस हुन्छ । त्यसैले मैले भन्ने गरेको छु साहित्य–भोजनालय÷ राजनीति – शौचालय । मलाई साहित्यमा क्रियाशील हुन पाउँदा ज्यादै सन्तुष्टि मिलेको अनुभव हुन्छ ।
मात्र मनोरम कल्पना साहित्य होइन, न त पागलपनको सीमासम्म पुगेको भावुकताको अभिव्यक्ति नै साहित्य हो । साहित्य त्यस्तो विचार सौन्दर्यका अभिव्यक्ति हो जस्को परिपाक हृदयको चास्नीमा हुने गर्छ ।
जुन–जुन भाषामा भाव सम्प्रेषित र तीव्र हुन्छ त्यसमा लेख्दा सन्तुष्टि मिल्छ । नेपालभाषा मातृभाषा–दूधको सम्बन्ध भएको भाषा हो – मीठो लाग्छ । म पूर्व १ नम्बर सिन्धु बाँसबारीमा जन्में । मावली स्याङ््जा हो । बाबुसंस्कृतिको साह्रै ठूलो विद्वान, ज्योतिष उहाँहरूको प्रभावबाट नेपाली मातृभाषाजस्तै हुन गयो । जीवनको धेरै क्षण पटनामा गुजारें । चार महिना त भारतको मोतीहारी जेलमा बसें । भारतामा रहँदा–बस्दा हिन्दी भाषाको अध्ययनले संस्कृतलगायत पूर्वीय साहित्यको अध्ययन गर्न पाएँ । पं. मुरलीधरसँग पनि सिक्ने मौका पाएँ । त्यसैले, हिन्दीमा लेख्न सकेको हुँ र लेख्दा आनन्द लाग्छ । हिन्दी भाषा सबै प्रकारले सम्पन्न भाषा हो ।
७९ वर्ष पुगें । सरदर नेपालीले बाँच्ने आयुभन्दा बढी बाँचे । यही डाइबिटिजले अन्य रोगलाई बढाइरहेछ । यसपल्ट विरामी पर्दा जीवन नै समाप्त हुन् लागेको हो कि जस्तो भान परेको थियो । नेपाली साहित्यकारहरूको शुभेच्छा, मङ्गलकामना र डाक्टरहरूको उपचारले गर्दा म बाँचिरहेको छु ।
केटाकेटीदेखि नै पौडी खेल्ने, सिनेमा हेर्ने मेरो रूचिमा पर्ने विषयहरू हुन् ।
जीवनलाई म गुलाफको फूलसँग तुलना गर्छु । काँढाको बीचमा फुलेर पनि सुगन्धमा परिवर्तित भएर आफूलाई अभिव्यक्ति दिनु मेरो आदर्श पनि हो, लक्ष्य पनि हो । आफू नभए पनि मानवीय जगत्को मनमा–मस्तिष्कमा (वाणीमा आफूलाई अभिव्यक्ति) गर्नु जस्तो ठूलो कुरा केही होइन ।
मेरो दृष्टिमा, गुणैगुण मात्रको लागि देवता, दुर्गुणै दुर्गुण भएको राक्षस, केही गुण केही दुर्गण भएको मानिस हो । सद्गुण बढी भएको मानिस मलाई मनपर्छ । म त्यस्तै मानिस हुन चाहन्छु । म आजकल अन्तमुर्खी हुँदै गएको छु । त्यही मेरो प्राप्ति हो ।
साहित्यिकहरू उपेक्षित भएका छन् । राणाकालमा उपेक्षित थिए, त्यसपछि पनि उपेक्षित भए । हाम्रो चाहना र कल्पना अनुरूप हुन सकेन । सरकार गठन भएको डेढ वर्ष भयो । नयाँ सन्दर्भ, समाजको प्रतिनिधित्व, प्रतिबिम्ब हुनुपथ्र्यो – भएको छैन । अहिले साहित्यकार टुक्रामा विभाजित छन्, साहित्यको विभाजन, साहित्यकारहरूको अवस्था सोचनीय नै छ ।
विभिन्न मुटुमा विभाजितलाई एउटैमा गाँसेर मासिक जनमत निकाल्नु भएको छ । आञ्चलिक र जिल्लालाई मात्र नहेरी सम्पूर्ण राष्ट्रको सन्दर्भलाई हेरेर काम गर्दै जानुभएको छ, यसरी नै गर्दै जानुहोस् – मेरो तपाईंप्रति शुभकामना छ ।
– जनमत, २०४९ मङ्सिर ÷ पूर्णाङ्क ३०