निबन्धकार तथा नियात्राकार युवराज नयाँघरेको निबन्ध संग्रह ‘याकजी’ विमोचन गरेर सार्वजनिक गरिएको छ । प्राज्ञ तथा नाटककार अशेष मल्लले उक्त कृति विमोचन गरेका हुन । विमोचन गरेका उक्त नियात्राका कृति तल्लो र माथिल्लो डोल्पाको भूगोल, संस्कृति, जनजीवन र विकटताको वर्णन छ ।
विमोचनपछि नाटककार मल्लले भने, ‘डोल्पाली समाजको असाध्यै सूक्ष्म वर्णन गरिएको यो कृति कला र शिल्पको हिसाबले महत्वपूर्ण छ । यो कृति यात्रा मात्रै नभएर सामाजिक रुपमा गहिरो अध्ययन गरिएको विशेष ग्रन्थ हो ।’
यस्तै कार्यक्रममा समालोचक महेश पौडेलले याकजी उपल्लो डोल्पाको समग्र अध्ययन र साहित्यिक स्वाद दिनको लागि सक्षम भएको बताए ।उनले पुस्तक विवरणभन्दा अनुभूतिले भरिभराउ र यात्रा लेखनको एक मानक ग्रन्थ बन्न पुगेको बताए ।
नियात्रा समाज नेपालका अध्यक्ष तथा नियात्राकार प्रतीक ढकालले ‘याकजी नेपाली यात्रा(साहित्यमा एक अमूल्य कृतिका रुपमा आएको बताउँदै कला, शिल्प र शैलीको एक विशेष र चमत्कारिक अनुहार पुस्तकमा भेट्न सकिने बताए । उनले निबन्धकार नयाँघरे डोल्पाली समाजलाई अत्यन्तै सूक्ष्म र विशेष कलाकारिता प्रस्तुत गर्न सफल भएको बताए ।
यस्तै समालोचक तथा प्रा.डा. सिर्जना शर्मा उप्रेतीले ‘नयाँघरेको लेखनबाट आफू प्रभावित भएको र ‘याकजी’ पढ्न पढ्दा हिमाली सभ्यता, संस्कृति र रहनसहन थाहा पाउन सकिने बताइन ।
याकजीका लेखक युवराज नयाँघरेले आफ्ना लेखकीय अनुभव बताउँदै कर्णालीको विकट क्षेत्रको यात्राबाट आफूले जीवनकै गहिरो दर्शन प्राप्त गरेको धारणा प्रस्तुत गरे। नयाँघरेले भने ‘डोल्पा नेपालको एउटा विशेष प्रतिबिम्व हो । विकटताभित्र रहेको सरलता र शान्तिको एक विशेष अनुभूतिका लागि हामीले यी भूभागहरु घुम्नु पर्छ । यो यात्राबाट मैले समाज र सरकारलाई हेर्ने एउटा फरक भावना हुर्काएको छु । देश चिन्नका लागि डोल्पा एक विशेष स्थान हो । हरेक व्यक्तिले समय, समाज र संस्कृतिको समग्र अवस्था अध्ययनका लागि डोल्पा जस्ता विकट र कष्टकर भूभाग एक पटक भ्रमण गर्नुपर्छ ।’
नयाँघरेको यो कृतिमा तल्लो र माथिल्लो डोल्पाको भूगोल, संस्कृति, जनजीवन र विकटताको वर्णन गरिएकोछ ।
नियात्राकार नयाँघरेको यो १८औंँ कृति हो । रत्न पुस्तक भण्डारबाट प्रकाशित यो कृतिलगायत उनका आठ वटा नियात्राका कृति प्रकाशित छन् । मदन पुरस्कारलगायत विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित एवं पुरस्कृत नयाँघरे नेपाली निबन्ध र नियात्रा साहित्यका प्रतिनिधि लेखक मानिन्छन् ।