साहित्य ,पत्रकारिता र महिला सशक्तीकरणको क्षेत्रमा दुई दशक भन्दा लामो समयदेखि निरन्तर सक्रिय विमला तुम्खेवा फरक लेखकीय शैलीकै कारण पाठकमाझ स्थापित कविको रूपमा परिचित हुनुहुन्छ । तुम्खेवाको नेपाल ,भारत र हङकङमा एकल कविता वाचन कार्यक्रम सम्पन्न भैसकेको छ भने उहाँले लेखेको कविता सुदूर पश्चिमाञ्चल विश्वविद्यालय अन्तर्गतको डेढ दर्जन कलेजको स्नातक तह नेपाली पाठ्यक्रममा समावेश गरिएको छ भने हाल सञ्चारीका समूह नेपालको केन्द्रीय अध्यक्ष हुनुहुन्छ । साहित्य विधाको अध्ययन गर्ने रुचाउने विमला तुम्खेवासँग पुस्तकको सेरोफेरोमा रहेर गरेको कुराकानी
यतिखेर कुन पुस्तक पढ्दै हुनुहुन्छ ?
योगीको आत्मकथा फेरि दोहोराएर पढ्दै छु ।
तपाईँलाई मन पर्ने लेखकको नाम लिनुपर्दा ?
बिपी कोइराला , सर्वेश्वर दयाल सक्सेना , सिल्बीया प्लाथ ।
तपाईँको लागि लेखपढको उपयुक्त समय कुन हो ?
संस्थागत जिम्मेवारीको कारण पछिल्लो समय उपयुक्त समय भन्ने नै छैन । अघिल्लो वर्षहरूमा जसरी पढिन्थ्यो अब त्यस्तो समय रहेन नपढी धरै छैन ।
साहित्यका विविध विधामध्ये अलि शक्तिशाली विधा तपाईँलाई के लाग्छ ?
कविता । लेखन र लेखकको खास शक्ति कति छ भन्ने मापन कविले लेखेको कविताबाट अनुमान लगाउन सकिन्छ ।
सानोमा कस्ता पुस्तकहरू पढ्न पाउनु भयो ?
जुन बेला साहित्यमा रुचि बढ्दै थियो त्यो समयबाटै म्याक्सीम गोर्की र पारिजात वैरागी काइँला तोया गुरुङहरूलाई जानी नजानी पढ्दै हुर्किए ।
धेरै पटक दोहोर्याएर पढेका पुस्तकहरू कुन कुन हुन् ?
कवितामा घुम्ने मेचमाथिको अन्धो मान्छे र मातेको मान्छेको मध्यरात पछिको भाषण , शिरिषको फुल द सेकेन्ड सेक्स इन्द्र बा राई लगायत छन् ।
दोहोर्याएर पढ्नुका कारण खासमा के थियो ?
विषय र पात्रहरूले तानेर । राम्रो साहित्यको त्यो विशेषता पनि हो ।
ती पुस्तकहरूमा असाध्यै मन परेको पक्ष के हुन् ?
मानवीय संवेदना , कथालाई बुन्ने लेखकीय शैली , र उनीहरूले उठाएको विषयवस्तु ।
पुस्तक पढिरहँदा त्यसका पात्र, लेखक र परिवेशले कतिको पछ्याउँछ ?
कुनै पनि लेखकलाई पढिरहँदा पाठकलाई तान्ने भनेकै यी नै विषयहरूले हो पाठकले आफूलाई त्यहाँ पाउन सक्नुपर्छ मैले पनि आफूलाई एउटा पाठकको दुष्टिबाट हेर्दा लेखकीय शैली पात्रले उठाएको मुद्दा र न्यारेसन नै हेर्ने हो यी कुराहरू पाठकले रुचाइएको कृतिहरूको महत्त्वपूर्ण पक्षहरू हुन् ।
कस्ता पुस्तक बढी मन पर्छ ?
मानवीय संवेदना र पीँधमा रहेका मानिसहरूको सरोकारका विषयवस्तुले मलाई बढी छुन्छ ।
पाठकलाई ५ जना लेखकलाई पढ्नको लागि सिफारिस गर्नुपर्दा ?
बिपी कोइराला , इन्द्र बहादुर राई , वैरागी काइँला पारिजात उदय प्रकाश र पछिल्लो पुस्तामा छुदेनलाई पढ्दा ठिकै होला ।
तपाईँसँग कति जति पुस्तकहरूको कलेक्सन होला ?
त्यति धेर छैन । नेपालका चलेका लेखकहरू लगभग सबै छन् ।
पढ्न चाहेर पनि पढ्न नपाएका कुनै पुस्तक ?
नाम नलिऊ तर दर्शन र समाजशास्त्रका किताबहरू पढ्न धेरै बाकी छन् ।
अध्ययन र लेखाई बाहेकका रुचिहरू के छन् ?
फिल्म , हाइकिङ , ध्यान ।
नयाँ पुस्तालाई नपढी नहुने पुस्तकको रूपमा कुन–कुन पुस्तकहरू सिफारिस गर्नुहुन्छ ?
सबै कृतिहरूले कुनै न कुनै विषयलाई उठान गरेकै हुन्छ । अझ लेखकले त आफ्नो लेखनमा फरकपन ल्याउनै लागि भए पनि सबैलाई पढ्न जरुरी छ ।
तपाईँको पछिल्लो साहित्यिक योजनाहरू के–के छन् ?
कथाको कृति ल्याउने तयारीमा छु ।
स्रष्टा र सिर्जनाको सम्बन्धलाई तपाईँ कसरी हेर्नुहुन्छ?
यो त ध्यानीहरूले आत्मा र परमात्माको सम्बन्ध अर्थाए जस्तै गहिरो छ ।
तपाईँको जीवनमा सानैदेखि कोही रोल मोडेल छ, जसले जीवन यात्रामा निरन्तर सकारात्मक प्रेरणा दिएको होस् ?
धेरै चाहिँ आफैले बाची ल्याएको जीवन र भोगाई बुझाइहरूबाट उत्पन्न बिचार नै हो । खासै गुरु भनेर मेरो कोही छैन । तर लेखनको सुरुवाती समयमा सबैले माया र प्रेरणा नै दिनुभयो