जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज विविध सर्जक बिशेष

एउटा कठोर तपस्याको नाम

महेश पौड्याल महेश पौड्याल
प्रकाशित १७ कार्तिक २०८०, शुक्रबार
सर्जक बिशेष भित्र
0
एउटा कठोर तपस्याको नाम

डा. नवीनबन्धु पहाडीको काव्यकारिता, समालोचना, अनुसन्धान र उपन्यास लेखनसँग नेपाली पाठकहरु परिचित छन् नै । विगत करिब तीन दशकदेखि धादिङ बेसीमा बसेर, धादिङ जिल्लामा हुने साहित्यिक गतिविधिलाई नेतृत्व प्रदान गर्दै आउनुभएका पहाडीले आफ्नो सान्निध्यमा साहित्यकारहरुका धेरै छिमललाई दीक्षित गर्नुभएको छ । उहाँको आफ्नो लेखनमा तथा उहाँले हुर्काउनुभएका तन्नेरी पुस्ताका लेखकमा नेपाली परिवेश, पूर्वीय दार्शनिक परम्परा, लोक वाङ्मय तथा नेपाली माटोको सुवास यथेष्ट मात्रामा देख्न पाइन्छ । कारण — यी सब कुरा पहाडीको चिन्तनमा छन् । यानि, यी उहाँको बौद्धिक परिचयका घटक हुन् ।

स्रष्टा पहाडीसँगको मेरो व्यक्तिगत चिनाजानी करिब डेढ दशकदेखिको हो । कुनै बेला म धादिङबेसीतिर धाइरहन्थे । लाग्थ्यो, धादिङ मेरो गृहजिल्ला हो । मलाई सम्झना छ, पहाडीले नीलकण्ठ कलेजको प्रेक्ष्यालयमा भएको एउटा कार्यक्रममा भन्नुभएको थियो –‘महेशजी, हामी तपाईंलाई धादिङबाहिरको मान्दै मान्दैनौँ ।’ त्यो प्रेमका छाल अहिले पनि मेरो छातीमा छङछङ बगिरहेका छन् ।

धादिङ जिल्लाका युवाहरुले गठन गरेको युथ नेटवर्क धादिङको कार्यक्रममा जाने–आउने क्रममा मेरो परिचय नवीनबन्धु पहाडीसँग भएको हो । अलि समयपछि थाहा पाएँ – धादिङका किशोर–किशोरी र युवाहरुमा मैले ठम्याएको असीमित ऊर्जा, अथक क्रियाशीलता र विलक्षण सिर्जनशीलताका पछाडिको मुहानको नाम रहेछ डा. नवीनबन्धु पहाडी । चिनजान र कुराकानी गर्दै लगेपछि थाहा पाएँ – थोरै बोल्ने, हाँसेर मात्रै बोल्ने, अहम् र अभिमानको तहभन्दा माथि, सादा जीवन बाँच्ने, सधैं कुनै न कुनै गहन चिन्तनमा मग्न पहाडी एक कुशल स्रष्टा पनि हुनुुहुँदोरहेछ । पूर्वीय काव्यपरम्परा, समालोचना, अनुसन्धान, आख्यान, अखबारी लेखन, पूर्वीय दर्शन र संस्कृति तथा नेपालीपनसहितको साहित्यको अध्ययन र सिर्जनामा समर्पित स्रष्टा पहाडीसँग, यिनै कारणले, मलाई नजिकको साइनो स्थापना गर्न बेरै लागेन । केही वर्षसम्म लगातार भएका बालसाहित्य सम्मेलन र लेखन प्रशिक्षणले त झन् हामीलाई कल्पनै गर्न नसक्ने गरीको निकटताका साथ जोड्यो । यो गठजोड आजपर्यन्त अक्षुण्ण छ ।

डा. पहाडीले आफ्नो सिर्जना र साहित्यिक उन्नतिमा मात्रै ध्यान दिनुभएन । आफ्ना समयवयी तथा आफ्ना कनिष्ठ पुस्ताका युवा सर्जकहरुलाई लेखनमार्गमा अग्रसर गराउनमा उहाँको विशेष योगदान रहेको जगजाहेर छ । कवि दीपेन्द्र सिंह थापाजस्ता युवासर्जक तथा गणेश अगम ढुङ्गानाजस्ता तरुण लेखक उनै पहाडीको सान्निध्य पाएर परिचित भए । आफूले शिक्षण गर्ने गरेको निलकण्ठ उच्च माविमा साहित्यको प्रवद्र्धनका लागि देशका विभिन्न ख्यातिप्राप्त लेखकहरु बोलाएर, बालाबलिकाहरुलाई उनीहरुसँग साक्षात्कार गराएर उनीहरुभित्र साहित्यिक प्रेरणा जगाउने कार्यमा पहाडी अनवरत क्रियाशील हुनुहुन्छ भन्ने कुरा धादिङमा साहित्यमा चासो राख्ने सबैलाई थाहा छ । साथै, डिल्लीरमण अर्यालजस्ता राष्ट्रिय प्रतिभाका बारेमा खोज–अनुसन्धान गरी उहाँको व्यक्तित्वको भव्यतालाई देशसामु चिनाउने काममा पनि डा. पहाडीको योगदान स्तुत्य रहेको कुराको साक्षी हामीले बाँचिरहेको समय हो ।

डा. पहाडीको पहलमा भएका अनेक कार्यक्रममा म सामेल छु । अनेक यात्रामा साथ छु । विचारमा, सोचमा, चिन्तनमा सँगै छु । तर पनि, मलाई उहाँसँगको तीन विशेष कार्यक्रमको सबैभन्दा बढी याद आउँछ ।

एकपल्ट, बालसाहित्य प्रतिष्ठान नेपाल र युथ नेटवर्क धादिङको संयुक्त आयोजनामा, धादिङको दुर्लभ गाउँ काउलेमा अवस्थित प्रकाश माविमा बालसाहित्य सम्मेलनको आयोजना गरिएको थियो । यसका लागि हामी केही लेखक र केही उत्साही युवा गरी पन्ध्रबीस जनाको टोली, दिन घर्कंदै लाग्दा धादिङबेसी छोडेर पैदल उकालो लाग्यौँ । केही माथि पुगेपछि रात परिहाल्यो । धादिङका लागि नयाँ रहेका म, बालसाहित्यकार कार्तिकेय घिमिरे र अन्य केही साथीहरुका लागि उकालो बाटोमाथि पोखिएको यो अन्धकार कहालीलाग्दो थियो । भिरालो बाटो, अतिशय चिसो मौसम, अन्जान भूगोल । तर, हामीलाई त्यस अन्धकारभित्र बाटो ठम्याउन कुनै महाभारत भएन । कारण — हामी सँगसँगै हुनुहुन्थ्यो नवीनबन्धु पहाडी । उहाँको स्थानीयताको सुझबुझ, गाउँसमाजको परिवेशसँगको निकटता, त्यहाँका थुम्का, रुखपात, नाली र पहराहरुसँग गाँसिएको कथा, मिथक र विशेषताको ज्ञानको महात्म्य उहाँका मुखबाट सुन्दै हामी एउटा शिक्षाप्रद यात्रामा मग्न भयौं । उ: त्यो गुरु डिल्लीरमण अर्यालको घर ! त्यो पर, एउटा मान्छेले एक्लै संरक्षण गरेको वन ! यी बाटाका दायाँबायाँ स्थानीय किसानहरुले लगाएका बोडी ! यी धुवाँ नआउने चुल्हाहरु ! त्यो पर पाखामा नयाँ नयाँ बनेका गिर्जाघर…उहाँले हामीलाई स्थानीय सत्यसँग परिचित गराउँदै उकालै उकालो लानुभयो । अन्तत: रातको करिब १० बजेतिर हामी काउले पुग्यौँ । काउलेको त्यो रात्रिभोज र नवीनबन्धु पहाडीको अघोषित सभापतित्व जीवनमा कहिल्यै नबिर्सने घटना बनेर मेरो स्मृतिमा छ ।

भोलिपल्ट त्यसैगरी, त्यही बाटो झर्दा, नवीनबन्धु पहाडीको घुम्ती विश्वविद्यालयका विद्यार्थी हामी धादिङका सानातिना विशेषज्ञमै परिणत भयौँ ।

मैले स्रष्टा पहाडीसँग गाँसिएको अर्को घटना सम्झँदा रोमाञ्चित हुन्छु । एकदिन उहाँ एउटा विशेष सल्लाह छ भनेर काठमाडौँ आउनुभयो भाइ गणेश अगम ढुङ्गानाका साथमा । त्यो बेला मेरो डेरा रातोपुलमा थियो । हामी त्यहीँ बस्यौँ । पहाडीले भन्नुभयो —‘नीलकण्ठ नगरपालिकासँग अलिकति आर्थिक सहयोग मागेका छौँ । सष्टाहरुलाई बोलाएर एउटा सार्थक कार्यक्रम गर्नुपर्‍यो ।’

हामीले धेरैबेर माथापच्छी गर्‍यौँ । हामी दुवै अलि फरक हटेर सोच्नुपर्छ भन्ने मान्छे । अलिअलि जोखिम मोल्नमा रमाउने मान्छे । भाइ गणेशको त के कुरा, ढुङ्गा खाएर पचाउने उमेर । हामीले ठान्याँै— नेपाली समालोचनामाथि दुईदिने गोष्ठी गरौँ । समालोचनामाथि नै कार्यक्रम आफैँमा एउटा दुर्लभ कल्पना थियो । तर यो कल्पना डा. नवीनबन्धु पहाडीको थियो । त्यसैले, यो हुने त त्यसै बेला पक्का भयो ।

आँटेपछि गरिछाड्ने सिद्धान्त पहाडीको । साहित्यिक कार्यक्रम भइरहने नेपालमा कसैले कहिल्यै विशुद्ध रुपमा, समालोचनामा मात्रै केन्द्रित भएर गोष्ठी गरेको सम्झना कमसेकम मलाई थिएन । मेरो लागि त्यो नै पहिलो त्यस प्रकृतिको गोष्ठी हो, र त्यस गोष्ठीका परिकल्पनाकार हुनुहुन्थ्यो नवीनबन्धु पहाडी । उहाँको बौद्धिक परिपक्वता र शालीन व्यक्तित्वको प्रभाव भनौँ, माघ ११ र १२, २०७० मा आयोजित उक्त कार्यक्रम नेपाली सामालोचना क्षेत्रका दिग्गज व्यक्तित्वको उपस्थितिले ऐतिहासिक हुन पुग्यो । आयोजक थियो भानुप्रतिष्ठान, धादिङ । मलाई सम्झना छ – कार्यक्रममा अग्रज समालोचकहरु डा. मोहनप्रसाद तिमल्सिना, प्रा.डा. कुलप्रसाद कोइराला, प्रा.डा. खगेन्द्रप्रसाद लुइँटेल, प्रा.डा. अम्माराज जोशी, प्रा.डा. आनन्द शर्मा, डा. अमर गिरी, प्रा.डा. कुमारप्रसाद कोइराला, प्रा.डा. लक्ष्मणप्रसाद गौतम, डा. एकनारायण पौडेल, श्रीओम श्रेष्ठ रोदन, रामहरि दाहाल, रामचन्द्र लम्साल, लीला लुइँटेल, हरि अधिकारी र एलबी क्षेत्रीदेखि लिएर युवा अध्येता तथा समीक्षकहरु राम्जी तिमल्सिना, ज्ञानु अधिकारी, राजकुमार बानिया, शेखर खरेल, कुमारी लामा र आकाशदीप गुरुङ आदिको उपस्थिति थियो । गहन विषयमा कार्यपत्र प्रस्तुति र छलफलका कारण उक्त कार्यक्रमको बौद्धिक स्तर धेरै माथि हुन पुग्यो । यो सबै उनै स्रष्टा नवीनबन्धु पहाडीको प्रतिबद्धता र परिकल्पनाका कारण सम्भव भएको हो ।

मलाई नवीनबन्धु पहाडीसँग झनै निकट लिएर आउने अर्को प्रसङ्ग थियो — उहाँको महाकाव्य आमाको आँगनको प्रकाशन । कुरा २०७५ सालको हो । त्यो बेला मेरा मित्र गणेश जोशीले ऐश्वर्य प्रकाशन भर्खरै सुरु गर्नुभएको थियो र मेरो कथासङ्ग्रह त्यसपछि फुलेन गोदावरी त्यहीँबाट प्रकाशित भएको थियो । पहाडीको आमाको आँगन पनि त्यहीँबाट प्रकाशित गर्ने निधो भयो । भूमिका लेख्ने जिम्मेवारी मैले पाएँ ।

त्यसभन्दा पहिले मैले पहाडीको उपन्यास कृष्णा र केही फुटकर लेख–रचना र कविताहरु मात्रै पढेको रहेछु । उहाँभित्र विद्यमान काव्यिक चेतको भव्यता र पूर्वीय दर्शनको ज्ञानको गहिरो भनक मैले पाएको रहेनछु । हुन त कृष्णाले मलाई उहाँभित्रको मेधावी स्रष्टा र पूर्वीय वाङ्मयको ज्ञातासँग परिचित गराएको थियो, तर म उहाँको काव्यिक उत्कर्षसँग परिचित हुन पाएको थिइनँ । मलाई त्यो मौका आमाको आँगनले दियो ।

द्रौपदीको दृष्टिविन्दुबाट लेखिएको उपन्यास कृष्णामा महाभारतको एक प्रकारको बलियो विपठन छ, र त्यसमा नायक भनिएका पाण्डवहरु, सम्बन्धहरुको कसीमा खलनायकको रुपमा देखा परेका छन् । यो एक कम जोखिमपूर्ण काम होइन । यो पढ्दा, समयको यस मोडमा उभिएका हामीले आफ्नो विगतलाई आलोचनात्मक दृष्टिले हेर्नुपर्दछ भन्ने शिक्षा दियो । र, धर्मग्रन्थ भनिएको शास्त्र पनि साहित्य हुन्, र तिनको बलियो विपठन गर्न सकिन्छ भन्ने दृष्टान्त पहाडीले दिनुभयो ।

तर पनि, स्वभावैले कवि पहाडीबाट गहन कुनै काव्य पढ्न पाउने मभित्रको एउटा सुसुप्त भोक सल्बलाइरह्यो । आमाको आँगनमा आइपुगेपछि बल्ल मैले खोजेको उक्त उत्कर्ष भेट्टाएँ ।

आमाको आँगनको भूमिकामा मैले लेखेको छु –‘आमाको आँगन महाकाव्यको परिवेश गणतन्त्र घोषणापछिको नेपाल हो, जसमा अब राष्ट्रलाई जोड्ने कुनै पनि योजकहरु बाँकी रहेका देखिँदैनन् । संविधानले परिभाषित गरेका प्राविधिक योजकहरुले देशवासीका मन जोड्न सकेका छन् वा छैनन्, यो निकै ठूलो विमर्शको विषय बनेर आएको छ । शताब्दियौँदेखि एक रहेको, र आपसी सद्भावमा हुर्केको नेपाल एक्कासि जात, वर्ग, लिङ्ग र नश्लका आधारमा विभक्त हुनपुगेको सन्दर्भ यस महाकाव्यले उठाएको छ । बुद्धको शान्तिवृक्षको उद्गम, आदिम हिमाली सभ्यताको फूलबारी नेपालमा गणतन्त्रको घोषणापछि भित्रिएको यस अमानवीय अवस्थाको विश्लेषण र यसले निम्त्याएको अनावश्यक वैमनष्य यस महाकाव्यको मूल विषय हो ।’

महाकाव्यहरुमा आम रुपमा नदेखिने यस महाकाव्यको विशेषता भनेको आधुनिक सूचनाप्रविधिसँगको यसको तादम्य हो । यसमा पात्र र चरित्रहरुले फेसबुकको भरपूर प्रयोग गरेका छन् । बिछोडिएकाहरुले एकअर्कासँग कुराकानी गर्नलाई यस माध्यमको व्यापक प्रयोग गरेका छन् । विछोडको अवस्थामा पीताम्बर र हेमाको सम्पर्कसूत्र भनेकै फेसबुक रहेको छ । यसैगरी, मध्यपूर्व र कोरियामा कार्यरत रेशमजस्ता नेपालीहरुबीच काव्यिक संवादका लागि यस माध्यमको प्रयोग गरिएको छ । महाकाव्यको अन्त्यमा, पीताम्बरले यसै माध्यमको सहयोगले विश्वभरि छरिएका नेपालीहरुलाई स्वदेश फर्कन अपिल गरेका छन् । यसको सन्देश स्पष्ट : अबको समयमा सञ्चारमाध्यमले ल्याएको सूचनाक्रान्तिको उपयोग नगरी विश्वलाई संगठित गर्न असम्भव छ ।

मानविकी र शिक्षाशास्त्रमा स्नातक र नेपाली समालोचनामा विद्यावारिधी गरेका डा. पहाडी हाल नीलकण्ठ क्याम्पस, धादिङवेसीमा प्राध्यापन गरिरहनुभएको छ । उहाँको लामो साहित्यिक जीवनले हाम्रो वाङ्मयको ढिकुटीलाई अनेक आयामबाट बलियो बनाएको छ । पहाडीका कविताहरु शीर्षकको उहाँको कवितासङ्ग्रह प्रकाशित छ भने, प्रकृतिका पूजारी भूमि व्यक्तित्व शीर्षकको अनुसन्धान ग्रन्थ प्रकाशित छ । कृष्णा उपन्यास र त्यसका विशेषताको चर्चा मैले माथि नै गरेको छु भने महाकाव्य आमाको आँगन आफ्नै विशिष्ट महत्ता बोकेर, पहाडीका कृतिहरुको सूचीमा एउटा रचनात्मक उत्कर्ष बनेर उभिएको छ । त्यतै कतै, उहाँको मनमस्तिष्कमा सधैं जीवन्त रहने बालबालिकाप्रतिको मायाको स्मारक, उहाँको बालकविता कृति हजुरआमा जाती हो । स्नातक तहको साधारण नेपाली पाठ्यपुस्तक तथा आधुनिक नेपाली व्याकरणको सहलेखन तथा शुभारम्भ नेपाली शृङ्खलाको लेखन उहाँका शैक्षिक योगदानका प्रमाण हुन् ।

मौलिक लेखन तथा पाठ्यसामग्रीको संयोजनका अतिरिक्त पहाडीले थुप्रै पत्रपत्रिका र कृतिहरुको सम्पादन गरेर पनि नेपाली वाङ्मयप्रतिको उहाँको निष्ठा र समर्पण व्यक्त गर्नुभएको छ । उहाँको सम्पादनमा आएका महत्वपूर्ण प्रकाशनहरुमा महेन्द्र माविको मुखपत्र कल्पमञ्जरी, वातावरण विशेष अनुसन्धान पत्रिका खोज, खोजमूलक पत्रिका दि इफोर्ट, गणेश हिमाल साप्ताहिक, समालोचना ग्रन्थ सिर्जना, साधना र चेतनाका त्रिवेणी डिल्लीरमण अदि महत्वपूर्ण छन् ।

यी तमाम प्रसङ्ग, सम्झना र साहित्यिक चर्चामा मैले एउटा भव्य जिन्दगी चिहाउने आँखीझ्याल निर्माण गर्ने कोसिस गरेको हुँ । हामीलाई थाहा छ – धेरैजसो साहित्यिक गतिविधि काठमाडौँमै केन्द्रित भएको, अथवा हदै भए केही ठूला नगरहरुमा सीमित भइरहेको बेला, एउटा सानो सहरमा बसेर ठूलो कद आर्जन गर्नु सामान्य कुरा होइन । धादिङबेसीमा रहेर नवीनबन्धु पहाडीले आफूलाई एउटा भव्य राष्ट्रिय साहित्यिक विरादरीसँग जोडेर राख्नुभएको छ । यो उहाँको व्यक्तित्वको महत्ताको प्रमाणीकरण हो र एक कठोर तपस्याको परिणति हो । शिक्षक भएका नाताले विद्यार्थीहरुको सञ्जाल त छँदैछ । त्यसका अतिरिक्त, उमेरमा आफूभन्दा धेरै साना, पुत्रपुत्रीतुल्य भाइबहिनीहरुसँग अँगालो मार्दै कहिले युवा सञ्जाल धादिङ र कहिले प्राज्ञिक विद्यार्थी परिषद्मा उहाँले आफ्नो बौद्धिक ऊर्जाको लगानी गरेर एउटा सिङ्गो पुस्तालाई बाटो दिनुभएको कुराका साक्षी हामी छँदै छौँ । भानुप्रतिष्ठान, नेपाल पत्रकार महासंघ, नेपाल प्रेस युनियन तथा स्रष्टा अभियान नेपालजस्ता संघसंस्थासँग जोडिएर बन्धुले आफूलाई सधैँ एउटा बृहत्तर परिवारसँग जोडिरहनुभयो । यसले सन्देश के दियो भने मान्छेको वासस्थान कहाँ छ, त्यो विशेष महत्वको विषय होइन । मान्छे आफूलाई कसरी विस्तारित गर्दछ र सम्पर्कको सूत्र निर्माण गर्दछ, त्यसले उसको फैलावटको बाटो निर्धारण गर्दोरहेछ ।

मलाई नवीनबन्धु पहाडी धादिङ बेसीका बौद्धिक र साहित्यिक अभिभावकजस्तो लाग्छ । बेसीबाहिर उहाँ मलाई पूर्वीय काव्य र समालोचना सिद्धान्त र परम्पराको एउटा बलियो भरोसाजस्तो लाग्छ । युवाहरुका लागि एउटा कुशल मार्गदर्शकजस्तो लाग्छ । बालबालिकाका लागि एउटा तेजिलो घामजस्तो लाग्छ । मलाई बन्धु धादिङ बेसीको सानो साहित्यिक–बौद्धिक उद्यानलाई देशसँग जोडेर राख्ने पुलजस्तो लाग्छ । मलाई बन्धु एउटा सतीसालजस्तो लग्छ । एक्लै उहाँ अनेक जस्तो लाग्छ । अनेक आआममा उहाँ एक जस्तो लाग्छ । मलाई उहाँ वचन र व्यवहारको भव्य समाञ्जस्यजस्तो लाग्छ । एउटा अभिमानरहति, समदृष्टिले युक्त गुरुजस्तो लाग्छ ।

मलाई यस्तै लाग्छ ।


Tags: डा. नवीनबन्धु पहाडी
अघिल्लो पोष्ट

हिँड्दा हिँड्दै

पछिल्लो पोस्ट

सही साहित्यले पाठकलाई आनन्द दिन्छ : डा. बमबहादुर थापा ’जिताली“

महेश पौड्याल

महेश पौड्याल

सम्बन्धित पोष्टहरू

दोस्रो जीवन साहित्यमा रमाउँदै प्रा.डा. हेमाङ्ग दीक्षित
सर्जक बिशेष

दोस्रो जीवन साहित्यमा रमाउँदै प्रा.डा. हेमाङ्ग दीक्षित

३ बैशाख २०८२, बुधबार
शब्दबिम्बमा हरिराम जोशी
सर्जक बिशेष

शब्दबिम्बमा हरिराम जोशी

२ चैत्र २०८१, आईतवार
वसन्तको बहाव
विविध

वसन्तको बहाव

२६ मंसिर २०८१, बुधबार
यात्रा निबन्धकारका रूपमा लैनसिंह बाङदेल
समालोचना

यात्रा निबन्धकारका रूपमा लैनसिंह बाङदेल

१८ भाद्र २०८१, मंगलवार
पछिल्लो पोष्ट
सही साहित्यले पाठकलाई आनन्द दिन्छ : डा. बमबहादुर थापा ’जिताली“

सही साहित्यले पाठकलाई आनन्द दिन्छ : डा. बमबहादुर थापा ’जिताली“

साहित्य साधनाको इतिहास : गोमा

साहित्य साधनाको इतिहास : गोमा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

राणाकालीन कालरात्रीमा हराएकी प्रतिभा पूर्णमाया मानन्धर

राणाकालीन कालरात्रीमा हराएकी प्रतिभा पूर्णमाया मानन्धर

३ जेष्ठ २०७८, सोमबार
गुन्जनले विभिन्न स्रष्टा सम्मान

गुन्जनले विभिन्न स्रष्टा सम्मान

३ जेष्ठ २०८०, बुधबार
इङ्नामलाई मदन पुरस्कार, थापालाई जगदम्बाश्री

इङ्नामलाई मदन पुरस्कार, थापालाई जगदम्बाश्री

३ जेष्ठ २०७८, सोमबार
दशरथ चन्द स्मृति पुरस्कार चितवनमा लिन जाँदा …

दशरथ चन्द स्मृति पुरस्कार चितवनमा लिन जाँदा …

४ जेष्ठ २०८१, शुक्रबार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (70)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (45)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (43)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (46)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (43)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (555)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक