जतिबेला
आँखा अगाडि अत्याचार हुँदै थियो
मैले नदेखेझैँ गरेको थिएँ
जतिबेला
करूण क्रन्दन कानमा गुञ्जिदै थियो
मैले नसुनेझैँ गरेको थिएँ
जतिबेला
विवेकले अन्याय भन्दै थियो
मैले मौन धारण गरेको थिएँ
त्यो हेर्नै पर्ने थियो
त्यो सुन्नै पर्ने थियो
त्यहाँ बोल्नै पर्ने थियो
त्यो मेरै युद्ध थियो
म हुत्तिहारा भएँ
तिमी धिक्कार्दै छौ
तिमी दुत्कार्दै छौ
हो
हिजो कोमल हुनुको फल
आज चुपचाप कठोर सहँदै छु
मलाई क्षमा गर ओ समय
क्षमा गर क्षमा गर
हिजोको त्यो धार मोड्न नसक्दा
भोलिको इतिहासमा
म हुत्तिहारा दर्ता भएको छु