मलाई अक्षरको खेती गर्न मन छ । अक्षर रोपेर फलाउन सके कसो होला भन्ने लागेको छ । बेरोजगारीको समस्याले सन्त्रस्त र अभिशप्त देशमा अक्षरको खेतीपातीमा नयाँ पुस्तालाई धकेलि दिनसके अरबको खाडीतिर ऊँट र भेडा चराउन पठाउने व्यापारमा मन्दी आउँथ्यो कि भन्ने गुडुना खेल्न थालेको छ । बन्दुक समाएका पारखी हातहरुले कलमको अनौ समाउँदै अक्षरको खेती गरेर विचार फलाउन सक्छन् भन्ने विश्वास बढेको छ ।
अक्षरसँग म चार वर्षको उमेरदेखि परिचित हुन थालेको हुँ । “ऋ” उच्चारण गर्न नसक्दा गुरुले दिएको थप्पडको पुरस्कार थापेर भागेको मैले अक्षरसित खेल्न र रमाउन छाडिनँ । उति बेलादेखि खेलाउँदै गरेका मेरा प्यारा अक्षरहरुलाई मात्राको गहनाले चिटिक्क सिँगारेर राम्रो पार्न गरेको प्रयत्न पनि भुलेको छैन । तर पनि अक्षरसित खेल्ने, अक्षरलाई सिँगारपटार गरेर चिटिक्क पार्ने र मलिलो बारीमा रोपेर मनग्गे फल फलाउने रहर भने कहिल्यै पुगेन । मलिलो गैरीखेत, छेवैको खोलाबाट निकालिएको सफा पानीको कुलो, प्राङ्गारिक मल राखेर तयार पारिएको ब्याडमा अक्षरको बीउ छरेर माथिको पीपलको छहारीमा बसेर पसिना पुछ्दै खेतमा समाहा चलेको हेर्दै सुस्ताउन औधी मन छ ।
मेरो मुखले प्रेमपूर्वक पुकार्दै आएका, मेरो हातले खेलाउँदै, मुसार्दै र सिँगार्दै आएका मेरा प्यारा अक्षर र मात्राहरुको मखमली माला उनेर जीवनभर लगाएँ र औधी रमाएँ । मेरा आफन्तलाई लगाइदिएँ र खुसी पारेँ । अक्षरसँग खेल्दैमा बाल्यकाल र बैँस त्यत्तिकै बितेछ । पत्तै भएन । अक्षर खाइयो, अक्षर लगाइयो, अक्षरमै सुतियो र अक्षर नै ओढियो । तर पनि अक्षरको बीउ छानेर बिरुवा उमार्ने, बाँझो धरर्तीमा रोपेर हराभरा बनाएर फूल फुलाउन सकिएन छ । पोल्टामा सजाएर राखेका मेरा अक्षरहरुको बीउ त्यसै खेर जान्छ कि भन्ने पिरले बूढेसकालमा सताउन थालेको छ ।
अक्षरको खेती गर्न त्यति सजिलो छैन । राम्रो बीउ, उपयुक्त माटो, उचित मौसम, अनुकूल हावापानी अक्षरको खेतीका लागि आवश्यक छ । यी सबैको तारतम्य एकैचोटि मिलाउन कठिन छ । त्योभन्दा पनि गाँठी कुरा मानिसको इच्छाशक्ति र जाँगर हो । “जाँगर न साँगर खाने बेलाँ आँ गर्” भन्ने गाउँले उखानजस्तै भकारीमा राखेको बीउ समयमा ब्याड बनाएर छरिएन भने बेकार हुन्छ । अक्षरको खेतीका लागि उद्यमशीलता महङ्खवपूर्ण हुन आउँछ ।
खेतीपातीको ज्ञान र सीप नभएको मानिसले मौसम अनुकूल खेती गर्न जान्दैन । मुस्ताङ र जुम्लामा फल्ने स्याउ र खुर्पाने तराईको हावापानीमा फलाउन सम्भव छैन । बासमती धानको बीउ लोमान्थाङको माटोमा रोपेर फलाउन सम्भव छैन । नरिवल र सुपारीलाई सगरमाथाको बेसक्याम्पमा रोपेर फल लाग्दैन । अक्षरको खेतीका लागि पनि हावापानी र मौसमको अनुकूलताको हेक्का राख्नुपर्छ । खेती गर्ने नाममा जथाभाबी बीउ छर्ने वा बिरुवा रोप्दै हिँडेर पनि नहुने रहेछ ।
मेरो खेतबारी रुखो छ । बाँझो छ । चैत वैशाखको घाममा मेरो मनको फाँट उजाड हुँदै गएको छ । वर्षाको भेलले खेतबारीको मलिलो माटो बगाएर लग्छ । तलतल पुर्याउने गर्छ । बैँसालु दिनमा अक्षरको बिरुवा रोपिदिन सकेको भए मेरो मनको पाखोपखेरो खेतबारी हराभरा हुने थियो । अक्षरकोे बिरुवा समयमै रोपिएको भए सिर्जनाको छहारीमुनि चैतको घाममा चौतारीमा बसेर पसिना पुछ्दै शीतल तापिने थियो । मैले चिनेको चौतारीमा थकित बटुवा र भरियाहरु भारी बिसाई लामो सास फेर्ने थिए र तिर्खाएका गाईले मेरो श्रमको पोखरीमा पानी पिएर प्यास मेट्ने थिए होला । अहिले मसित भावनाको संसारमा कल्पीकल्पी पश्चाताप गर्नुको विकल्प अरु के नै छ र ?
मेरा अक्षरहरु कतै चैते धुपमा परेको बुँदाबुँदीझैँ बिलाएर जाने हुन् कि भन्ने डर छ । शिशिरको पातझैँ झरेर जाने मौसमी बन्छन् कि भन्ने चिन्ताले सताउँछ । मेरा अक्षरहरु थोपाथोपा मिलेर सिर्जनाको सागर बन्न सकून् । स्रष्टाको समुद्र बनून् र रुप्से छहराझैँ मेरो लेखनीबाट अविराम बर्सन सकून् । त्यसैले मलाई अक्षरको बाढी ल्याइदिने मन छ ।
मैले आजीवन अक्षर खेलाएँ । अक्षरसित खेलियो । अक्षरको पराग छर्न कोसिस गरेँ । तर पनि अक्षरको बाली स्याहार्न सकिनँ । अक्षरलाई बाँझो खेतमा छरेर फल लाग्दो रहेनछ । रुखो मनको बारीमा अक्षरलाई रोपेर फलको आशा गर्नु पहरामा धानको खेती गर्नुसरह नै रहेछ ।
बाल्यकालदेखि खेल्दै र खेलाउँदै आएका मेरा हितैषी अक्षर र मात्राहरुले अहिले मलाई लखेटिरहेको अनुभूति हुन्छ । ‘क’को कलम हातबाट खसेजस्तो लाग्छ । ‘ज्ञ’को ज्ञान ह्रास हुँदैछ कि भन्ने डर लागिरहेको छ । ‘त्र’ले मलाई निल्न मुख बाएजस्तो लाग्छ । बुद्धि र बुद्धको ‘बु’ भागिरहेछ कि भन्ने लागेको छ । आकारको ‘ा’ बूढेसकालको लौरो हुँदैछ कि भन्ने डर छ । अहिले देख्दैछु, मेरो ठूलो वर्णमालाका अक्षरहरु ख्याउटे भइसकेछन् । उकार र इकार पनि दुब्लापातला हुन थालेछन् । शब्दकोशबाट मेरो अक्षरारम्भका दिनमै मुखमा झुन्डिएको ‘लृ’ लाई सधैंका लागि लखेटिएछ । मानिस किन बैगुनी बनेर अक्षर र मात्रासित रिसाइरहेको छ ? इकार, उकार र सकारमा किन विवाद गर्दैछ ? अक्षरले मानिसको हानिनोक्सानी गरेको कतै देखिएको छैन । अक्षर निर्वर्गीय औजार मात्र हो । यी सबै जिज्ञासाका लागि पनि मलाई अक्षरकै खेती गर्न मन लागेको छ ।
मैले काठको पाटीबाट अक्षरको खेती सुरु गरेँ । ढुङ्गामा खरीले लेखेर अक्षर खेलाएँ । रातो माटोले पोतेको घरको भित्तोमा दूधे खरीले लेखेको बाल्यकाल सम्झिँदा अहिले पनि बालक बनेर कतै फर्कूंफर्कूं लाग्छ । अक्षरसँग मितेरी लगाऊँलगाऊँ लाग्छ ।
मेरो इतिहास हराउँदैछ काठको पाटीमा अक्षर खेलाएको । मेरो विगत बिर्सिंदैछ पात कुटेर फलामे दिउरीमा उमालेर तयार पारिएको मसीमा निगालोको कलमले सफा नेपाली कागजमा लेखेको । मैले विगतलाई बिर्सन सकिनँ । आगतलाई अन्याय गर्न सक्दिनँ म ।
सानो छँदा मेरा अक्षर सिलपाटीमा रोपेँ र गुरुको पाठमा रोपेँ । खरीले धुलौटोमा अङ्क र अक्षरहरु रोपेँ । अङ्क पनि अक्षरकै सन्तान हो भन्ने सोचेँ । सिमी र घिरौंलाको पात कुटेर बनाएको मसीमा निगालाको कलम चोबेर हात्तीछाप कापीमा रोपेका मेरा अक्षरले पुरस्कार दिलाएका थिए । परीक्षामा अक्षर रोपेँ । मेघदूतका अक्षरलाई घोटेर पिएँ । अठार वर्षसम्म कालोपाटीमा चक घोटेर डस्टरले मेटेँ । साँझबिहानको हिसाबकिताबमा अक्षरको बीउ खर्चेँ । नेपाली कागजमा साक्षी राखेर लेनदेनका लिखतमा अक्षर खर्चेँ । लाहुरेलाई गाउँलेका चिठी लेखिदिएर पनि अक्षरको दोहोलो काढेँ । बाल्यकालमा अक्षरसित खेलेको दिनको स्मरण आज इतिहास बन्दैछ । त्यो बेला मेरो अक्षरसितको सम्बन्ध साह्रै मीठो, चोखो र पवित्र थियो । त्यसमा इमान थियो, धर्म थियो र हिमालझैँ सफा थियो । तर आज मेरो पेट खाली छ । मेरो दिमाग खाली छ । मलाई भोक लागेको छ । प्यास लागेको छ । ज्ञानको क्षुधा मेटाउन अक्षरले पेट टन्नै भर्ने मन छ ।
म बढ्दै गएँ । पढ्दै गएँ । समाजले मलाई नानाभाँती सिकाउन थाल्यो । समाजमा मैले वर्ग देखेँ । भेदभाव र अन्याय देखेँ । मैले अक्षरलाई अलि फरक ढङ्गले खेलाउन थालेँ । चर्का राजनीतिक भाषण र आरोप–प्रत्यारोपमा मुरीका मुरी अक्षरको बीउ पोखिन थाल्यो । अक्षरसित खेलेर सुन्दर संसारको निर्माणका लागि अक्षरको खेती गर्नु इमानदारी हो । भेदभाव, अन्याय र अत्याचारका विरुद्ध मेरा अक्षरहरु पोखिन थाले ।
मेरा अक्षरहरु विद्रोही बनेर बन्दुक बोके । न्याय खोज्दै सडकमा पोखिए । आवाज बनेर आकाशमा उड्न थाले । समयले मेरा अक्षरलाई अराष्ट्रिय तङ्खव बनायो, विद्रोही र आतङ्कवादी बनायो । बन्दुक बनेर पड्किए । समयले मेरा अक्षरलाई नानाभाँती गर्न बाध्य बनायो ।
निहित स्वार्थपूर्तिका लागि अक्षरको दुरुपयोग गर्नु अक्षरप्रतिको अन्याय र बेइमानी हो । निहित व्यापार प्रवद्र्धनका लागि आकर्षक र कलात्मक ढङ्गले होर्डिङबोर्डमा टाँसिएका अक्षरहरु न्यायको याचना गर्दै रोएको देख्न थालेको छु । अश्लील छापामा टाँसिएका अक्षरहरुले अपमानित जीवन जिउन बाध्य हुनुपरेको गुनासो सुनेको छु । अक्षरको अपमान गर्नु सभ्यताको उपहास गर्नु हो भन्ने ठानेको छु ।
वेद र पुराणका पवित्र अक्षरहरु, पाणिनिका अचुक सूत्रहरु, जैमिनिको पूर्वमिमांसा, ज्योतिषका सूत्र र गणितका तथ्यहरुमा अङ्कित अक्षर र अङ्कहरु आधुनिक सभ्यताको कैदी बनेको देखेर मन धर्किन्छ । तथ्यको तोडमोड गर्न कोरिएका अक्षरहरुले न्यायको याचना गर्दै अदालत धाउँदै गरेको देखेको छु । न्याय मारेका अदालती फैसला र रकमी तोकआदेशका अक्षरको दुर्गति देखेर टिठ लाग्छ ।
अक्षरप्रतिको यो घोर अपमान र पापका विरुद्ध अक्षरको अणुबम बनाएर दुष्टहरुको संसार उडाइदिऊँजस्तो लाग्छ । मानिसले किन यतिविधि अक्षरको अपमान गर्न सकेको होला, सम्झँदा पनि आश्चर्य लाग्छ । मेरा अक्षरहरु किन यति निरीह र कमजोर बने ? किन यतिविधि अपमानित भएर पनि चुपचाप मानिसको हातमा खेलिरहेका छन् ? त्यसैले मलाई अक्षरलाई न्याय दिन अक्षरको खेती गर्न मन लागेको छ ।
भानुभक्तको रामायणका रसिक श्लोकमा फाँकी मिलाएर उनिएका अक्षरहरु, लेखनाथको तरुणतपसीमा कुँदिएका अक्षरहरु, देवकोटाको मुनामदन, शाकुन्तलम् र सुलोचना वा लक्ष्मी निबन्धसङ्ग्रहमा उनिएका अक्षरका बहुमूल्य मालाहरु कतै ओइलाउँदै त छैनन् भन्ने शङ्का लाग्न थालेको छ । भूपीले खेलाएका अक्षरहरु, समले सजाएका मात्रा वा सिद्धिचरणले गाएका देशभक्तिका गीतमा गुथिएका अक्षरहरु कतै आधुनिक सभ्यताको खहरेले बगाउँदै त छैन भन्ने त्रासले सताउन थालेको छ । त्यसकारण पनि मलाई अक्षरको बीउ रोपेर अक्षरको रक्षा गर्न मन लागेको छ ।
मानिस आजीवन अक्षरसित खेलेको छ । अक्षरको खेती गरेको छ तर के राम्रो फल फलाउन सफल छ ? अक्षर रसिक र हराभरा छन् । हराभरा दिलको बारीमा मात्रै अक्षरको कोपिला लाग्न सक्छ । अक्षर खहरे बनेर बगेको छ । हावा बनेर उडेको छ । बादल बनेर दर्केको छ । तर उब्जाउ जमिन नपाएर अक्षरको बीउ सडेर खेर गएको छ । बीउ उम्रिन्छ भन्ने कुरा सत्य हो । तर बन्द सिसीमा अक्षरलाई कैद गरेर अक्षरको खेती सम्भव छैन । उपयुक्त जमिन, उचित हावापानी र वातावरण आवश्यक छ । त्यसैले भरिलो मनको रसिलो ब्याडमा अक्षरको बीउ छरौँछरौँ लाग्छ ।
सग्ला अक्षर र मात्रालाई अञ्जुलीभरि लिएर नातिलाई अक्षरसित मितेरी लगाइदिन बस्दा मलाई औधी रमाइलो लाग्छ । बालसुलभ दिलमा अक्षरको बाली कति छिटो मौलाउन सकेको ! मलाई आश्चर्य लाग्छ । केही समयपहिले मेरो दिलको सानो गरामा एकपटक बङ्गाली अक्षरको बीउ रोप्न प्रयत्न गरे । लामो प्रयासपछि कताकति टुसाए पनि आखिर मरेर गयो । बूढो दिलभित्र अक्षरको खेती गर्न गाह्रो छ भन्ने अनुभूति भए पनि मेरा अक्षर र मात्रासित फेरि पनि खेलबाड हुन सक्छ भन्ने लागेको छ । त्यसैले पुरानो सम्बन्ध नवीकरणका लागि पनि अब अक्षरको खेतीतिर फर्कन मसक्कै आँटेको छु ।
अक्षर छरपस्ट छरिएको छ । आकाशमा छरिएको छ । पातालमा छरिएको छ । समुद्रमा छरिएको छ । कला पारखीले अक्षरको खेती गरेर मनग्गे फल फलाएको छ । जाँगर गर्नेले अक्षरको बाली लगाएर भकारी भरेको छ । उद्यमीको फाँटमा अक्षरको बाली फस्टाएको छ । पौरखीहरु कुटोकोदालो बोकेर साँझबिहान कुदेका छन् । अक्षरको बाली लगाएका छन् । गोडमेल र सिँचाइ गरेका छन् । सोझो मनले अक्षरको फल फलाएका छन् र आयातनिर्यात पनि गरेका छन् । यो पनि राष्ट्र सेवा हो । जनसेवा र जनताको पहिचान पनि हो । त्यसैले अब म पनि अक्षरको खेती गर्न सक्रिय बन्नुपर्छ । अक्षर रोपेर पसिनाले सिँच्नुपर्छ । कलमको कुटोकोदालोले खनीखोस्री गरेर ब्याड तयार पार्नुपर्छ । हँसियामा सान लगाउनुपर्छ । दसनङ्ग्री खियाएर गोडमेल गर्नुपर्छ । गाईवस्तुबाट जोगाउन बलियो बारबन्देज लगाउन हथौडाले किला ठोक्नैपर्छ । किसानको श्रम र पसिना लुट्ने लुटेराहरुबाट बालीनालीको रक्षा गर्नुपर्छ । मैले उब्जाएको फल अरुलाई चखाउन पाए मेरो जीवन सफल हुनेछ । त्यसैले पनि मैले अक्षरको खेती गर्नैपर्छ ।
अक्षरले आगो बनेर जलाउन सक्छ संसारलाई । ज्वालामुखी बनेर दन्किन सक्छ अन्यायका विरुद्ध । अक्षर हुरीबतास र हुन्डरी बनेर उडाउन सक्छ पुरानो संसारलाई । अक्षर आकाशमा उडेको छ मङ्गलतिर, जमिनमा गुडेको छ र समुद्रभित्र डेरा जमाएको छ । मलाई पनि अक्षरसित उड्न मन छ आकाशमा र समुद्रको पिँधमा डेरा जमाएर अक्षरको खेती गर्न मन छ ।
अक्षर पहिचान हो । अक्षर छ र पहिचान छ । अक्षर छ र लिपि र जाति छ । अक्षर नरहे पहिचान हराउँछ । जाति हराउँछ । इतिहास मेटिन्छ । संस्कार, संस्कृति लोप भएर जान्छ । मानव जातिको सर्वस्व गुम्छ । मेरो लिपि, मेरो भाषा र अक्षरहरु धेरै प्यारा छन् । यी मेरा जीवन हुन् । नेपाली जातिका पहिचान हुन् । परापूर्वकालमा मेरो लिपिका पूर्खाहरु पहरामा खोपिएका थिए । अक्षरको खेती पत्थरमाथि भएको थियो । पहरमा अक्षर फूले । हरिया पातहरुमा पोखिएका अक्षरले बास्ना छरे । रुखका बोक्रा र पातहरु अक्षरको खेतीका उर्वर फाँटहरु थिए उतिबेला । शिलालेख र ताम्रपत्र ऐतिहासिक विरासत हुन् । अशोक स्तम्भमा कोरिएका अक्षरले संसारमा बुद्धत्व फैलाउने काम गरेका छन् ।
अक्षर बोल्छ । अक्षर भूत हो, वर्तमान र भविष्य पनि हो । अक्षर इतिहासको निर्माता, रक्षक र पालक पनि हो । अक्षरले मानिसको आँखा खोल्छ, बाटो देखाउँछ । मानिसलाई ज्ञानीगुनी बनाउँछ अक्षरले । त्यही अक्षरले मानिसलाई पागल पनि बनाउँछ । अक्षरको शक्तिसित मुकाबिला गर्ने दुनियाँमा अरु कुनै तागत छैन । अक्षर बम बनेर पड्किन सक्छ अन्यायका विरुद्ध । अक्षर आगो बनेर सल्किन सक्छ अन्यायका विरुद्ध । अक्षरले व्यवस्था ढलाउँछ । युग बदल्छ । संसारलाई डोर्याउँछ । इतिहासको रचना गर्छ र संसारको पालन गर्छ । त्यसैले अक्षरको महङ्खव साह्रै ठूलो छ । मलाई अक्षरको फूलबारी सजाउन अचम्मै मन छ ।
अक्षरको सागरमा पौडी खेलेर रमाउन चाहन्छु म । मात्रा र अक्षरसित खेलेर शेष जीवन बिताउन चाहन्छु म । मेरा अक्षरको मोहनीले मलाई बौलाहा वा पागल बनाउँदैछ । अक्षरको कञ्चन कालीगण्डकीमा बगेर जान चाहन्छु । समुद्र भेट्न चाहन्छु । त्यसैले आजभोलि किनकिन अक्षरको खेतीका लागि असल बीउको खोजीमा भौंतारिन मन लाग्छ ।
अक्षरको नालीबेली खोज्दै जाँदा आखिर प्राणीको अस्तित्व र जननीको प्रसवसम्म पुगिन्छ कि भन्ने लाग्यो । जन्मिनासाथ खाना माग गर्दै आवाज दिने प्राणी मानिस नै हो । उसको ‘च्याँऽऽ’को आवाजले खाना माग्छ, न्यानो र सरसफाइको आदेश दिन्छ, विद्रोहको उद्घोष गर्छ । आवाज प्रकृतिप्रदत्त वरदान हो । बाँच्नका लागि जनावरले प्रयोग गर्ने पहिलो हतियार आवाज हो ।
भाषाको विशाल फूलबारीमा लिपि फुल्न थाल्यो । तरहतरहका लिपिका फूल मानव समुदायहरुमा देखापरे । लिपिको कोपिलाबाट अक्षरहरु कोरलिए । लिपि, भाषा र अक्षर पहिचान बन्यो । लिपिको बगैँचामा तरहतरहका भाषाका फूल फुले । मेरा अक्षरका पूर्खाहरुको नालीबेली लामै छ ।
आवाज र सङ्केत लिपिमा अनुवाद भयो । अक्षरको जन्म छिमेकी चीनबाट भयो भनेर इतिहासले घोषणा गर्यो । मानव जातिको विकासका क्रममा भाषा, लिपि र अक्षरको जन्म भए पनि कालान्तरमा मेरा अक्षरहरु मानव जाति र सभ्यताको पहिचान बने । मानव समाज वर्गीय छ । तर अक्षर र भाषा कहिल्यै वर्गीय हुन सकेन । बरु वर्गस्वार्थका लागि मानिसले अक्षरको दुरुपयोग गर्दै आएको छ । विज्ञान र प्रविधिको विकासको अन्तिम पहिचान अक्षरमा आएर अडेको छ । त्यसैले मलाई सबै काम छाडेर अक्षरसित खेल्न मन छ ।
मेरा वैदिक कालका अक्षरहरु वेदव्यासले लेखिदिएका थिए । मनुस्मृति र महाभारतका अक्षरसित खेलेर जीवन बिताएका पूर्खाका हामी सन्तान हौँ । हाम्रा बाबुबाजेको धर्म, पेसा र व्यवसाय अक्षर खेलाउने, अक्षरसित खेल्ने र अक्षरको खेती गर्ने थियो । मेरो गाउँको पुछारतिर कालीगण्डकीको किनारमा समाधि लगाएर जैमिनि ऋषिले पूर्वमिमांसा र जैमिनिसूत्रका अक्षर खेलाएका थिए । फलित गणितका सूत्रद्वारा सबै ग्रह र नक्षत्रको गणना गरेका थिए । आफ्ना विचार, भावना र कृतिहरुलाई कालीको छालमा मिसाएर हिन्द महासागरसम्म पुर्याएका थिए ।
मलाई पूर्खाको गौरवगाथा गाएर मात्रै बस्न मन छैन । इतिहासको व्याज खाएर गुजारा गर्ने परम्परासित चित्त बुझेको छैन । मलाई फाँटका फाँट अक्षरको खेती गरेर नयाँ पाना पल्टाउने रहर छ । अक्षरको बाली भिœयाएर रमाउने रहर छ । अक्षरको भुवादार सिरानी राखेर नयाँ संसारको सपना देख्ने रहर छ ।
वेद, कुरान र बाइबलका अक्षरहरु एउटै आमाका सन्तान हुन् । मानिसको पवित्र रगत र पसिनाबाट अक्षरको जन्म भएको छ । देवनागरी, हिब्रु वा अन्य लिपिको वंशावली पनि मानिसको चेतना र विकासक्रमसित जोडिएरै आएको छ । अक्षरको खेतीको पौरख मानिसले गर्यो र मानिसले मात्रै गर्न सक्छ ।
प्रकृतिको आफ्नै भाषा, शैली र लय छ । प्रकृतिका उपज पशुपन्क्षी, कीटपतङ्गको पनि आ–आफ्नै भाषा र शैली छ । तर सबैसित अक्षर छैन र लिपि पनि छैन । तर मानिससित लिपि र अक्षरको अथाह सम्पदा र सम्पत्ति छ । यो हाम्रो पैतृक सम्पत्ति हो । त्यसको संरक्षण र विकास गर्नु हाम्रो कर्तव्य हो । मानिसको पहिचान अक्षरको आविष्कारसित जोडिएको छ । जनावरको कित्ताबाट मानिसलाई अलग गर्ने औजार पनि अक्षर नै हो । त्यसैले मलाई अक्षरको मनग्गे खेती गर्ने औधी मन छ ।
मेरा हजुरबाले अक्षरसित खेल्ने अवसर पाउनुभएन । पछि निकै पछुताउनुभयो । बाले अवसर पाएर पनि जाँगर देखाउनुभएन । अक्षरको उज्यालो प्रकाश राम्रोसित घरभित्र छिर्न नपाएको परिवारमा म जन्मिएँ । अक्षरको अनिकालले नवजात शिशुलाई सुकेनास नलागोस् भनेर मेरो परिवार समयमै सचेत भएछ । त्यसैले चारै वर्षको उमेरमा एकजना विद्वान् वेदान्ती वैष्णव गुरुको डेरामा पुर्याएर वसन्तपञ्चमीको दिन अक्षरसित मित लगाइदिएछन् । तिनै अक्षरसित अहिले म साँझबिहान खेल्दैछु । मेरा प्यारा अक्षर र मात्राहरु, स्वर र व्यञ्जनहरु, तिमीलाई लाखलाख नमस्कार छ र मेरा आदरणीय बाआमा, हजूरबा र गुरुलाई साष्टाङ्ग प्रणाम छ । मलाई अक्षरसँग लडिबुडी खेल्न अझै धित मरेको छैन । म अझै मधेस, पहाड, डाँडाकाँडा, पाखापखेरा घुमेर जनताको मनसित मितेरी गाँस्न सक्छु । किसानको मनको फाँटमा अक्षर उमार्न सक्छु । म जीवनबाट थाकेको छैन । मलाई अक्षरको काखमा अलि समय सुस्ताउन देऊ । त्यसैले साथी मलाई अक्षरको खेती गर्न देऊ र रमाउन देऊ नेपाली माटोमा ।