२००३ सालमा नै पतन कथा गोर्खा पत्रिकामा प्रकाशन गराएर आफूलाई कथाकारका रुपमा देखाउन सफल देवकुमारी थापा साहित्यिक जगत्मा चिर परिचित साहित्यकार हुन् । नेपाली साहित्यमा कथाकारका बिम्बमा यिनको पहिचान उल्लेखनीय छन् । यिनका प्रकाशित कथासंग्रहहरुमा एकादशी, झझल्को,सेतो बिरालो, रामको कथा, टपरी, भोकतृप्ति, प्रलय प्रतीक्षा र देवकुमारी थापाका प्रतिनिधि कथाहरु छन् । सामाजिक विषयवस्तुलाई कथाको विषयवस्तु बनाउन सिपालु कथाकारका रुपमा देखाउन मिल्ने कथाकार थापाका कथाहरु सरल भाषामा लेखिएका हुन्छन् । यिनी विशेषतया कथाकारका रुपमा अझ भनौं बाल साहित्यकारका रुपमा सुप्रसिद्ध छिन् । बाल साहित्यमा यिनका प्रकाशित पुस्तकहरुमा पुण्यात्मा आमा, तारा, हिमाल किशोर,वरपरबाट, जंगलको कथा,कथाको बटुलो,सुनपखेरी चरी,छ तारा छन् । कथा, जीवनीका साथै यिनका क्षण, विचार र अनुभवहरु निबन्धसङ्ग्रह २०५० मा प्रकाशित छन् ।
वि.सं. १९८४ चैत्र २ गते खर्साङ, दार्जीलिङमा जन्मिएका यिनी रमादेवी/हस्तबहादुर कटुवालकी सुपुत्री हुन् । यिनले शिक्षाको हकमा मेट्रिकसम्म उत्तीर्ण गर्नुका साथै नर्सिङ तालिम पनि प्राप्त गरिन् । भारतमै अध्ययन गरेकी देवकुमारीका लागि साहित्य सानै छँदादेखिको मन परेको विषय भयो । त्यसैले यिनले साहित्यलाई आफ्नो जीवनसँगीजस्तो माया गरेर साथसाथै बोकेर हिँड्न थालिन् । साहित्य सिर्जनामा निरन्तर लागिरहन मन गर्ने देवकुमारी थापाले “जीवन प्रयोगकर्ता हो, हामी प्रयोगकर्ता” भनेर जीवनका आयामहरु बुझ्न प्रयत्नशील रहँदै आएकीछिन् । विराटनगरमा रहँदा एकपल्ट मात्र यिनीसँग मेरो भेटघाट भयो । पहिलोचोटि भेट्दा नै यिनीसँगको मेरो मन–मर्म गाँसिन गएको सन्दर्भ बिर्सिनसक्नु छ । एकपल्ट जनमतमार्फत् बनेपामा डाक्ने योजना बनाउँदा बनाउँदै २०६८ वैशाख २२ मा यिनी हामीसँग टाढा बस्न रुचाइन् ।
हिमालय, किशोर, दियालो, एेंसेलु पत्रिकाका सम्पादक रही सेवा पुर्याइसकेकी यिनी रामको कथा अनुवाद गरेर अनुवादककारुपमा पनि आफ्नो परिचय छोड्न सफल रहिन् । कथाकार, निबन्धकार, सम्पादक, बाल साहित्यकार देवकुमारी थापाको साहित्य सिर्जना, सेवालाई लिएर विराटनगरबाट नागरिक सम्मान भएका छन् । थुप्रै सम्मान र पुरस्कार पाइसकेका यिनले उल्लेखयोग्य सम्मान र पुरस्कारहरुमा उत्तम पुरस्कार, रत्नश्री स्वर्णपदक, प्रतिभा पुरस्कार, सरस्वती सम्मान, महेन्द्र प्रज्ञा पुरस्कार प्राप्त गरिसकेका छन् । शान्त, सौम्य बानी व्यहोराका धनी मान्छे यिनी आफू पनि “शान्त सौरम्यतासाथ मीठो सम्झना बोकेर शरीर छोड्न सकौं” भन्ने गर्थिन् । मनोवैज्ञानिक कथाकारका रुपमा पनि परिचय देखाउन सफल यिनी समाजसेवामा पनि आफूसक्दो सेवा गरेर आफूलाई चिनाउन सफल छिन् ।
समाजमा केही गरिरहन रुचाउने, साहित्य सिर्जनामा पनि केही लेखिरहन मन पराउने देवकुमारी थापाले दार्जीलिङ र नेपालको माटोमा उल्लेखयोग्य समाजसेवा र साहित्यिक कृयाशीलता देखाएर गएको देखिन्छ । यिनले विराटनगरमा रहेर बालमन्दिर, विराट साहित्य संस्थान, पूर्वाञ्चल साहित्य प्रतिष्ठान, आमा मिलन केन्द्र, प्रतिभा पुरस्कार प्रतिष्ठान, गुरुकुल विद्यालयमा अध्यक्ष, मानार्थ संरक्षक, सदस्य भएर सेवा पुर्याएर गएको देखिन्छ । नेराप्रप्रका प्रज्ञा सभाका सदस्य तथा नेपाल बाल साहित्य समाजका मानार्थ सदस्य समेत भई साहित्य सेवा पुर्याउँदै आएकी यिनले ओझेलमा परेका प्रतिभालाई प्रोत्साहन स्वरुप प्रदान गरिने गरी रु. ३०,०००।– राशिको पुरस्कार स्थापना गरेर आफूलाई साहित्यसेवीका रुपमा चिनाउन सफल छिन् । सामाजिकता र मनोवैज्ञानिकता भरेर कथा लेख्न सिपालु कथाकार देवकुमारी थापाले आफ्ना कथाहरु बंगाली, हिन्दी, मराठी, अंग्रेजी, जर्मनी र जापानी भाषामा पनि अनुवाद गराएर प्रकाशित गराएका छन् ।भविष्य निर्माण कथा निकै चर्चामा रहेको कथा मानिन्छ । बाल मनोविज्ञान र नारी मनोविज्ञान उनका कथा र बालकथाहरुमा व्याप्त छन् । सामाजिक यथार्थ सबैजसो कथाहरुमा विषयवस्तुका रुपमा सम्प्रेषित भएकै कारणले यिनी सामाजिक संचेतना वितरण गर्न रुचाउने कथाकारका रुपमा परिचित छन् ।
देवकुमारी थापाका दृष्टिमा मोहनराज शर्मा सबभन्दा मनपर्ने कथाकार हुन् भने समालोचना क्षेत्रमा यिनका प्रिय समालोचक डा. तारानाथ शर्मा हुन् भनेर उल्लेख गरेकीछिन् । तुर्गनेभ र शरदचन्दका कथाहरु मन पराएर पढ्ने देवकुमारी थापाले आफ्नो लेखनका क्रममा यसरी विचार पोखेकी छिन् –“कुनै घटनाले मलाई चस्स छुन्छ र एउटा विचारको सृष्टि हुन्छ अनि म कथा लेख्छु ।” भारतीय नेपाली समाजको, नेपाली जनजीवनको, संस्कृति र परम्पराको थुप्रै कथाहरु लेखिसकेकी देवकुमारी थापाले बालकथाहरु अनगिन्ती लेखेर छपाएकीछिन् । किनभने उनको दृष्टिमा भोलिका भविष्य र कर्णधारहरु नै आजका बालबालिकाहरु हुन् । त्यसैले उनी लेख्छिन् –“असल बालसाहित्यले बालकको मानसिक र मनोवैज्ञानिक विकासमा ठूलो टेवा दिन सक्छ ।” यति टेवा दिने क्रममा यिनले थुपै्र बालकथाहरु रचना गरिन् ।
“आकाशमा इन्द्रेणी देखेपछि मनलाई प्रफुल्लित बनाई उफ्रिन मन लाग्छ” भन्न रुचाउने यिनी जीवनकै सन्दर्भमा कवितामा यिनले जीवनलाई यसरी व्याख्या गरेकी छिन् :
उच्चताको अग्लाइले लोभिएर
पहाड चढ्न थाल्यो
शिखरमा पुगेर तल हेर्छु
अग्लाइ त मैदानको देन पो रहेछ ।
अग्लाइको अर्थ बुझेकी देवकुमारी थापाले मान्छेकै लागि, मानवताकै लागि आफू र आफ्नो कलमलाई समर्पित तुल्याएको देखिन्छ । आधुनिक नेपाली कथाकी प्रथम महिला कथाकारका रुपमा चर्चित देवकुमारी थापाले आफ्नो जीवन दृष्टि यसरी लेखेकी छिन् –“विचार आत्मा हो, शरीर शब्द हो, अलङ्कारी वस्त्राभूषण हो ।”करीब २७ वर्षको उमेरमा यिनले नेपालमा बसोबास गरिन् । विराटनगरमा पछिल्लोपल्ट बसोबास मात्र गरिनन् त्यहीँ यिनको २०६८ वैशाख २२ गते अवसान भयो ।
जीवनका ऊर्जाहरु भारत र नेपालमा पोखेर आफूलाई असल शिक्षिकाका रुपमा, स्वास्थ्य सेविकाको कर्ममा, सुन्दर समाजसेवकको भावनामा, साहित्यमा मानवीय जीवनका उत्सर्गहरु पोखेर यथार्थवादी साहित्यकारका बिम्बमा देखाउन सफल देवकुमारी थापा समाज र देशका लागि सधैं उच्चारण भइरहनुपर्ने नाम हो । साहित्यको परिभाषामा उनले लेखेका छन् –“साहित्य समाजको मुखिया हो । स्रष्टाले ऊभित्रको स्पन्दनलाई मूर्त रुपमा प्रतिध्वनित गर्छन् ।”निरन्तर नेपाली वाङ्मयका विविध रचनाका माध्यमबाट पोखिएका साहित्यिक रेखाङ्कनबाट यिनको मूल्याङ्कन गरिँदा भन्न सकिन्छ यिनी विशिष्ट कथाकारका रुपमा प्रख्यात उल्लेखयोग्य वाङ्मयसेवी हुन् ।