कहिलेकाहीँ गज्जबको प्रश्न जाग्छ मनमा । मृत्यु शाश्वत सत्य हो भन्ने जान्दा जान्दै पनि किन लखेटिरहन्छ मृत्युको भयले मान्छेलाई ? किन चाहँदैन ऊ मर्न । किन जागिरहन्छ बाँच्ने लालसा ? बाँच्ने उच्च उत्कण्ठा हुँदाहुँदै पनि किन मरिरहेका हुन्छन् मान्छेहरु ? जिन्दगीदेखि हार खाएकाहरु नचाहेरै पनि किन बाँच्न विवश हुन्छन् ? आफ्नो मृत्युको दिन पहिले थाहा हुने भए के गर्दो हो मान्छे ? जिन्दगीमा गर्नुपर्ने सबै जिम्मेवारी र कामलाई छिटो गरिसक्दो हो कि ? वा आफू मरे डुम्मै राजा भनेर भएभरको सम्पत्तिको भोगचलन गरेर मोजमस्तीमा रमाउँदो हो ? वा केही पनि नगरी बस्दो हो ?
नियतिको खेल भनौँ वा झेल, यही अनिश्चितताको भुमरीमा रुमल्लिँदै आफ्ना कर्महरुमा रमाइरहन्छ मान्छे । निभाइरहन्छ आफ्ना कर्तव्यहरु र भुलिरहन्छ मायामोहको जालमा जतिसुकै भौतिक सुखसुविधा भए पनि एकदिन सबै छोडेर जानु नै पर्दोरहेछ । भएभरका सम्पत्ति आफन्ती सबैलाई छोडेर । बस् रहने भनेको त उसले छोडेर गएका कर्महरु नै रहेछ ।
बुढापाकाले भन्ने गर्थे, बरु रिन लाओस्, दिन नआओस् । सायद दिन आएको थिएन । त्यसैले पटकपटक मृत्युको मुखमा पुगेर फर्किएकी छु । पटकपटक जिस्क्याउँदै आएको छ मृत्युले । कहिले बुइगलबाट लडेर, कहिले खोलामा डुबेर, कहिले पहिरोमा पुरिएर त कैयौँपटक जहाजले अवतरण गर्न नसक्दा मृत्यु भयले आतङ्कित बनायो । थाहा छैन कुन दिन सुटुक्क लैजाने हो । यसपटक भने कोरोना भाइरसले मृत्युको रुप लिएर जिस्क्याउन आइपुग्यो ।
२०७८ साल लाग्दा नलाग्दै कोरोनाको दोस्रो लहरले देशभर सङ्क्रमण दर बढ्न थालेको थियो । भर्खरका युवादेखि लिएर जान–पहिचानका धेरै व्यक्तिहरुको मृत्युले भयभीत बनाइरहेको थियो । त्यसैले गर्दा सावधानीका अनेक उपायहरु अपनाउँदै घरभित्रै बसिरहेकी थिएँ । बाहिर निस्कँदा स्वास्थ्य सुरक्षा अपनाएरै निस्के पनि कति बेला त्यो भाइरसले आक्रमण गर्यो पत्तै भएन ।
वैशाख ७ गते विहान पुस्तकहरु सफा गर्ने, मिलाउने गरेकी थिएँ । दिउँसोबाट हाच्छिऊँ लाग्न सुरु भइहाल्यो । पुस्तकको धुलोले रुघा लाग्यो भन्ने अनुमान लगाएँ । जिउभरि सियोले घोचेजस्तै भयो । जिउ कटकटी दुख्न थाल्यो । टाउको फुट्ला जस्तै भयो । जिउ यत्ति दुख्यो कि पिटेर थिलो थिलो भएको ज्यान जस्तो भएको थियो । रुघा लाग्दा यति साह्रो त नहुनु पर्ने ? के भयो मलाई ? थाइराइड पो बढ्यो कि ? भन्ने शङ्का लाग्यो । थाइराइड चेक गराउनुपर्यो । मनले सोच्यो । तर हस्पिटल जाने माहोल थिएन । हस्पिटल गए कति बेला सङ्क्रमणमा परिने हो भन्ने डर त छँदै थियो । पर्सिपल्टबाट बिस्तारै नाक सुख्खा हुन थाल्यो । पटकपटक नाकलाई कपासमा पानी चोपेर चिसो पार्न खोजँे ।
कतै कोरोना त लागेन ? मनमा अनेक शङ्का उब्जिरहेका थिए । तेस्रो, चौथो दिनपछि त गन्ध पनि हरायो । कोरोनाका सबै लक्षण देखिएकोले परिवारका अन्य सदस्यहरुबाट टाढै बस्न थालेकी थिएँ । एक्लै बस्नु पर्दा मनमा डरले डेरा जमाइसकेको थियो । निद्रा पटक्कै लागेन । रातभर हिँडेरै बिताउन थालेँ । ओछ्यानमा गयो अनेक विचार आउँछन् । निदाउनै सक्दिन । नाकले जे सुँघे पनि गन्ध थाहा पाएन । कडा गन्ध आउने सेनिटाइजरको झोल हातमा राखेर सुँग्दा पनि नाकले थाहा पाएन । बाथरुमा गएर फेसवासले मुख धोएँ । अहँ पटक्कै गन्ध आएन । कागती बेस्सरी चपाएँ, कपुर मिचेर धुलोपिठो पारी सुँघे पनि गन्ध थाहा नपाउँदा मन आत्तिन थाल्यो । आफैँले आफूलाई सम्हाल्न अनेक प्रयत्न गरिरहेँ । तर यो मनले अनेक सोच्न भ्याउँदो रहेछ । घरमा ससाना बच्चा छन् सबै सङ्क्रमित भए के गर्ने होला ? कसले कसको स्याहार गर्नु ? हे भगवान् के गरी जोगाउनु यी नानीबाबाबुलाई । मनमा अनेक थरी कुरा खेल्न थाले । एकातिर बुढाको अफिसको काम, अर्कोतिर बच्चाहरुको अनलाइन कक्षा, आफ्नो पनि अनलाइन पढाउनुपर्ने । छैठौँ दिनसम्म त गाह्रो भैभै कक्षा लिएँ । घाँटी दुख्ने, खोकी लाग्ने र सास फेर्न गाह्रो हुन थालेपछि पढाउन सकिन ।
नवौँ दिनको दिनसम्म आइपुग्दा शरीर पुरै गल्दै गयो । पक्कै कोरोनाले छोयो भन्ने भयो । कोभिडको टेस्ट गराउँछु भनेर अल्का अस्पताल हिँडेरै पुगेँ । थाइराइड पनि टेस्ट गराएँ । साँझ इमेलमा रिपोर्ट आयो । रिपोर्ट पोजेटिभ देखियो । थाइराइड पनि अत्यधिक बढेको रहेछ । डाक्टरलाई फोन गरेर सबै कुरा बताएँ । डाक्टरले औषधी खान सुझाइन् । दैनिक डाक्टरको सरसल्लाह र परामर्श लिइरहेँ । डाक्टरले पटकपटक फोन गरेर मुटुको चाल, प्रेसर, ज्वरो र अन्य लक्षणबारे सोधिरहन्थिन् । उनले छातीको एक्सरे गर्न पठाइन् । एक्सरेमा रिपोर्ट सामान्य आयो । अलि ढुक्क भयो । खानपान र व्यायामलाई ख्याल राख्नु पर्ने र सोसल मिडियाबाट टाढा रहन र बढीभन्दा बढी पुस्तकहरु पढ्न समेत सुझाइन् ।
पुस्तक पढ्न थाल्यो काम सम्झिन्छु । कामको चाङ परेको थियो । गर्नुपर्यो भनेर सोच्छु तर काम गर्न बस्यो गर्नै सकिँदैन । यो के भएको मलाई ? काम सम्झेर झन् अत्यास लागेर आउँथ्यो । मन आत्तिएर म म हो कि होइन जस्तो हुन्थ्यो । अचेतन जस्तो भयो मन । शिथिल भयो तन । तैपनि आफुलाई सम्हाल्नु थियो । जसरी भए पनि आफू स्वस्थ हुनु छ भनेर मनलाई दह्रो बनाउन जिन्दगीमा गर्नुपर्ने काम धेरै छ । यस्तै सोच आयो । सोचेँ, ‘पहिला आफू स्वस्थ रहे पो कामको कुरा आउँछ । अस्वस्थ शरीर र अस्वस्थ मनले के नै गर्न सकिन्छ र ? अहिले अरु केही सोच्ने होइन । मात्र आफ्नो स्वास्थ्यको ख्याल राख्नु पर्छ । स्वास्थ्य बिग्रियो भने त के अर्थ रह्यो र ?’ यसै कुरालाई मन्त्र जस्तो मानेर खानपान र व्यायाम प्राणायामलाई निरन्तरता दिन थालेँ ।
बिहानभरिको समय त यसैमा भुल्थेँ । श्रीमान् र छोरीहरुलाई कामले भ्याईनभ्याई भइरहेको थियो । एकातिर अफिसको कामको चाप अर्कोतिर घरमा कोरोना सङ्क्रमित, अरुलाई सङ्क्रमणबाट जोगाउँदै विरामीलाई निको पार्न हरसम्भव प्रयास गर्नु परेको थियो । उनीहरु हरक्षण सचेत रुपले मेरो खानपानमा र मनोविज्ञानलाई ख्याल गरिरहे । दिक्क नलागोस् भनेर छोराछोरीहरु हँसाउने भिडियोहरु मेसेन्जरमा पठाइदिन्थे । उनीहरु माथिल्लो तलामा म तल्लो तलामा । फोनबाटै हालखबर सोध्थे । बेलाबेला तातो पानी, बेसार पानी, चिया, खाना खाजा दिनु उनीहरुको डेली ड्युटी भएको थियो । केही दिनु परे मास्क लगाएर आउँथे । उनीहरुको दिनरातको खटाइ देख्दा आफूलाई भित्रभित्रै बेचैनी हुन्थ्यो । मेरो कारणले गर्दा कति दु:ख पाए भन्ने लाग्थ्यो । गाह्रोसाह्रो पर्दा छोराछोरीहरु पनि काम गर्नसक्ने भएछन् भनेर खुसी पनि लाग्यो ।
दिनभर त भुल्न सजिलो थियो, तर रात भने कहालीलाग्दो बनेर आएको थियो । निद्रादेवीले चटक्कै माया मारेकी थिइन् । निद्रा नपरेपछि रातभर रातभर भजन लगाउने, गीत सुन्ने र एक्लै नाच्ने गरेँ । उसो त कोरोनाले गलाएको ज्यान एकछिनमा थाक्थेँ । सुत्न खोज्यो झल्याँस्स व्युँतिहाल्ने र मुटुको चाल बढेर सास रोकिएला जस्तै हुन्थ्यो । अक्सिमिटरले नाप्यो अक्सिजन ९४, ९५ र धडकन १३० सम्म पुग्थ्यो । यसरी मुटु धड्किन्थ्यो कि मुटु नै बाहिर निस्केला जस्तो हुने । आत्तिएर कोठभित्र बस्नै नसक्ने हुन्थ्यो । अनि छतमा पुग्थेँ । घरपछाडि रहेको पिपलको बोटमा कोइलीको उराठलाग्दो कुहुकुहु आवाजले मन झन् हतास भएर आउँथ्यो । दिनभर कामले थाकेका सबै मस्त निद्रामा छन् । उठाउन मनले मान्दैनथ्यो । न रुन सक्नु न हाँस्न सक्नु, न त चैनले सुत्न सक्नु । रात मेरो लागि सकस बनेर आउँथ्यो ।
डाक्टरले स्वास्थ्यस्थितिबारे जानकारी लिने र परामर्श दिइरहे पनि आफ्नो मन भने ढुक्क थिएन । धेरैजसो आफन्त र साथीभाइहरु पनि दिनप्रतिदिन सङ्क्रमित भैरहेका र मृत्युका खबर आइरहेका थिए । सामाजिक सञ्जालभरि चिनेजानेका र नचिनेका मान्छेका फोटा टाँसेर हार्दिक श्रद्धाञ्जली लेखेका खबरले मनलाई आतङ्कित र भयभीत बनाइरहेको थियो । दैनिक हजारौँ मान्छे सङ्क्रमणमा परेको र सयौँ मान्छे मरिरहेका खबरले सबैतिर एक खालको सन्त्रासमय वातावरण थियो । त्यसैले बाहिर केही भएको छैन भनेर हाँसे पनि भित्रभित्रै डरले कब्जा जमाएको थियो । आफन्त र साथीभाइका फोन आइ नै रहेका थिए । उहाँहरुका सल्लाह र सावधानीका कुराले त झन् धेरै तनाव थपिरहेको थियो ।
कोरोनालाई परास्त पार्ने सबैभन्दा ठूलो औषधी भनेको मन नै रहेछ । त्यसपछि परिवारको साथ सहयोग, औषधी उपचार र उचित खानपान अनि व्यायामले कोरोनालाई परास्त पार्न सकिने रहेछ । मनोबल दह्रो बनाउन सकेन भने त मान्छे अत्तालिएर नै मर्ने रहेछ जस्तो अनुभूति मलाई भयो । अस्पताल जाने अवस्था थिएन । घरबाटै डाक्टरको सल्लाह र निर्देशनको पालना गर्दै आफूलाई सञ्चो बनाउन सकेँ । फेरि पनि मृत्युको मुखबाट फर्किएँ । थाहा छैन अझै कति पटक लड्नु छ मृत्युसँगको लडाईं ।
कोरोनालाई परास्त पार्न सके पनि यसले छोडेर गएका असरहरु शरीरमा अझै पनि बाँकी नै छन् । व्यक्तिका शारीरिक समस्या भन्दा डरलाग्दो समस्या त यसले समाजमा छोडेर गएको छ । शरीरमा देखिएको असर त विस्तारै निको हुँदै जाला तर समाजमा पारेको आर्थिक, सामाजिक र मनोवैज्ञानिक असर भने निकै लामो समयसम्म रहिरहनेमा दुई मत नहोला । विश्व इतिहासमा यो अदृश्य शक्तिको नमिठो गाथा युगले लामो समयसम्म गाइरहनुपर्नेछ र पछि पनि रुप परिवर्तन गरेर आइरहने नयाँ खालका भेरियन्टहरुसँग लड्न आफूलाई तयार पार्नु पर्नेछ ।