जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज समालोचना सँस्मरण

बज्रपात

राम बिनय राम बिनय
प्रकाशित १४ माघ २०७८, शुक्रबार
सँस्मरण भित्र
0
बज्रपात

१. फोनको आवाज
मध्यरातको फोनको आवाजले मलाई बिउँझायो । मलाई लाग्यो यति राती फोन बज्नुु राम्रो सङ्केत होइन । मन नलागी नलागी फोन उठाएँँ । यो कुरा हो २०७७ असोज ६ गते बुधबार रातीको । घडी हेरेँ । रातको १२:३० बजेको थियो । अब के अनपेक्षित खबर सुन्नुपर्ने होला भनेर मनमनै म चिन्तित भएँ । मन नलागी नलागी फोन उठाएँँ, –“ए कान्छा खला ?”

“ख, ख जि कान्छा ख ।” भाइ अमृतले नारायणगढबाट फोन गरेको रहेछ ।
मेरो चासोको कुरा सुनेपछि उसले कुरा खोल्यो, “बा (धर्मकुमार) लाई बेथाले च्याप्यो । बेहोस पनि भयो । त्यसैले आत्तिएर फोन गरेको हो ।”
“ल, ल, नआत्तिनु । राम्रोसँग हेरविचार गर्नु । नआत्तिनु । ठीक हुन्छ ।” मैले हौसला दिँदै भनेँ ।

भाइलाई त हौसला दिँदै अर्ती–उपदेश त दिएँ, तर आफ्नो हालत भने रातभर छटपटीमा बित्यो । बालाई पहिले पहिले पनि यस्तो हुने गरेको थियो । बिस्तारै निको हुने गरेको थियो । यसपटक पनि यस्तै हो भन्ठानेर भाइलाई आडभरोसाको शब्द व्यक्त गरिएको थियो । मैले बिहान सबेरै भाइलाई फोन गरेर बाको अवस्थाका बारेमा सोधखोज गरेँ । भाइबाट थाहा भयो— बालाई केही आराम भएको रहेछ । खुसी लाग्यो ।

मलाई फोन गरेको लगत्तै उसले भिमादमा रहेको माहिँला भाइ कृष्ण र सहिँला भाइ विष्णुलाई पनि फोन गरेको रहेछ ।
बा आफूलाई गम्भीर प्रकारको बिरामी भएको बेलामा सबै छोराछोरीहरु आफ्नो अगाडि साथमा होऊन् भन्ने चाहनुहुन्थ्यो । उहाँको भित्री आशय सबै सन्तानका अगाडि प्राणत्याग गर्ने थियो । गत वर्षको वैशाख १ गते पनि यस्तै बेहोस भएर बिसन्चो भएको बेलामा हामी सबै दाजुभाइहरु र बहिनी समेत नारायणगढमा जम्मा भएका थियौँ । उहाँ त्यति बेला पनि त्यसरी नै बेहोस हुनुभएको थियो । हामी सबै त्यसरी जम्मा भएका थियौँ । संयोगवश त्यस बखत आफ्नो आत्मविश्वास र औषधीको कारणले हो या के भएर हो हाम्रो उपस्थितिले पनि होला उहाँ निकै राम्रोसँग तङ्ग्रिनुभयो । मानौँ केही पनि नभएको जस्तो । हामी सबै खुसी भयौँ । एकदुई दिन हामी सबै त्यहाँँ बुबाको नजिक बसेर दुखसुखका कुरा साटासाट गर्‍यौँ । बस्यौँ । त्यसको केही दिनपछि हामीहरु आफ्नो गन्तव्यतिर लागेका थियौँ ।
यस अर्थमा पनि मैले भाइलाई भनेको थिएँ, बालाई केही हुन्न भनेर ।
तर एउटा खराब सोच भएका व्यक्तिले भने मेरो अगाडि बोलेको कुरा मनमा गडेको याद आउँछ । त्यसले भनेको थियो— “यो बुढोको अनुहार देख्यो कि मलाई टाउको दुख्छ ।” मलाई भन्न मन लागेको थियो उसलाई ।“ यसरी तिमीलाई जोरजबरजस्ती गरेर कसले बोलायो ? तिमी किन आएको ? ल तुरुन्त फर्किहाल ।” तर मैले केही पनि भनिन । ऊ चुपचाप बसिरह्यो । त्यो मानिस नामको एउटा कलङ्क थियो । त्यस खराब तत्व कस्तो असभ्य थियो भने आफ्नो बुढो बाउ ओछ्यानमा परेको बेलामा पनि भन्ने गर्थे, “एकाबिहानै यो अलक्षणा बाउको अनुहार हेर्‍यो भने मेरो दिनभरिको कामको साइत बिग्रन्छ ।”

२. सन्तानप्रतिको चिन्ता
पछि भाइ अमृतसित फोनमा सम्पर्क हुने गरेको थियो । बासँग पनि बेलाबेलामा फोनमा कुरा हुन्थ्यो, सन्चोबिसन्चोका बारेमा । त्यसको केही समयपछि विश्वभरि नै कोरोना सङ्क्रमणको महामारी चम्किन थाल्यो । चीन र अमेरिकालगायत धेरै देशहरुमा यो महामारी फैलिन थाल्यो । अमेरिका र बेलायतमा कोभिड १९ फैलिएको खबर उहाँ आफैँले रेडियो सुनेर थाहा पाउनुहुन्थ्यो । बाले चिन्तित भएर मलाई फोन गरेर बेलायत र अमेरिकामा रहेका नातिहरु, नातिनी, नातिनीबुहारी, पनातीहरुको हालखबर केकस्तो छ ? तिनीहरु जोगिएर बसेका छन् कि छैनन् भनेर सोध्नुहुन्थ्यो । मैले उनीहरु सबै सुरक्षित रहेका छन्, त्यहाँँ पनि बन्दाबन्दी भएकोले घरबाट बाहिर ननिस्कने गरेका छन्, अवस्था राम्रो छ भन्थेँ । उहाँ ढुक्क भएर लामो सास फेर्नुहुन्थ्यो ।

३. कोरोना सङ्क्रमणमा बन्दाबन्दी
विश्वभर फैलिएको कोरोनाको सङ्क्रमण हाम्रो देशमा पनि पस्यो । देशभरि कोरोनाको डढेलो सल्कियो । सरकारी सूचनाले भन्यो — कोरोनाको सङ्क्रमण छ । घरबाट बाहिर ननिस्कनु । साबुन पानीले नियमित हात धुनु । सामाजिक दूरी कायम गर्नु । अति जरुरी काम नपरी बाहिर ननिस्कनु । निस्कनु परे अनिवार्य रुपमा नाकमुख छोपिने गरी मास्क लगाउनु । हुलमुलमा नजानु होला आदिइत्यादि ।
यस्तै एक अर्को सरकारी सूचनाले भन्यो, साठी वर्ष नाघेका जेष्ठ नागरिकहरु घरबाट बाहिर ननिस्कनु होला । हुलमुलमा नजानु होला । जोगिएर बस्नु होला ।
यो सूचना एकोहोरो कराइरह्यो । कसैको कानमा पस्यो होला । कसैको कानमा पसेर पनि मनमा बसेन होला । हामीहरु सबै कोरोनाको भयावह सङ्क्रमणको कारणले वन्दाबन्दीमा पर्‍यौँ । घरबाट बाहिर निस्किएन । अत्यावश्यक काममा मात्र हामी मास्क लगाएर, सामाजिक दूरी कायम गरेर बाहिर जाने गरेका थियौँ । घर फर्केपछि साबुन पानीले हात धुने, लुगा फेरेर एक ठाउँँमा राख्ने आदि काममा विगत ६ महिनादेखि बानी परेको थियो ।
भिमादमा व्यवसाय गरेर बसेका माहिँला कृष्ण र साहिँला भाइ विष्णुहरु घरबाट बाहिर ननिस्केको मात्र होइन, माथिल्लो तलाबाट तल्लो तलामा सम्म पनि नओर्लिएर बसेका थिए । गुर्जो पानी लगायत अन्य प्राकृतिक चिकित्सा प्रणालीमा ध्यान दिएर बसे । कोरोनाको चर्चापरिर्चाको सामाजिक सञ्जालमा अभ्यस्त भए । आफूलाई सामाजिक सञ्जाल र अन्य सूचनामा सतर्क भएर बसे ।

४. आफूलाई बिर्सेर
आफ्ना मातापिताको सेवामा लाग्नुपर्छ, कुनै पनि बेला, कुनै पनि ठाउँँमा भन्ने हाम्रो घरको संस्कार बनेको थियो । काठमाडौँमा बाआमा बिरामी भएर आउनु भएको बेलामा मलाई याद छ म १८ घण्टा खटेर सेवामा समर्पित हुन्थेँ । आफूलाई बिर्सेर सेवामा लाग्थेँ । यही संस्कारले होला नारायणगढबाट भाइको फोन गएपछि दुबै भाइले आफूहरु बन्दाबन्दीमा छु भनेर बिर्से । बालाई गम्भीर प्रकारको बिसन्चो भयो भन्ने खबर पुग्नासाथ बिहान सबेरै गाडी लिएर नारायणगढतिर हानिए । उनीहरुले ६ महिनादेखि बन्दाबन्दीमा बसेको कामकुरा बिर्से । ६० वर्ष नाघेकाहरु घरबाट बाहिर ननिस्कनु भन्ने सूचना बिर्से । पिताजीको सेवामा लाग्न नारायणगढमा पुगे ।

५. घरमा मर्ने इच्छा
त्यतिबेला बुबाले भन्नुभएको थियो, “म गम्भीर बिरामी भए पनि मलाई तिमीहरुको आमा मरेको अस्पताल सिएमसि भरतपुरमा नलैजाओ । म घरमा मर्न चाहन्छु । म मरेपछि मलाई देवघाटमा तिमीहरुको आमालाई जहाँ जलाएको थियो त्यहीँ जलाउनु ।”

६. हतारहतारमा अस्पताल
२०७७ असोज ८ गते बिहान बुबालाई गारो भयो । दम र जोरोले च्यापेर । बुटवलबाट घनघोर वर्षाको बेला, बाटोघाटो पहिरोले पुरेको बेला अनेकन कठिनाइलाई चिर्दै बहिनीका छोरीज्वाईं (दुबैजना डाक्टरहरु) बाको अवस्था हेर्न आइपुगे । यस्तो बेलामा घरमा राख्न हुन्न, अस्पताल लगिहाल्नुपर्छ भनेर तुरुन्त एम्बुलेन्समा राखेर बुबालाई चितवन मेडिकल कलेज (सिएमसि) हस्पिटलमा भर्ना गर्न लगिएछ । बुबाको मन त त्यहाँँ भर्ना हुने थिएन, तर समय र परिस्थिति त्यस्तो भयो ।

७. आफूमात्र किन छुट्ने ?
बाको उपचारको लागि परिवारका सबै सदस्यहरु नारायणगढमा जम्मा भए । म मात्र नजाँदा पनि अरुले के भन्लान् ? बुबाले के सोच्नुहोला ? आफूमात्र किन छुट्ने ? भन्ने मानसिकताले म पनि काठमाडौँको ६ महिनाको बन्दाबन्दीको एकान्तबास छोडेर २०७७ असोज ९ मा छोरा सुमनसित नारायणगढमा पुगेँ ।

८. कोरोनाको भुमरी
त्यहाँँ पुगेपछि बाको स्वास्थ्य अवस्था बुझ्न, हेर्न सिएमसि भरतपुर पुगेँ । बाको पिसिआर जाँच गर्दा नेगेटिभ आएको रहेछ । खुसी लाग्यो । बुबालाई सघन उपचार कक्षमा राखिएको रहेछ, तर दुखको कुरा त्यहाँँ नजिकमा त धेरै कोरोनाका बिरामी रहेछन् । त्यस अस्पतालमा मानिसहरुको भीड थियो । यस्तो अवस्थामा पनि हामी त्यहाँँ गयौँँ । भान्जी र ज्वाईंको सल्लाहमा बालाई अर्को अस्पतालमा सार्ने कुरा भयो । मनकामना अस्पतालमा सारियो पनि ।
सिएमसिमा बालाई राखेको ठाउँँमा एकजना बिरामी खोक्दै थियो । भोलिपल्ट सुनियो, उसको मृत्यु भएछ । त्यसपछि हामी तर्सिन थाल्यौँ । पिसिआर टेस्ट गर्ने कुरा भयो, तर तत्कालै केही भएन । दमौलीबाट नाति सन्देशले मेसेन्जरमा लेखे, “अजाहरु होसियार, त्यो सिएमसि त कोरोनाको अस्पताल हो । जोगिनु होला ।”
बुबालाई अस्पतालमा सारेपछि त्यहाँँ एकजना कुरुवा बसेर हामी धेरै मानिसले भरिभराउ भएको भान्जीज्वाईंले बोलाएको भोजमा सामेल भयौँ । मानौँ केही पनि होइन जस्तो गरेर ।

९. हुलमुल र होस
त्यहाँँ नारायणगढ घरमा यति धेरै मानिसहरु जम्मा भए कि केही पनि नभएको जस्तो । स्वास्थ्यको मापदण्ड केही पनि पालन गरिएन । त्यसको घातक परिणाम पछि थाहा भयो । कोरोनाले आक्रमण गरेको कारण यी हुन् भनेर कसैले लेखेको देखियो –

० स्वस्थ जिउमा प्रतिरोधात्मक क्षमताको कमी ।
० मनोबलको कमी ।
० बुद्धिको कमी ।
यी तीन कुराको कमीले कोरोना मौलायो । बेहोसीपन र बेवास्ताले गर्दा कोरोना बेस्सरी झाँगिएछ ।

१०. एक प्लेट मम
बालाई मनकामनामा सारिसकेपछि हामी दाजुभाइहरु दिनभर बाको नजिक बसेर बितायौँ । बेलुकाखेर भाइ माहिँला र म खाजा खान निक्यौँ । एउटा चिय पसलमा गयौँ । एक प्लेट मम मात्र रहेछ । हामी दुबैले त्यही एक प्लेट मम खाजा र अदुवा राखेको चिया पिएर भोक मेटेका थियौँँ । हामी बालाई राखिएको कोठामा फर्कियौँ । त्यति बेला बालाई कोरोनाले सङ्क्रमण गरिसकेको रहेछ । पछि थाहा भयो ।

११. तिमीहरु नजिक नआओ
बुबा होसमा भएको बेला भन्नुभएको रहेछ, “तिमीहरु कोेही पनि मेरो नजिक नआओ । मलाई तिमीहरुकी आमा मरेको हस्पिटलमा नलैजाओ । तर त्यसो भएन । कोरोनाको भुमरीमा बा पर्नुभयो । त्यसमा हामी पनि परेछौँ ।

१२. फर्कने सुरसार
गएको पर्सिपल्ट मैले काठमाडौँ फर्कनुपर्ने थियो । छोरा सुमनले प्लेनको टिकटको व्यवस्था गरेअनुसार फर्कने सुरसार गरेँ । बेलचौकमा भाइ कान्छालाई सन्चो थिएन । उसलाई जचाउन लगेको रहेछ । म फर्कने बेलामा बा र भाइ साहिँलालाई भेट्न मनकामना हस्पिटलमा गएँ । बा र भाइसित बिदा भएर काठमाडौँ फर्किएँ ।

१३. सङ्क्रमणको क्रम
काठमाडौँ घरमा आएपछि म अलग कोठामा बसेँ । बस्दाबस्दा बिस्तारै ज्वरो बढ्न थाल्यो । खोकी लाग्न थाल्यो । राती हनहनी ज्वरोले जिउ काम्न थाल्यो । भतिजो सरोजलाई पनि कोरोना पोजिटिभ भएको बेलामा गरेको उपचार उसको सल्लाहमा उपचार गर्न थालियो । सरकारी माध्यममा फोन गर्न भनिएकोमा कतै फोन गरेर सल्लाह लिन ध्यान गएन । होस भएन ।

यस्तो बेलामा पनि आफ्नो काममा म खटिइरहेँ । स्वावलम्बन लघुवित्तको सञ्चालक समितिको बैठक पनि मैले भर्चुयलबाट चलाएको थिएँ । एउटा संस्मरण “थाहा” लेखेर अच्युत घिमिरेको पत्रिका आलेखको लागि पठाएको थिएँ । त्यसैगरी “अंश र वंश” कथा पनि होमशङ्कर बास्तोलाको पत्रिका अन्तर्बोध कथा विशेषको लागि पठाएको थिएँ ।

१४. नियमित सम्पर्क
म काठमाडौँ घरमा आएर एक्लो कोठामा अलग बसेर एकान्तबासको नियम पालन गर्न थालेँ । यसरी बसेको बेलामा पनि नारायणगढमा नियमित सम्पर्क भइरहेको थियो । कान्छो भाइ अमृत जँचाउन लगेपछि थाहा भयो । उसलाई कोरोना पोजेटिभ भएको रहेछ । मैले पनि यता आएर स्वाव टेस्ट गराउनुपर्ने थियो । तत्काल त्यस्तो व्यवस्था भएन । ममा जे जस्तो रोग लागे पनि मलाई केही पनि भएको छ जस्तो लाग्दैनथ्यो ।
नारायणगढमा सम्पर्क गर्दा भतिजो अकिलबाट थाहा भयो । बालाई मनकामनामा नै सघन उपचार कक्षमा राखेर जाँचेको रहेछ । छातीको एक्सरे गर्दा निमोनिया देखिएछ ।
यसै बीचमा भाइ कृष्ण र भाइ विष्णुको पनि स्वाव टेस्ट गर्दा पोजेटिभ देखिएछ । यस्तो बेलामा पनि घरमा नै बसेर उपचार गर्न थालेछन् ।

१५. इच्छाविपरीत कार्य
मनकामना अस्पतालमा हँुदा बाले अब मलाई घरमा लैजाओ भन्नुभएको रहेछ । भान्जी डा. सुमिनाले बाको अवस्था हेरेर काठमाडौँ लगे केही राम्रो होला कि भनेर मेडिसिटीमा सम्पर्क गरेपछि रातारात भतिजा अकिलको जिम्मामा एम्बुलेन्सबाट मेडिसिटी लगेर भर्ना गरिएको रहेछ । पछि भतिजा अकिलले भन्थे, तिम्रो ठूलो बा कहाँ छ ? मलाई भेट्न आउँछ ? भनेर सोध्नुभएको थियो रे । त्यति बेला म आफैँ हस्पिटलमा रहेछु । बुबालाई मप्रति ठूलो आडभरोसा यसकारण थियो कि विगतका दिनहरुमा मैले उहाँको उपचार गराएर सफलता प्राप्त गरिएको थियो । त्यस दिन पनि मनकामनाका डाक्टरहरुले डिस्चार्ज गरेर पठाउन लागेको रहेछ । बुवालाई पनि घर जाने इच्छा थियो । अब मलाई कतै नलैजाओ । म घरमा बसेर मर्छु भन्नुभएको थियो रे ।

तर रातारात उहाँको इच्छाविपरीत मेडिसिटी लगियो । कसैलाई भेट्न दिने पनि भएन । उहाँले आफ्नो नजिक आफ्नो सन्तान कोही देख्नुभएन । सबै अपरिचत अनुहार मात्र पाउनुभयो । उहाँ घोर निराशामा पर्न थाल्नुभयो । मैले पनि एकपटक बुभ्mन जाने सोचेको त थिएँ । तर सोचेअनुसार भएन । बाको अवस्था पछि थाहा भयो । उहाँले अक्सिजनको पाइप पनि आफैँ थुतेर फाल्नुहुन्थ्यो रे ।

१६. मेडिसिटीमा बाको अन्तिम सास
बाको तीव्र इच्छा थियो, आफ्नो अन्तिम बेलामा सबै सन्तानहरुको अगाडि प्राण त्याग्ने । आमाको दाहसंस्कार गरेको स्थानमा आफ्नो पनि दाह संस्कार गराउने । अर्थात् देवघाटमा । तर त्यो केही पनि भएन । आफूले सोचेअनुसार केही पनि भएन । हामी आफूअनुकूल नहुन अभिशप्त रहेछौँ ।

विश्वभर कोरोना भरखर फैलिएको बेलामा खासगरी बेलायत र अमेरिकामा कोरोनाको महामारीको बेलामा उहाँले मलाई हमेसा त्यहाँँँ रहेका नाति, नातिनी, बुहारी, ज्वाईं र पनातिहरुलाई के कसो भएको छ भनेर सारै चासो राखेर सोध्नुहुन्थ्यो । चिन्ता व्यक्त गर्नुहुन्थ्यो । त्यो राक्षसी महामारी आफ्नो घरमा आएर यत्रो बज्रपात गराउला भन्ने लागेको थिएन । तर त्यो बज्रपात यसरी आयो कि हाम्रो आपतविपतले हाम्रो घरबाट पहिला साहिँलो भाइ, त्यसपछि माहिँलो भाइ र बा धर्मकुमारलाई हामीबाट खोसेर लग्यो । कोरोनाको कारणले बाको र दुर्ई भाइको निधन भयो । मेडिसिटीमा हाम्रो बाले बेवारिसे तरिकाले मृत्यु वरण गर्नुभएछ । सरकारी व्यवस्थापन अनुसार उहाँको दाहसंस्कार पशुपति शवदाहगृहमा अन्त्येष्टि भतिजा महेन्द्रको उपस्थितिमा भएको रहेछ । त्यसबेला म ह्याम्स अस्पतालको सघन उपचार कक्षमा उपचाररत रहेछु । मैले केही दिनपछिमात्र बुबाका निधनबारे थाहा पाएको थिएँ । म ह्याम्समा उपचाररत भएको बेलामा बुबाले सपना देखाउनु भएको थियो । सेतो लबेदा सुरुवाल लगाएर ओर्लिन लागेको भर्‍याङनेर उभिएर मलाई भन्नुभएको थियो, “जाने होइन ?”

त्यसबखत मलाई भेन्टिलेटर र आईसियु बीचको ठाउँँमा राखेर उपचार गरिएको थियो रे । प्लाज्माथेरापी उपचार गरिएको बेलामा बाले सपना देखाएको बेला रहेछ । जेठो छोरा सुमनले भनेपछि थाहा भयो । सपनाको बारेमा हामी विश्वास गर्न सकिने वातावरण बनेकोमा म छक्क पर्ने गरेको छु । मलाई बाले पछि म निको भएर घरमा निदाएको बेलामा सपना देखाउनु भयो । म सुतिरहेको कोठाको ढोकामा को को आएको मलाई सपनामा आभास भयो । म अचानक बेस्सरी रोएर कराएको रहेछु । पछि ढोकामा आएको छाया बिस्तारै हरायो । मलाई अझ पनि लिन आएको जस्तो लाग्यो । तर म कराएर रोएकोले मैले जानु परेनजस्तो लाग्यो । पछि एकजना पण्डितलाई सोधेँ, “सपनामा रोएको कराएको फल के हो ?” पण्डितको जवाफ रह्यो, “यसरी सपनामा रुनु, कराउनु राम्रो हो ।” मलाई पनि हो जस्तो लाग्यो । जतिसुकै विश्वास नगर्ने भन्दा पनि मलाई विश्वास गर्न बाध्य पारेको छ यस घटनाले । त्यसपछि बाले सपना देखाउनुभएको छैन । परम्परागत चलनअनुसार पानी चढाउने गर्नाले लाभ हुने सुनेको छु । यो सबै मेरो अवचेतन मनको क्रियाकलाप भएको ठान्छु ।

१७. पहिलोपटक पशुपति शवदाहगृहमा
बालाई अन्तिम बिदाइ गर्न नपाएकोमा मनमा खट्किरहेको छ । म पहिलोपटक पशुपति शवदाहगृहमा प्रगतिवादी साहित्यकार, प्रगतिशील लेखक संघका संस्थापक अध्यक्ष श्यामप्रसादको अन्तिम सतगत गर्न पुगेको छु । त्यहाँँँँ सतगत गर्नुपूर्व दर्ता गर्नुपर्ने रहेछ । त्यसबेला त्यहाँँँ उहाँका छोरीहरु नजिक थिएनन् । नेपाल प्रज्ञाप्रतिष्ठानबाट उहाँको शवलाई शववाहनमा राखेर म गएको थिएँ । नाम दर्ता गर्ने बेलामा म त्यहाँँँ पुगेँ । नागरिकता अनुसार मेरो नाम लेखियो र मलाई सोधियो, “तपाईं उहाँको छोरा हो ?” मैले भनेँ, “म उहाँको चेला हो । मैले सहीछाप गरे हुन्छ ?” हुन्छ भनेपछि श्यामप्रसादको दाहसंस्कार गर्ने कागजपत्रमा मैले ल्याप्चे लगाएको र दस्तखत गरेको म सम्झन्छु ।

मैले म धर्मकुमारको जेठो छोरा भएर त्यस शवदाहगृहमा आवश्यक पत्रमा दस्तखत र ल्याप्चे लगाउन पाइन । आफैँ आईसियुमा रहेर उपचाररत भएको कारणले ती सब केही पनि भएन । यो मेरो मनमा जीवनभर खट्किरहने विषय भएको छ ।

१८. सङ्क्रमणको बाढी
म नारायणगढबाट काठमाडौँ फर्केपछि भाइ कृष्ण र भाइ विष्णु (माहिँला र साहिँला भाइ) ले अस्पतालमा पिसिआर टेस्ट गर्न गएछन् । दुबैजनाको नतिजा पोजिटिभ निस्केछ । घरमा बसेर उपचार गर्दा ठीक हुन्छ भन्ने लागेछ । एक्लो एक्लो बस्दा पनि रोगले च्याप्दा पनि बेवास्ता गरेपछि रोगले निकै च्यापेछ । सास फेर्न गारो भएर बेस्सरी कराएको र त्यति बेला स्थानीय अस्पतालमा जाने गरेन । काठमाडौँबाट भतिजो सरोजले आफ्नो बाबालाई छिटो काठमाडौँ आउन भनेको रहेछ । उसले यहीँ ठीक भइहाल्छ भनेर रुघाखोकीको जस्तो सम्झेर काठमाडौँ जान ढिलो गरेछ । पछि साह्रै गारो भएपछि मात्र काठमाडौँ ल्याउने कुरा भएछ ।

त्यसैगरी साहिँला भाइ विष्णुलाई खाना नरुच्ने, पेट फुल्ने भएको रहेछ । बुहारीले छोरा डाक्टर नवीनको हस्पिटल (पोखरा) मा उपचार गर्नुपर्छ जाऊँ भनिछन् । भाइले भनेछ, “यहाँ बुबा अस्पतालमा भएकाले खाना लान गाडी चाहिन्छ । यहाँ बसेर उहाँको हेरचाह गर्नपर्छ ।” ऊ पोखरा गएनछ । बुबालाई मेडिसिटीमा लगेपछि उसलाई पनि व्यथाले च्यापेछ । सास फेर्न गारो र पखाला चल्ने आदि भएर अस्पताल लग्दा बेहोस भएर २०७७ असोज १९ मा भाइको निधन भएछ ।

१९. एकैपटक अस्पताल
२०७७ असोज ११ मा नारायणगढबाट आएर म अलग कोठामा बसेर उपचार गर्दै थिएँ । निको होला कि भन्ने लागेको थियो । एउटै आशा स्वाव परीक्षण गराएर ढुक्क हुने सोचमा थिएँ । त्यो परीक्षण गराउन पनि पाइएन । म अलमलमा थिएँ । झन्झन् कमजोर भइरहेको जस्तो लागिरह्यो ।

२०७७ असोज २० मङ्गलबारको दिन म कोठामा एक्लो बसिरहेको थिएँ । कति पनि जाँगर चलेको थिएन । कोठाबाहिर जेठो छोरा सुमन आएर बसिरहेको थियो र भन्यो, “ल बुबा बिएन्डबि अस्पतालमा जानुपर्‍यो, तयार हुनुहोस् । त्यहाँँँ सरोज भाइ पनि छ । माहिँला बुबालाई पनि नारायणगढबाट एम्बुलेन्समा ल्याउँदैछ । बाहिर टयाक्सी आइसकेको छ । चौधरी पनि जान्छ । सामान लिएर तल झर्नोस् ।” मलाई भने कत्ति पनि उठ्न मन लागेको थिएन । छाउनीबाट कान्छो छोरा रवीनले उसको पसलको स्टाफ चौधरी र ट्याक्सीको व्यवस्था गरेको रहेछ । उनीहरुले भाइ विष्णु बितेको र भाइ कृष्णको अवस्था पनि नाजुक भएकोले म पनि मर्छ कि क्या हो भनेर आत्तिएर मलाई अस्पताल लाने व्यवस्था मिलाएका रहेछन् ।

म कोठाबाट झोलामा आफ्नो सामान औषधीका पोकाहरु लिएर निस्केँ । छोराहरु र भतिजो सरोजको कुरा भएर मलाई बिएनबि ग्वार्कोमा पठाएको रहेछ । म त्यहाँँँ मलाई कुरेर बसेको ट्याक्सीमा गएर बसेँ । अगाडि चौधरी साइकलमा थियो । उसैलाई पछ्याएर ट्याक्सी दगुर्न थाल्यो ।

२०. म मर्दिन
कुलेश्वरबाट ट्याक्सी बल्खुचोक आएर चक्रपथमा दगुर्दै थियो । अचानक मोबाइल बज्यो । मैले हेल्लो भन्नासाथ कान्छा छोरा रवीनको स्वर रहेछ । मसँग बोल्दाबोल्दै ऊ त ह्वाँ, ह्वाँ, गरेर रुन थाल्यो । घरमा पनि बेस्सरी रोएको थियो रे । मैले भनेँ, “ए छोरा, तिमी किन रोएको हो ? नरोऊ । म स्रष्टा हुँ । म मर्दिन । बाँचेर फर्किन्छु ।”

मलाई त्यति बेलासम्म त मलाई केही पनि भएको छ जस्तो लागेकै थिएन । त्यति बेला छोराबुहारी, नातिनातिनीहरुलाई साहिँला मरेको र माहिँला पनि गम्भीर भएकोले म पनि अब मर्ने भयो भनेर आत्तिएको रहेछ । मलाई भने साहिँला भाइको निधनको बारेमा कसैले भनेको थिएन । नेपालमा हाम्रो पारिवारिक अवस्थाको बारेमा अमेरिका बस्ने छोराबुहारी र बेलायतमा बस्ने छोरीज्वाईंहरुलाई सबै जानकारी भैसकेको रहेछ ।

म ट्याक्सीबाट ओर्लेर बिएनबिभित्र पसेँ । चौधरी मलाई पर्खेर बसेको थियो । उसैले मलाई यता आउनु बुबा भन्दै भित्र लग्यो । ममा यति कमजोरी भएछ कि मैले चौधरीलाई पनि पहिला त चिन्न सकिन । उसले मलाई खुप सहयोग गरेकाले यो अस्पताल त राम्रो रहेछ, मलाई निकै हेरविचार गरेको छ भन्ने लाग्यो । पछि थाहा भयो । ऊ त आफ्नै मान्छे रहेछ ।

त्यहाँँँ केही पर भतिजो सरोज उसको बालाई कुरेर बसिरहेको थियो । छोरा र भतिजाहरुले त्यहाँँँ मलाई पनि भर्ना गर्न व्यवस्था गरेको रहेछ । त्यहाँँ भतिजो सरोज नजिक एकजना डाक्टर होला बोल्दै थियो, “भित्र एकजनालाई भेन्टिलेटरमा राखिएको छ । बचाउन गारो छ ।” मैले मेरो भाइ हो ? भनेर सोध्ने आँट पनि गरिन । त्यति बेला भाइलाई ल्याइसकेको रहेछ ।

२१. पहिलो पटक पिसिआर टेस्ट
मलाई लागेको थियो, पिसिआर टेस्ट गरेपछि घर जान सकिन्छ होला । म बसिरहेको ठाउँँमा आएर चौधरीले बोलायो । म उठेर काउन्टरमा गएँ । त्यहाँँको कर्मचारीले मेरो स्वाव लियो । एकछिनपछि त्यो मानिसले बोलाएर भन्यो, “ल तपाईं अहिले तुरुन्त आइसोलोसन कोठामा जानोस् ।” मलाई चौधरीले मेरो सामानका साथ त्यो कोठामा पुर्‍यायो । त्यहाँँ नजिकको कोठामा मानिसको रुवाबासी चलिरहेको थियो ।

२२. बहिनीको फोन
म त्यस कोठामा भरखर गएर बसेको मात्र थिएँ । मोबाइल बज्यो — पोखराबाट बहिनीेको रहेछ । बहिनीले मेरो बारेमा के हो कसो हो केही पनि सोधिन । एक्कैचोटि ठुलो स्वरले कराएर भनी, “मलाई माहिँला दाइले बेस्सरी गाली गर्‍यो । तिमीले गर्दा, तिम्रो डाक्टर भनाउँदा छोरी ज्वाइँले हाम्रो घरमा कोरोनाको महामारी ल्याइदियो । सघन उपचार गर्ने भनेर कोरोनाको रोगीसँग राखेर बुबालाई कोरोना सङ्क्रमण गरायौ । तिमी हाम्रो एकमात्र बहिनी हो राम्रो गर्ला भन्ने लागेको थियो । तिमीले हामीलाई मार्ने भयौ । हाम्रो परिवारमा बज्रपात गराउने तिमी हाम्रो दुस्मन रहेछौ । धिक्कार छ तिमीलाई ।” बहिनीले आफूलाई दोष दिएको गाली गरेको भनेर सुनाई । मैले केही बोल्न सकिन । भन्न त मन लागेको थियो, माहिलाले ठीक भनेछ । भएको कुरा भनेछ । वास्तवमा तिम्रो छोरीज्वाइँको शरीरमा यमराज चढेर आएको थियो होला । तर म केही बोलिन । मेरो भाइ स्पष्टवक्ता भएर कम्तीमा त्यति बोलेछ । आफ्नो वास्तविक कुरा आफू मर्नुभन्दा अघि जायज कुरा बोलेछ । धन्यवाद भाइ माहिला ।

२३. घरको खबर बाहिरबाट
एकछिन पछि मेरो आँखा फेसबुक मेसेन्जरमा पुग्यो— तनहुँ दुलेगौँडाका मित्र शेषमणि आचार्यको आवाज सुनियो, “रामजी, केदार सिग्देलले आज फेसबुकमा तपाईंको साहिँलो भाइ विष्णुको निधनको खबर भाइको फोटो सहित राखेर पोस्ट गरेको रहेछ । के हो ?”

मैले पनि त्यो खबर पहिलो पटक थाहा पाएँ । घरमा मलाई म चिन्तित होला भनेर कसैले केही भनेको थिएन । म पुरै अनभिज्ञ थिए । आफै अवाक भएँ । आँखाबाट आँसु अनायास तप्किन थाल्यो । मित्रलाई मैले केही भनिन । चुपचाप भएँ । त्यसपछि भाइ मित्रलाल र भतिजा देबेन्द्रको श्रीमती (बुहारी) ले पनि फोन गरेर सोधेको थियो । म आफैँ बिरामी परेर अस्पतालमा बसेको बेलामा जवाफ फर्काउने अवस्था थिएन ।

मलाई पछि याद भयो, आफ्नो साहिँला बुबा बितेको कारणले अब आफ्नो बाउ पनि बित्ने होला भनेर म बाटोमा ट्याक्सीमा आएको बेला कान्छा छोरा रवीनले फोन गर्दै रोएको रहेछ ।

२४. बेलायत र अमेरिकाबाट
म आइसोलेसनमा बसेको बेलामा बेलायतमा रहेका छोरी सुशीला, ज्वाईं महेन्द्र र अमेरिकाको एरिजोनामा बसेका छोरा मिलन र बुहारी विमलासित फोन र मेसेन्जरबाट सम्पर्क भई कुरा भयो । बुहारी विमला आफू स्वयम् त्यहाँँको अस्पतालमा नर्सिङ पेसामा संलग्न भएको पनि होला मलाई श्वासप्रश्वासको बारेमा सिकाइन् । छोरा मिलन र छोरी तथा ज्वाईं सबैले मलाई ढाडस दिएर कुरा गरे । त्यसै बखत छोरा छोरीहरुले मेरो आत्मबल र आत्मविश्वास देखेर फेसबुकमा मेरो बारेमा पोस्ट गरेको पनि रहेछ । मैले पछि थाहा पाएँ । धेरै साथीहरुले पनि मेरो बारेमा चासो राखेर फोन, मेसेन्जर, भाइबरबाट सम्पर्क गरेर मेरो स्वास्थ्य अवस्थाको बारेमा कुरा गरेका थिए र मलाई हौसला प्रदान गरेका थिए ।

२५. अनुसन्धानको चर्चा
क्यानाडामा बसेर आफ्नो अध्ययन र कामलाई अगाडि बढाइरहेका कवि मित्र कुसुम ज्ञवालीको कुराले मलाई थप हौसला प्रदान गर्‍यो । उहाँले लेख्नु भएको थियो, “वैज्ञानिकहरुले एउटा अनुसन्धानबाट के कुरा पत्ता लगाएका छन् भने कुनै पनि व्यक्ति आफ्नो अभियान (मिसन) मा ज्यान दिएर सक्रिय भएर लागेको छ र उसलाई कुनै रोगले आक्रमण गरेको छ भने पनि त्यो रोगलाई पराजित गरेको मनोविज्ञानबाट पत्ता लागेको छ । त्यसैले तपाईं पनि त्यो कोरोनाको सङ्क्रमणबाट बच्न सक्नु हुनेछ भन्ने मलाई लागेको छ । तपाईंको शीघ्र स्वास्थ्य लाभको लागि मेरो हार्दिक शुभकामना छ ।”

२६. अर्को कोठा सरुवा
पहिलो दिन अर्थात् २०७७ असोज २० गते आइसोलेसन कोठामा र भोलिपल्ट २१ गते मलाई अर्को कोठामा सारियो । त्यसपछि मलाई सलाइन पानी लगायत के के चढाउन थाल्यो । त्यस कोठामा म बाहेक अर्को २ जना रोगी पनि थिए । उनीहरु उपचारको क्रममा छिटै घर फर्कने अवस्थामा थिए । त्यहाँँ रहेका साथीले हाँसो गर्दै भने, “यहाँ कोरोनाको उपचार गर्ने डाक्टर नै कोरोना भएर घरमा उपचार गराउँदैछ ।”

त्यसको केही बेरपछि एकजना डाक्टरसाप आउनु भयो । त्यहाँँ कोरोनाको बिरामीलाई आफैँले नै सबै हेर्ने गरेको र अझ व्यवस्थित हुन नसकेको बारेमा आफ्नो परिचय दिँदै हामीलाई हौसला दिँदै त्यहाँँको अवस्थाको बारेमा बताउनु भएको जस्तो लाग्यो । म केही बोलिन ।

त्यहाँँ बस्ने इमाडोलको साथी रमाइलो खालको र अर्को साथी कम बोेले पनि सहयोगी खालको थियो । त्यो रमाइलो साथीलाई अर्को कोठामा सारे । त्यहाँँ हामी दुईजना मात्र भयौँ ।

२७. सास फेर्न गारो भयो
हामीहरु घरबाट छोरा बुहारी लक्ष्मीले पठाएको खाना खाजा खाँदै मनको कुरा गर्दै बसेका थियौँँ । साँझतिर म शौच जान लागेको मात्र थिएँ, मलाई अनायास सास फेर्न गारो भयो । म त्यहाँँ कराएपछि त्यहाँँको कर्मचारीले अक्सिजनको सिलिन्डर सानो खालको ल्याएर मेरो नाक मुखमा राखिदिए । बल्ल सास फेर्न सजिलो भयो । म ओछ्यानमा बसेको बेलामा मेरो नाकमुखमा अक्सिजन मास्क लगाइदिए । ज्वरो नाप्दै गरियो । मलाई निको होला कि भनेको त झन् रोगले च्याप्दै गयो । तापनि म हतोत्साहित भइन ।

त्यहाँँ बिस्तारै सुनियो, बीएन्डबीमा कोरोना उपचारका लागि पर्याप्त साधन र जनशक्ति छैन । त्यसैले उनीहरुले मेरा छोरा भतिजाहरुलाई भनेका रहेछन्, “सकिन्छ भने तिम्रा बिरामीलाई अन्य कोरोना अस्पतालमा लैजाऊ ।”

२८. अस्पतालमा ठाउँँ पाउन सकस

त्यतिबेला देशभर कोरानाको सङ्क्रमण यति धेरै फैलिएको थियो कि अस्पतालमा बिरामीलाई उपचार गर्न ठाउँँ पाउन पनि सकस परेको रहेछ । बिएन्डबिमा बल्लबल्ल ठाउँ पाएर भाइ कृष्ण र मलाई त्यहाँँ भर्ना गर्न लगिएको रहेछ । माहिला भाइ कृष्णको अवस्था निकै नाजुक भएकोले उसलाई भेन्टिलेटरमा राख्नुपरेछ । ढिलो भएको भए मेरो अवस्था पनि के हुने हो थाहा थिएन ।

२९. उपचारमा तदारुकता
मेरो उपचारका लागि लन्डनमा रहेका छोरीज्वाईं, अमेरिकाको चान्डलर फिनिक्स एरिजोनामा रहेका छोरा बुहारी, स्वदेशमा रहेका जेठा छोरा बुहारी र कान्छा छोरा बुहारीहरुले निकै तदारुकताका साथ सक्रियता देखाएर, सोधखोज गरेर उपचारमा दिलोज्यानले लागेका रहेछन् । ह्याम्स अस्पतालमा भर्ना हुनको लागि अमेरिकामा रहेका छोरा बुहारी, स्वदेशमा रहेका छोराबुहारीहरुले आफ्ना भएभरको सोर्सफोर्सको लागि सक्रिय भएर लागेपछि बल्लबल्ल त्यहाँँ सिट पाइएको रहेछ ।

३०. बल्ल निधो भयो
२०७७ साल असोज २२ मा राती मलाई खबर आयो, “मलाई मेरो कोरोना रोगको उपचारका लागि धुम्बराहीस्थित ह्याम्स अस्पतालमा लगिने भयो ।”
रातिको खाना खाएर म आराम गर्दै निदाउने तरखरमा थिएँ । राती १० बजे जेठो छोरा सुमनले मोबाइल मेसन्जरमा सन्देश पठायो, “बुवा आराम गरेर निदाइराख्नु होला । राती १२ बजेतिर तपाईंलाई लिन ह्याम्सबाट एम्बुलेन्स आउनेछ र तपाईंलाई त्यहाँँ सार्नेछ ।”

“ल ठीक छ । म पर्खेर बस्नेछु ।” मैले उसलाई जवाफ पठाएँँ । २०७७ असोज २२ गते राती करिब रातको १ बजेतिर मलाई खवर आयो, “ह्याम्स जाने एम्बुलेन्स आयो ।” सामानहरु सबै ठीक पारेर म पर्खिरहेको थिएँ । त्यहाँँका नर्स र अन्य कर्मचारीहरुले मलाई तलसम्म लगे र एम्बुलेन्समा राखेर बिदाई गरे ।

३१. एम्बुलेन्सको यात्रा
हस्पिटल, डाक्टर, नर्स, सलाईन पानी, सुई जिउमा घोचेपछि मानसिक रुपले मानिसलाई पुरा बिरामी भएको महसुस गराउने रहेछ । भएको शक्ति पनि कता कता लुक्ने रहेछ । भएको शक्तिलाई प्रकट गराउन प्रयास गर्नु पर्ने रहेछ ।

मलाई एम्बुलेन्समा राखियो । रातिको अन्धकार सडकमा बिजुलीबत्ती बलिरहेको हिसाबले हेर्दा एम्बुलेन्स ग्वार्कोबाट निस्केर धुम्बराहीतिर दगुर्न थाल्यो । कुन बाटोबाट कसरी गैरहेको छ भन्ने बारेमा मलाई अन्दाज गर्न कठिन भैरहेको थियो । धेरै वर्षदेखि बसिरहेको यो काठमाडौँ सहर पनि मलाई कता हो कता जस्तो लाग्न थाल्यो । आफ्नो देश पनि विदेश जस्तो लाग्न थाल्यो ।

३२. बर्बराहट स्वर
केही बेरमा एम्बुलेन्स ह्याम्स अस्पतालको प्राङ्गणमा पुगेर अडियो । केही बेर त्यहाँँँ कुर्नपरेको थियो । त्यसपछि मलाई अर्को कोठामा लगियो । मलाई एउटा खाट जस्तो ठाउँमा सुताइयो । त्यहाँँ मेरो लागि काम गर्न आएको मानिस निकै तनावमा भएको जस्तो लाग्यो । ऊ बर्बराउँदै कसैलाई गाली गरिरहेको जस्तो लाग्थ्यो । मानौँ मलाई त्यसले ठूलो दवावमा परेर भर्ना गर्नुपरेको जस्तो । बर्बराउँदै कसैलाई गाली गरिरहेको जस्तो । वास्तवमा त्यहाँँ सिट खाली रहेनछ र पछि बल्लबल एकजना बिरामी निको भएर गएपछि मेरो लागि ठाउँ खाली भएको थियो । त्यसमा उसले बर्बराएर मलाई सुनाउनुपर्ने केही आवश्यक थिएन ।

३३. सम्पूर्ण सामान अलग
म चुपचाप केही नसुने झैँ पल्टिरहेको थिएँ । उसले एकछिनपछि आदेश दियो, ल तपाईंका सबै लुगा फुकाल्नुहोस् । घडी, मोबाइल, अरु सामान के के छन् सबै निकाल्नुहोस् । मैले झोलाका सबै सामानहरु निकालेर दिएँ । त्यसमा मैले दैनिक सेवन गर्नुपर्ने औषधी पनि थियो । त्यो पनि अरु सामानहरु सँगै फालिदिए ।

३३. अस्पतालको लवाइमा
अस्पतालमा मैले लगाउनुपर्ने लुगा मलाई लगाइदिए । पिसाबको नलीमा पाइप लगाइदिए । ती सब काम सकेपछि म त आधामात्र होसमा छु कि जस्तो लाग्यो । त्यसपछि पनि मैले त्यहाँँ एक घण्टा कुर्नुपर्‍यो । मध्यरातको समय थियो । निन्द्रा लाग्ने कुरा थिएन । “किन ढिला भएको हो ? किन मलाई बेडमा नलगेको हो ?” म कराइरहेँ । त्यहाँँ रहेका कर्मचारीले मलाई एकछिन पख्नोस् भन्दै मलाई आश्वस्त पार्न खोज्दै थिए । बल्लतल्ल मलाई लिन आए । मलाई मैले नियमित सेवन गर्नु पर्ने औषधी आफूसँग नभएर निकै चिन्तित थिएँ । समय आएपछि मलाई क्यारिएरमा राखेर कति तला माथि हो घुमाउँदै, डुलाउँदै, लिफ्टमा चढाउँदै लगियो ।

३४. सघन उपचारकक्षमा
मलाई सघन उपचार कक्षमा लगेको रहेछ । एउटा ओछ्यानमा अक्सिजन मास्क लगाएर सुताइयो । अविलम्ब चेक गर्ने मेसिनहरु ल्याएर चेक गर्न थालियो । सुई घोच्न सुरु भयो । सलाइनपानी जस्तो के के हो चढाइयो । म चुपचाप पल्टिरहेँ । निन्द्रा लागेको हो कि होइन ? भ्रममा बाँचिरहेँ ।

रातभरि दिनभरि आईसियु (सघन उपचार कक्ष) मा जडान गरिएका मोनिटरहरु कराइरहन्थे । बिजुलीबत्ती बलिरहे । झमक्क निदाएर बिउँझिदा त्यहाँँ कहिले भरिभराउ कर्मचारीहरु हुन्थे । कहिले सुनसान हुन्थ्यो । तर हाम्रो हेरचाह गर्ने नर्स बहिनीहरु भने नजिक हुन्थे । मलाई कहिले मस्त निन्द्रा लाग्थ्यो । कहिले लाग्दैनथ्यो । नजिक झुन्डयाइएका मनिटरहरु वनको चराहरु कराएको जस्तो स्वरमा कराइरहन्थे ।

मनिटरको त्यो चरीको जस्तो आवाजले मलाई भिमाद बजार नजिकैका रुखहरुमा चरीहरुले कराएको जस्तो लाग्न थाल्यो । भिमादमा बसेर व्यापार गर्ने भाइहरुको यादले मलाई सताइरह्यो ।

३५. श्रवणकुमारहरु
मातापिताको सेवाको लागि वास्तवमा हामी ४ भाइ श्रवणकुमार जस्तै थियौँँ । बाको अन्तिम समयको भाइ विष्णुको सेवा वास्तवमा श्रवणको जस्तै थियो । ऊ आफ्नो स्वास्थ्यको समेत ख्याल नगरी बुवाको सेवामा लाग्यो । सेवा गर्दागर्दै कोरोना रुपी दसरथको बाणले भाइ विष्णुको ज्यान लियो । पत्याउन नसकिने गरी भाइ विष्णुको निधन भयो । महाकवि देवकोटाले मार्ग कवितामा भनेको याद आयो –
खोज्छन् सुख भनि, सुख त्यो कहाँ छ ?
आफु मिटाई अरुलाई दिनु जहाँ छ ।

मेरा भाइहरुमा त्यस प्रकारको बलिदानपूर्ण भावना नपत्याउँदो रुपमा विद्यमान थियो । जसले गर्दा बाआमाको समयमा उपचार भएर दीर्घायु सम्म बाँच्न सफल हुनुएको थियो । त्यस प्रकारको सेवा गर्ने तरिका सुरुमा मैले अपनाएको थिएँ । भाइहरुले पछि त्यसलाई अनुसरण गरे । मलाई लाग्छ, भाइहरुले पनि त्यो बलिदानी भावनाले काम गरेका हुन् । कोरोनाको महामारीमा पनि घरबाट बाहिर ननिस्केकाहरु स्वचालित तरिकाले भिमादबाट बिहानै नारायणगढ पुगेका हुन् । स्तुत्य छ मेरा भाइरुको बलिदान । म उनीहरुको सेवा भावनाप्रति श्रद्धा र प्रशंसा गर्दछु ।

३६. निरीह अवस्था
ह्याम्समा प्रवेश भएदेखि नै म एक निरीह बिरामी (दिसा पिसाब पनि डाइफरमा गर्न बाध्य) भएर रहँे । म एक साधारण जीवमात्र निमित्तमात्र जस्तो भएर रहेँ । मानौँ मलाई चलाउने अरु कोही छ । म त साधन मात्र जस्तो, साध्य अरु नै कोही जस्तो । बेडमा लगेर सुताएपछि त्यसरी नै सुत्ने र उठ् भने पछि उठ्ने अनि बस् भनेपछि बस्ने ।

बिहान सबेरै नर्स आउँथिन् र भन्थिन्, “ल बुबा उठनोस् । इन्जेक्सन लगाउनु पर्‍यो ।”
“किन ?”
“तपाईंको खुट्टामा रक्तसन्चरण भएन भने गारो हुन्छ । त्यसैले यो लगाउनुपर्छ ।”
“ल ल लगाउनु होस् ।”
यसरी बिहानदेखि बेलुकासम्म कति इन्जेक्सन घोचियो ? सबै याद पनि भएन । इन्जेक्सन, सलाइनपानी जस्तो के के औषधी खाने आदि भइरह्यो ।

३७. थप उपचारको क्रम
मेरो पिसिआरको जाँच गर्दा बिएन्डबिमा पोजिटिभ थियो । ह्याम्समा फेरि जचाउँदा पोजिटिभ नै देखियो । छातीको एक्सरे लिएर निमोनिया छ कि छैन भनेर जाँच्ने क्रम चलिरह्यो । उपचारका क्रममा मलाई रेमडेसिबिर (ईबोलाको औषधी) र प्लाज्माथेरापी गरिएको साथै डेक्साभेडासोन दिइएको रहेछ । ती सबै उपचारका लागि मेरो शरीरमा प्रशस्त सुईहरु घोचिएको थाहा छ । एकएक गरेर सोध्ने कुरा पनि भएन । म त निमित्त पात्र भएर बसिरहनेमा परेँ नि ।

३८. नियमित औषधी
घरमा बस्दा मैले बिहानदेखि बेलुकासम्म सेवन गर्र्नुपर्ने सबै औषधीहरु पहिलो दिनको राती मलाई सघन कक्षमा लग्नु अगाडि ती टेन्सनवाला मानिसले फालिदिएको थियो । मैले नियमित सेवन गर्नुपर्ने औषधी सेवन नगरेपछि त्यसको असर ममा देखिन थाल्यो । म कराएपछि तिनीहरुले उपलब्ध गराए । मलाई करिब एक हप्तासम्म पोस्टेड ग्ल्यानको औषधी खान दिएन । मेरो पिसाब रोकियो । म कराएँ । एकपटक पाइप राखियो र पछि झिकियो । मेरो लुगामा रगत आएको देखेपछि बल्ल तिनीहरु झस्किएछन् र युरिम्याक्स नियमित रुपमा सेवन गर्न दिए । पिसाब नलीमा सङ्क्रमण भएको छ भनी इन्जेक्सन दिन थालियो । पिसाब नलीमा पाइप राखियो । एन्टिबायोटिक औषधी दिइयो । घरमा आएपछि पनि त्यो पाइप एक महिनासम्म लिएर हिँड्नु परेको थियो र एन्टिबायोटिक औषधी सेवन गरिएको थियो । एक महिनापछि ब्ल्यू क्रस त्रिपुरेश्वरमा गएर झिकिएको र थप उपचार गरिएको थियो ।

३९. एकनासको उज्यालो
सघन उपचार कक्षमा बस्दा रातभर दिनभर बिजुलीको एकनासको उज्यालोले छोपिरहेको हुन्थ्यो । निदाएको बेलामा र आँखा उघारेको बेलामा त्यहाँँ नजिकै डाक्टरहरु, नर्सहरु र अन्य कर्मचारीहरु हुलका हुल देखिन्थे । कोही ल्यापटपमा काम गरिरहेका हुन्थे । कोही रिपोर्ट हेरिरहेका हुन्थे । कोही छलफल गरिरहेका हुन्थे । कोही यता र उता दगुरिरहेका हुन्थे तथा कोही जाँचकी मेसिनहरु यताउता लगिरहेका हुन्थे । म जस्तै अरु बिरामीहरु भने आफ्नै यथास्थानमा पल्टिरहेका हुन्थे ।

४०. डाक्टरको इसारापूर्ण अभिव्यक्ति
एकाबिहानै एक समूह हामी नजिक आए । सायद त्यो डाक्टरहरुको अनुगमन टोली थियो । एकजना डाक्टरले टाढैबाट मतिर इसारा गर्दै बूढी औँला देखाएर मुुस्कुराउँदै भन्दै थियो, “तिम्रो रिपोर्टको नतिजा राम्रो छ ।” मेरो सम्पूर्ण स्वास्थ्य परीक्षणको प्रतिवेदन राम्रो भएकोले त्यसो भनेको होला भन्ने मलाई लाग्यो ।

४१. प्लाज्मा थेरापी
नेपालमा प्लाज्मा थेरापीको उपचार पद्धति ग्रान्डी अस्पतालका नेपाली डाक्टर अनिल नेपालले विकास गर्नु भएकोरहेछ भन्ने कुरा डा. रवीन्द्र समीरबाट मलाई थाहा भयो । धन्यवाद डक्टर ।

मेरा छोराहरु, छोरी ज्वाईं शङ्करनारायण र अन्य मित्रहरुको सहयोगमा मलाई पनि प्लाज्मा थेरापीले उपचार गरिएको र मेरो स्वास्थ्यमा तुलनात्मक सुधार भएको रहेछ । मेरो जीवन बचाउन सहयोग गर्ने बाँकेका पत्रकार केशव रानाभाटसित मलाई भेट्ने इच्छा भयो । छोरा सुमनलाई उसलाई बोलाउन लगाई भेटेर उनीप्रति कृतज्ञता र धन्यवाद चढाउन पाएकोमा सन्तोष लाग्यो ।

४२. भाइ कृष्ण
म ह्याम्समा सरेपछि भाइ कृष्णलाई बिएन्डबिमा ल्याएर भेन्टिलेटरमा राखेर उपचार थालिएको रहेछ । करिब एक महिना अगाडिमात्र उसको पोस्टेड ग्लानको अपरेसन गरिएको थियो । उसको शरीर कमजोर थियो । कोरोनाको कारणले उसको २०७७ असोज २४ गते शनिबार बिहान ७ बजे निधन भएछ । मैले पछिमात्र थाहा पाएँ ।

४३. घरभरि कोरोना
हाम्रो घर नारायणगढ, भिमाद र काठमाडौँमा सबैतिर घरभरि कोरोनाको आक्रमण भैरह्यो । हाम्रो घरमा एक प्रकारले कोरोनाको महामारी नै चल्यो । काठमाडौँमा म अस्पतालमा भर्ना भएपछि मेरी श्रीमती सीता, छोरा सुमन, बुहारी रजनीलाई पनि पिसिआर जाँच गराउनु परेछ । माहिली भाइबुहारीलाई कोरोनाको आक्रमणले गम्भीर अवस्था परेर टेकु अस्पतालमा उपचार गरेर निको भएछ । त्यस्तै साहिँली बुहारीलाई पनि पोजिटिभ भएर उपचार गरेर निको भएछ । कान्छा भाइ अमृतलाई पनि पहिले पोजिटिभ भएर अस्पताल भर्ना भएको र पछि नेगेटिभ भएर निको भएछ ।
४४. क्रियाकर्म
बुबाको क्रियाकर्मको बेलामा म हस्पिटलमा थिएँ । नारायणगढमा भाइ अमृत बिरामी अवस्थामा भएको बेलामा पनि भाइ मित्रलाल (कान्छा बाको जेठो छोरा) सँग मिलेर क्रियाकर्म सम्पन्न गरेछ । मेरो तर्फबाट गर्नुपर्ने पिताको क्रियाकर्म पण्डितको सल्लाहमा पछि सम्पन्न गर्न सकेँ । भाइहरुको निधनपछिको क्रियाकर्म भतिजाहरुले समयमा सम्पन्न गरे ।

४५. बेखवर भएर पनि रमाउन खोज्ने
म ह्याम्समा उपचाररत रहँदा बाहिर संसारमा के भइरहेको छ ? केही पनि थाहा थिएन । घरमा आएपछि थाहा भयो कति नातेदारहरुले, शुभचिन्तक मित्रहरुले मेरो बारेमा कति धेरै चासो राखेर सोधखोज गर्नुभएको रहेछ ।

साहित्य सन्ध्याका उपाध्यक्ष र पेन्टागन कलेजका प्रिन्सिपल रमेश पोखरेलले पछि भन्नुभयो, “तपार्इंका बारेमा चासो राखेर, तपाईंको स्वास्थ्यको बारेमा यति धेरैजनाले मसँग सम्पर्क राखेर सोध्नुहुन्थ्यो कि मलाई जवाफ दिनको लागि हम्मेहम्मे पर्दथ्यो । त्यसका लागि मैले विज्ञप्ति प्रकाशन गर्नुपर्ने भयो । तपाईंको स्वास्थ्यका बारेमा मलाई थाहा भएको सूचना प्रकाशित गर्दथेँ । मलाई थाहा नभएको बारेमा साहित्य सन्ध्याका सल्लाहकार, कवि वासुदेव अधिकारीसित जानकारी लिन्थेँ । वासुजीले तपाईंको जेठो छोरा सुमनसित जानकारी लिएर मलाई तपाईंको स्वास्थ्य अवस्थाका बारेमा सूचना सम्प्रेषण गर्न मलाई सहयोग गर्नुभएको थियो ।”

म अस्पतालमा हुँदा जसरी बेखबर थिएँ र मलाई लाग्दथ्यो मप्रति चासो राख्ने काम मैले के पो गरेको छु र ? कसैले चासो नराखे पनि के फरक पर्छ र ? भन्ने मेरो मनमा सन्तोषको भावनाले ढुक्क भएर बस्थेँ । तर बाहिरको मेरो संसार त्यस्तो रहेनछ ।

केही आराम भएको बेलामा नजिकका साथीहरुसित रमाइलो कुरा हुन्थ्यो । नजिकको एकजना साथीलाई तपाईंलाई गीत गाउन आउँछ ? ल गीत गाउनुहोस् भन्थेँ । ऊ हाँसेर टार्थे । एकप्रकारले म त्यहाँँ रमाएर बसेको थिएँ । बाहिरी संसारसित बेखबर भएर पनि ।

साहिँला भाइ विष्णु मिति २०७७ असोज १९ गते सोमबार साँझ ५ बजे नारायणगढमा, भाइ माहिला कृष्ण २०७७ असोज २४ गते शनिबार बिहान ७ बजे बिएन्डबि अस्पताल ललितपुर र २०७७ असोज २५ गते आइतबार बिहान ७ बजे बुबा धर्मकुमार श्रेष्ठको मेडिसिटी अस्पताल ललितपुरमा दुखद निधन भएको बज्रपातको पीडा मनभरि रहेको छ । बा धर्मकुमार, भाइ कृष्ण र भाइ विष्णुको निधनका बारेमा म अलि दिन बेखर भएको थिएँ । त्यस बेलाका पत्रिकामा एकै घरका तीनजनाको निधन भएको बारेमा निकै खबर लेखिएको थियो रे । मैले त पढ्न पनि पाइन । बा र भाइहरुको निधनको खबर मैले चिन्ता लिन्छ भनेर होला कसैले मलाई भनेन । पछि बिस्तारै मैले थाहा पाउन थालेँ । संयमित भएर त्यसलाई बिस्तारै पचाउन थालेँ ।
म स्रष्टा हुँ नि । म हार्दा पनि हार्दिन र मर्दा पनि मर्दिन । बाँचेर फर्किन्छु ।

४५. चासो
स्वावलम्बन लघुवित्त वित्तीय संस्था लि.ले सञ्चालक समितिको बैठक गरेर हाम्रो घरमा परेको बज्रपातप्रति शोक व्यक्त गरेर श्रद्धाञ्जली व्यक्त गरेको र मेरो स्वास्थ्यलाभको कामना गरेर बैठकमा निर्णय गरेको रहेछ । साहित्य सन्ध्याले खासगरी उपाध्यक्ष रमेश पोखरेलले मेरो घरमा नियमित सम्पर्क गरी मेरो बारेमा साथीहरु बीच सुसूचित गर्ने काममा महत्वपूर्ण भूमिका खेल्नुभएको रहेछ । प्रगतिशील लेखक संघका अध्यक्ष प्रा.डा. जीवेन्द्रदेव गिरीले कविता लेख्नुभएछ । त्यसबाहेक स्वालम्बन विकास केन्द्रका अध्यक्ष र परिवारले तथा स्वावलम्बन लघुवित्त वित्तीय संस्थाका केन्द्रीय कार्यालयका प्रमुख कार्यकारी अधिकृत लगायतका उच्च व्यवस्थापनदेखि इलाका र शाखा कार्यालय लगायतका कर्मचारीहरुले समवेदनाका साथ श्रद्धाञ्जली दिएका रहेछन् । मेरा नातेदार सम्पूर्ण शुभचिन्तकहरु, मेरा सम्पूर्ण मित्रहरुले मप्रति चासो राख्नुभएर शुभकामना व्यक्त गर्नुभएको रहेछ । म घरमा फर्केपछि त कतिपय साथीहरु, नातेदारहरुले मेरो स्वर सुन्न र मेरो अनुहार भिडियोमा हेर्न चाहनु भयो । मप्रति चासो राख्नेहरुप्रति म हार्दिक नमन गर्दछु । म उहाँहरुप्रति अनुगृहीत छु र धन्यवाद व्यक्त गर्न चाहन्छु ।

४६. घरमा आएपछि
घरमा आएपछि मलाई अलग कोठाको व्यवस्था भयो । कोठामा अक्सिजन सिलिन्डरको व्यवस्था भएअनुसार निकै दिनसम्म अक्सिजन मास्क लगाउनु पर्‍यो । मेरो स्वास्थ्योपचारको लागि विदेशमा बस्ने छोरा बुहारी, छोरी ज्वाईं र स्वदेशका छोरा बुहारीहरु र छोरी ज्वार्इंहरुको महत्वपूर्ण योगदान र सहयोग रहेछ ।

ज्वाईं शङ्करनारायणको संयोजनमा टेकु अस्पतालका डा. प्रतिष्ठाबाट मेरो चेकअप गरेपछि मैले घरमा बसेर पालन गर्नुपर्ने बानी व्यवहारका बारेमा जानकारी प्राप्त भयो । घरको तलमाथि हिँडडुल गर्ने, खानामा प्रोटिनको मात्रा बढाउने, थायराड, प्रोटिनको मात्रा चेक गराउने । पल्स एक्समिटरबाट बेलाबेलामा श्वासप्रश्वास जाँच गर्ने । खासगरी राती सुत्ने बेलामा पल्स अक्सिमिटरबाट श्वासप्रश्वास चेक गर्ने, शारीरिक व्यायाम, योगसाधना, प्राणायाम गर्ने । आफ्नो स्वास्थ्यको ध्यान राखेरमात्र कुनै काम गर्ने ।

डा. रवीन्द्र समीरसित सम्पर्क र परिचय भयो । उहाँको सल्लाहमा सुप्राभिट औषधी सेवन गरियो । साथै, के गर्ने र के नगर्ने भन्ने बारेमा र बाहिर जाँदा छिटो फर्कने र सजग भएर सक्रिय हुने, बिहानको घाममा केही बेर बस्ने आदि सल्लाह प्राप्त भयो । त्यसबाहेक पनि मैले आफूलाई परेको समस्याको बारेमा खासगरी खोपको बारेमा एन्टिबडीको बेलामा खोप नलिने र केही समयपछि लिने सल्लाहअनुसार पछि खोप लिएको छु ।

म घरमा आएपछि अक्सिजन सिलिन्डरको व्यवस्था भएको थियो । थर्मामिटर, अक्सिमिटरको व्यवस्था भयो । सुरुसुरुमा बसेको कोठामा खाना खाजाको व्यवस्था गरिएको थियो । बाथरुममा जाँदा पनि मुखमा अक्सिजन मास्क लगाएर जानु परेको अवस्थामा पछि बिस्तारै सुधार भयो । पहिले सुतेको बेलामा श्रीमतिजी र छोराबुहारीले राती के भो कसो भयो भनेर हेरविचार गर्न आउने गर्दथे । यसप्रकारको हेरचाह, विदेशमा रहेका छोरीज्वाईं र छोराबुहारीहरुको नियमित अनुगमनको फोन, भाइबर, मेसेन्जरबाट सम्पर्क हुने गर्दथ्यो ।

मलाई अहिले लाग्छ, म पूर्ण स्वस्थ भएको छु । यस्तो भए पनि बाहिर भने अनावश्यक रुपमा निस्कने गरेको छैन । बैठक, भेला, गोष्ठी आदि भर्चुयलबाट भएको छ । यसमा म सन्तुष्ट छु । लाग्छ, यो संसार रमाइलो छ । रमाइलोसँग बाँच्न सकिन्छ । सक्रिय सिर्जनशील हुन सकिन्छ । म त्यसतर्फ प्रयासरत छु ।

४७. र एक दिन
म फेसबुक हेर्दै थिएँ । कवि साहित्यकार खेम कोइराला बन्धुको स्टाटस देखेँ :
“राम भनुँ
विनय तिमी
सन्तुलनमा
सधैँ छिचरोपन इतर
मानँु अर्कौँ इतिहास ।”
— बन्धु कोइराला ।
कविजीलाई जो जो लप्पा । धन्यवाद ।


Tags: कोरोनाजनमतराम विनय
अघिल्लो पोष्ट

यो मन ढुंगा भए

पछिल्लो पोस्ट

मनका स्वरहरूभित्र मन, समय र कविता

राम बिनय

राम बिनय

सम्बन्धित पोष्टहरू

नबजेको बाको रेडियो र उडिरहेको कालो पहेँलो धुवा 
सँस्मरण

नबजेको बाको रेडियो र उडिरहेको कालो पहेँलो धुवा 

२० मंसिर २०८१, बिहीबार
नेपालको गान्धी तुलसी मेहेरलाई मैले चिन्न सकिनँ
सँस्मरण

नेपालको गान्धी तुलसी मेहेरलाई मैले चिन्न सकिनँ

११ आश्विन २०८१, शुक्रबार
‘वेदना’ सँगको साहित्यिक यात्रा
सँस्मरण

‘वेदना’ सँगको साहित्यिक यात्रा

२४ भाद्र २०८१, सोमबार
साँखु र कवि गिरिजा
सँस्मरण

साँखु र कवि गिरिजा

१० श्रावण २०८१, बिहीबार
पछिल्लो पोष्ट
मनका स्वरहरूभित्र मन, समय र कविता

मनका स्वरहरूभित्र मन, समय र कविता

म प्रयोगशाला

म प्रयोगशाला

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

अमेरिकी उपराष्ट्रपति कमला हृयारिसको जीवनी ‘द ट्रुथ वी होल्ड’

अमेरिकी उपराष्ट्रपति कमला हृयारिसको जीवनी ‘द ट्रुथ वी होल्ड’

४ जेष्ठ २०८०, बिहीबार
खोसिएका मेरा निन्द्राहरु – सरिता डंगोल

खोसिएका मेरा निन्द्राहरु – सरिता डंगोल

४ जेष्ठ २०८०, बिहीबार
निर्दोष जीवनको उपन्यास ‘नोस्टाल्जिया’

निर्दोष जीवनको उपन्यास ‘नोस्टाल्जिया’

४ जेष्ठ २०७९, बुधबार
चित्रकला यात्राका मेरा अनुभूति

चित्रकला यात्राका मेरा अनुभूति

४ जेष्ठ २०७९, बुधबार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (70)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (45)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (43)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (46)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (43)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (555)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक