कस्तो दिक्दारलाग्दो बिहान
कस्तो उदासीले भरिएको यो वातावरण
सडकमा हिँडिरहेका मानिसका अनुहारमा
कुनै उत्साह छैन
सिमसिम पानी परेर झनै दिक्दारी थपिएको छ ।
जिन्दगी ,
पात र पतिङ्गार जस्तै रहेछ
बूढो भएर ढलेको रुखजस्तो
सोत्तर बनाउन काटिएको रुखजस्तो
रातभरिको आँधीले चुटेर भुइँमा झरेको फुलजस्तो
मायाकै नाममा चुँडाएर फ्याँकेपछि
कहाँ- कहाँबाट उडाएर ल्याएको पातजस्तो ।
मुस्कुराउनु पनि कतिकति विवशताहरुको पहाड उक्लिनुपर्ने
एकपटक शान्तिको सास फेर्न पनि
आफुले बाँचेको परिस्थिति बिर्सनुपर्ने
यो समय तिम्रो यादले रापिएको छु
ठिक पानी रोकिईसकेपछि लागेको चर्को घामजस्तो ।
साँच्चै यो बिहान कस्तो उदासीले भरिएको ?
यसरी बाँच्नु पनि कम्ता भयानक होईन
तर,
कताकता मलाई यो वातावरण पनि हुन सक्छ
तिम्रो सम्झना आएकै कारण रमाइलो लागिरहेछ ।