१
कोलाहलको भीडमा हराएको म मान्छे
शान्ति देखी तर्सिएर कराएको म मान्छे
थाहा छैन आजकल के के भइरहेछ
मान्छे देखेर आफै डराएको म मान्छे ।
२.
किनाराले खोलालाई भुल्न थालेपछि
मनभरि पलाँस मात्र फुल्न थालेपछि
छानाबाट खसेको मान्छे जस्तो भएँ
षडयन्त्रका पर्दाहरू खुल्न थालेपछि ।
३.
सुनकै गहना भन्दैमा सबै राम्रा हुँदैनन
व्यबहारको कसीमा सबै चाम्रा हुँदैनन
आफ्नै हातका औला छैनन् बराबर
आफ्नै रगत भन्दैमा सबै हाम्रा हुँदैनन् ।
४.
ईष्र्याको आँधी नचलाउ त्यसले खुशी बगाउन सक्छ
डाहैडाहाको पोकोले पीडाको राक्षस जगाउन सक्छ
काँडालाई घृणा, फूललाई माया गर्छन् किन सबैले
असल मति राख्यो भने मनको घृणा भगाउन सक्छ ।
५.
लुट कति सक्छौ हामीलाई लुट
कुट करको कोराले कति सक्छौ कुट
तड्पाइ तड्पाइ किन मार्छौ हामीलाई
ल्याउ तिम्रो मेसिनगन र एकैपल्ट भुट ।
६.
हिजोसम्म देखिन्थ्यौ तिमी धेरै सुरा
बाँगाटिंगा भए किन आज तिम्रा कुरा
थोत्रो रेडियो जस्तै बजिरहयौ जहिले
दिएको वचन कहिले गरेकाछौ पूरा ?
७.
आजकल एकलैएक्लै जिउने गरेको छु
फाटेको मनलाई कहाँ सिउने गरेको छु?
चुँडिएको चङ्गा जस्तै भएको जीवनमा
विश्वासघातको विष पनि पिउने गरेको छु ।
८.
एकपल्ट हामी सबै फेरि जुट्नुछ
बाली बिगार्ने छाडा सांढे कुट्नुछ
देश बेची खाने जो दलालहरू छन्
तिनीहरूलाई सिस्नोपानीले चुट्नुछ ।
९.
विशाल लाग्छ तिम्रो त्यो छाती
तिमी नै लाग्छौ सबैभन्दा जाति
आएर हेर नपत्याए मेरी प्रीय
चढाउँछु तिम्रै नामको फूलपाती ।
१०.
बिकास गर्न तिमी पर सर्छौ
आफूलाई मात्रै हुने काम गर्छौ
जनताको नाममा मोटाएर आफू
चुनाव आएपछि आश्वासन छर्छौ ।
११.
सहरमा पढ्न बसेपछि नाउँ बदलिएछ
जान्नेसुन्ने भएपछि ठाउँ बदलिएछ
कौवा जस्तै बाठो भई हिंडेपछि तिमी
रमाइरहयौ शहरमा गाउँ बदलिएछ ।
१२.
तिम्रो भर पर्दा आज मेरो यो हाल भयो
जीवनको सङ्गितमा न सुर न ताल भयो
खोज्दै थिएँ अघि बढ्न बाटो अर्कै परेपछि
न हाँसको न त बकुल्लाको नै चाल भयो ।
१३.
हिजोसम्म तिमीले देउता मान्यौ
आज किन मलाई पत्थर भन्यौं
लिनुपर्ने सबै लिएर गएपछि
बाटोमा भेट्दा नि गुमनामी थान्यौ ।
१४.
बुबा म आएँ भन्दैन आमा गएँ भन्दैन
आफूबाहेक कसैलाई पनि गन्दैन
भुस नदेख्नेले चामलको रास देखेपछि
नसाना नठूला कसैलाई नि मान्दैन ।
१५.
कर बढाउन त बाध्यताले परेको रे
जनताकै सेवा गर्न आफ्नो भुँडी भरेको रे
जे पनि वाणी ओकल्ने क्षमता छ जसको
उसले राजनीति जनताका लागि गरेको रे ।
१६.
हामीलाई निचोरेर तिमी विलासितामा बाँच
हाम्रो मन रोएको छ तैपनी तिमी खुब हाँस
मुखमा जनता अनि बगलिमा छुरा बोकेर
दाँत देखाउँदै नकचरो बनेर बाँदरे नाच नाच ।
१७.
उन्नाइस नै छु म बीस भन्न सक्दिन
तिमी लाखौंमा एक छौ गन्न म सक्दिन
तर हार्दिन म अझै जारी राख्छु प्रयास
बन्छु म असल, खराब बन्न म सक्दिन ।
१८.
तिमीलाई बसाउन दिलमा सहर छ मेरो
मायाको फूल फुल्ने प्रत्येक प्रहर छ मेरो
भनिदेऊ एकपल्ट हुन्छ भनेर ए प्रिय !
तिमीसँगै जीवन बिताउने रहर छ मेरो ।
१९.
भो ननिकाल मनबाट तिमीले घृणाको आगो
जरा बिना कहाँ बाँच्छ र फल लाग्ने हाँगो
सोच, सम्झ र बुझ सदैव तिमीले यो कुरा
फाटेको मन जोड्न चाहिन्छ प्रेमको चियोधागो ।
२०.
आशा र निराशा त जीवनको खेल हो
लोभ र लालच त जीवनको जेल हो
माया र मोह, रिस र राग त्याग्न सके
यो जीवन परमात्मासँगको मेल हो ।