भर्खर निर्माण भएको दुईतले घरको स्टोर सँगसँगै बनेको एउटा चिसो छिँडीमा काखमा छोरो तेर्साएर ऊन केलाउँदै शकुन्तला सोचिरहेकी छे । यतिखेर घडीले साढे आठ बजाइसक्यो, झोल भात पाकेर पनि सेलाइसकेको छ । शकुन्तलालाई थाहा छ आज उसको लोग्ने अतिकति आश्वस्त भएर, अलिकति रिझिएर आउने छ किनभने शकुन्तलालाई यो पनि थाहा छ कि उसको लोग्ने पियन हरिप्रसाद न्यौपानेको हाकिमले आफ्नी स्वास्नीलाई रिझाएको बेला अलिकति ड्रिङ्क गर्ने गर्छ त्यही मौकामा न्यौपानेलाई पनि अलिकति रिझाउँछ । यस्तो मौका महिनामा चार पटकभन्दा बढी हुँदैन बरु घट्छ । कहिलेकाहीँ पाहुना आए पनि हाकिमनीले रक्सीको बोतल निकाल्दिनन् । स्वास्नी रिझाएर लोग्ने दामी रक्सी पिउँछ, स्वास्नी बेसकनै नखरा पारेर मात्र बोतल खोल्छे र केही त ऊ पनि रिझाएरै लिन्छ । त्यसपछि बडो मसिनो तरिकाले पियन न्यौपाने रिझिन्छ । यी रिझाउनेहरूले आपसी अनुवध राम्रै बुझेका छन् । यति हो न्यौपाने रिझाइनुको निम्ति रिझाइन्छ । यी सबैभन्दा अलग शकुन्तला छे जसलाई कसैले रिझाउँदैन र जसले कसैलाई रिझाउँदिन । शकुन्तला धेरै कुरा बुझ्छे । परिस्थितिले उसलाई तँ हाँगा–हाँगा हिँड् म पात–पात हिँड्छु, यस्तो सिकाइसकेको छ ।
नौ त बजिसक्यो अझ न्यौपाने आउँदैन । भर्खर बस्ती बस्न लागेको यो पाखामा यतिखेर रात हुनुको चकमन्न पर्याप्त भइसक्छ । शकुन्तला निधारमा गाँठो पारेर केही सोच्छे र मनमनमा आफैसँग वार्तालाप गर्न थाल्छे । एक्लै हुँदा वार्तालाप गर्ने आफैसँग न हो । ऊ बोल्नेछे – हाकिमको अनुहार त मैले राम्रोसँग देखेको पनि छैन । अँ, ड्रिङ्क गरेको बेला भने स्वर अलिक चर्को आउँछ । हाकिम्नी त मसँग सोझो मुख गरेर बोल्दिन । भान्सासम्म चियाउन पाएकी छु, नत्र बाहिर–बाहिरै । कुरा गर्न छोराको बाबु मार्फत् । “ए बाहुन ! आज तेरो दुलहीलाई भनी दे है कपडा यहाँ झिकी राखेकी छु सबै धोइदेओस्” अथवा “यहाँ भान्सामा सामान झिक्या छ अचार पारेर गइदेओस्” यी यस्तै–यस्तै त हो नि । होइन यी हाकिम्नी मसँग डराउँछिन् कि क्या ? कुन्नि बाबु सामानको हाकिमलाई कसले हेरोस् । हाकिम्नीहरू पनि तालतालका हुन्छन् । यो छोराको बाबुले एउटै हाकिमकहाँ चारवर्ष चाकरी गरीसक्दा मैले चार हाकिम्नीको घर–धन्धा भियाइसकेकी छु । पहिले बसेको ठाउँमा हाकिम्नी बेसै हो । म पनि भर्खरै गाउँबाट आएकी यहाँका चालामाला केही थाहा नाई । मालिक खाउँला जस्ता गरी हेर्थे मैले त मालिक्नीलाई भनिदिएँ “मालिकलाई चिया पु¥याउन जान्न म, यत्रा–यत्रा आँखा खोलेर हेर्छन् ।” सर्पको खुट्टा सर्पले देख्छ भने जस्तै चेताइदिएकी हुन्, विचरी मालिक्नीले “होश पुर्र्या है तेरो मालिकको बानी राम्रो छैन ।” यो हाकिम्नी त कस्ती छे, हाकिम उस्तै भए भनिदिनुपर्छ, म उस्ती भए मलाई भन्नुपर्छ । घरमा छिर्न पनि नदिने, काम पनि लगाउने । म गरीबको रुप रङ्ग के छ र ? हाकिम्नी त सधैँ सिँगार पारेर बस्छिन् तर लोग्नेमान्छेलाई त रुपरङ्ग पनि चाहिन्छ होला नै ?
ढोका घरक्क उघारेर न्यौपाने भित्र पस्छ । शकुन्तलाको एकान्तता टुक्रिन्छ । दालमोठको एक प्याकेट स्वास्नीतिर फाल्दै भन्छ “ला भोलि छोराले खान्छ ।” “हाकिमको यतिखेरसम्म गफ सुनिदिएको ज्याला यति हो ?” शकुन्तला व्यङ्ग्य गर्छे । व्याकुल आँखाहरूले स्वास्नीलाई एकपल्ट हेरेर न्यौपाने टुक्रुक्क भुइँमा बस्छ । यो उनको भात खाने मुद्रा हो । छोरालाई सुकुलमा सुताइ दिएर शकुन्तला स्टोभ सल्काउँदै भन्छे “आज के भन्छन् नि हाकिम ?”
“सधँै जे भन्छ त्यही” भनी न्यौपाने विरक्तिको भाव देखाउँछ ।
“सधैँ जे भन्छ त्यही भन्ने त मलाई पनि थाहा छ नि केही भन्यो कि भनी साधेकी ?” – शकुन्तलाको आवाज छिट्टो तिखारिन्छ ।
न्यौपाने त्यस्तै व्याकुल आँखाले स्वास्नीलाई हेर्छ मानौँ याचना गरिरहेछ – विवाद नगर थाकेको छु । भात खाइसकेर न्यौपाने चुरोट सल्काउँछ र छोराको नजिकै गुडुल्किन्छ । धन्धा सिध्याएर शकुन्तला ऊन केलाउन बस्छे र प्रतीक्षा गर्छे एउटा रुटिनबद्ध आदेशको । छोराको बाबु निदाइसक्छ “हस् हजुर” भन्नको निम्ति पनि उसले जागो बस्नैपर्छ । केही छिनपछि भ्यागुताहरूको सामूहिक आवाजलाई चिर्दै भान्सातिरको झ्यालबाट त्यो प्रतिष्ठित आदेश हाकिम्नीको पातलो भए पनि उच्चतावोध भएको स्वरमा आउँछ “ए न्यौपाने ! चनाखो भएर निदा है, काठपात, डण्डी यसै छ ।
“हस् हजुर !” त्यसपछि दुवैतिरको झ्याल एकसाथ बन्द हुन्छ । हाकिम्नीको जोड्ले र विस्तारै शकुन्तलाको जीवन एक किसिमले एक रस र विसंगत हुँदै गइरहेको भान शकुन्तलालाई हुन थालेको छ आजभोलि । चनाखो बस्नु र निदाउनु यी विपरीत अनुभवलाई एकै ठाउँमा मिसाउँदा कस्तो हुन्छ ? यो अप्ठयारो विवादमा शकुन्तलाको मनस्थिति जान–अनजान अलिकति फस्छ । आज ऊ सोच्न थाल्छे – माकुरालाई जालो लाउन कसले सिकायो होला, चराको बचरोलाई त माउले उड्न सिकायो, पुतलीलाई कसले सिकायो ? सोच्न नपाउँदै उसलाई चारथरी मालिक्नीको सम्झनाले चार सुरबाट बिथोल्छन् । शकुन्तला आत्मकेन्द्रित भएर आफैसँग बोल्न थाल्छे । यो हाकिमको घराँ सारेको पनि अब सात आठ महिना हुँदैछ । यसो घर पनि कुर तेरो डेरा बहाल पनि बच्ने भनी उनैले ल्याएका हुन् । यहाँ आएर पनि डेरा बहाल बचेको होइन क्यारे । खोइ के खा‘छ के ला‘छ ? सधैँ यी हाकिम्नीलाई कराउनुपर्ने किन होला ? चनाखो पनि बस्नु र निदाउनु पनि रे एकैचोटि । मेरी आमै ! यो पनि हुने कुरा हो र ? कि चनाखै बस्नुप¥यो कि निदाउनु प¥यो । जम्मामा ननिदा भनेको हो । यी हाकिम्नीले हामीलाई कुकुर ठानेर यो चिसो छिँडीमा राख्न ल्याइछन् । माल सामान कुर्ने, भान्साको धन्धा गरिदिने, लुगा धोइ दिने मान्छे सित्तै पाए कसले राख्दैनन् ? बस्नलाई अलि ओभानो ठाउँ पाए पनि ए ठीकै छ भन्नु । यो छोराको बाबु निम्छरा भएर यस्तो दुःख पाएको नि । रक्सी खाएको बेला कुराले दङ्ग पार्छन् र पठाउँछन् । मान्छे दिनदिनै खिइँदै गएको थाहा छैन । अब शकुन्तलालाई हाकिम्नी र न्यौपाने दुवैसँग झोक चल्छ । न्यौपानेलाई काँधमा झक्झकाउँदै शकुन्तला भन्छे “ए सानेको बा कस्तो निदाएको हो । उहाँ भने हाकिम्नी दिनदिनै चनाखो भएर निदा भन्छिन्, आफू भने घुर्ने म चनाखो बस्ने ?”
न्यौपाने स्वास्नीलाई माया गर्छ यसले होइन कि ऊ लोग्नेको निम्ति दुःख गर्छे । त्योभन्दा बेग्लै अर्को केही छ त्यो न्यौपाने पनि बुझ्दैन । बुझ्नको निम्ति न्यौपाने स्वास्नीलाई प्रेम गर्छ । स्वास्नीको आँखामा सधैँ केही खोजिरहन्छ ऊ । त्यस्तै–त्यस्तै भावपूर्ण आँखाले स्वास्नीलाई हेरेपछि भन्छ ‘ल तँ सुत् न त म बसुँला …. ल आ । ’
हो यस्तै स्थितिमा शकुन्तलालाई लोग्नेप्रति माया लागेर आउँछ । ऊ सोच्छे यति पनि थाहा छैन उसको लोग्नेलाई कि यहाँ उनीहरू एकजना सुत्न र एकजना जागा बस्नआएको होइन । हाकिमको काठपात कुरेर घर बहाल बचाउनुभन्दा कतिकति महँगो छ सुखको मानो खाएर बिछ्यौनामा पल्टिने, थकानको निद्रा सुत्ने उनीहरूको रात ।
शकुन्तला भन्छे –“के यहाँ हामी एकजना सुत्ने एकजना जागराम बस्ने कबोलमा आएका हाँ ?तपाईलाई थाहा छ यी हाकिम्नीले हामीलाई कुकुर ठानेकी छन्, कुकुर । सधैँ राती–राती ए बाहुन् चनाखो भएर निदा है भन्नुपर्छ । कुकुर जातमात्रै चनाखो भएर निदाउन सक्छ । निदाई राखेको बेला चोर–चकार आए कुकुरले तुरुन्त चाल पाउँछ अनि भुक्छ । के हामी कुकुर हौँ, यहाँ भुक्न आएका ? यस्तो चिसो छिँडीमा के होला यो सानेको हाल ?”
त्यै पनि विस्फारित आँखाले स्वास्नीलाई हेर्छ । ऊ आँखाबाट करुणा खोल्छ मात्र करुणा । स्वास्नीको निम्ति उसँग कुनै विकल्प छैन । दसौँ हण्डर खाएपछि यही हाकिमले उसलाई काममा झुन्ड्याइदियो, ऊ त्यति जान्दछ । ऊ छातीबाट होइन मुखबाट बोलेको जस्तो गरी स्वास्नीलाई सम्झाउँछ –“भैगो जसोतसो सहुँ न त । हिउँदमा हाकिमले ढलान गर्छु भनेको छ । त्यसपछि तँलाई अन्त कतै सारुँला ।”
शकुन्तलालाई बुझ्न गारो पर्दैन कि उसको लोग्नेले उसलाई साँच्चै मुखबाटै सम्झाइरहेको छ व्यवहारमा ऊ यति पनि गर्न सक्दैन, हृदयमा माया र प्रेमको अपार सागर नै किन नहोस् । स्वास्नीलाई ऊ हवाईमहलको कल्पना दिन सक्ने मान्छे होइन त्यसैले मात्र मुखबाट बोल्छ । उसको औकात नै त्यति हो ।
त्यस रात, रातको एक बजेसम्म शकुन्तला ऊन केलाएर बस्छे र न्यौपाने ….. निदाउन र चनाखो बस्नुको साधनामा लीन भएर जागराम बस्छ । सायद निद्रा नलाग्नुको कारण अरु पनि हुन सक्छ । शकुन्तला सुत्ने तर्खर गर्छे । ऊ त्यो शकुन्तला होइन जसलाई दुर्वासाको अभिसाप परेको होस् । त्यसो त आजका शकुन्तलाहरूलाई विना कुनै दुर्वासाबाट अमिशप्त दुष्यन्तहरूले परित्याग गर्ने गर्छन् । न्यौपानेको शकुन्तलालाई यस्तो भय हाल पटक्कै छैन । शकुन्तला आफैसँग बोल्न थाल्छे “होइन यो हाकिम्नीले सधँै हाकिम बस्ने कोठाको झ्यालको पर्दा हाकिम आउना साथै लगाइहाल्छिन् । आफू देखा पर्ने ठाउँमा भने पर्दा पातलो छ र खुल्लै पनि राख्छिन् । मैले एक पटकसम्म बैठकको अनुहार देखेकी छैन । के यिनी मदेखि साँच्चै डराएकी हुन् त ? हाकिम पनि त त्यस्तो मान्छे होइन होला नि ? यिनले मलाई नकच्चरी, नखरमाउली के नै ठानेको छिन् हँ ? प्रत्युत्तर नपाउँदै ऊ निद्राको पखेटाभित्र पसिसकेको हुन्छे ।
आज, कुनै खास लामो अन्तरालपछि पनि होइन । केही फरक जरुर छ । खेत हुँदो झिलिन्चा देखिन थालेको छ, भ्यागुता कम कराउँछन् । र दिउँसो झ्याउँकिरी कराउन थालेका छन् । घाममा संवेदनशीलहरूले दशँैको बास सुँघ्न थालिसकेका छन् । यसबीचमा खास त्यस्तो केही भएन । साने एकपल्ट निकै साह्रो बिरामी प¥यो, बस् । आज, फेरि ऐजन, ऐजन …. भएको छ । हाकिम ड्रिङ्क गर्न थालेका छन् । रिझाएका छन्, रिझाएकी छिन् सायद केही रिझाउन । घटीमा एउटा बनारसी साडी । आज भारतीय लाहुरे पसेको छ त्यो घरमा । परिणामस्वरुप न्यौपाने अलिकति रिझिएर आउनेछ । सानेलाई एक पुडिया दालमोठ । शकुन्तला ओठको कुनामा हाँस्दै ऊन कात्न बस्छे उसको रुटिनमा पनि कुनै हेरफेर भएको छैन ।
ऐजन समयमा ढोका उघारेर न्यौपाने भित्र पस्छ । एक पोका दालमोठ स्वास्नीतिर मिल्काउँछ र भन्छ “भोलि सानेले खान्छ ।”
सुकुलमा बसी च्यूँडो घुँडामा राख्दै सोध्छ “भात पा‘को ?”
“पाको मात्र होइन, सिङ पनि उम्रिसक्यो” शकुन्तलालाई जीवनको एकरसताले चिथोरेर धेरै घाइते बनाइसकेको छ । ऊ चाहन्छे कतैबाट यसलाई बिथोलूँ । नयाँ केही होस् न, राम्रो नराम्रो जस्तो होस् ।
“हाकिमले आज के भने ?” चर्काे स्वरमा सोध्छे । उही मुद्रामा जवाफ दिन्छ “आज अर्थोकै भने ?”
“कस्तो अर्थाेक ल सुनौं ?”
“तँ मुला बाहुन दस क्लाससम्म पुगेकै रहेछस् चोरचार गरेर भए पनि एस.एल.सी. पास गर । टाइप सिक तँलाई म बढुवा गराइ दिइहाल्छु नि ….. ।”
कुरा टुङ्गिन नपाउँदै शकुन्तला आँखा स्थिर पारेर एकपटक न्यौपानेलाई हेर्दै भन्छे –“सानेको बा तपाई मान्छे होइन, मैले आजको दिनमा भनेँ–भनेँ । तपाई मान्छे होइन । बरु आफू पनि अलिकति रक्सी घुट्काएर कराउनुस् न, मेरो छोरो अस्ति निमोनियाले झन्डै खुस्केको, जहानलाई बाथ होला जस्तो छ ऊ त्यो स्टोरघरमा सर्छु । केको एस.एल.सी. अहिले । यो कोठाभन्दा त्यो स्टोरघर सुख्खा छ । त्यति त भन्न नसक्ने तपाई मान्छे होइन ।”
शकुन्तलाका स्थिर आँखासँग आँखा जुधाउन न्यौपानेलाई निकै गा¥ह्रो पर्छ । कि ऊ हिँड्छ कि पल्टन्छ तर आज त्यसो भएन ।
न्यौपाने मान्छे जसले सधैंको भन्दा कडा आवाजमा कराउँछ “तँ आइमाईलाई के थाहा छ ? म जस्तो सुइखुट्टे पियन एक्लैले … यामानको हाकिमको केही पनि लछार्न सक्तैन । ह्याउ पुग्छ भने तँ गएर भन्न जा ।”
यति भनेर न्यौपाने फेरि च्यूँडो घुँडामा जोतेर बस्छ । ठीक त्यति नै खेर शकुन्तलाका आँखाका कुना र ओँठको कुनामा एउटा छरितो हाँसो अति छिट्टो खेलेर भाग्छ । ऊ भात तताएर पस्कन्छे र भन्छे “ल भात खानुस्, नरिसाउनुस् ।”
आज यस परिवारमा स्थिति असामान्य छ । एउटा छरितो हाँसो खेल्न त खेल्यो शकुन्तलाको ओठ र आँखामा तर मनमा अर्कै–अर्कै पै¥हो गएको छ । भात खाएर न्यौपाने सधँै झै छोराको छेउमा गुडुल्किन्छ । शकुन्तला निष्क्रिय छे एकदम । उसको कान आज ठाडो छैन ऐजन आदेश सुन्नलाई । केही बेरपछि भुतप्रेतको कथामा जस्तै त्यो आवाज आउँछ “ए बाहुन अलि चनाखो …. ।”
आज “हस् हजुर” भन्ने फिर्ता जवाफ जाँदैन । “निदायो कि क्या यो न्यौपाने खलक ?”
यता फेरि मौन ।
गन–गन गर्दै हाकिम्नीले झ्याल जोड्ले लगाई । यतापट्टि विस्तारै भए पनि झ्याल बन्द भएन । शकुन्तला सोच्न थालेकी छे उसको आजभोलिको जीवनको एकरसता कति बिथोलियो ।