गीतकार एवं कवि सागर उदासका सिर्जनामाथि चर्चा गरिएको छ । सिर्जना अभियान समाजले आयोजना गरेको कार्यक्रममा उदासका ‘फैलिन्छ कि माया’ र ‘सागर सुसेली’ पुस्तकको समीक्षात्मक चर्चा गरिएको हो ।
गीतकार हरिहर तिमल्सिना र बिमला राना मगरले पुस्तकमाथि टिप्पणी गर्दै उदासका गीतहरु सरल एवं गहन रहेको बताए । गीतकार सुवासचन्द्र ढुंगेल, लेखक तथा अध्येता केशव सिग्देल, समाजका अध्यक्ष धनमान श्रेष्ठ र सचिव ध्रुव मधिकर्मीले गीतकार उदासका कृतिमाथि चर्चा गरे ।
गीतकार उदासलाई कार्यक्रममा सम्मान पनि गरिएको थियो। तीन दशकभन्दा लामो समयदेखि निरन्तर गीतसंगीतमा सक्रिय उदासलाई नेपाली साहित्यमा योगदान पुर्याएकोमा सिर्जना अभियान समाज भक्तपुरका तर्फबाट कार्यक्रमका प्रमुख अतिथि सुवासचन्द्र ढुंगेलले सम्मानपत्र र काठको मयुर झ्याल प्रदान गरेका थिए ।
भक्तपुर भ्रमणमा आएका भारतका चर्चित लोककवि हल्दर नागलाई पनि कार्यक्रममा स्वागत गरिएको थियो । भारतको प्रतिष्ठत पद्यश्री पुरस्कारबाट सम्मानित उनले आफ्नो मातृभाषामा एउटा कविता सुनाएका थिए ।